दीपक भण्डारी
काठमाडौं । केही समयअघि नेपाली चलचित्र ‘मंगलम’ हेर्दै थिए । चलचित्रमा सामाजिक विषयवस्तु, ग्रामीण तथा सहरिया परिवेशलाई प्राथमिकतामा राखेको थियो । तर, त्योभन्दा बढी समाजमा भएका फरक क्षमता भएका व्यक्तिलाई निकै तिरस्कृत पार्ने खालका कन्टेन्ट राखेको देखेँ ।
चलचित्र हेर्दै जाँदा समाजका सचेत नागरिकले समेत फरक क्षमताका नागरिकलाई वर्वरतापूर्वक हमला गरेकोझैँ महशुस भयो । चलचित्रमा अपाङ्गता भएका नागरिक क्षमताबिहीन देखिए । पीडितलाई झनै पीडा थप्ने, होच्याएको खालका सवालहरू मात्रै देखिए । अझ भनौं पीडितलाई मर्न प्रेरित गर्ने खालका कन्टेन्ट झल्काएको थियो । यो चलचित्र नयाँ सिकारूले नभई नाम चलेका निर्माणकर्ता, निर्देशक, नायक खलनायकलगायतका कलाकारहरूले बनाएका थिए । चलचित्र हेर्ने कसैले पनि उनीहरूलाई क्षमा नदिने अवस्था थियो । यतिसम्मको विषय राखेका थिए कि मानौं, कुनै अपाङ्गता भएका नागरिकका बेदनारअवस्थामाथि कुनै सबलाङ्ग नागरिकले छुरा चलाइरहेको छ ।
चलचित्र मंगलममा मात्रै होइन, पछिल्लो समय प्रविधिको विकाससँगै फैलिएका सामाजिक सञ्जालमा पनि अपाङ्गता भएका नागरिकलाइ धेरै नै दमन गरेका क्लिपहरू देखिएका छन् । यस्तो अवस्था रोक्न सम्बन्धित निकायको ध्यान जान जरूरी छ । कानुनले नै भनेको छ कि विशिष्ठ क्षमता भएका नागरिकहरूको हकहितका लागि सकारात्मक सन्देश फैलाएर जीवनयापनमा सहजता ल्याउने खालका मनोरञ्जनात्मक क्रियाकलापहरू प्रकाशन तथा प्रकाशन गर्नुपर्छ । तर, पछिल्लो समयमा चलचित्रमा समेत पीडामाथि कैँची चलिरहँदा पनि नियामक निकायहरू दर्शक नै बनिरहेका छन् ।
मानिसको जीवनमा आइपरेका सम्वेदनशील अवस्थालाई काल्पनिक कथा वस्तु बनाएर प्रदर्शन गर्दासमेत चलचित्र बोर्डलगायतका निकायहरू मौन बस्नु भनेको अपाङ्गता भएका नागरिकको हकहितविरूद्ध उभिनुजस्तै हो ।
त्यसकारण कथाकार, साहित्यकार, रचनाकार, निबन्धकार, निर्माता, कलाकारलगायतका व्यक्तित्वले कुनै पनि प्राणीको बाध्यता, चोट, व्यथा, पीडाजस्ता कुरालाई मनोरञ्जनको माध्यम नबनाउन् भन्ने सन्देश फैलाउन् । अपाङ्गता भएका नागरिकबारे सार्वजनिक विषयमा मनोरञ्जन, सन्तुष्टि, व्यापार, विलासिता नबनाई हरेक नागरिकले सबै नागरिक समान् हुन् भन्ने सन्देश फैलाएर ‘नैतिक तक्मा’ भिरून् । शुभकामना छ ।
फेसबुक प्रतिक्रियाहरु