शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गरौं : अभिनेत्री कोइराला
बलिउड/हलिउड

विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गरौं : अभिनेत्री कोइराला

काठमाडौँ । चर्चित वलिउड अभिनेत्री मनिषा कोइरालाले विदेशमा सिकेको सीपलाई देश विकासमा प्रयोग गर्नु पर्ने बताएकी छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले शुक्रवार क्याम्पसमा आयोजना गरेको महिला आत्मनिर्भरता विषयक अन्तरसम्वाद तथा छलफल कार्यक्रममा बोल्दै उनले नेपालको विकासका लागि आफुले आर्जन गरेको ज्ञान सीप नेपालमा प्रयोग गर्नु पर्ने बताइन् । ‘हामी ज्ञान सीपका लागि विश्वका जुन सुकै ठाँउमा पनि पुग्न सक्छौं । तर जुन माटोमा जन्मियौं त्यस माटो प्रति हाम्रो कर्तव्य हुन आउँछ । त्यसैले पनि नेपालको लागि मैले के गर्न सक्छु भन्ने चिन्तन आवश्यक छ । त्यसका लागि आफ्नो सीप देशका खर्चिनु पर्छ ।’ उनले भनिन् ।

सार्थक जीवनका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उनले आत्मनिर्भरताको लागि समयमै आफ्नो रुची अनुसारको विषय पहिल्याउन र सोही अनुरुप काम गर्न विद्यार्थीलाई सुझाव दिइन ्। आफु क्यान्सर जस्तो गम्भिर रोगबाट निको भएर बाहिर आएको र देशका लागि केही गर्न सकिन्छ कि भनेर काम गर्दै आइरहको प्रसंग उल्लेख गर्दै अभिनेत्री कोइरालाले जिन्दगी संघर्षपूर्ण यात्रा रहेको बताइन ।

‘अहिलेका युवा युवतीहरुले धेरै स्ट्रेस लिएको देखिन्छ । त्यसबाट बाहिर आउन जरुरी छ । कुनै पनि काम सानो ठूलो भन्ने हुँदैन् । तपाईंले गरिरहेका कामलाई पर्याप्त समय दिनोस, तपाईलाई ठिक लागेन बाटो परिवर्तन गर्नुस । क्षणिक लाभका लागि गरिएको कामले दिने सन्तुष्टि क्षणिक नै हुन्छ । त्यसैले काम गर्दा दीर्घकालीन सोंच अगाडि ल्याएर काम गर्नुस सफलता अवश्य मिल्नेछ ।’ उनले भनिन् ।

क्याम्पसका वरिष्ठ प्राध्यापक प्रा.डा.जयन्तनाथ खनालले डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको स्थापना तथा वर्तमान अवस्थाबारे जानकारी दिँदै क्याम्पसले विद्यार्थीको उत्प्रेरणाको लागि यस प्रकारका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको बताए ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अपराजिता अर्यालले मनिषा कोइरालाको जीवन, भोगाई र संघर्षबाट धेरै कुरा सिक्न सकिने धारणा राख्दै यस कार्यक्रमको माध्यमबाट विद्यार्थीमा सकारात्मक परिर्वतनको अपेक्षा गरिएको बताइन् । २०३७ सालमा स्थापना भएको क्याम्पसमा स्नातक तहमा बीबीएस, बीए तथा बीएड र स्नातकोत्तर तहमा एमए अंग्रजी, एमए समाजशास्त्र, तथा एमबीएसको अध्ययन हुने गरेको र यस क्याम्पसमा अध्ययनरत छात्राहरुले विभिन्न शैक्षिक वर्षहरुमा त्रिभुवन विश्वविद्यालयमा सर्वोत्कृष्ट अंक हासिल गरेको क्याम्पस प्रमुख अर्यालले जानकारी दिइन् । हाल यो क्याम्पसमा विभिन्न ६० जिल्लाका करिब ७ सय विद्यार्थी अध्ययनरत छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै