शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • काठमाडौं महानगरभित्रका क्षेत्रमा भीक माग्न निषेध
बागमती प्रदेश

काठमाडौं महानगरभित्रका क्षेत्रमा भीक माग्न निषेध

काठमाडौं । काठमाडौं महानगरभित्रका क्षेत्रमा भीक माग्न निषेध गरिएको छ । काठमाडौं  महानगरपालिकाले सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको जनाएको हो । तर, साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्पराअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भने भिक्षा माग्न पाइने सूचनामा उल्लेख छ ।

साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भीक माग्न वा भीक माग्न दुरुत्साहन नगर्न नगराउन आग्रह गरिएको छ । असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि सडकमा भीक माग्न नपाउने भएका छन् ।

असहाय, बिरामी, बेवारिसे, अशक्त व्यक्तिका लागि काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको महानगरपालिकाले जनाएको छ । मानव सेवा आश्रमको सेवा आवश्यक परेमा महानगर वा आश्रममा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । अबको १० दिनभित्र यो सूचनाको उल्लंघन गर्दै भीक मागेमा कानुन अनुसार कारबाही गरिने सूचनामा भनिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार