शनिबार, जेष्ठ ५, २०८१
Breaking News

बेरंगीनतर्फ रंगीन तीज !

पहिले पहिले रंगीन तीज नेपालै हुन्थ्यो
रङ्गीविरङ्गी चुरापोते नेपालै हुन्थे
रङ्गीविरङ्गी सारी ब्लाउज नेपालै हुन्थे
बजार नेपालै हुन्थ्यो
किसिम किसिमका नाच नेपालै हुन्थे
हेर्न दर्शक नेपालै हुन्थे
बिस्तारै रंगीन तीज जिल्लामा सर्‍यो
अहिले नेपालजस्तै जिल्लामा छ
रातो पोते, तिलहरी जिल्लामै छ
किनबेच जिल्लामै छ ।
व्यापारी जिल्लामै छन्
ग्राहक जिल्लामै छन्
तीज मनाइदिने ठेकेदार जिल्लामै छन्
ताली पड्काउने दर्शक जिल्लामै छन्
अर्धनग्न भई नाच्ने ब्रतालुहरू जिल्लामै छन्
छेउबाट लुकी लुकी हेर्ने आफन्त जिल्लामै छन्
सिकारू जिल्लामै छन्
सिकाउने जिल्लामै छन्
गायक जिल्लामै छन्
कलाकार जिल्लामै छन्
रचनाकार जिल्लामै छन्
प्रचार गर्न पत्रकार जिल्लामै छन्
किनमेलमा प्रतिष्पर्धा जिल्लामै छ
जेठानीले दश हजारको सारी किन्दा
देउरानीले बीस हजारको सारी किन्ने चलन छ
जागिरबालीले दुई हजारको ब्लाउज किन्दा
बेरोजगारलाई पनि दुई हजारको नभई हुन्न
मजदुर भए पनि किनी नदिए
श्रीमानलाई नै छोड्ने धम्की दिने चलन छ
बुढापाकाले भन्थे,
घाँटी हेरी हाड निल्नु
व्यवहार हेरी संगत गर्नु
मन मिल्नेसँग नजिक हुनु
ग्रह नै नमिल्नेसँग टाँस्सिदै नटाँसिनु
तँभन्दा म के कम भन्नेसँग नबाँझिनु
अहिले त समाज प्रतिष्पर्धामै चम्किएको छ
सुनमा प्रतिष्पर्धा
चुरामा प्रतिष्पर्धा
जोवनमा प्रतिष्पर्धा
किन्नमा प्रतिष्पर्धा
जित्नमा प्रतिष्पर्धा
मेकपमा प्रतिष्पर्धा
यो सिकाई गाउँमा पनि पुग्न लाग्यो
गाउँको तीज चलन पनि फेरिन लाग्यो
पहिलेका तीज ब्रतालुहरू टाढै बस्थे
शिव पार्वतीकै गुणगान गाउँथे
पर्वतराज हिमालयको घरदेखिकै कथा सुन्थे
वस्तुभाउ छुँदैनथे
पानीसमेत नखाई भोकै बस्थे
टोलटोलमा महादेवका पुजा लाग्थे
शंखधुन बजिरहन्थ्यो
ब्राह्मणले पुजा लगाउथे
ब्रतालुहरु एकचित्त भई सुन्थे
ब्रतालुहरुका पतिहरू पनि पुजामा सरिक हुन्थे
राम्रो पति पाउन लागि अविवाहितहरू कामना गर्थे
पुजा सकिन्थ्यो
पञ्चामृत र प्रसाद गाउँभरि बाँडिन्थ्यो
ब्रतालुहरू शुद्ध भोजन ग्रहण गर्थे
छोरी बहिनीलाई दक्षिणा दिन्थे
माइती आएकी चेलीलाई गाउँभरिकैले सत्कार गर्थे
मावली आएका नानीबाबुहरू रमाउँथे
यो सबै सासुको पालामा हुन्थ्यो
अहिले बुहारीको पालामा निकै फेरियो
शंखधुनको सट्टा डिजे घन्किन्छन्
ब्रतालुहरू डिस्को डान्स गर्छन्
दुई फिट उफ्रेर नाच्छन्
महँगा परिकार खान्छन्
महँगा फलफूल मिठाई खान्छन्
मदिरामा समेत सौखिन छन् ।
यता ब्रतालुका पतिहरू पनि भट्टीमा हाजिर हुन्छन् ।
चलन फेरियो रेलको गतिझैँ
यहाँ,
शिव पार्वती फेरिए कि शिव पार्वतीको पुजा गर्ने फेरिए ?
धर्म फेरियो कि धर्मका हिमायति फेरिए ?
समाज फेरियो कि समाजका ठेकेदार फेरिए ?
जो फेरिए पनि फेरिएकै छन् ।
चालचलन फेरिएको छ
रितिरिवाज फेरिएको छ
धर्म संस्कृति फेरिएको छ
आदर सत्कार फेरिएको छ
माया ममता फेरिएको छ
मान सम्मान फेरिएको छ ।
पहिचान नै फेरिएको छ
समाज फेरिएको छ ।

–भूमिराज पिठातोली
खप्तडछान्ना-५ बझाङ

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार