शनिबार, जेष्ठ ५, २०८१
Breaking News

राजनीतिसँगै समाजसेवा !

बझाङ । हिजो आज बझाङका अधिकांश भूकम्प पीडितको जिब्रोमा विष्णु ऐडीको नाम अग्रस्थानमा छ । भूकम्पले क्षेदविच्छेद भएको ठाउँमा ऐडीको टोलीले आफ्नै खर्चमा अस्थायी टहरा निर्माण गर्न थालेपछि उहाँलाई भेट्ने र आफ्ना समस्या सुनाउनेको लाइन नै छ । राज्य नपुगेको ठाउँमा ऐडीको दरिलो उपस्थितिले पीडामा मलमको काम गरिरहेको छ ।

गत असोज १६ गते आएको भूकम्पले बझाङमा १२ हजारभन्दा बढी संरचनामा क्षति पुर्‍याएको थियो । खप्तडछान्ना, जयपृथ्वी, मष्टा, तलकोट, केदारस्यू, सुर्मा गाउँपालिकामा त दुई/दुई हजारभन्दा बढी संरचनामा क्षति पुगेको थियो । भूकम्पले क्षति पुर्‍याएको क्षेत्रमा पीडितलाई सान्त्वना दिन उच्च स्तरीय भ्रमणसमेत भयो । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ ले राहतको घोषणा पनि गरे । दातृ निकायहरूले सहयोग गरेका त्रिपाल पालिकाहरू वितरण गरिए । राहत रकम भने प्रक्रियामै छ ।

जिल्ला विपद् व्यवस्थापन समितिद्वारा वितरण गरिएका त्रिपाल तथा राहत नपुगेको भन्दै जनगुनासो आएपछि ऐडीको टोलीले आफन्त तथा साथीभाईहरूबाट सहयोग संकलन गर्दै टहरा निर्माणमा जुट्यो । आफैँले प्रभावित क्षेत्रको अनुगमन गरेर सबैभन्दा पीडितलाई छनौट गर्दै टहरा बनाउन सुरू गर्‍यो । इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका जयपृथ्वी नगरपालिका–११ का गणेश नेपालीको भत्किएको टहरा ऐडीको टोली आफैँले प्लाइउड, जस्तापाता, काठसहित ल्याएर निर्माण गरेपछि ऐडीसँग अपेक्षा गर्नेहरूको भीड लाग्यो ।

टोलीले दोस्रो दिन छविसपाथिभेरामा एकल महिलाका लागि अस्थायी टहरा बनायो । त्यसपछि लगातार उनको टिमले जयपृथ्वीमा दैनिक दुई/तीन टहरा निर्माण गरिरहेको छ । भत्केको घर खोज्दै आएको टिमले टहरा निर्माण गरेको मष्टा–२ की बेलमती विष्टले बताइन् । ‘बिहीबार बिहानै भत्केका घरहरू हेर्दै आउनुभएको थियो,’ विष्टले भनिन्, ‘हामी त्रिपालमा बसेका देखेर सोधपुछ गर्नुभयो । टहरा बनाइदिने आश्वासन दिनुभयो । कहिले फर्केर आउलान् जस्तो लागेको थियो । दिउँसै आएर बनाइदिनुभयो । अब अर्को घर नबनाउन्जेल बस्न मिल्ने भएको छ ।’

तयार भएको टहरा

विष्टका परिवारले तीन वर्षको भारतको कमाइबाट गाउँमा पक्की घर बनाएका थिए । तर, गत महिनाको भूकम्पले क्षतविच्छेद भएपछि चौरमा बसे । विष्टका अनुसार भूकम्प आएकै दिनमा मष्टा गाउँपालिकाको टोली आएर एउटा त्रिपाल र परिवारमा एक जोर मात्रै कपडा दिएर गएका थिए । ‘त्यसपछि पाँच टिम जति अनुगमनमा आउनुभयो । सबैले आश्वासन मात्रै दिनुभयो । तर, राहतको नाममा एउटा पाल र एक जोर लुगाबाहेक कसैले केही दिएनन् ।’

उनले ऐडीलाई देखाउँदै भनिन्, ‘यो टोली पनि हेरेर मात्रै जान्छ कि सोचेका थियौ । पछि काठ, टिन, किलाकाँटा, मिस्त्री सबै आउनुभयो र बस्ने बनाइदिनुभयो ।’ विष्णु ऐडी नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दलको केन्द्रीय सदस्य हुनुहुन्छ । राजनीति पेशा नभई सेवा हो भन्ने ऐडीले ११ वर्षदेखि नै निरन्तर समाजसेवामा गरिरहेका छन् । छोरा विक्की ऐडीको दसौँ जन्मोत्सवको अवसरमा काठमाडौँको एक असहायको आश्रममा गएर फलफूल, खाना र केही आर्थिक सहयोग गरेदेखि नै सामाजिक क्षेत्रमा काम गरिरहेको उनले सुनाए । जिल्ला सदरमुकाममा एउटा पसल चलाइरहेका ऐडीले समाजसेवासँगै राजनीतिलाई समेत अगाडि बढाइरहेका छन् ।

बाढीपहिरो, अघिल्लो भूकम्प, डुबानजस्ता दैविक प्रकोपले क्षति पुर्‍याएको क्षेत्रमा ऐडी खटिँदै आएका छन् । यसमा ऐडी एक्लैको हात भने छैन । ‘यो सबै मैले एक्लैले गरेको होइन,’ उनले भने, ‘मलाई माया गर्ने तरूण दलका साथीहरू, अन्य देश तथा विदेशमा रहेका आफन्तहरू, बौद्धिक सर्कल सबैले साथले सामाजिक काम भइरहेको छ ।’

अहिले भूकम्प पीडितको टहरा निर्माणका लागि पनि धेरै साथीभाईहरूले सहयोग गरिरहेको उनले बताए । ‘एउटै टहरा निर्माण गर्न ६० हजार रूपैयाँभन्दा बढी खर्च भइरहेको छ,’ उनले भने, ‘यो विपद्मा एउटा त्रिपाल बाँडेर केही हुन्न । जाडोको मौसम सुरू भइसक्यो । यसका लागि सानो टहरा नै भए पनि सुरक्षित बस्न सकिन्छ ।’

उनले पीडितलाई सुरक्षित र थोरै व्यवस्थित गर्न केही समयका लागि टहरा निर्माण गर्नुपर्ने बताए । उनले भने, ‘यो टहरा दिगो समयका लागि त होइन । दिगो व्यवस्थाका लागि राज्यले गोरखा बारपाकको जस्तो भूकम्प प्रतिरोधी भवन निर्माण गर्नुपर्छ । त्यसका लागि अहिले नै नीति बनाउनुपर्छ । नीति बनाएर भवन बनाउन हाम्रो सरकारलाई लामो समय लाग्छ । त्यतिसम्म त्रिपालमै बस्न त सकिन्न !’

उनले पीडितको घाउमा औषधी लगाउन सबै तहको सरकार, दातृ निकाय, समाजसेवीहरू एकजुट हुनुपर्ने बताए । उनले भने, ‘सरकारको यसमा पूर्ण चाँसो हुनुपर्ने हो । तर, सरकारमा बस्नेले आफन्तलाई मात्रै राहतको पहुँचमा पुर्‍याए भन्ने दुखद खबर सुनिन्छ । यसो भए त के को हामी लोकतन्त्रबादी भयौँ र !’ उनले आफूहरूले त समतामुलक समाज निर्माण गर्नका लागि सबै पालिकालाई आग्रह गरिरहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार