बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • लोकसंस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन सक्दैन :  संकृतिविद् जोशी
बागमती प्रदेश

लोकसंस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन सक्दैन :  संकृतिविद् जोशी

 

संकृतिविद् सत्यमोहन जोशीले लोकसंस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने बताएका छन् ।शुक्रबार ललितपुरमा आयोजित आफ्नो जिवनीमा आधारित पुस्तक ‘सत्यमोहन’को लोकार्पण समारोहमा बोल्दै संस्कृतिविद् जोशीले लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिहरुबीचमा एकता ल्याउने बताएका छन् ।उनले लोक संस्कृतिलाई हेला गरेर राज्य समावेशी बन्न नसक्ने बताए । लोक संस्कृतिले सबैलाई आफू नेपाली भएको भावना जागृत गराउने पनि उनले उल्लेख गरे ।उनले भने, ‘नेपालमा जाति, जनजातिहरुको, बिभिन्न धर्म, संस्कृतिहरुको समावेशीकरण गरेर एउटा राष्ट्रियकरण गरेर जब नेपाल बन्छ, त्यो बेला राष्ट्रिय एकता भानुभक्तको रामायणले जसरी एकता ल्यायो, भाषिक एकता ल्यायो त्यस्तै लोक संस्कृतिले पनि एकता ल्याउँछ । लोक संस्कृतिलाई हेला गरेर, त्यसलाई बिचारै नगरीकन, अघि बढ्यो भने जस्तोसुकै उन्नति भएपनि समावेशीकरण हुन सक्दैन ।’ पत्रकार गिरीश गिरीद्वारा लिखित जोशीको जिवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ को शुक्रवार एक कार्यक्रमका बिच ललितपुरमा लोकार्पण गरेको हो । सो पुस्तक बुकहिल प्रकाशनले प्रकाशित गरेको हो । पुस्तक लोकार्पणपछि बोल्दै संस्कृतिविद् जोशीले आफूले आफूलाई नै चिन्न नसकेको भन्दै पुस्तकले सत्यमोहन जोशीलाई चिनाउन मद्दत गर्ने बताए । सो पुस्तकले नेपाली भाषा साहित्यको विकासमा सघाउ पुर्‍याउने पनि उनले बताए ।

उनले भने, ‘म सोच्थेँ म भित्रको आफु त्यसलाई कसरी चिन्ने ? कसरी थाहा पाउने ? मैले आफूले आफैलाई अझसम्म चिन्न सकेको छैन । चिन्न खोज्दैछु । भनेजस्तो किसिमको एउटा दार्शनिक, आध्यात्मिक त्यो मनमा आइरहन्थ्यो । त्यत्तिकैमा मित्र गिरीश गिरीज्यूको संगतले दुई चार कुरा गर्दागर्दै उहाँ टिप्नु हुन्थ्यो अनि उहाँ स्वयम् म सत्यमोहन जोशी भएपनि सत्यमोहन जोशी चाहीँ उहाँ हुनुभो ।’

पुस्तकका लेखक गिरीश गिरीले संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रका लागि गर्नुभएको योगदान व्यापक रहेको र त्यसलाई पछिल्लो पुस्तासम्म पुर्‍याउने उद्देश्यसहित पुस्तक लेखिएको बताए । जोशीलाई काठमाडौं भित्रका कला, संस्कृतिसँग मात्रै जोडेर साँघुरो रुपमा बुझ्नु नहुने भन्दै उहाँले जोशीले सिंगो राष्ट्रको कला, संस्कृतिको विकासका लागि योगदान दिएको उल्लेख गरे । पुस्तकमा सत्यमोहन जोशीको जिवनीका साथसाथै उनले राष्ट्रको कला र संस्कृतिको विकासमा खेलेको भूमिकाको समेत चर्चा गरिएको गिरीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार