मंगलबार, जेष्ठ १५, २०८१
  • होमपेज
  • कीर्तिमानी धावक कुलबहादुरको नियति : सयौं प्रमाणपत्र सिरानीमा, दुई छाकका लागि हारगुहार
Breaking News

कीर्तिमानी धावक कुलबहादुरको नियति : सयौं प्रमाणपत्र सिरानीमा, दुई छाकका लागि हारगुहार

काठमाडौं । शुक्रबार बिहानै बाल सचेतना केन्द्रका उपसंयोजक अमृत कार्कीको मोबाइलमा नयाँ नम्बरबाट फोन आयो । सुतिरहेकै हुँदा लामो समय घण्टी बजेपछि मात्र उनले चाल पाए । निन्द्रामै फोन उठाए, ‘हेल्लो’ !

उनको ‘हेल्लो’ शब्द नटुंगिदै उताबाट, ‘सर नमस्कार । म अल्ट्राधावक कुलबहादुर शाही ।’

‘मलिनो स्वरमा आफ्नो परिचय मात्र होइन समस्या पनि सुनाए । मलाई अचम्म लाग्यो र एकछिनमै फोन गर्ने भन्दै फोन राखेँ,’ कार्कीले भने ।

अल्ट्राधावकले खानेकुरा नभएर भोकै बस्नुपरेको सुनाउनेबित्तिकै उनलाई कसैले जिस्क्याइरहेको जस्तो महसुस भएको भइरहेको थियो । कार्कीले भने, ‘एउटा विश्व कीर्तिमान कायम गरेको मान्छे पनि भोकै हुने त कुरै भएन । सोचेँ, पूरै निन्द्रा खुल्यो । कल ब्याक गरेँ र उनको समस्या सुनेपछि आजित भएँ । सम्झेँ, राष्ट्रलाई विश्वमा चिनाउने कीर्तिमानीको त यस्तो हालत रहेछ भने, अरु सर्वसाधारणको त के कुरा गर्नु ।’

लकडाउनको बेलामा बेसहारा भएर वडा कार्यालयमा राहत माग्न जाँदा वडाध्यक्षले उल्टै अपमानित गरेपछि अल्ट्राधावक शाही सामाजिक अभियन्ताको सम्पर्कमा आएका रहेछन् । शाहीको कुरा सुनेपछि कार्कीले राहत लिएर दिउँसो आउने वचन दिएका रहेछन् । बिहान ९/१० बजेतिर अभियन्ता कार्कीसँग हाम्रो सम्पर्क भयो । उनले ‘विश्व कीर्तिमानी खेलाडीलाई राहत दिन जाने’ कुरा सुनाए ।

विश्व कीर्तिमानीलाई राहत दिनुपर्ने अवस्था आएको भनेपछि हामीले पनि रिपोर्टिङमा जाने सोच बनायौं । अभियन्ता कार्कीकै स्कुटरमा गयौं । बानेश्वरमा कार्कीले चामलको बोरा, दाल, तेल, नुन र तरकारी स्कुटरमा राखे । त्यसपछि हामी अल्ट्राधावक शाही बस्ने ठाउँ नयाँ बसपार्कतर्फ लाग्यौं । गणेश मन्दिरनजिकै पुगेपछि शाहीलाई फोन गर्दा उनी पनि त्यही आइपुगिसकेका रहेछन् । शाहीसँग भेट भयो र सामान लिएर उनी बस्ने कोठामा गयौं । कोठामा पुग्नेवित्तिकै वर्ल्ड कमिटी अर्गनाइजेशनको लोगा सहितको झण्डा झुण्ड्याइएको देखियो । एउटा कुनामा बिस्तरा बिच्छ्याएको, अर्को छेउमा केही किताब, केही गेसपेपरहरु देखिए । त्योसँगै प्रमाणपत्रको झोला पनि रहेछ । अँगालोभरिका प्रमाणपत्र झोलाबाट निकाल्दै उनले ‘आफूले अहिलेसम्म कमाएको सम्पत्ति’ भन्दै हामीलाई देखाए । शाहीसँग केहीबेर बसेर गफ गर्यौं ।

‘देशलाई चिनाउनलाई नयाँ केही गर्नुपर्छ भनेर खेलतिर लागियो । अहिले पनि लागिरहेको छु, तर, नेपाल सरकारले मलाई एक छाक भात खुवाउन सकेन,’ शाहीले गुनासो सुनाए । उनको कुराले हामी पनि एकैछिन स्तब्ध बन्यौं ।

जुम्लाको तातोपानी गाउँपालिका- ३ का कुलबहादुर शाहीले ०६८ साल पुस २५ गते जुम्ला जिल्ला प्रशासन कार्यालयबाट ७५ जिल्लाको दौड यात्रा सुरु गरेका रहेछन् । सो क्रममा १५ सय रुपैयाँ, २ बोतल पानी, १८ वटा कोदोका रोटी र केही प्याकेट चाउचाउ बोकेर यात्रामा निस्किएको उनले सुनाए । कहिले तराईंको टन्टलापुर गर्मी, कहिले निथ्रुक्क भिजाउने पहाडको झरी र कहिले हिमालको कठ्यांग्रिँदो जाडोलाई छिचोल्दै २१८ दिनमा ७५ जिल्ला दौडेर ०६९ साल साउन २१ गते कीर्तिमानी कायम गरेका रहेछन् । त्यसपछि काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनको कीर्तिमानी सबैलाई जानकारी गराइयो ।

कीर्तिमानी कायम गरेका शाहीलाई अहिले कसैले पनि चिन्दैनन् । चिन्ने जतिले पनि अल्ट्राधावकभन्दा सेक्युरिटी गार्ड भनेर बढी चिन्छन् । साइकलयात्री पुष्कर शाहको जस्तै सपना बोकेर २०६८ सालमा अल्ट्राधावकको ताज भिरेका शाहीसँग करिब ४ सयको हाराहारीमा प्रमाणपत्र छन् । अर्थात् उनीसँगको सम्पत्ति पनि त्यही नै हो । उनी बस्ने कोठामा हेर्ने हो भने एउटा खटियासमेत छैन । दुई छाक खानलाई चामल छैन ।

अल्ट्राधावक जितेको भन्न पनि आफूलाई असहज हुने गरेको उनले बताए । अहिले शाहीका प्रमाणपत्र अवसरको खोजीमा भौँतारिइरहेका छन् । तर, अवसर कतै पाइरहेका छैनन् । अल्ट्राधावकको ताज भिरेपछि उनीप्रति गाउँ समाजले ठूलो आशा गरेको थियो । उनी सम्झन्छन्, ‘गाउँघरका भाइबैनीहरुले धेरै आशा गरेका थिए । जुनसुकै काम गर्नुपर्ने भए पनि मलाई सम्झिन्थे ।

विश्व कीर्तिमानी भनेर सबैले चिनेका होलान्, उसले भनेको सबैले मान्छन् होला भन्ने सोच्ने रहेछन् ।’ उनको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि उनलाईं चिन्नेहरुले पनि बिर्सन थालेको शाहीको तीतो अनुभव छ । ‘जुन राष्ट्र चिनाउनका लागि सपना देखेँ र पूरा गरेँ, त्यही सरकारले एक छाक भात पनि खुवाउन सकेन,’ उनले दुखेसो सुनाए ।

शाहीले विश्व कीर्तिमानी कायम गरेको एक दशक भइसकेको छ । अहिले त उनलाई कसैले चिन्ने कुरै भएन, त्यो बेलामा पनि देश दौडाहामा निस्केका बेलामा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले सहयोग गर्ने आश्वासन दिएको र पछि उनी सहयोगको लागि कुरा गर्दा ठाडै हकार्न थालेको शाहीले बताए । ‘नेपालको नाम उँचो पार्न रातदिन नभनेर सपना पूरा त गरियो तर अवस्था कहिल्यै फेरिएन । त्यो बेला सहयोग गर्छु भन्ने बाबुराम भट्टराईले केही समयपछि भेट्न जाँदा नचिनेको जस्तै गरेर हप्काउन थाले । अहिले मसँग भएका प्रमाणपत्र गहनाको रुपमा राखेको छु । तर, यो गहनाले पनि खान नपुग्ने रहेछ,’ उनले समस्या सुनाए ।

दैनिक रुपमा छाक टार्नका लागि दिनहुँ संघर्ष गरिरहेका कुलबहादुर पछिल्लो केही समययता सेक्युरिटी गार्डको काम गर्दै आएका थिए । काठमाडौंमा काम पनि गर्ने केही नयाँ रेकर्डका लागि तयारी पनि गर्ने भनेर बसेका शाहीलाई पछिल्लो समयमा दैनिक गुजारा गर्नै समस्या भयो । लकडाउनले गर्दा सेक्युरिटीको काम पनि छुटेपछि काठमाडौंमा बेसहाराजस्तै भएका थिए ।

बचेको पैसा र खानेकुरा सबै सकिएपछि वडा कार्यालयमा राहतको लागि जाँदा उनलाई वडाध्यक्षले उल्टै गैरजिम्मेवारीपन देखाए, ‘नयाँ बसपार्कको पुलमुनि खाना खुवाइरहेका छन् । त्यतै जानुस्, खाएर आउनुस् । न ग्यास, न चामल र केही चाहिँदैन ।’ वडाध्यक्षले ठाडै अस्वीकार गरेपछि शाही अभियन्तालाई गुहार्न पुगेका रहेछन् ।

अभियन्ता कार्कीले ग्यास किन्नलाई १५ सय रुपैयाँसमेत थमाएपछि शाहीको मुहार उज्यालियो । ‘बेसहारा भएको बेलामा मलाई सम्झिनुहोला, अभिभावकको जिम्मेवारी म निभाउँछु । मरेर लानु के नै छ र, तपाईं आफ्नो काम गर्दै गर्नुस् । सरकारले केही नगरेको खण्डमा तपाईंलाई सहयोग म गर्छु,’ कार्कीले दिएको हौसला दिए । यस्तो सुनेपछि कीर्तिमानी धावक शाहीले सहारा पाएको महसुस गरे ।

खेलाडीका लागि अन्तर्राष्ट्रिय स्तरबाट पनि धेरै सहयोग आउने गर्छ । तर, सम्बन्धित निकायको वेवास्ताका कारण शाहीजस्ता कीर्तिमानी खेलाडीहरु खानसमेत नपाएर भौतारिरहनु परेको तीतो यथार्थ हामी सबैको लागि पनि दुखदायी हो ।

गत वर्षको स्मरण गर्दै शाहीले भने, ‘राष्ट्रिय खेलकुद परिषदमा जाँदा पनि कसले केही चासो राखेनन् । रमेश सिलवाललाई पटक-पटक निवेदन दिएँ । खेल/खेलाडीहरु नबुझेका सदस्य सचिवबाट झनै के आश्रय पाइन्थ्यो र ? यताबाट केही हुन्न भन्दै उल्टै हकारेर पठाए ।’ अहिले पनि कुलबहादुरलाई थप नयाँ कीर्तिमान रच्ने भोको छ । ९० सेकेन्डमै ७७ जिल्लाको नाम र सदरमुकाम भन्न सक्ने उनको क्षमता छ ।

अझ कम समयमै सबै जिल्लासहित सदरमुकामको भन्न सक्ने कोशिस गरिरहेका उनी यसको पनि कीर्तिमान रच्न चाहन्छन् । त्यस्तै सबैभन्दा बढी प्रमाणपत्र भएको व्यक्तिको रुपमा अर्को पनि कीर्तिमानी रच्ने उनको चाहाना छ । उनीसँग यति मात्र होइन, अनेकौं कीर्तिमानी भोक अनन्त छ । तर, यी सबै भोकलाई साथमा भएको प्रमाणपत्रजसरी सिरानी हालेर बस्नु उनको बाध्यता हो । आर्थिक अभावकै कारण उनका हरेक योजनाहरु मुर्झाएका छन् । सपनाहरुसँग उनले हार मान्नु परिरहेको छ । न्युज कारोबारबाट ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार