बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • किन रोकिँदैन विद्यालयमा राजनीति ?
Breaking News

किन रोकिँदैन विद्यालयमा राजनीति ?

काठमाडाैँ ।बझाङ्गीमा एउटा उखान छ ‘एक पैसाको उपती नाइँ दश पैसाको खती’ ! बझाङलगायत देश भरी नै विद्यालयमा हुने विकृत राजनीति यस्तै छ । समाजवादउन्मुख संविधान भएको देशमा शिक्षामा हुनु पर्ने लगानी त छैन नै भएको लगानी पनि खराब व्यवस्थापनले सोचे जस्तो परिणाम दिन सकेको छैन । दुर्गम गाउँका जनताका छोराछोरीको बलिदानले व्यवस्था त बदलियो । प्रजातन्त्र लोकतन्त्रमा परिमार्जित भयो, समाजवाद उन्मुख संविधान पनि बन्यो । तर, जसको नाममा त्यो संघर्ष गरिएको थियो त्यो वर्गको जीवनशैली शैक्षिक, आर्थिक अवस्था परिवर्तन आएन । देशमै रोजगारी गरी जीवन बिताउन गाह्रो भएपछि, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सुविधामा पनि दलाल पुँजीवाद हाबी भएपछि अन्य केही सीप नलागी विदेसिन बाध्य भएका छन् ।

विद्यालयमा राजनीतिक हस्तक्षेप

बझाङका विद्यालयमै गएर कलिला विद्यार्थीलाई आफ्ना भातृ सङ्गठनका पर्चा बाँडेर सामाजिक सञ्जालमा तस्बिर रंग्याउने मित्रहरूलाई मेरो प्रश्न यो हो कि जुन सङ्गठनका पर्चा तपाई बाँड्नु हुन्छ या जसको छाता मुनि अबोध बालबालिकालाई जुलुस-विरोधमा उतारी रहनुभएको छ, तिनै दलका नेताका छोरा नाति या विदेशमा छन् या काठमान्डुका महँगा निजी विद्यालयमा विदेश जान चाहिने अङ्ग्रेजी पढ्दै छन् ! फेरि यी क्रियाकलापको सबैभन्दा बढी असर जनताका चेला-चेली माथि नै हो पर्ने !

गाउँमा राजनीति, वनजंङ्गलमा राजनीति, देवताका मन्दिरमा पनि राजनीति, हुँदा-हुँदा स्कुलमा समेत राजनीति हुनाले स्वतन्त्र समाजको परिकल्पना गर्न गाह्रो छ । “घर पिँडालु, वन पिँडालु, सउरास गयो हात लामा पिँडालु” भने झैँ यो विकृत राजनीतिबाट विद्या मन्दिर पनि प्रभावित भएका छन् !

अझै याद छ, म सानो छँदा बाजुरा-बझाङमा मेरा शिक्षक आमा-बुबालाले नेपाली कांग्रेसमा प्रवेश हुन अस्वीकार गरेकाले तत्कालीन काँग्रेसका नेता सोमराज (नाम परिवर्तित) ले बाजुरा को अति दुर्गम सात दिन हिँडेर जानुपर्ने कर्णालीको छेउ कालिकोटको सीमावर्ती गाउँमा सरुवा गरिदिएका थिए । सोमराजका वरिपरि ४०, ५० जना युवा तरुण दल, युवा सङ्घ आदि नाममा सेवाराजको पार्टीको झोला बोकी उनकै चुनाव प्रचार गरी हिँड्थे र उनले चुनाव जितेपछि तिनीहरूलाई विभिन्न कोटामा शिक्षकको नियुक्ति दिए । ती सबै आजीवन उनकै पार्टीको भातृ सङ्गठनको छाता ओढी उनकै गुणगान गाउँदै बसे । कति कतिको त प्रमाण-पत्र पनि भारतबाट किनेर ल्याएको नक्कली थियो रे ! जब जब वहाँहरूको योग्यता माथि प्रश्न उठे, उनका भातृ सङ्गठन हरूले बचाउ गरे र अन्य योग्य तर आस्था राख्ने शिक्षकलाई दुर्गम ठाउँमा सरुवा गरे ! यस्तो राजनीति भई रहे कसरी आओस् शिक्षामा सुधार ? कसरी उद्यममुखी शिक्षा बनोस् जब अलि अलि पढे लेखेकाले नै झोलामा किताब नबोकी पार्टीका पर्चा बोक्छन् ? कलम समाउने हातले झन्डा उठाउने, शिक्षामा सुधार कहिले आउने ?

संघीय विद्यालय शिक्षा विधेयक,२०८० को परिच्छेद-८ मा विद्यालयका शिक्षकको आचरणसम्बन्धी केही नियम राखिएका छन् । विशेष गरी ७३ औँ बुँदामा शिक्षकले राजनीतिक क्रियाकलापमा संलग्न हनु नहुने, कुनै दलसँग सम्बद्ध सङ्गठनको सदस्यता नलिने र चन्दा संकलनजस्ता क्रियाकलापमा संलग्न समेत नहुने जस्ता प्रावधान राखिएका छन् । तर आज शिक्षा मन्त्रालय शैक्षिक नीति निर्माण र तिनको कार्यसम्पादन, निरीक्षण गर्ने उच्च पदहरूदेखि गाउँ गाउँका विद्यालय व्यवस्थापन समिति विभिन्न दलका कार्यकर्ता भर्ती केन्द्र भएका छन् । तसर्थ ऐन कानुन बनाउनुसँगै तिनको पालनामा सबै सरोकार बालाहरूको सक्रिय र ईमान्दार सहभागिता चाहिन्छ । अभिभावक र विद्यार्थी सबैले सजग रहनुपर्छ ।

सन्देशमुलक गीत

प्यारा विद्यार्थी भाइ-बहिनी एउटा अर्ति सुनाऊँ ?
विद्यालय छाडी कसैका विरोधमा जनझाऊ
झण्डा त बेली क्रान्तिका लागि बन्दुकै उठाएका
तिमीलाई सिकाइएका भन्दा चर्का नारा लगाएका
स्कुल र कलेज छाडी बन्द, हडतालको पछि धाएका
भेटिन्छन् आज परदेशमा पुगी अतीत सम्झी पछुताएका
प्यारा विद्यार्थी भाइ-बहिनी एउटा अर्ति सुनाऊँ ?
झण्डा नाइँ बालख् उमेरमा हातमी कलम समाऊ !
सबै युवा कार्यकर्तालाई अबको सवाल–माहुरी बन्ने कि अरिङाल ?

देशमा गुणस्तरीय शिक्षा प्रणालीको विकास, उद्यमशीलता प्रवर्धन, रोजगारी सृजना गर्न व्यक्तिगत, सामूहिक प्रयासका साथै सक्षम नेतृत्वको पनि आवश्यकता पर्दछ । दिल्लीका सामुदायिक विद्यालयहरूमा वैकल्पिक राजनीतिमार्फत् सत्तामा पुगेको आम आदमी पार्टीको सबल शिक्षा नीतिको कारण ५ वर्षमै उल्लेखनीय सुधार भएको छ र विद्यार्थीहरू निजी विद्यालयबाट सामुदायिक विद्यालयमा आउन थालेका छन् । शिक्षामन्त्री सहितको टोली विश्वको सर्वोत्तम गुणस्तरीय शिक्षा भएको फिनल्यान्ड गएर प्रशिक्षण लिई, त्यहाँका शिक्षाका सिर्जनशील पक्षहरूलाई दिल्लीका सामुदायिक विद्यालयहरूमा लागू गरेका छन् ।

नेपालको माटो सुहाउँदो गुणस्तरीय शिक्षा प्रणाली लागू गर्न के–के आवश्यक छ त ?

मैले बझाङ, बाजुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर, काठमाडौँ, भारत हुँदै अमेरिकासम्म प्राथमिक तहदेखि स्नातकोत्तर र विद्यावारिधि गरिरहेका विद्यार्थीहरूलाई अङ्ग्रेजी, गणित र विज्ञान पढाएको छु। रोजगारी सृजना र उद्यमशीलता सम्बन्धी गोष्ठी, सम्मेलन हरूमा सहभागी हुनुका साथै ग्रामीण उद्यमशीलता प्रवर्धन समूहहरूमा प्रत्यक्ष रूपमा सहभागी भई केही कृषि तथा ग्रामीण साना उद्योग–धन्दा स्थापित गर्न प्रयासरत छु। मेरो शिक्षा, रोजगारी सिर्जना र उद्यमशीलताको प्रवर्धन क्षेत्रको लामो समयको व्यक्तिगत अनुभवको आधारमा हाम्रो शिक्षा संयन्त्र किन गुणस्तरीय र उद्यमशील हुन सक्ला भन्ने विषयमा समीक्षा गर्न चाहन्छु।

शिक्षा प्रणालीलाई गुणस्तरीय र उद्यमशील बनाउन चाहिने पूर्वाधार, सञ्जाल र संरचना

हामीले स्थानीय क्षेत्रको आम जन–जीवनमा प्रत्यक्ष असर गर्ने खालको विज्ञान र प्रविधिको त्यही क्षेत्रमा विकास गर्नु आवश्यक छ। उदाहरण को लागि खप्तडमा जडीबुटी सङ्कलन,प्रशोधन सम्बन्धी अनुसन्धान र प्राविधिक विकासमा जोड दिनु पर्‍यो। यसो गरेदेखि अरू देशका शैक्षिक संस्था र अनुसन्धान केन्द्रहरू सँग सहकार्यका बाटो खुल्छन्, पर्यटनको प्रवर्धन हुन्छ। बिस्तारै यस्ता विज्ञान अनुसन्धान केन्द्र वरिपरि नवीन साना उद्योग खुल्छन् स्थानीय विकास र अर्थतन्त्र दिगो र नवीकरणीय हुँदै जान्छ।

अब परदेशिएका युवा साथीले विदेशमा कमाएको पुँजीलाई आ–आफ्नै गाउँ ठाउँमा विप्रेषण मात्र नगरी गाउँमै भएका युवालाई रोजगारी समेत सृजना गर्ने गरी लगानी गर्ने सञ्जाल विकसित गर्नु आवश्यक छ। आज सामाजिक सञ्जालको जमाना छ। विदेश बस्ने आफन्त साथीभाइलाई आई फोन, प्ले स्टेसन, डीएसएलआर क्यामरा मात्रै नमागौँ। चन्दा र अनुदान मात्रै दिनुहोस् पनि नभनौँ। ग्रामीण शिक्षा र उद्यमशीलतामा लगानी गर्नुहोस् भनौँ।

अब शिक्षा प्रणालीलाई गुणस्तरीय र उद्यमशील बनाउन पूर्वाधार, सञ्जाल र संरचना निर्माणमा देश विदेशमा छरिएर बसेका सबै नेपाली जुट्नुपर्छ। शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउन पूर्वाधार, सञ्जाल र संरचना निर्माणमा अब युवा पुस्ताले जुट्नुपर्छ।

शिक्षामा ठोस सुधारका कुरा गर्दा ग्रामीण भेगका विद्यालयहरूमा पुस्तक, पाठ्यसामग्री, सेतो पाटीका साथै प्रोजेक्ट र कम्प्युटर जस्ता आधुनिक उपकरणहरूका साथै इन्टरनेट पुर्‍याउनु एउटा मुख्य आधारभूत र व्यवहारिक कदम हो। गाउँ ठाउँमा स्थानीय युवालाई प्राविधिक र व्यावसायिक प्रशिक्षण प्रदान गरी उद्यमशीलता प्रवर्धन गर्न सबै नेपाली मूलका शिक्षा प्रेमी विज्ञहरू एकजुट बनौँ । प्रवासमा रहेका नेपाली विज्ञहरूलाई गाउँ-ठाउँका शैक्षिक संस्थाहरू सँग जोडिएर केही योगदान गर्न सक्ने साझा सञ्जाल निर्माणमा पनि ध्यान दिनु पर्छ !

आऊ नेपाली आऊ, एक भएर नेपाल बनाउन आऊ
खुकुरी, बन्दुक धेरै भिर्‍यौ अब कलम औजार समाऊ !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै