शनिबार, जेष्ठ ५, २०८१
Breaking News

निरूत्साहित मतदाता !

बझाङको खप्तडछान्ना गाउँपालिकाको ऐँचेलीबगरमा चार गाउँका साढे ५ सय मतदाता छन् । रनिगाउँ, बाँगापाटा, तल्लो ऐँचेली, मल्लो ऐँचेलीमा सानो मतदान केन्द्र भएको हुँदा यही १५ वैशाखमा भएको उपनिर्वाचनमा ८० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरिएको थियो ।

शनिबार मतदान भएपनि मध्याह्न १२ बजेसम्म एक सयजना पनि पुगेनन् । टाढाका मात्र नभई नजिकका मतदाता पनि नआउने देखिएपछि मतदान केन्द्रमा खटिएका पार्टीका प्रतिनिधिले फोन घुमाउन थाले । भनसुन हुन थाल्यो । त्यसपछि पनि सयको हाराहारीमा मात्रै मतदाता थपिए ।

खप्तड मावि मतदान केन्द्रमा १ हजार ८ सय १८ मतदाता हुन् । तर, मत भने ६ सय ८० मात्रै खस्यो । पिठातोला, सुतारीगाउँ, मतुवाँ, छोटाखेत, छात्रवष्ठी, कालुखेती र बुंगौतोला गरी आठ गाउँमा उत्साहजनक सहभागिता हुने धेरैको अपेक्षा थियो । तर, कतिपय मतदाता गाउँबाटै आएनन् भने कतिपय गाउँबाहिर भएर छुटे ।

गाउँबाहिर हुने मतदाता छुटे पनि गाउँमै भएकाले चासो नदिनु भनेको बहिस्कार गरेको बुझ्नुपर्ने ऐँचेलीबगरका अर्जुन गिरीको बुझाइ छ । ‘नेताहरू आफैं गाउँ बस्न दिँदैनन् । फेरि आफैं भोट माग्न आउँछन् । सधैँ भोट माग्ने र जनतामुखी काम नगर्नुको परिणाम अधिकांश मतदाताले बहिष्कार गरेका हुन्,’ उनले भने ।

गिरीका अनुसार ऐँचेलीमा राजनीतिक दलले जनतालाई गरिखाने बाटो (व्यवस्था) गाउँमै बनाइदिएको भए जनता उत्साहित भएर भोट हाल्थे । गाउँमै बस्थे । ‘तर, परीक्षण गरिसकेका सबै दल सत्तामा पुगेपछि नातागोता, जाति, भेग हेर्न थाले । सामान्य भुईँमान्छेलाई कसैले वास्ता गरेनन् । गाउँमै बस्ने वातावरण भएन,’ गिरीले भने, ‘त्यसैले भोट जसलाई हाल्दा पनि केही नहुँदो रहेछ भनेर मतदाता रुष्ट भएका देखिन्छन् ।’

२०४८ सालबाट निरन्तर मतदान गर्दै आएका खप्तडछान्नाकै नारायण जोशी पनि नेताहरूले विगतमा दिएका आश्वासन पूरा नगरेकाले मतदातामा उत्साह नदेखिएको बताउँछन् ।

‘हरेक निर्वाचनमा भोट हालेकै हौँ । उम्मेदवारले ठूलठूला सपना देखाएकै हुन् । ०४८ कै निर्वाचनको बेलामा देखाएका एजेन्डा अहिलेसम्म पूरा भएका छैनन् । अनि जनताले कसरी पत्याउनु !’ उनको प्रश्न छ ।

जोशीका अनुसार नेताहरूका झुटा आश्वासन सुन्दा सुन्दा वाक्क भएकाले यसपटक धेरैले चुनाव नै बहिष्कार गरेका हुन् । ‘सुरुकै निर्वाचनका बेलामा गाउँमा पानी ल्याइदिन्छौँ, भोट दिनु भन्ने नेताहरू कता पुगे ? हामी अहिले पनि कुवाको पानी पिउँदै आएका छौँ । राजनीतिक दलमा आशा मात्रै देखाउने तर काम नगर्ने भएको हुँदा धेरै मतदाताले चुनाव बहिष्कार गरेका हुन्,’ उनले भने ।

पहिलेका निर्वाचनमा मतदान केन्द्रमा मतदाताको बिहानैदेखि भीड हुन्थ्यो । आजभोलि भने खासै कसैलाई उत्साह नभएको छबिसपाथिभेरा गाउँपालिकाका भेषराज पाध्यायले बताए । ‘विगतका निर्वाचनहरूमा मतदान केन्द्रमा मतदाताको घुइँचो लाग्थ्यो । आफूले समर्थन गरेका उम्मेदवारलाई जिताउन दौडधूप गर्थे । अहिले सबै थाकिसके,’ उनले भने ।

यस पटकको निर्वाचनमा भने गाउँमा बसेका कतिपय मतदाताले समेत मतदान नगरेको पाध्यायले बताए । ‘नेताहरू जनतामाझ ढिला जाँदा मतदाता कम देखिए,’ उनले भने ।

संघीय मामिला तथा स्थानीय विकासमन्त्री भानुभक्त जोशी मतदातामा निराशा बढेको विश्वस्त छैनन् । बरु उनी नेताहरूले पर्याप्त प्रचारप्रसार नगरेका कारण मतदान गर्नेको संख्या घटेको बताउँछन् ।

‘यस पटक छोटो समय हुँदा दलहरूले प्रचार गर्न पाएनन् । त्यसैले कम मत खसेको हो । मतदाता निरुत्साहित भने हुँदै होइनन्,’ बझाङबाट निर्वाचित सांसदसमेत रहेका जोशीले भने ।

बझाङमा चारपटक निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका मन्त्री जोशीका अनुसार उपनिर्वाचनमा नेकपा एमालेले मात्रै पहिलेदेखि नै प्रचार गर्ने अवसर पायो । अन्य दलमा अलमलमा परेर जनतामाझ ढिला जाँदा मतदाता कम देखिए ।

‘गठबन्धनबाट माओवादी र समाजवादी कसलाई सहयोग गर्ने वा छुट्टाछुट्टै लड्ने भनेर अलमलमा परे । सुरुमै जनतामा गएमा उत्साहित हुन्थे, ढिला भयो उहाँलाई उत्साहित बनाउन सकिएन,’ उनले भने ।

२०४८ सालको निर्वाचनमा नेकपा एमालेबाट चुनाव लड्दा पनि मतदाता उत्साहित भएको जोशी सम्झन्छन् । ‘त्यस बेलामै १८÷२० हजार मत खसेको थियो । जित्नेको पक्षमा ९ हजार आएको थियो,’ उनले भने ।

मन्त्री जोशीका अनुसार सबैभन्दा बढी मत भने २०७४ सालमा मत खसेको थियो । ‘संविधान निर्माणपछि पहिलो निर्वाचन भएको हुँदा त्यो बेलामा धेरै उत्साहित भएका थिए । जित्नेले पनि ३६ हजार मत ल्याएर निर्वाचित भएका थिए । प्रतिद्वन्द्वीको पनि राम्रै प्रतिस्पर्धा थियो,’ उनले भने ।

यसपटक उपनिर्वाचनमा ३० हजार ३२८ जनाले मतदान गरेका थिए । ६ वटा स्थानीय तह र एक स्थानीय तहको एउटा वडाका ६१ हजार ७ सय ६८ मतदातामध्ये आधाले मात्रै मतदानमा भाग लिएका हुन् ।

एमालेको बदला

सोमबार सकिएको उपनिर्वाचनको मतगणनाबाट बझाङ–१ (१) प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भए । उनी ११ हजार ६१३ मतका साथ निर्वाचित भएका हुन् । भण्डारीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत ल्याए । यस्तै, तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८३१ मत प्राप्त गरे ।

चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याए । प्रदेशसभा सदस्यका लागि ११ जनाले चुनावी मैदानमा थिए । २०७९ सालको चुनावमा यहाँबाट कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए ।
गठबन्धनको साथ पाएका उनले नेकपा एमालेका अफिलाल ओखेडालाई हराएका थिए । उक्त चुनावमा सिंहले १७ हजार १ सय १२ तथा ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार