शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • किसानको रोजाइमा सतुवाखेती
प्रदेश १

किसानको रोजाइमा सतुवाखेती

भोजपुर । व्यावसायिक सतुवा खेती यहाँका किसानको रोजाइमा परेको छ । राम्रो आम्दानी हुने भएपछि बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानहरुको आकर्षण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् ।

सतुवा यार्सागुम्बा जस्तै शक्तिवर्धक हुने व्यवसायीहरुले बताउने गरेका छन् । यसलाई क्यान्सर, ग्यास्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि उपयोगी हुने बताइन्छ । सबै पातहरू सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । एक हजार चार सय मिटर उचाइभन्दा माथि पाइने यो जडीबुटी धेरै रोगका लागि उपयोगी मानिन्छ ।

त्यस्तै घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन गरेको बेलामा प्रयोग गर्न सकिने बहुउपयोगी जडीबुटी रहेको कृषकको भनाइ छ । अन्य बालीको खेतीको तुलनामा सतुवाबाट राम्रो आम्दानी हुने किसानले बताउने गरेका छन् । सतुवा विशेष गरेर सेपिलो भागमा फस्टाउने किसानको भनाइ छ । यसको खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो तथा उत्तर-पश्चिम फर्किएको भूगोल उपयुक्त मानिन्छ ।

सुतवा टेम्केमैयुङ गाउँपालिका-१ तिम्मा र वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका-२ हेलौछा, षडानन्द नगरपालिका-९ किमालुङ र वडा नं १० बोयाको माथिल्लो भेग र आमचोक गाउँपालिका-४ तथा साल्पासिलिछो गाउँपालिका-४ खाटम्मा लगायतमा कृषकले व्यावसायिक खेती गर्दै आएका छन् ।

यो सतुवा टुसाउने समय रहेको किसानको भनाइ छ । भदौ-असोजमा फुलेपछि यसको डाँठ मर्ने गर्छ । जमिन रहेको गानो माघ, फागुन महिनामा पुनः पलाउने गर्छ । किसानले यसको गानो खनेर सुकाएपछि बिक्री-वितरण गर्दै आएका छन् । बिरुवा रोपेको दुईदेखि तीन वर्षमा सतुवा फुल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सयसम्म बिरुवा उत्पादन हुने किसानहरुको भनाइ छ ।

सतुवा खेतीबाट राम्रो आम्दानी लिन सकिने टेम्केमैयुङका कृषक एकराज विष्टले बताए । अघिल्ला वर्षको तुलनामा मूल्यमा गिरावट आए पनि किसानले भने खेती गर्न नछाडेको उनको भनाइ छ । अहिले उनले सतुवासँगै व्यावसायिक रुपमा किवी खेतीसमेत गरिरहेका छन् । प्रायः एउटा बोटबाट एउटा मात्र डाँठ निस्कने भए पनि फस्टाएको बोटले धेरै डाँठ दिने गर्छ ।

सतुवाको बिरुवा प्रतिगोटा २० देखि १५० रुपैयाँसम्म, सतुवाको बीउ प्रतिकिलो एक लाख र गानो प्रतिकिलो १० हजारदेखि १२ हजार रुपैयाँमा बिक्री हुने गरेको कृषक मानबहादुर राईले जानकारी दिए । क्लिकमान्डुबाट साभार ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै