शनिबार, बैशाख १, २०८१
Breaking News

सम्झनामा एस.एल.सी. !

लालबहादुर बोहरा

म बझाङ जिल्लाको एक दुर्गम बस्तीबाट हुर्कदै गरेको बालक थिए । अलि परिपक्व उमेरमा विद्यालय भर्ना भएर होला, म सानैबाट पढाइ लेखाइमा ठीक ठीकै थिए । कक्षामा प्रायः पहिलो÷दोस्रो वा तेस्रो नै हुन्थे । गाउँको एक गरिब परिवारमा जन्मेर होला, म त्यति सचेत र टाठो बाठो भने थिइनँ ।

मेरा बाआमा पूर्ण तयाः निरक्षर भएका कारण उहाँहरूबाट पाउनुपर्ने उचित अभिभावकत्वसमेत मेरा लागि आकाशको फल वा सोसरह थियो । म अहिले सम्झन्छु, गाउँले परिवेश पनि बालमैत्री थिएन । अधिकांश गाउँलेहरूको गन्तव्य नै घर धन्दामा व्यस्त हुनु र नन्ताल (नैनिताल) गएर कमाई जमाई गरी लुगा फाटो जोड्नुमा मात्र सिमित भएकाले सामाजिक डिस्कोर्स पनि सोही बमोजिम कै थियो । म र मेरा बालसखाहरू पनि त्यहि वातावरणको उपज भएका कारण हामीमा भिन्नै संस्कार र संस्कृतिको बिजारोपण हुने कुरै भएन । समय बित्दै गयो । म सँगैका कतिपय साथीहरू बीचमै स्कूल छोडेर कोही घरधन्दामा त कोही नन्ताल्या बन्न थाले ।

मैले पनि पटक–पटक नन्ताल्या बन्ने प्रयास गरेँ । तर, मेरा बाआमा र दाजुहरूका कारण त्यो गर्न सकिन । २/३ पटकको प्रयास असफल भएपछि त्यसबाट म बिमुख भए । उहाँहरूको एउटै अठोट थियो, पढाइमा राम्रो छ, पढाएरै छोड्नुपर्छ भन्ने । जे भए पनि कयौं उतार चढावका बाबजुत मैले तत्कालिन अवस्थामा कक्षा ८ को जिल्ला स्तरीय परीक्षा राम्रै अंकका साथ उत्तीर्ण गरे । विद्यालयको जानकारीअनुसार नेपाली विषयमा त मैले जिल्लै टप गरेको थिएँ रे । गुरूहरूबाट यो कुरा सुन्दा म निकै उत्साहित भए । त्यसै समयदेखि मैले भित्रि मनबाट अब त पढ्नैपर्छ । साथीहरूसँग नैनिताल जान हुन्न भन्ने दृढता झनै बढाए ।

तत्पश्चात् कक्षा ९ मा भर्ना भए । तत्कालिन समयमा एस.एल.सी. परीक्षाका लागि कक्षा ९ र १० को विषय वस्तुलाई साझा पाठ्यभार मानी दुवै कक्षाबाट प्रश्नहरू सोध्ने काम गरिन्थ्यो । त्यस बारेको जानकारी विषयगत शिक्षकहरूले समय–समयमा गरिरहन्थे । विषय वस्तुको अथाह भारलाई मध्यनजर गरी शिक्षकहरूले नियमित पढाउँथे पनि । तर, दुर्गमको विद्यालय भएर होला, त्यतिबेला मुख्य विषयहरू अध्यापन गराउने योग्य शिक्षकहरूको निकै अभाव थियो ।

राम्रा शिक्षकहरूका लागि उचित वातावरण नभएर होला, २/४ महिनामै सरुवा भएर गइसके भन्ने खबर मात्र सुनिन्थ्यो । त्यसले हामी विद्यार्थीहरूलाई नराम्ररी झस्काउँथ्यो । तथापि हामीसँग चुपचाप बस्नुबाहेक अन्य विकल्प नै थिएन । उमेरले म त्यतिबेला १६ वर्षको भइसकेको थिए । परिपक्व भएका कारण विद्यालयका ती यावत गतिविधिहरूसँग प्रत्यक्ष/परोक्ष रूपमा जानकार पनि थिए । विद्यालय प्रशासनदेखि विषयगत शिक्षकहरूले आउँदै गरेको एस.एल.सी. परीक्षालाई फलामे ढोकाका रुपमा चित्रण गर्दै दैनिक रुपमा सुझाउने कुराले झनै झस्काउँथ्यो ।

मसँगै पढ्ने २÷४ जना साथीहरूले त त्यही कारणले विद्यालय छोडेर भारततिर टाप कसे पनि । म अहिले सम्झन्छु, त्यसबेलाका शिक्षकहरूले बालबालिकाहरूको मनोविज्ञानका बारेमा नजरअन्दाज गर्थे । कक्षा कोठाहरूमा शिक्षकका आवाजहरू गुञ्जायमान तथा विद्यार्थीहरू मौनधारणमा बसे सरह देखिन्थे । तथापि त्यो वातावरण सबै कक्षामा थियो भन्न खोजेको मैले पटक्कै हैन ।

एवम् तरहले ९ कक्षाको पढाइ सकियो र कक्षा १० मा उक्लिए । तत्कालिन समयमा भित्तामा झुन्ड्याउने क्यालेन्डरको बारेमा खासै जानकारी नभए पनि समयको गन्तीले २०५४ साल लाग्यो भन्ने बारेमा म जानकार थिए । प्रायः प्रत्येक दिनको बिहानी लाइनमा होस् कि कक्षाकोठामा, शिक्षकहरूले एस.एल.सी. परीक्षाको तयारीका बारेमा मात्र चर्चा गरेको सुनिन्थ्यो ।

विद्यार्थीका लागि फलामे ढोका हो भन्ने कुरा त मैले बुझेको थिए । तर, त्यो परीक्षा स्वयं विद्यालय र शिक्षकका लागिसमेत मूल्यांकनको मूल आधार हो भन्ने कुरा हामी विद्यार्थीहरूलाई बुझाइएको थिएन । तत्कालिन श्री ५ को सरकारले शून्य वा कमजोर उत्तीर्णांक भएका विद्यालय र शिक्षकहरूलाई कारबाहीसमेत गर्ने रहेछ । यही त्रासका कारण शिक्षकहरू पनि प्रायः सजग देखिन्थे ।

विद्यालय र शिक्षकहरूको त्यो उच्च सतर्कताबाट एस।एल।सी। परीक्षा कुनै महामारीभन्दा कम आँकलन गर्न सकिन्न थ्यो । त्यो भयावहका बीच मैले पनि आफ्नो तयारीलाई मजबुद बनाउँदै लगे । गाउँले परिबेश भएका कारण बिदाको समयमा घाँस दाउरा तथा गाइगोरू चराउन जंगलमा जानुपथ्र्याे । त्यस बेला पनि मैले किताब बोक्न र पढ्न छोडिन । सँगैका साथीहरू खेल्दै रमाउँथे । तर, म भने केही बाहाना गर्दै अलग्गै बसेर पढ्न बस्थे ।

विद्यालय जाँदा आउँदासमेत किताब वा नोट पढ्न कहिल्यै छोडिन । त्यति मात्र होइन, रातिको समयमा पढ्दा पढ्दै निन्द्रा नलागोस् भन्ने मनसायले मैले जुँडीमा धागो बाँधेर धुरीमा झड्कासमेत दिन्थे । रातको समयमा पढ्ने मेरो यो मौलिक शैलीका बारेमा विद्यालयमा चर्चासमेत हुँदा मेरा साथीहरूले ‘जुँडीमा धागो बाँधेर पढ्ने’ भन्दै जिस्क्याएको कुरा म अहिले पनि सम्झन्छु । तथापि, मैले एल.एल.सी. परीक्षा समापन नहुन्जेल त्यो प्रयास जारी नै राखे ।

त्यति बेला त्यो परीक्षा माघ महिनामा हुने प्रचलन थियो । साहेद माघको १७ गते । दुर्गमको विद्यालय भएका कारण त्यति बेला म पढ्ने विद्यालयमा ट्युसनका कक्षाहरू सञ्चालन हुदैन थिए । त्यसैले जिल्लाभरका विद्यार्थीहरू प्रायः जिल्ला सदरमुकाममै आएर अतिरिक्त कक्षाहरू लिने गर्दथे । म लगायतका साथीहरू पनि झण्डै एक महिना अगाडि नै चैनपुरमा आयौं । तत्पश्चात सत्यवादी माविका सरहरू (गणितः लालबहादुर खड्का सर, विज्ञानः ईश्वरनाथ जोशी सर, अंग्रेजीः स्व. गजेन्द्रबहादुर सिंह सर र नेपालीः विष्णुभक्त जोशी सर) सँग अतिरिक्त कक्षाहरू पढ्ने काम सुरू ग¥यौं ।

धेरै विद्यालयका विद्यार्थी साथीहरू एउटै कक्षा कोठामा बसेर पढ्दा प्रायः प्रतिस्पर्धाको वातावरण तयार हुन्थ्यो । सरहरूले पनि त्यो वातावरणमा मलजल गर्नुहुन्थ्यो । एक महिनाको अवधि मात्र भए पनि अतिरिक्त कक्षाहरूबाट मैले धेरै कुरा सिक्ने अवसर पाएको कुरा म अहिले पनि सम्झन्छु ।

अन्तमा माघ १७ आयो, फलामे ढोका भनिएको परीक्षामा सम्मिलित भइयो । त्यतिबेला सत्यवादी माविमा सञ्चालन भएको परीक्षामा केन्द्राध्यक्ष म अध्ययनरत दुर्गा भवानी माविका पूर्व प्रधानाध्यापक अर्जुनबहादुर थापा हुनुहुन्थ्यो । जो पछि सुदूरपश्चिम प्रदेशसभाका सभामुखसमेत हुनुभयो । हिउँदको महिना भएका कारण डाँडा काँडामा हिउँ त सदरमुकाम आसपास पानी परिरहेको थियो । बिहानी समयमा परीक्षा सञ्चालन भएका कारण हलभित्र निकै अँध्यारो थियो ।

परीक्षा प्रशासनले मैनबत्ती बालेर भए पनि परीक्षा सहज रूपमा सञ्चालन गरेको म सम्झन्छु । परीक्षा आफैँमा मर्यादित त हुनु नै पर्छ, त्यो बेलाको एस.एल.सी. मैले निकै मर्यादित, अनुशासित र निष्पक्ष भएको पाएको थिए । चिटको नाममा “च” भन्ने शब्द पनि हलभित्र प्रवेशको अवस्था थिएन । त्यसैले म अहिले पनि त्यो परीक्षा र ती दिनहरूलाई सम्झिरहन्छु ।

(बोहरा जयपृथ्वी बहुमुखी क्याम्पस चैनपुर बझाङका प्राध्यापक हुनुहुन्छ ।)

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै