बा ! एकीकृत घरमा बन्यो एउटै चुलो ।
तर, अझै जारी रहन्छ तँ ठूलो कि म ठूलो ?
चम्चाहरू आखिर कतिन्जेल एकजुट हुन्छन् ?
कोही आफैँ स्टिल त कोही म चाँदीको भन्छन् !
अनि,
कोही भन्छन् म सुनको,
बफादार म ‘बा’को नुनको,
चल्छ भान्सामा मेरै भनसुनको !
अझै,
अल्ली ठूलो, गहिरो चम्चा राख्छ माग
मैँ खान्छु भन्छ भान्साको पहिलो भाग
मैँ हुँ बाले दाहिने हातले समाउने पन्युँ डाडु
यी भारेभुरे चम्चालाई किन भाग म छाडूँ ?
आखिरी,
के चाहन्छन् आखिर चम्चाहरूका गुट ?
ठूलो भाग खान छुट र भान्सामा लुट !
यसरी, चली रहन्छ चम्चाको दाहिने हातमा पुग्ने होड,
भन्छन् डाडु पन्युँलाई अब म खान्छु तँ छोड !
शान्त हुन्न यो भाँडा-कुडिको खेल, विवाद चली रहन्छ जारी…
किनकी, सबै चम्चा ठान्छन् आफैंलाई ‘बा’को उत्तराधिकारी ! विष्णु जोशी
खप्तड छान्ना-५ पिठातोला, बझाङ
फेसबुक प्रतिक्रियाहरु