काठमाडौँ । चुनाव निकटै एक सप्ताहको लागी अमेरिकाबाट नेपाल आउँदा काठमाडौँ-१ को चुनावी माहौलको धरातलीय अवस्था हेर्ने विचार थियो । सञ्जालमा निकै “भाइरल” रहेका उम्मेद्वार के मतदाताको घर दैलोमा पनि उत्तिकै चर्चित होलान् कि मिडियाबाजी मात्रै होला ? यही प्रश्नको प्रत्यक्ष उत्तर पाउन काठमाडौँ-१ मा बसोबास गर्ने मेरा केही युवा मित्रहरूलाई सम्पर्क गर्दा उनीहरूले, “ल यो शनिवार बिहान ७ बजे नयाँ बानेश्वरको पानी ट्याङ्की आउनु पुकार बमको घर दैलो त्यहीँबाट सुरु हुन्छ, चुनावी माहौल आफैँ हेर्नु” भने।
बिहानै पठाओ चढ्दा चालकले सोधे, “शनिवारको दिन यति बिहानै कता जाने हो दाजु ?” मैले “बानेश्वर, पुकार बमजीको घर दैलो छ त्यहाँ जाँदै छु आज” भने। ए त्यो ईनफ इज ईनफको अभियन्ता बम, म चिन्छु उहाँलाई चालक भाइले भने। उनले थपे काठमाडौँको मतदाता भएको भए म पनि यो पाली पुकार जस्तै स्वतन्त्र युवालाई मत हाल्ने थिएँ तर आफू धादिंङको परियो त्यहाँ त उनै पुराना पार्टीका सबै बुढा उम्मेद्वार छन्, भोट हाल्दिन होला यो पाली त दाइ! गफै गफमा बानेश्वर चोक पुगियो । शनिवार बिहान भएर हो या बालेनका नगर प्रहरीले गर्दा हो बानेश्वर चोकको सडक पेटीमा सदाझैँ भीड थिएन ।
बानेश्वर चोकमा झर्दै गर्दा ल स्वागत छ है दाइलाई भन्दै पुकार बमका निर्वाचन प्रचार समितिका संयोजक सुरज गिरी र विवेकशील अभियानमा देखिँदै आएका केही युवाहरू आए। चिटिक्क परेको नेपाली पोसाक र टोपीमा सजिएका केही थान नेपाली झन्डा र घण्टी बोकेका हँसमुख देखिने युवाहरू अब सक्षम युवालाई जिताउनु पर्छ भन्नेमा कटिबद्ध देखिन्थे । मलाई नजिकैको चिया पसलतर्फ लगे । एक युवाले भने, “पुकार सर अहिले केही पत्रकारहरू लाई छोटो अन्तर्वार्ता दिँदै हुनुहुन्छ चिया खाँदै गरौँ” चिया खाएपछि सबैले आ-आफ्नो पैसा तिरे । यी फुर्तिला युवाहरू चुनावी घर दैलोमा आफ्नै खर्चमा आएको देख्दा कसले भन्छ नेपालमा युवाहरूलाई राजनीति देखि वितृष्णा छ । खाँचो छ त केवल सक्षम, ईमानदार युवा उमेद्वारको !
चिया पसलबाट हामी पुकार बम भए तर्फ गयौं । म पुग्दा केही पत्रकार र युट्युबभरहरुले औपचारिक संवाद सकेर अनौपचारिक गफगाफ गर्दै थिए। माओवादी जनयुद्ध काल देखी नै पत्रकारिता गर्दै हरेक चुनाव कभर गरेका एक पत्रकार पुकारलाई ठुलो दलका उम्मेद्वारले मौन अवधिमा समेत मनि, मसल र म्यान पावर लगाई चलखेल गर्ने हुनाले तिनलाई कम नआँक्न सुझाव दिँदै थिए।
हुन त नेपाल खुल्ला छ देखी, डा. गोविन्द केसीका आन्दोलन र ईनफ इज ईनफ जस्ता अभियानहरूमा पुकार बम सँग मैले ऐक्यबद्धता जनाएको थिएँ। विगतमा विवेकशील साझाको अन्तर्राष्ट्रिय प्रवक्ताको रूपमा केही कार्यक्रमहरूमा जुमको मध्यम बाट चिनेको भए पनि पुकारजी सँग प्रत्यक्ष भेट्ने अवसर जुरेको थिएन मेरो। आज त्यो चाहना पुरा हुँदा खुसी लागी रहेको थियो।
भेटेपछि मैले पुकारजी सन्चै हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा पुकारजीले मुस्कुराउँदै, “बिरामी हुने छुट कहाँ छ मलाई” भने। डेंगु भएर दुई दिनको आराम पछि फेरी घर दैलोमा आएका रहेछन्। भित्र बुद्धको चित्र अङ्कित टिसर्ट बाहिर नीलो कोटमा सजिएका बमले मलाइ टिसर्ट मात्रै लगाएको देखेर डेंगु छल्न लामखुट्टेको टोकाई बाट बच्न फुल स्लीभ भएको सर्ट या कोट लगाउन सुझाव दिए। हुन्छ पुकारजी भन्दै मैले पुकार बम सँग तस्बिर खिचाएँ।
सात बज्नै लागेको हुनाले सबै जना घर दैलोमा जान फेरी बानेश्वर चोक तीर लाग्यौँ। चोकमा पुग्दा विगतमा बालेन्द्र शाहको टिमबाट घर दैलोमा हिँडेका ज्योती गैरे र चाउ जस्ता केही युवा पनि सामेल भए। उनीहरू मेयरको निर्वाचनको ताका गरेको घर दैलोको अनुभवको आधारमा कता-कता जाने भन्ने रणनीति बनाउँदै थिए। अनि चोकबाट सुरु भयो घर दैलो। अगाडी हाते माइक र स्पिकर लिएर दुई युवा उद्घोष गर्थे, “काठमाडौँ-१ का स्वतन्त्र युवा उम्मेद्वार पुकार बम तपाईँको घर दैलोमा आई सके” र छोटो विराम पछि फेरी नारा लगाउँथे, “युवा अघि सर्छ” अनि सबै भट्ट्याउने “देश अघि बढ्छ” ! घरहरू नभएका गल्लीहरूमा जाँदा स्पिकर वाट स्वदेश गान घन्किन्थ्यो, “जाग लम्क चम्क हे नौजवान हो…” सबै युवा जोशमा हिँड्दै गर्दा वातावरणमा उमङ्ग छाउने रहेछ !
बाटोमा मान्छे भेटिदा पुकार बम भन्थे, ” मेरो विगत १५ वर्ष देखिको काम हेरेर यो पाली सक्षम युवालाई मतदान गर्नुहोला” । प्राय सबैले सहमतिको टाउको हल्लाउँदै सहमति जनाउँथे। उनका टिमका युवा हातमा पर्चा थमाउँदै गर्दा पुकार थप्थे, “मेले विभिन्न अभियान मार्फत सडकमा गरेका कामहरू र अब सदनमा गएर तिनकै निरन्तरतरता दिने प्रतिबद्धता छ यसमा, पढेर, अध्ययन गरेर मात्रै मत दिनुहोला” । केहिले त, ” हामीलाई सब थाहा छ यो पाली बुढा-खाडालाई मत दिन्नौँ, तपाईँ जस्तो युवालाई नै दिने हो” भनेर आफैँ भन्थे। घर दैलोमा जाँदा काठमाडौँ-१ का प्राय सबै मतदाताले पुकारजी लाई चिन्दा रहेछन् ।
हिँड्दै जाँदा बाटोमा एउटा मन्दिर आयो। सबै दर्शन गरी आशीर्वाद लिन मन्दिर परिसर प्रवेश गर्दै गर्दा पुकार बमले मन्दिर आसपास माईकिंग नगर्न आफ्नो टिमलाई अनुरोध गरे। मन्दिर बाहिर रहेको घण्टी बजाउँदै पोज दिन एक पत्रकारले अनुरोध गरे। पुकारले दर्शन गरी घण्टी बजाउँदै गरेको फोटो तथा भिडियो केही पत्रकारले लिए। मन्दिर परिसर शान्त भएको देखेर एक कुनामा बोलाई एक टिभीका भिडियोग्राफरले पुकारलाई सोधे, “काठमाडौँ-१ मा विरासत भएका र मिडियामा भ्रष्टाचार विरोधी भनेर नाम चलेका अन्य उम्मेद्वार मध्य जनताले तपाईँलाई नै किन मत दिने त ?”
अरूको आलोचना भन्दा आफ्नै कामको कुरा गर्दै पुकारजीले भने, ” मैले विगत १५ वर्षमा सडक बाट ईनफ-इज-ईनफ अभियान मार्फत अर्बौंको भ्रष्टाचार हुन बाट रोकेर कोभिडको बेला सर्व साधारणको खोप र परीक्षणको लागी आफ्नै ज्यानको बाजी लगाएर अनसन बस्दा तीन तीन चोटि जितेका प्रतिनिधि कहाँ थिए ? त्यस्तै भ्रष्टाचार विरोधी आन्दोलनमा १५०० युवा लिएर बालुवाटार घेर्दा उहाँहरू कहाँ हुनुहुन्थ्यो ? संजालमा लेखेर मात्रै हुन्छ?” पुकारजी ले दिएको उत्तर केही टिभीका पत्रकार र सँगै घर दैलोमा हिँडेका युट्युबभर आ-आफ्नो क्यामरामा कैद गर्दै थिए ।
दुई तीन घण्टाको घरदैलो पछि पुकारजीको टिमका युवाहरू सँग एक सामूहिक तस्बिर खिचेर मैले बिदा माग्दै गर्दा कतार, जापान, मलेसिया, कोरिया, अमेरिकामा बस्दै आएका मेरा युवा साथीहरूले हाम्रो पुकारजी सँग कुरा गराई दिनुहोला भन्ने अनुरोध गर्नु भएकोमा मैले पुकारजी सँगै हुँदा मेसेन्जर ग्रुप मार्फत भिडियोमा कुरा गराएँ । भिडियो मार्फत पुकारले आग्रह गरे, “तपाईँका विदेशमा बसेका साथीहरूलाई काठमाडौँ-१ मा बस्ने आ-आफ्ना आफन्त साथीभाइलाई पुकार बम जस्तो युवालाई मतदान गरिदिन अनुरोध गरिदिनु होला है ” सबैले हुन्छ भने र पुकारजीलाई जीतको शुभकामना दिए । त्यसपछि म पुकार बमको घर दैलोबाट बिदा भएँ।
अर्को दिन बाटोमा हिँड्दै गर्दा काठमाडौँ-१ का प्रतिनिधिसभा उम्मेद्वार रमेश खरेल सँग बाटोमा जम्का भेट भयो। उनको घर दैलोमा पुकार बमको जस्तो युवाहरूको आकर्षण त थिएन तर ४, ५ जना सेवा निवृत्त कर्मचारी उनको पार्टीको र नेपालको झन्डा सहित अघि पछि थिए। त्यो देख्दा मलाई परिवर्तन चाहियो भन्ने बुढा पाका उम्मेद्वारहरुले किन अरू स्वतन्त्र युवालाई समर्थन नगरेर एक्लै-एक्लै हिँडेका होलान् जस्तो लाग्यो। खरेलजी केही बुढा-पाका सहित भए पनि मैदानमा त थिए तर पुकार बम र रमेश खरेल बाहेक काठमाडौँ-१ का अरू तीस जना उम्मेद्वार चाहिँ संजालमा भाइरल या आ-आफ्नै साना गुटगत भेलामा व्यस्त होलान् तर मैले आम जनताको घर दैलोमा चाहिँ देखिनँ अरू कसैलाई !
फेसबुक प्रतिक्रियाहरु