शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • इप्पान र विद्युत प्राधिकरण एकै परिवारका सदस्य हुन् : इप्पान निर्देशक ढकाल
Breaking News

इप्पान र विद्युत प्राधिकरण एकै परिवारका सदस्य हुन् : इप्पान निर्देशक ढकाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, विद्युत व्यापार विभागका नवनियुक्त निर्देशक राजन ढकालले ऊर्जा उत्पादक र वितरक एकै परिवारका सदस्य भएकोले एक अर्कालाई विश्वास गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

मंगलवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँगको भेटमा निर्देशक ढकालले कुल विद्युत उत्पादनमा ६० प्रतिशतभन्दा बढी योगदान रहेको इप्पान र नेपाल विद्युत प्राधिकरण (एनइए) एकै परिवारका सदस्य भएको बताएका हुन् ।

इप्पान र एनइए एक्लै हिँड्दा कोही पनि गन्तव्यमा पुग्न नसक्ने भएकाले टिमवर्कमा काम गर्नुपर्ने र त्यसका लागि आफ्नो टिम ‘सरकारी काम’ भन्ने मानसिकताबाट माथि उठेर निजी क्षेत्रकै शैलीमा काम गर्न तयार रहेको बताए ।

उक्त भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले पछिल्लो समय आर्थिक सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्न नसक्दा पीपीए भएका धेरै आयोजनाको वित्तीय व्यवस्थापन हुन नसकेको र वित्तीय व्यवस्थापन भएका कतिपय आयोजनाले समेत काम अघि बढाउन नसकेकोले विद्युत उत्पादन गर्नुपर्ने मिति (RCOD) थप गर्नका लागि पहलकदमी लिइदिन आग्रह गरे ।

सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको लक्ष्य लिइएकोले विभागलाई यो परिमाणको विद्युत खरिद विक्री सम्झौता (पीपीए) गर्ने अवसर भएको पनि कार्कीले बताए । इप्पानका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्यले विद्युत व्यापार विभागबाट निजी क्षेत्रलाई सहज हुने वातावरण बनाएर काम गर्न आग्रह गरे ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले निजी क्षेत्रका ऊर्जा उत्पादक र विद्युत व्यापार विभागको सम्बन्ध नङ र मासु जस्तै हुनुपर्ने बताए । इप्पानका महासचिव बलराम खतिवडाले निजी क्षेत्रले विद्युत खरिद विक्री सम्झौता (पीपीए)का लागि आवेदन दिएका १२ हजार मेगावाट क्षमताका सबै आयोजनाको पीपीए ढकालकै कार्यकालमा हुनेमा विश्वस्त रहेको बताए ।

इप्पानका उपमहासचिव प्रकाश दुलालले सरकारी कर्मचारी भएपनि निजी क्षेत्रकै शैलीमा काम गर्ने जुझारुपन ढकालमा भएको भन्दै विद्युत व्यापार विभागमा पनि सोही शैलीमा काम हुनेमा आशावादी रहेको बताए ।

उक्त भेटमा इप्पानकोतर्फबाट अध्यक्ष गणेश कार्की सहित निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, उपाध्यक्षद्वय आनन्द चौधरी र भरत खत्री, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, कोषाध्यक्ष नरेन्द्र बल्भ पन्त, कार्यसमिति सदस्य मिथुन पौडेल र प्रमुख कार्यकारी अधिकृत भीम गौतम लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार