मङ्लबार, असार ४, २०८१
  • होमपेज
  • ग्रामीण अवस्था र रूमल्लिएका जनप्रतिनिधि
Breaking News

ग्रामीण अवस्था र रूमल्लिएका जनप्रतिनिधि

उज्ज्वल खड्का

पहाडको फेदबाट कलकल बगेर आएको चिसो पानी । घरमै पालेको गाई भैँसीबाट उत्पादन भएको दूध महीको महत्व कहाँ छ ? अचेल बजारिया चिसो पेय पदार्थले महत्व पाउँदा अर्गानिक उत्पादन दूधजन्य पदार्थलाई किनारा लगाइसेकेको छ ।

बालबालिकादेखि बृद्धवस्थासम्म पनि अहिले बजारिया पेय पदार्थमा रुमल्लिएका छन् । पेय पदार्थको महत्व अचेल यत्रतत्र सर्वत्र छ । घ्यू, दही महीको सट्टामा ड्यु र कोक । बिरामी भेट्न पनि चिसो पेय पदार्थहरू नै । गाउँघरतिर हुने पारिवारिक संस्कार र पुजा पाठहरूमा पनि पेय पदार्थहरू अनिवार्य जस्तै देखिन्छन् । यति मात्र होइन, खाजा पसलदेखि मदिरा पसलसम्म जताततै यस्ता पेय पदार्थको बिगबिगी छ ।

सामाजिक सञ्जालदेखि ठूला मिडियाहरूमा देखिने जागरणसहित विज्ञापनमा ठूला सेलिब्रेटीहरूको प्रस्तुतिले यस्ता पेय पदार्थहरूको बजार निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

बजारू पेय पदार्थले हाम्रो संस्कारमा मात्र होइन स्वास्थ्यमा पनि गम्भीर असर गरिरहेको छ । चिसो पेय पदार्थहरुले गर्दा स्वास्थ्यमा निकै असर पर्ने गर्दछ । कलेजो, जसले खाना पचाउने, शरीरका बिकार पदार्थहरु हटाउने पित्त बनाउनेजस्ता अनेकौँ काम गर्छ त्यसमा बोसो जम्ने रहेछ । यस्तै विभिन्न समस्याबाट ग्रसित भइरहेका छन् ।

हामी यस्ता विभिन्न प्रकारका पेय पदार्थ पिउनका लागि अलिकति पनि असहज मान्दैनौँ । धेरैजस्ता समस्या तत्काल नदेखिने र तर दीर्घकालिन रुपमा निकै असज हुने भएपछि त्यो अबेरपछिको अभ्यास हुन्छ । हामिमा यथोचित ज्ञान पनि त छैन । शरीरमा नकारात्मक असर पुर्याउने भएर स्वास्थ्यकर्मीहरू पनि चिसो पेय पदार्थहरु नखान सुझाउँछन् ।

नेपालले अङ्गिकार गरेको अर्थनीतिले हामीले यस्ता पेय पदार्थलाई बन्देज गर्न सक्दैनौँ र गर्न पनि हुदैन तर मानिसहरूले आफ्नो स्वास्थप्रति आफैँ सचेत भने हुनुपर्ने आजको आवश्यकता हो ।

ग्रामीण जीवनशैलीमा हुर्केको पंतिीकारले सानो छँदा यस्ता पेय पदार्थको नाम पनि सुनेको थिएन । जनआन्दोलन सफलताको केहीपछि पंक्तिकारको परिवारले अङ्ग्रेजी माध्यममा पढाउने चाहना गर्यो । पंक्तिकार पहाडबाट तराइ झर्ने भयो ।

पंतीकारले बझाङ जिल्लाको छान्नाबाट दुई दिन पैदल हिड्दै डोटीको सिलगढी आएपछि मात्र गाडी देख्ने अवसर पाएको हो । पहिलो पटक बझाङको छान्नाबाट दुई दिन पैदल हिड्दै डोटीको सिलगढी आएपछि मात्र मैले गाडी देखेको थिएँ ।

अग्रजसँग आएर खप्तडको बीचपानी पुगेपछिको सम्झना अहिले पनि झलझल आइरहन्छ । आठ वर्षे बालकलाई हिड्न हौसला दिने हजुरबाले भन्नुुहुन्थ्यो, “गाडीले घाँस खान्छ, अलिकति यहाँ भएको घाँस काटेर लिनुपर्छ भनेको र मैले खुशी हुँदै हातले घाँस लुछेको” अहिले पनि मानसपटलमा ताजै छ ।

अचेल यातायातको पहुँच गाउँ गाउँमा छ । अन्तर्राष्ट्रिय बजारमा बिक्रि हुने सामानहरु केही मात्रामा भए पनि घरदैलोमै पुग्छन् । गाउँका कर्मयोगी पाखुराहरु पनि घरदैलोबाटै बिदेश पुगेका छन् ।

म सानो छँदा चिसो पेय पदार्थहरु गाउँ पसेका थिएनन् । यातायातको असहजता गाउँले सहर पसिसकेका थिएनन् । युद्ध, गरिबी र अशिक्षाले भने भारतका विभिन्न सहर र कालापहाडमा मजदुरी गर्न जाने चलन थियो । त्यति बेला सिमित मान्छेहरु पलायन हुन्थे । अहिले जस्तो गाउँ नै रित्तिने अवस्था त्यो बेला थिएन ।

समयको चक्रसँगै आवश्यकताहरु बढ्दै गए । सहज जीवनको खोजी हुन थाल्यो । देशले माओवादी युद्व पश्चात् पनि भोग्नुपरेको राजनीतिक अस्थिरताको संक्रमणले समाज असन्तुष्ट बन्दै गयो । गाउँ सहरको खोजीमा निस्कियो । युवा सहर बस्ने परिवारलाई अघाउन्जेल खुवाउन र सन्तानलाई अंग्रेजी माध्यमबाट शिक्षा दिन विदेश निस्कियो ।

संविधान निर्माणपछि गाउँमा विकासको गति बढेको छ । स्थानीय तहले जानी नजानी काम गर्न खोजेको छन् । राजनीतिक दलहरु आन्दोलनको संरचनाबाट आएर होला ठूला दलका जिल्ला स्तरका नेताहरुले समतामूलक विकासको अवधारणा बुझेका छैनन् । विकासको बहुआयामिक अवधारणाबारे ज्ञानको कमी छ । विकासले समाज, संस्कृति र प्रकृतिलाई यथोचित न्याय दिन सकेका छैनन् ।

गाउँमा विकास भनेकै सिमेण्ट र रडले बनाएका संरचना हो भन्ने लागेको छ । सायदै कुनै डाँडा पाखा बाँकी छैन डोजरले आतंकित नबनाएको र सायदै कुनै त्यस्तो सडक छैन पहिरो र बाढीले प्रत्येक वर्ष क्षतविच्छेद नबनाएको ।

स्थानीय तहको निर्वाचन अवधिरभर उम्मेदवारहरुसँग प्रचार प्रसारमा जाँदा सबै दलका घोषणापत्रहरु पढ्दा कसैको घोषणा पत्रहरुमा यथेष्ट योजनाहरु भेटिएनन् । बिना अध्ययन भइरहेको विकास आयोजना मुख्यतः सडकले पर्यावरणमा पारेको क्षतिलाई न्यूनीकरणको विषय घोषणा पत्रमा भेटिदैनन् । घोषणापत्रहरु सरसर्ती पढ्दा निबन्ध लेखन जस्तै देखिन्थे । खानेपानीका कुवाहरुको सांस्कृतिक महत्व र पर्यावरणीय महत्वको विषयमा र सिमेन्ट, रडको प्रयोग मन्दिरहरुको धार्मिक ऐतिहासिक र सांस्कृतिक महत्वलाई क्षतविक्षत पारेको यथार्थलाई स्थानीय नेतृत्वबाट नजरअन्दाज गरेको देखिन्छ ।

जीवन, पर्यावरण र संस्कृतिको अन्तरनिहित सम्बन्धबारे स्थानीय सरकारका जनप्रतिनिधिहरुको सरोकारभन्दा बाहिरको विषय भएको छ । पुरातात्विक महत्वका मन्दिरहरुलाई सिमेण्टको प्लास्टर गरेर महत्व नै हराएका छन् । गाउँमा पुरातात्विक महत्वको विषयमा जनजागरण नै पैदा गर्नुपर्ने बेला आएको छ ।

सिमेन्ट रडको संरचना र पहाड फोरेर सडक बनाउनु मात्र विकास होइन भन्ने बुझ्न र बुझाउन जरुरी छ । गाउँले समाजलाई उन्नतिको मार्गमा डो¥याउने र पर्यावरण बचाउने अहिलेको गाउँको राजनीतिले सकेको छैन । योजना र इच्छाशक्ति भएमा अहिले भइरहेकै बजेट र साधन स्रोतले धेरै काम गर्न सकिन्छ ।

अब के गर्ने ?

खानपान, जीवनशैली, भाषा, संस्कृतिको महत्वलाई बिर्सेर समाज परिवर्तनले गति लिदैन । मौलिकता सभ्यता हो । हाम्रा ऐतिहासिक मठमन्दिर, खानेपानीका कुवा, मेलाहरुले हाम्रो इतिहास र सभ्यतालाई झल्काउँछ । विकास र आधुनिकतालाई अगाल्ने नाममा मौलिकतालाई नजरअन्दाज गर्ने समाज कतै पुग्दैन । हरेक समाजले मौलिकतालाई जगेर्ना गर्दै विज्ञानलाई आत्मसात गरेर अघि बढ्ने हो । युरोपका देशहरु, पूर्वी एसिया र मध्यपूर्वका आर्थिक समृद्धि हासिल गरेका देशहरुले आफ्नो मौलिकतालाई छोडेका छैनन् ।

बजारिया पेय पदार्थहरुले स्वास्थका लागि नकारात्मक असर पारिरहेको अवास्थाप्रति स्थानीयलाई सचेत बनाउनै पर्छ । मौलिक खानपानहरुलाई स्वास्थ्यका दृष्टिकोणले लाभदायक छन् भनेर बुझाउनु पर्नेछ ।

विकासको मानकलाई अब बदल्नुपर्ने समय आइसकेको छ । भौतिक विकासले मात्र उन्नत समाजको निर्माण सम्भव छैन । नेपाल ऐतिहासिक कालदेखि नै विशिष्ट इतिहास बोकेको देश हो । भौगोलिक अवस्थिति र भूराजनीतिक जटिलताले विभिन्न कालखण्डमा नेपालमा समस्याहरू पनि आएका छन् ।

अस्थिर सरकार, बोझिलो कर्मचारीतन्त्र र झन्झटिलो प्रशासनिक सेवा र तत्काल नेपालको अर्थतन्त्रले धेरै संख्यामा ठूला उद्योगहरु सञ्चालन गर्नुपर्ने अवस्था छैन ।

नेपाल गाउँहरु भएको देश हो । नेपाल आर्थिक रुपमा समृद्ध बन्न गाउँहरु समृद्ध बन्नुपर्छ । कृषिबाट नै ग्रामीण अर्थतन्त्रको आधार निर्माण हुनसक्छ । परम्परागत कृषि निर्वाहमुखी मात्र भएकाले नेपालको आर्थिक समृद्धिमा जटिलता आएको हो । देशको जनसंख्या आधाभन्दा बढी र कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा योगदान कम छ । कृषिलाई मुख्य पेशा बनाएर पनि दैनिक उपभोग्य खाद्य वस्तुको आयात खर्बौं खर्च हुनु दुःखद हो ।

अहिलेसम्म ग्रामीण अर्थतन्त्र वैदेशिक रोजगारी, परम्परागत कृषि, पशुपालन र श्रमले धानिरहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन कृषिमा प्रविधिको प्रयोग र बजार व्यवस्थानका लागि दीर्घकालीन संरचना र नीति आवश्यक छ । देश विकासको आधार निर्माण गर्न ग्रामीण कृषिको संरचनात्मक प्रणालीमा परिवर्तन आवश्यक छ ।

ग्रामीण कृषिमा मुख्यतः महिलाहरु अत्याधिक संलग्न छन् । परम्परागत कृषि प्रणालीमा अधिक श्रम कम प्रतिफल छ । महिला परम्परागत कृषि प्रणालीका कारण कुनै न कुनै रोगले पीडित छन् । महिलाको स्वास्थ्यको प्रमुख समस्याको कारण भनेको परम्परा कृषि प्रणाली मुख्य हो । ग्रामीण महिलाहरू मिहेनतका हिसाबले अत्याधिक समय कृषि र पशुपालनको काममा लागिरहेकै हुन्छन् तर पनि बाच्नका लागिबाहेक खास प्रगति देखिँदैन स्वास्थलाई हाइसन्चो पनि देखिदैन । महिला स्वास्थलाई स्वस्थ बनाइराख्न स्वास्थ्य क्षेत्र जत्तिकै कृषि क्षेत्रको संरचनात्मक परिवर्तन महत्वपूर्ण छ ।

ग्रामीण अर्थतन्त्रलाई विकास गर्ने हो भने कृषिमा स्थानीय सरकारले महिलालाई तालिम, बीउ बिजन, एकीकृत बजार व्यवस्थापन, कोल्ड स्टोरहरुको व्यवस्थापन गर्नुपर्ने अनिवार्य देखिन्छ । कृषिको लगानीले अर्थतन्त्र र स्वास्थ्यको इकोसिस्टमलाई बदल्ने भएका ग्रामीण कृषिलाई समयानुकूल बनाउनुपर्छ ।

कृषिमा लाग्ने जनसंख्या अनुपात घटाउँदै सेवा क्षेत्र र पर्यटनमा ध्यान दिनुपर्छ । प्रकृति र संस्कृतिको उचित प्रयोगबाट पर्यटन उद्योगलाई प्रोत्साहन गर्नुपर्छ । अहिलेसम्म नेपालको शिक्षाले साक्षरता वृद्विमा महत्वपूर्ण योगदान गरे पनि शिक्षा क्षेत्रको एकल काटेपनलाई बहुआयामिक बनाउन सकेको छैन ।

प्रस्तावित विद्यालय शिक्षा बिधेयक पनि समयानुकूल नभएको प्रष्टै हुन्छ । अब प्राविधिक र सीपमुलक शिक्षालाई स्थानीय तहहरुले आत्मसात गरेर आत्मनिर्भर समाज बनाउने समय आइसकेको छ ।

नेतृत्व कसले गर्ने ?

भौगोलिक बिकटता र केही विभेदयुक्त सामाजिक आस्थाबाहेक मौलिक मूल्य मान्यतालाई अपनाउन नसक्नु पनि नेपालको प्रमुख समस्या हो ।

पश्चिमा जगतले अपनाएको विकासको अवधारणा र जीवन पद्वतिलाई अगाल्नु आधुनिक बन्नु होइन । हरेक समाजको आफ्नै विशेषता हुने भएकाले भूगोलअनुसार सत्यहरु पनि फरक छन् । परापूर्वक कालदेखि हाम्रो खानपान र जीवनमा विज्ञान जोडिएको यथार्थ बिर्सन मिल्दैन । नेपाली समाज र आर्थिक सामाजिक परिस्थिति फरक छ ।

देश निर्माण गर्न गाउँ निर्माण गर्नैपर्छ । देश निर्माण र आममान्छेको मानसिकतालाई सम्बोधन गर्ने मुख्य शक्ति राजनीति दल हुन् । बलियो र समृद्ध राष्ट्र निर्माणका लागि राजनीतिक दलहरुले आफ्नो संघठनलाई प्रशिक्षित गर्नुपर्छ । स्थानीय तहको नेतृत्वकर्ता विश्व परिवेशअनुसार सोच्ने र स्थानीय आवश्यकताअनुसार योजना बनाउने हुनुपर्छ ।

भूमण्डलीकृत विश्व व्यवस्थामा हरेक दिन हरेक देश र व्यक्तिको जीवनमा नयाँ चुनौती र अवसरहरु थपिरहेकाले अब विश्व विद्यालयबाट प्रशिक्षित मस्तिष्कले राजनीतिक दलका हरेक तहमा नेतृत्व गर्नुपर्छ । प्रशिक्षित मष्तिस्कले मात्र आत्मनिर्भर राज्यको निर्माण गर्ने कुरा विश्व इतिहासमा देख्न पाइन्छ । नेपाललाई चाहिने आवश्यक संस्था र ती संस्थाहरुको उपयुक्ततालाई बुझ्ने नेतृत्व राज्यका हरेक तहमा चाहिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार