शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • महाधिवेशनको कुम्भ मेलामा विचारभन्दा माथि ‘बा’ !
Breaking News

महाधिवेशनको कुम्भ मेलामा विचारभन्दा माथि ‘बा’ !

महाधिवेशन ‘बा’ महाराजको दर्शन गर्ने कुम्भ मेला भो
विचारभन्दा माथि ‘बा’को भजन मण्डलीको भेला भो ।

एक सिँगे गैँडा, रातो झण्डा, पोल-पर्चाभरी ‘बा’ नै ‘बा’
‘बा’को दर्शनसँगै उद्घाटन, दिनभर वर्णन ‘बा’कै महिमा
बन्द सत्रमा मुख त बन्द, आँखाको नि बन्द परेला भो !
विचारभन्दा माथि…

‘बा’को सेवा गरे मिल्छ मेवा, मासु-भात-प्रसाद, ढोग भेट
पद जतिका ‘बा’कै टिका, जय-जयकार नगर्नेको चंगा चेट
त्वमेव माता, पिता त्वमेव ! एक गुरु, पुरै पार्टी चेला भो !
विचारभन्दा माथि…

इमानदार कार्यकर्ताको मेहनत र निष्ठा बन्धक छ आज
आहा लोकतन्त्र ! एक नाम नै मुलमन्त्र सिंगो पार्टी माझ
‘बा’कै वचन मधुर, आमखजुर, फरक मत तीतेकरेला भो !
विचारभन्दा माथि…

के गरुन् दश भाइ आस, जब विरुद्धमा छन् लाखौं दास
भन्नलाई जिउँदै छ अझै जबज, मदन पथको परिहास
लोकतन्त्र रक्षार्थ अब चुनावमा जनता जाग्ने बेला भो !
विचारभन्दा माथि…

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार