शनिबार, बैशाख १, २०८१
  • होमपेज
  • राजनीतिको घर्म निभाउने कि धर्मको राजनीतिले जलाउने ?
Breaking News

राजनीतिको घर्म निभाउने कि धर्मको राजनीतिले जलाउने ?

बझाङ । आउनुहोस् मान्छेको मासु र गिद्धको कथा सुनाउँछु।

एक ठाउँमा गिद्धको गुडमा साना-साना चल्ला बस्थे। माउ गिद्धले चल्लाहरूलाई विभिन्न पशुहरूको सिनो मासु लिएर खुवाउने गर्थ्यो। एक दिन गिद्धको बच्चाले भन्यो – “आज मलाई मान्छेको मासु खान मन छ।”

“हुन्छ चल्ला! म बेलुका लिएर आउँछु।” भनेर ऊ माउ उड्यो र बेलुका सुँगुरको मासु लिएर आयो । चल्लाले भन्यो – “यो त सुँगुरको मासु हो l मलाई त मान्छेको मासु खान मन छ।” पर्ख! म बेलुकासम्ममा बन्दोबस्त गर्छु भनेर गिद्ध उड्यो । बेलुकी मरेको गाईको मासु लिएर आयो ।

चल्लाले रिसाउँदै भन्यो – “यो त गाईको मासु हो, मैले त मान्छेको मासु भन्या थिएँ।”

गिद्ध फेरि उड्यो र उसले सुँगुरको मासु मस्जिदको ढोकामा अनि गाईको मासु मन्दिरको ढोकामा लगेर फ्याँकी दियो । यो देखेर केही उग्र धार्मिक सङ्गठनले “गोरक्ष धर्म युद्ध” र “जिहाद” गर्ने घोषणा गर्दै सामाजिक संजालमा भड्किने अभिव्यक्ति दिन थाले। साम्प्रदायिक हिंसाको आगोमा आफ्नो राजनैतिक स्वार्थको रोटी सेक्नेहरू सक्रिय भए। विज्ञप्ति निकाल्दै हतियार र लाठी लिएर “धार्मिक सद्भाव र्‍याली” आव्हान गरे। केही “सोसल मिडिया इनफ्लुएंसर” ले आफू भाइरल हुन सत्य-तथ्य जाँच नगरी पुराना र असम्बन्धित उक्साउने तस्बिर र भिडियो सामाजिक संजालमा साझा गर्न थाले। इनफ्लुएंसरका अन्ध-समर्थकले लाईक, शेयर गर्दै कमेन्टका ब्याटल सुरु गरे।

केही अन्लाईन मिडियाहरू र यूट्युब च्यानलहरूले “भ्यूज” बढाउन यो ” भाइरल कन्टेन्ट” लाई “समाचार” बनाए। विवादास्पद छवि भएका धार्मिक र राजनैतिक “नेताका” अन्तर्वार्ता र कविका रौद्र, वीर, भयानक जस्ता काव्यका नवरस समेटेका “अद्भुत कविता” पनि भाइरल भए।

यसमाझ सद्भाव, मानवता, धार्मिक सहिष्णुता र लोकतन्त्रको बारेमा प्रष्ट पार्दै साम्प्रदायिक हिंसा नफैल्याउने अपिल गर्ने समाजका जिम्मेवार लेखक, अभियन्ता र सञ्चार कर्मीहरूलाई “पश्चिमा” “धर्म-विरोधी” भनेर तथानाम गाली गरियो। यो फैलिँदै गरेको घृणाको आगोमा पानी हाल्ने कम र “पेट्रोल” छर्किने धेरै भए।

केही समयपछि त्यहाँ धार्मिक द्वन्दले काटमार सुरु भयो l घर जलाइए, मान्छेका बेवारिसे लासहरू सडकमा छरिए । गिद्धका बाउ छोरा मिलेर अघाउँजी मान्छेको मासु खाए । गिद्धको बच्चालाई यो कुरा अचम्म लाग्यो र बाउलाई सोध्यो – “यो सब चमत्कार तपाईँले कसरी गर्नुभयो, यति धेरै मान्छेको मासु ?”

गिद्धले भन्यो – “चल्ला ! केही मान्छेहरूले आफ्नो स्वार्थको रोटी सेक्न ‘धर्म’को नामको आगो सल्काएका छन् । यो आगो जति धेरै भड्किन्छ, त्यति धेरै हाम्रो लागि मान्छेको मासु पोलिन्छ। त्यसैले तँ मज्जाले सेकुवा खा!

जब धर्मको राजनीति भड्किन्छ, तब राजनीतिको धर्म नासिन्छ। धार्मिक आस्थालाई भड्काएर धर्मको राजनीतिले आफ्नो स्वार्थ सिद्ध गर्छ। यसले मान्छेलाई अन्ध विश्वासी, अर्को समुदायप्रति पूर्वाग्रही र असहिष्णु बनाउँछ। आलोचनात्मक चेत गुमाएर मान्छे आफ्नो अन्धविश्वास र पूर्वाग्रहको पन्थमा उभिन्छ। धर्मको नाममा विभाजित भारत पाकिस्तान होस या धर्मको नाममा लडिरहने इजरायल प्यालेस्टाइनजस्ता क्षेत्रहरूमा शान्ति स्थापित गर्न मुस्किल छ र धर्म र साम्प्रदायिकता भड्काई केही समूहहरू सधैँ राजनीतिक फाइदा उठाइरहन्छन् ।

आज सबल लोकतन्त्र भएका विकसित देशका ९० % भन्दा बढी युवा नास्तिक छन् र कुनै धर्मको बारेमा विवाद त के बहस गर्न पनि लाज मान्छन्। धर्मको नाममा विभाजित हुने ढुङ्गे युग बाट आधुनिक समाजको चेतना अघि बढी सक्यो। लोकतन्त्रमा राज्यको जात, धर्म, वर्ण र लिङ्ग हुँदैन। नेपालमा पनि संसारको सबैभन्दा जेठो संविधान (मनुस्मृति) लेखिएको भूमिमा संसारको सबैभन्दा कान्छो संविधान संविधान निर्माणका समयमा संघीयता, समानुपातिकता, शासकीय स्वरूपका आदि धेरै धेरै पक्षका विश्वका मोडेलहरूको चर्चा गरिए, संविधान सभाका विषयगत समितिहरूले पनि अध्ययन गरेर युग सुहाउँदो संविधान निर्माण भयो।

नेपालको २०७२ सालको संविधानको भाग १ को चौथो धारामा नेपाल राज्य लाई यसरी व्याख्या गरिएको छ। “नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।” यस लगत्तै यसमा धर्मनिरपेक्षको स्पष्टीकरण पनि छ, “धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ ।” धर्मनिरपेक्षताको तात्त्विक अर्थ राज्यले कुनै एक धर्मको रक्षा र प्रवर्द्धन नगरी सबै धर्मलाई समान संरक्षण गर्नु हो । अनि एउटा धर्मले प्रलोभन, भय र बाध्यतामा पारेर अरूलाई धर्म परिवर्तन गराउन नपाउने पनि हो । जुन अधिकार वर्तमान संविधानले सुनिश्चित गरेको छ ।

यो त भयो संविधानमा राजनीतिको धर्म र धर्मनिरपेक्षताको कुरा। अब आउनुहोस् केही बेर धर्मशास्त्रहरूमा विवेचना गरिएको धर्मको बारेमा चर्चा गरौँ। साम्प्रदायिक हिंसा फैल्याउन धर्म सम्बन्धी प्रख्यात दुई श्लोकको अपव्याख्या गरी प्रयोग गरेको पाइन्छ। आउनु होस् यी दुई श्लोकको सप्रसंग व्याख्या गरौँ ।

१) धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः तस्माद्धर्मो न हन्तव्यः मानो धर्मो हतोवधीत्: (महाभारत वन पर्व(यक्ष प्रश्न) ३१४.१३१,मनुस्मृति ८:१५), अर्थात् जो धर्मको रक्षा गर्छ,धर्मले उसको पनि रक्षा गर्ने छ!

२) स्वधर्मे निधनं श्रेयस्परधर्मो भयावहः (भगवद गीता ३:३५), अर्थात् स्वधर्म का पालन श्रेयष्कर हुन्छ; परधर्म भयावह हुन्छ !

यहाँनेर धर्म भन्नाले “व्यक्तिगत नैतिक जिम्मेवारीको निर्वाह” भन्ने बुझिन्छ न कि हिन्दु, मुस्लिम जस्ता पन्थहरू। जब यी शास्त्र लेखिए त्यो बेलामा आजको जस्तो हिन्दु, मुस्लिम, इसाई भन्ने सङ्गठित र सङ्कीर्ण पन्थहरूको कित्ताकाट थिएन। प्रेम सिकाउने कृष्ण, शान्ति सिकाउने बुद्ध (जसले बौद्ध धर्म संस्थापन गरेनन्) र करुणा भाव सिकाउने क्राइस्ट (जसले क्रिस्चियन धर्म संस्थापन गरेनन्) को एकै ठाउँमा भेट भयो भने एक-आपसमा झगडा पक्कै गर्ने छैनन्। मिलेर सँगै ध्यान गर्लान् बरु !

म हिन्दु धर्म मान्ने र अन्य सबै धर्मलाई समान आदर गर्ने भएको हुनाले धर्मको अपव्याख्या गरेर साम्प्रदायिक हिंसा नभड्काउन मेरो सबैमा आग्रह छ। अहिंसा परमो धर्मः

१) मासु नखाऔँ । स्वस्थ र वातावरण दुबैका लागि राम्रो ।

भगवान् बुद्धले मांस हारको विरोध गर्नुभएको थियो। ‘सब्बे तसन्ति दण्डस्स सब्बे भायन्ति मच्चुनो। अत्तानं उपमं कत्वा न हनेय्य न घातवे।।’ -१२९ धम्मपद, दण्डवग्गो १, अर्थात्- “सबै दण्ड देखि डराउँछन्, सबलाई जीवन प्रिय छ, सबै प्राणीलाई आफू समान मानेर न कसैको हत्या गर्नु र न गर्ने प्रेरणा दिनु।”

२) खाई हाले पनि संजालमा तस्बिर नहालौँ ।

३) कसैले हाली हाले पनि संजालमा घृणा फैल्याउने गरी गाली गलौच नगरौँ । साम्प्रदायिक हिंसा भड्काउने अभिव्यक्ति नदिऔँ।

परमेश्वरको पितृत्व र सम्पूर्ण मानव जातिको भातृत्वको उही उपदेश हरेक धर्म शास्त्रमा अनेक भाषा र परिवेशमा उद्धृत भएको पाइन्छ। महोपनिषद्को अध्याय ४ को “बसुधैव कुटुम्बकम्” संसार एक परिवार हो भनिएको छ। बाइबलमा मत्तिको सु–समाचारको पाँचौँ अध्यायको नवौँ आयातमा त प्रभु येसुले स्वयंले, ‘धन्य ती हुन् जसले शान्ति कायम गर्छन्, किनकि तिनीहरू परमेश्वरका छोराहरू भनिने छन्’ भनिएको छ । कुरानको हरेक पाठ ‘बिस्मिल्लाह हीर रहमन निर रहीम’ अर्थात् परम दयालु कृपालु अल्लाहको नाममा भन्ने सुराह बाट सुरु हुन्छन्।

४) जाती र धर्म अनुसार खानपान फरक होला तर मानवता एउटै हो। जातीय र धार्मिक हिंसा भएका समाज कहिल्यै समृद्ध र सुरक्षित हुँदैनन्। जातीय हिंसामा जली रहेको मणिपुर र धार्मिक हिंसामा फसेको कश्मीर, इजरायल-प्यालस्टाइन हेर्नुहोस् ।

५) जाती र धर्मको नाममा समाजलाई विभाजित गरेर साम्प्रदायिक हिंसाको आगोमा आफ्नो राजनैतिक स्वार्थको रोटी सेक्नेहरू सँग सचेत रहौँ।

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै