बिहिबार, कार्तिक २२, २०८१
  • होमपेज
  • अब सम्झनामा मात्रै रह्यो ‘खातीगाउँ’
Breaking News

अब सम्झनामा मात्रै रह्यो ‘खातीगाउँ’

आकाश जति गड्गड्याए पनि कार्तिक २ गतेसम्म राम्रै चल्दै थियो खातीगाउँबासीको दैनिकी । तराइको जस्तै उब्जनी हुने जिउलो (खेतीयोग्य जमिन)ले उनीहरुलाई कहिल्यै चिन्ता लिनु परेको थिएन । आफूलाई पर्याप्त भएर उत्पादित बस्तु बिक्रीसमेत गर्थे उनीहरु । खातीगाउँको आगनमै सडक, अगाडि जिउलो, पारीपट्टी विद्युत स्टेशन, वरपर डाडाँकाडा बीचमा सलल बगिरहेको जडारीगाडको सुन्दरताले पर्यटकीय क्षेत्रको झल्को दिइरहेको थियो ।

गाउँघरमा पर्यटकीय क्षेत्र बनाउनसमेत युवाहरु लागिपरेका थिए । सडकको वारिपारी पक्की भवनहरु पनि निर्माण भइरहेका थिए । सरकारले पनि त्यो क्षेत्रको विकासको लागि विभिन्न आयोजना दिइरहेको थियो । सामान्य पूर्वाधारहरुबाट पनि सम्पन्न भइसकेको थियो खातीगाउँ । आफ्नै गाउँघरमा बदलिँदो परिवेशको ‘झिल्को’ झल्कँदै थियो । स्वावलम्बी खातीगाउँवासीका लागि सुखको बिहानी झुल्किन थालिसकेको थियो । तर, विडम्बना त्यो धेरै दिन टिकेन । पुस्तौंअघि डोटीबाट सरेका खातीगाउँवासीलाई कहिल्यै दुःख नदिएको जडारीगाडले एकै झट्कामा कार्तिक ३ गते सर्वस्व लुट्यो । उजाड बनाएरै छाड्यो ।

‘आकाशमा बादल देखिनेबित्तिकै झरी पर्छ कि भनेर आत्तिन्छौं । झरी परे बाढी आउँछ, बाढी आए भाग्ने ठाउँ पनि छैन,’ खप्तडछान्ना गाउँपालिका–१ का सुरेन्द्र खातीले दुखेसो पोखे । सुरेन्द्र मात्रै होइनन्, अहिले गाउँ नै ‘घर न घाट’को जस्तै भएको छ । कार्तिक २ गते राति सुतेका खातीगाउँवासीको सहारा खेतीयोग्य जमिन ३ गते बिहान नहुँदै झिसमिसेमै बाढी पहिरोले निल्यो । चार परिवारले त गाउँलेको सहायतामा बालबालिकाहरु काँधमा बोक्दै ज्यान जोगाए । मानवीय क्षति नभए पनि भौतिक सम्पति भने सबै बाढी पहिरोले खोस्यो ।

स्थानीय शौंरे खाती, बासुदेवी खाती सहितका चार परिवारले त शरीरमा लगाएको कपडाबाहेक सबै गुमाए । राति कपडा खोलेर सुतेका बालबालिकाले त कपडासमेत पाएनन् । झिसमिसेमै दौडेर गाउँमा बचेका ओभानो घरमा आश्रय लिए । यसरी एउटा सुन्दर गाउँ क्षणभरमै बगरमा परिणत भयो । खातीगाउँ मात्रै होइन, छान्नाका सबै गाउँमा कतै बाढी त कतै पहिरोले तहसनहस बनायो ।

खप्तडछान्ना–१, मुसुराडीका दलित परिवारले मध्यराति नै घर छोडेर भाग्नुप-यो । सोही गाउँका अन्य परिवारको विचल्ली भयो । सयौं घर पहिरोले बस्न नमिल्ने गरी चर्किएका छन् । छान्नामा अहिले घरैपिच्छे पहिरो छ । खप्तडछान्ना गाउँपालिकाका अनुसार पालिकाका सातै वडामा गरी ७६ घर, २३ पसल, पाँच वटा कृषि फार्म र १० वटा छानो (गोठ) पूर्ण रुपमा क्षति भएको छ । त्यस्तै पुल, सडक, विद्यालय लगायतका दर्जनभन्दा बढी सार्वजनिक संस्थामा पनि क्षति पुगेको छ ।

यसपटकको झरी शताब्दीकै सबैभन्दा ठूलो भएको स्थानीयहरु बताउँछन् । खप्तडछान्ना गाउँँपालिका-६, पाटादेवलका कुम्भ खड्का भन्छन्, ‘यो पटकको बेमौसमी झरी तीन चार पुस्तायताकै ठूलो हो ।’ चार दिनसम्म लगातार, त्यो पनि निरन्तरको झरी अहिलेसम्म आफूले थाहा नपाएको उनी बताउँछन् । ‘यो पटक स-साना खहरे खोला पनि तर्न नसक्ने अवस्थामा पुगे । गहिरो भूभागमा जताततै ताल बने । बाढीपहिरो आयो र क्षति बढ्यो ।’

विपदजन्य अवस्थाबाट सुरक्षित मानिएको छान्नामा यसपटक तहसनहस भएको खड्काले बताए । ‘यो विपदमा हामीले ६ जनालाई गुमायौं । पचासौंं परिवार घरबारबिहीन भए । सयौं रोपनी खेतीयोग्य जमिन बगर भयो । सयौं ठाउँमा आएको पहिरोले जताततै जोखिम बनायो ।’ अब स्थान्तरण तथा क्षतिपूर्तिका लागि सबै निकायको सहयोग आवश्यक भएको उनी बताउँछन् ।

अहिले छान्नामा घरबारबिहीन भएका सयौं परिवारहरु बेसहारा भएका छन् । ‘पहिरो आएको तीन साता बित्दा पनि पीडितहरुले सहारा पाएका छैनन्,’ सुरेन्द्र भन्छन्, ‘प्रदेशले प्रतिपरिवार १÷१ बोरा चामल दिएको थियो । त्यो तेस्रो दिनमै सकियो । अहिले कसैले दिए खाने, नदिए भोकै बस्नुपर्ने अवस्था छ ।’

विपदपछि

सरकारी निकायबाट राहतका लागि आउने हेलिकप्टर पनि घटनास्थल नपुगेरै फर्किने गरेको सुरेन्द्रले बताए । उनले भने, ‘हेलिकप्टरको आवाज दैनिकजसो सुनिन्छ । गाउँमा आउँछ कि सोच्छौं । गइसक्ने रहेछ ।’ छान्नामा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापा आउँदा पनि बाढीपीडितले पत्तो पाएनन् । ‘मन्त्री, प्रधानमन्त्री आए भन्ने सुनियो, हाम्रो गाउँमा भने कसैले थाहै पाएनन् । हेलिकप्टरमा आएका थिए रे । राहतको नाममा आश्वासन मात्रै दिएर गए भन्ने सुनियो,’ सुरेन्द्र भन्छन् ।

छान्नामा धेरै पहिरो आउनुमा ‘डोजेर विकास’ले समस्या निम्त्याएको देख्छन् खप्तडछान्ना-५ का भरत केसी । उनी भन्छन्, ‘गाउँगाउँमा सडक पुर्यासउनु होडबाजी नै चल्यो । बिना इन्जिनियरिङ, बिना स्टिमेट सडक खनियो । प्रदेश र गाउँपालिकाको समन्वय नहुँदा एउटै गाउँमा दुईवटा सडक पनि खनिए । बजेट सक्ने हेतूले आफूलाई सहज पर्ने ठाउँमा डोजरले रातारात सडक खन्नको परिणाम नै पहिरो हो ।’ उनको बुझाइमा डोजरले भन्दा मान्छेले खनेको सडक नै दिगो हुन्छ ।

‘सुरु सुरुमा चट्टान बाहेकको ठाउँमा मान्छेले नै सडक खन्थे, स्थानीयले रोजगार पनि पाउँथे । तर, पछिल्लो समय शासक तथा टाठाबाठाहरुलाई नै तीव्र विकास चाहियो । परिणाम बिनाश हुँदै गयो । डोजरले एक ठाउँमा खन्दा झण्डै दुई सय मिटर टाढासम्म पनि हल्लिन्छ, वर्षायाममा त्यही हल्लिएको भागमा पहिरो बग्छ,’ उनको भनाइ छ । लगातार चार दिनको झरीले खप्तडछान्ना गाउँपालिकामा पहिरो आउँदा ६ जनाको ज्यान गएको छ भने अर्ब रुपैयाँ बराबरको भौतिक सम्पत्ति नोक्सान भएको छ ।

खप्तडछान्ना गाउँपालिकाका सूचना अधिकारी ऐन रोकायाका अनुसार दुई करोड ३० लाख रुपैयाँ बराबरको सिँचाई कुलो, एक करोड बराबरको झोलुंगे पुल, पाँच करोड बराबरको पक्की पुल, १० करोड बराबरको सडक, एक करोड ८८ लाख बराबरको हाइड्रोपावर, पाँच करोड ८६ लाख बराबरको सार्वजनिक भवन, ६० लाख बराबरको सार्वजनिक यातायात, ५९ करोड ६३ लाख बराबरको खेतीयोग्य जमिन, एक करोड ५३ लाख बराबरको खानेपानी, करिब चार करोड बराबरको कृषि तथा पशु र साढे सात करोड बराबरको निजी आवास गरी ९८ करोड ८१ लाख बराबरको भौतिक सम्पति (निजी तथा सार्वजनिक संरचना) नष्ट भएको छ । न्युज कारोबारबाट साभार

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार