काठमाडौँ । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा बिहीबार गुजरात टाइटन्स र पन्जाब किङ्सबिच भिडन्त हुँदै छ । जारी सिजनको आईपीएलमा यो १७औँ खेल हो ।
खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा गुजरात र पन्जाब दुवैले चौथो खेल खेल्न लागेका हुन् । गुजरातले यसअघि खेलेको तीनमध्ये दुई खेलमा जित हात पारेको छ ।
एक खेलमा भने गुजरात पराजित भएको छ । गुजरात चार अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । अर्कोतिर, पञ्जाबले तीनमध्ये एक खेलमा जित हात पारेको छ । दुई खेलमा भने पन्जाब पराजित भएको छ । पन्जाब दुई अंकसहित तालिकाको सातौँ स्थानमा छ ।
गुजरातले आफ्नो घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा हालसम्म आईपीएलको १२ खेल खेलेको छ । त्यसमध्ये आठ खेलमा गुजरात विजयी भएको छ । बाँकी चार खेलमा भने अन्य टोलीले गुजरातलाई हराएका छन् । अर्थात घरेलु मैदानमा गुजरातले ६७ प्रतिशत खेल जितेको इतिहास छ ।
गुजरातले आईपीएलको पहिलो उपाधि पनि घरेलु मैदानमै जितेको थियो । गुजरातले सन् २०२२ मा आईपीएलको उपाधि चुमेको थियो । त्यही सिजनदेखि नै गुजरातले आईपीएलमा सहभागिता पनि जनाउन थालेको हो ।
गुजरात र पञ्जाबबिच खेल हुने दिन बिहीबार अहमादाबादको आकाश बादलले ढाकेको हुनेछ । बादल लागे पनि वर्षाको सम्भावना भने निकै कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहीबार अहमादाबादको तापक्रम २५ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु