मङ्लबार, पुस ९, २०८१
  • होमपेज
  • मण्डले सोचका अवशेष र छद्मभेष !
Breaking News

मण्डले सोचका अवशेष र छद्मभेष !

काठमाडौं । नेपाललाई शासकहरूले इतिहासदेखि वर्तमानसम्म विभिन्न कालखण्डमा प्रताडित गरिरहे । राज्य शक्तिको दुरुपयोग गर्दै पाइलैपिच्छे सरकारी ढुकुटीको दोहन प्रक्रिया चलिरह्यो । एक पटक सत्तामा पुग्ने परिवारका सदस्यहरू प्रायः अलिखित अर्बपतिको सूचीमा छन् । जहानियाँ राणा शासनको अन्त्य भइसकेपछि पनि पटक-पटक सरकारमा जानेहरूका खलक उच्च ओहदाबाट झरेनन् । ३० वर्षे निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि जनआन्दोलन भयो । आन्दोलन दबाउन बल प्रयोग गर्ने माथि छानबिन र कारबाही गर्न मल्लिक आयोग बन्यो । तर, आयोगले दोषी ठहर गरेका आन्दोलन दबाउनेलाई कुनै कारबाही भएन । मल्लिक आयोगको प्रतिवेदनले दोषी ठहर गरिएका नै २०४६ को परिवर्तनपछि सत्ता, प्रशासन र प्रहरीको जिम्मेवार पदमा रहे र कतिपयले त २०६२/६३ को जनआन्दोलन दबाउनसमेत सक्रिय भए ।

मल्लिक आयोगकोले दोषी ठहर गरिएका लोकेन्द्रबहादुर चन्द प्रजातन्त्र पुनर्स्थापनापछि प्रधानमन्त्री भए । पशुपतिशमशेर जबरा, कमल थापा र शरदसिंह भण्डारी पनि विभिन्न समयमा मन्त्री भए । डा. मोहम्मद मोहसिन राष्ट्रियसभाका अध्यक्ष भए । लोकराज श्रेष्ठ परराष्ट्र सचिव, अच्यूतकृष्ण खरेल प्रहरी महानिरीक्षक, सहवीर थापा सशस्त्र प्रहरी महानिरीक्षक र विमल कोइराला मुख्यसचिव नै भए । केशवराज भण्डारी प्रमुख निर्वाचन आयुक्त जिम्मेवारीमा पुगे । मल्लिक आयोगका दोषी नै २०४६ को परिवर्तनपछि सत्ता, प्रशासन र प्रहरीको जिम्मेवार पदमा रहे ।

यी सबै त भए सिधै मण्डलेका अवशेष । यसबाहेक सिधै बाहिर केन्द्रात्मक जहानियाँ शासन चाहियो नभन्ने तर घुमाउरो पाराले राष्ट्रवादका चर्का नारा लगाउने, षड्यन्त्रका सिद्धान्त र फेक न्युज फैल्याई आफैंलाई ‘राष्ट्रवादी’ र अरू सबै ‘राष्ट्रघाती’ र ‘विदेशी एजेन्ट’ भनेर सामाजिक सञ्जालमा कुर्लने पूर्वपत्रकार, अभियन्ता, पूर्वसेना, पुलिस या अधिवक्ताहरू पनि मण्डले सोचका छद्मभेषी अवशेष हुन् । यी स्वघोषित देश (राज) भक्तहरू कहिले भ्रष्ट्राचार विरोधी मुकुन्डो लगाएर आमाको रगतको कसम खाएर जनतालाई भावना माथि खेल्छन् त त कहिले आफू मात्र धर्म संस्कृतिको संरक्षक भएको दाबी गर्छन् । यी छद्मभेषी विचारलाई मूलधारका मिडियाले त स्थान दिँदैनन् । तर, सामाजिक सञ्जाल : पश्चगामीहरूको बसिबियाँलो बनेको छ !

यी छद्मभेषी सामाजिक सञ्जालमा अब हामी गोरखपुर हैन गोरखा जान्छौ भन्दै धर्म र राजतन्त्रको नाउँमा राजनीति गर्ने प्रयास गर्दैछन् । आश्चर्यको कुरा त के छ भने यी ‘राष्ट्रवादी’ ‘गोर्खागामी’ संसारमा सबै सफल, समृद्ध देशमा स्थापित धर्मनिरपेक्षता (पन्थ निरपेक्षता), समावेशीता, विकेन्द्रीकरण र संघीयताजस्ता लोकतन्त्रका आधारभूत मूल्य मान्यता विरोधी पनि हुन्छन् । यो सबैमा भाजपा र आरएसएसको शैली झल्किन्छ । यी नामका मात्रै भलाद्मी कहिले ‘विचारभन्दा माथि देश’ भन्ने निजी विचार भट्याऊछन् त कहिले हामीमाथि बाह्य शक्ति हाबी हुने डर छ भन्दै त्यसको समाधानमा एकल केन्द्रात्मक ताना शाही शासन नै चाहिन्छ भन्छन् । अरूभन्दा हाम्रो धर्म, जात, वर्ग, छालाको रङ श्रेष्ठ हो भन्ने भावले समाजमा न एकता ल्याउँछ, न समृद्धि । दक्षिण पन्थले समाज रूढिवाद र अतिवाद तिर धकेली दिन्छ । धर्म, जाति र क्षेत्रीयताको नाममा राजनीति गर्नेहरूको इतिहास लामो छ । धर्मको नाममा विभाजित भारत, पाकिस्तान होस् या धर्मकोनाममा लडिरहने इजरायल-प्यालेस्टाइनजस्ता क्षेत्रहरूमा शान्ति स्थापना गर्न मुस्किल छ ।

यसो हुँदा धर्म र साम्प्रदायिकता भड्काई केही समूहहरू सधैँ राजनीतिक फाइदा उठाइरहन्छन् । भ्रष्टाचारीले एक पुस्ताको समृद्धिका बाधक हुन्छन् । तर, केन्द्रात्मक एकल राज्यको वकालत धर्मको राजनीति गर्ने दक्षिणपन्थीले वर्तमान पुस्तालाई उद्देलित बनाउँदै देशको भविष्यमाथि नै खेलबाड गरिरहेका हुन्छन् । त्यसमाथि पनि छद्मभेषी पश्चगामीहरू हरियो घाँसका सर्प हुन् ।

आज देश समृद्ध नहुनुमा व्यवस्थाको ठूलो दोष कि व्यवस्थापनको भन्ने बहस ‘कुखुरी काँ, बासी भात खाँ’ भन्ने कविताझैँ निष्कर्षहीन प्रतीत हुन थालेको छ । खोइ गाई ? (उर्लिएको जनवादी) खोलाले बगायो । खोइ (जनवादी) खोलो ? सुक्यो । हलो पनि दसकौँ अघि नै भाँचिइसक्यो । अब तारे-माले नै एक हल बनेर सँगै जोत्न सकिँदैन भने बाजेको पालाको हलो खोजेर अब समृद्धि आउँदैन । अब तारे-माले र हलो तीन वटैको विकल्प खोज्नुपर्छ ।

आज विदेसिनुलाई जीवनको सबैभन्दा ठूलो उपलब्धिझैँ गरी वैदेशिक रोजगारीमा जानेहरूलाई खादा, माला लगाई भोज, पार्टी गरी बिदाइ गर्ने फेसन चल्दै गर्दा नेपाली जनताले एउटा साँचो राष्ट्रिय एकताको प्रतीक खोजिरहेछन् । आज नेपालमा हामीलाई चाहिएको राष्ट्रनायक हामी कहिले पत्रकारमा त कहिले कलाकारमा खोज्दै छौँ । कहिले सेवा निवृत्त प्रहरी, सेना, अधिवक्ता, विद्युत् कर्मचारीहरू त कहिले सामाजिक अभियन्ताहरूलाई पछ्याउँदै छौँ ।

याद रहोस्, जबसम्म जनताको चेतना शून्य बनिरहन्छ । राजा आए जलाउनेछन्, होली वाइन खाने शासकले गाड्नेछन् । हामी अनेक वादका नाउँमा जलाइयौँ, गाडियौँ, झुन्ड्याइयौँ, गोली ठोकियौँ । जागौँ अब । बलिका बोका नबनौँ ।

हजारौँ जनताको बलिदानले आएको उपलब्धिलाई आज गणतन्त्रमा एकाध पात्रको भ्रष्टता र असक्षमतालाई हेरि व्यवस्था ठीक भएन भन्ने बेला आइसकेको छैन । समस्या पात्रको हो, प्रणालीको हैन । राष्ट्रवादलाई खोप अनि धर्मको राजनीतिलाई बुस्टर डोज भनेर प्रचार गर्ने दक्षिणपन्थीहरू यदि आउँदो निर्वाचनहरूमा घर दैलोमा आए भने प्रश्न गरौँ कि…
भ्रष्टाचार रोक्न कुन साम्राज्यवादले रोक्यो ?
शिक्षा सुधार गर्न कुन विदेशी शक्तिले छेक्यो ?
तिम्रो पश्चगामी नाराले स्वदेशमै रोजगार कसरी बढाउँछ ?
अनेकतामा एकता र आ-आफ्नै स्वतन्त्र बालिग मताधिकार प्रयोग गर्नु नै गणतन्त्र नेपालका जनताको स्वधर्म हो । लामो संघर्षपछि उपलब्ध भएको लोकतन्त्रको रक्षा हामीले गर्न सके मात्रै लोकतन्त्रले पनि हाम्रो स्वतन्त्रताको रक्षा गर्न सक्छ ।

धर्मो रक्षति रक्षितः अर्थात् धर्मले तिनको रक्षा गर्छ जसले धर्मको रक्षा गर्छन् । नेपालका सबै राजनीतिक दलका नेताले आफ्नो कुर्सी टिकाइरहन अहिले दिल्ली दरबारमा धर्मनीतिमा आएको परिवर्तनलाई रिझाउने प्रयास गरिरहेका छन्  । साँचो राष्ट्रवाद देशप्रेम हो, स्वावलम्बन हो र जनतामा निहित सार्वभौमसत्ता हो । देशप्रेम र दक्षिणपन्थी, पश्चगमन, जाति र धर्मको कुरूप राजनीतिमा आकाश-पातालको अन्तर छ । धर्मनिरपेक्षताको तात्त्विक अर्थ राज्यले कुनै एक धर्मको रक्षा र प्रवर्द्धन नगरी सबै धर्मलाई समान संरक्षण गर्नु हो, अनि एउटा धर्मले प्रलोभन, भय र बाध्यतामा पारेर अरूलाई धर्म परिवर्तन गराउन नपाउनु पनि हो, जुन अधिकार वर्तमान संविधानले सुनिश्चित गरेको छ ।

आफूलाई पुनरुत्थानवादी र राजावादी ठान्नेहरूले स्मरण गर्न जरुरी छ । लोकतन्त्रको विकल्प अझै उन्नत लोकतन्त्र हो, कसैले स्थापित गरिदिने पश्चगामी व्यवस्था होइन । यदि हामी केही अवसरवादी समूहको सत्ताका लागि राष्ट्रिय अखण्डता, जनतामा निहित सार्वभौमसत्ता र धार्मिक सहिष्णुतामा आँच आउने कदमको समर्थन गर्छौँ भने त्यो वास्तविक आत्मसम्मान बेची परधर्म अँगाल्नु हुनेछ । राष्ट्रिय अखण्डता, सहिष्णुता र स्वाभिमान नै अहिले सबै नेपालीहरूको स्वधर्म हो । गीतामा भनिएझैँ यसको जगेर्ना गर्नु नै श्रेयस्कर छ ।

स्वधर्मे निधनं श्रेय: परधर्मो भयावह अर्थात् अरूको कठपुतली भएर बाँच्नुभन्दा स्वतन्त्र मर्नु नै श्रेयस्कर हो । आफ्नो सत्ता हासिल गर्न या आफ्नो नाता कृपावादी दलाल पुँजीवादी शासन चलाइराख्न खोक्रो राष्ट्रवादका नारा लगाउने छ्द्मभेषी पश्चगामीहरूको समयमै पहिचान गरौँ । जब लोकतन्त्र संस्थागत भई जनता जनार्दनको स्वाभिमानको रक्षार्थ खसेका सचेत र जागरूक मत जब सिंहको गर्जन आउँदो निर्वाचनको मतपेटिका भित्र गर्जिनेछ, तब यी जहानियाँ, दलाल पुँजीवादी राजनीति गर्नेहरू भाग्दै अल्पमतको खाडलमा पर्नेछन् । अनि देशलाई सुशासन र समृद्धितर्फ डोर्‍याउने राष्ट्रिय एकता र समृद्धिको संवाहक समावेशी लोकतन्त्र स्थापित भए एक हैन । अनेक राजनेताको चुनाव जनता स्वयम् गर्नेछन् ।

जय देश ! श्री पशुपतिनाथले बेलमै आँखा उघारुन् ! जय गोरखकाली !

(लेखक जोशी तेस्रो ध्रुव डटकममा कार्यकारी निर्देशक हुन् । उनी युनिभर्सिटी अफ म्यासचुसेट्समा रसायन शास्त्र विषयमा विद्यावारिधि गर्दैछन् ।)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार