मङ्लबार, असार ४, २०८१
  • होमपेज
  • वाक स्वतन्त्रता र पत्रकारितामा चुनौतीहरू
Breaking News

वाक स्वतन्त्रता र पत्रकारितामा चुनौतीहरू

इन्द्र बहादुर विष्ट

काठमाडौँ । वाक स्वतन्त्रता । यो दुई शब्दले पूरै लोकतन्त्रलाई चिनाउँछ । बोल्न पाउने, लेख्न पाउने मात्रै होइन स्वतन्त्रपूर्वक बाँच्न पाउनु नै सफल लोकतन्त्रको अभ्यास मानिन्छ । जबसम्म एकतन्त्रीय शासन व्यवस्था रहन्छ, त्यो बेलासम्म निरंकुश शासन नै रहन्छ । उदाहरणको रूपमा हामी छिमेकी मुलुक चीन, उत्तर कोरिया, लाओस, भियतनाम, क्युबाजस्ता मुलुकलाई हेर्न सक्छौँ । कम्युनिस्ट शासन चलेका मुलुकका जनताले मुक्तिको तिर्खामा बाँचेका छन् ।

छिमेकी मुलुक भुटानमा पनि राजनीतिक स्वतन्त्रताको हक कुण्ठित छ । त्यसको पीडा एक लाखभन्दा बढी भुटानी शरणार्थीलाई आश्रय दिएका मुलुकले बुझेका छन् । लोकतन्त्र, प्रजातन्त्रको मौलिक हक हो स्वतन्त्रता । तर, विश्वका कैयाँै मुलुकले एकतन्त्रीय शासन नै लादेका छन् ।

वाक् स्वतन्त्रतामा नेपाल निकै अगाडि छ । २००७, २०३६, २०४६, २०५२, २०६२÷०६३ लगायत थुप्रै आन्दोलन पनि प्रजातान्त्रिक स्वतन्त्रता सुनिश्चित गर्नकै लागि हो । त्यो उपलब्धिको नेपालले अभ्यास पनि गरिरहेको छ ।

जब नागरिक स्वतन्त्र हुन्छन्, त्यसपछि नागरिककै आवाजलाई प्राथमिकतामा राख्ने सञ्चारजगत पनि स्वतन्त्र हुन्छ । स्वतन्त्रपछिकै नियमहरू/आचारसंहिताहरू पालना गर्छ । जहाँ नागरिक र राज्यका बीचमा सञ्चारजगत पुल बनेको हुन्छ । त्यसैले प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको मेरुदण्ड नै हो भनिन्छ ।

कसैको हस्तक्षेप, नियन्त्रण र नियोजनबिना स्वतन्त्र तवरले काम गर्ने, लेख्ने, बोल्ने, संघ संगठन खोल्न पाउने वा निर्वाध रूपमा आफ्ना गतिविधि गर्न पाउने अवरोधरहित अवस्था हुनु नै वाक स्वतन्त्रता हो । विचार अभिव्यक्तिको स्वतन्त्रताले खुला समाजको वृद्धि र विकासमा समेत टेवा पु-याउँछ । अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्न नजान्दा र मर्यादित नहुँदा भने स्वतन्त्र पेशाहरू धमिलिन सक्छन् । नजान्दा बढ्दो प्रविधिको प्रयोगले व्यक्ति वा संस्थालाई “ट्रोल” पनि बनाइदिन्छ । त्यसका लागि आचारसंहिता, नीति नियमसंगत बाटो चाल्नुपर्छ ।

त्यसैमाथि सञ्चार अत्यन्तै संवेदनशील क्षेत्र हो । त्यसलाई भुल्दा पनि धेरै चुनौती खेप्नुपर्छ । वाक स्वतन्त्रताकै नाममा सामाजिक सञ्जालमा लेखिने, बोलिने छाडा बोली, प्रदर्शन गरिने अश्लील हर्कत, असभ्य टिप्पणीले यसको मूल मर्मलाई घात गर्छ ।

वाक स्वतन्त्रतामा स्वच्छ आलोचना, स्वस्थ निर्देशन र सैद्धान्तिक टिप्पणी, सैद्धान्तिक प्रतिटिप्पणीहरू कहिल्यै दिशाहीन बन्दैनन् । वाक स्वतन्त्रता आजको समाजको अभिन्न पक्ष पनि हो । समाजमा फरक/फरक विचार सैद्धान्तिक मान्यता, दर्शन अनि व्यवहार भएको बहुल समाजमा सबैको एकै विचार मान्यता र विश्वास हुँदैन । तर, सबैका विचार ग्रहण गरी आवश्यक विचारलाई प्राथमिकता दिन सकिन्छ । लोकतन्त्रको आधारभूत तत्व पनि अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता नै हो । यो मर्यादित, अनुशासित र अनुकरणीय भने हुनैपर्छ ।

नेपालमा वाक स्वतन्त्रताबारे संवैधानिक व्यवस्था पनि कायम गरेको छ । नेपालको संविधान २०७२ को धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । धारा १७ (२) (क) मा प्रत्येक नागरिकलाई ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने’ उल्लेख गरेको छ । उक्त व्यवस्थाले ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनता वा संघीय एकाइ वा विभिन्न जात, जाति, धर्म सम्प्रदायबीचको सुसम्बन्ध खलल पार्ने, जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, गाली बेइज्जती, अदालतको अवहेलना हुने अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन’ भनी उल्लेख गरिएको छ । प्रस्तुत संवैधानिक प्रवन्धमा वाक स्वतन्त्रतालाई वाक मर्यादाको अभिन्न तत्व भनेर परिभाषित गरिएको छ ।

पत्रकारितामा चुनौतीहरू

पत्रकारिता पेशा आफैँमा मर्यादित र व्यवस्थित पेशा हो । यसको उद्देश्य आदर्श समाजको निर्माण नै हो । यसले नयाँ सामाजिक घटनालाई महत्व दिन्छ । हरेक घटनाको विश्लेषण र मूल्यांकन गर्दै सर्वसाधारणसमक्ष बुझ्ने भाषामा पत्रकारिता प्रस्तुत हुनुपर्छ । नविनतम घटनाको संकलन, चयन एवं सम्प्रेषणको समग्र प्रक्रिया नै पत्रकारिता हो । पत्रकारितालाई समाजको ऐना पनि भनिन्छ । जसरी ऐनाले कुनै पनि वस्तु वा चिजलाई जस्ताको त्यस्तै देखाउँछ, त्यस्तै पत्रकारिताले समाजमा दैनिक रुपमा हुने घटनाहरूलाई जस्ताको त्यस्तै देखाई आमसञ्चारका माध्यमहरू रेडियो, पत्रपत्रिका, अनलाइन पत्रिका र टेलिभिजनमार्फत् प्रकाशन तथा प्रशारण गर्दछ ।

राज्यको ‘वाचडग’ वा राज्यको चौथो अंगको उपाधी पाएको पत्रकारिता आज विभिन्न चुनौतीसँग खेलिरहेको छ । राष्ट्रियभन्दा पनि मोफसलका मिडियाहरूमा बढी चुनौतीहरू छन् । नेपालका विभिन्न भौगोलिक विकटता भएका क्षेत्रमा त झनै चुनौतीपूर्ण बिषय छ । पत्रकारिता अवसरले भरिएको चुनौतीपूर्ण पेसाका रुपमा पनि लिइने गरिन्छ । पत्रकारिता क्षेत्रमा राज्यको लगानी शून्य जस्तै छ । यसकारण पनि पत्रकारिता क्षेत्रमा झनै चुनौति बढेको देखिन्छ ।

नेपाली पत्रकारितामा सय वर्ष पूरा हुँदा पनि चुनौतीहरू घटेका छैनन् । किनकि, मिडिया क्षेत्रमा लगानीको अभाव छ । व्यावसायिक पत्रकारिताको अभ्यास कम छ । यसले गर्दा मिडिया क्षेत्रमा काम गर्ने मिडियाकर्मीहरू टिक्न सकिरहेका छैनन् ।

पत्रकारिता क्षेत्रमा नेपालको भौगोलिक बिकटताले पनि चुनौती दिएको अवस्था छ । नेपालका विभिन्न जिल्लामा यातायातको पहुँच नहुनुका साथै सञ्चार क्षेत्रको पहुँच पनि सुस्त छ । यसले गर्दा नेपाली पत्रकारिता जति विकास हुनुपर्ने हो त्यति भएको छैन । पेशागत असुरक्षा पत्रकारिता क्षेत्रको अर्को चुनौती हो । एक दशकभन्दा लामो द्वन्द्वका कारण नेपाली पत्रकारहरूले निर्धक्क भएर काम गर्ने मौका पाएनन् ।

पत्रकारमाथि राज्य र द्वन्द्वरत पक्षबाट सांघातिक हमला, अभद्र व्यवहार, यातना, कुटपिट, अपहरण वा कब्जा एवं हत्या समेतका धम्की आइरहन्छन् । सुरक्षाको उचित प्रबन्धको अभावमा पत्रकारहरू कतिपय घटनाहरूको तथ्यपरक समाचारहरू सार्वजनिक गर्न सकिरहेका छैनन्, जसकारण सम्पूर्ण जनताले देशमा के भइरहेको छ भन्ने कुराहरू थाहा नपाएको अवस्था छ ।

श्रमजिवी पत्रकार ऐन, २०६४ लागू भएको छ, तर प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको । यसले नेपाली पत्रकारिता क्षेत्रमा निकै चुनौती थपेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार