मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • बझाङ उपनिर्वाचन : नेपाली कांग्रेसबाट जगतप्रसाद जोशीको चर्चा
समाचार

बझाङ उपनिर्वाचन : नेपाली कांग्रेसबाट जगतप्रसाद जोशीको चर्चा

बझाङ । सुदूरपश्चिम प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङ प्रदेशसभा “क” मा उपनिर्वाचनको तयारी छ ।

निर्वाचन आयोगले बैशाख १५ निर्वाचन गर्न तयारी गरिरहेको छ । निर्वाचनको सरगर्मीसँगै दलहरूले उम्मेदवारमा उम्मेदवारको रस्साकस्सी चलिरहेको छ । नेकपा एमालेबाट तीन जनाको नाम सिफरिस भइसकेको छ । जिल्ला कार्यसमितिले दमन भण्डारी, जुना जाग्री र राधा विष्टको नाम भने अन्य दलहरूमा पनि उम्मेदवार सिफारिसका लागि आन्तरिक बैठक बस्दै आएका छन् ।

नेपाली कांग्रेसबाट दर्जनको हाराहारीमा नेताहरुको नाम सुनिए पनि पुराना नेता जगतप्रसाद जोशीको चर्चा चुलिएको छ । साढे ४ दशकदेखि नेपाली कांग्रेसबाट राजनीतिमा सेवा गरिरहेका तर, कुनै पदका लागि पनि अवसर प्राप्त नगरेका जोशीलाई यसपटक कांग्रेसले टिकट दिनुपर्ने कार्यकर्ताको माग छ ।

जिल्लामा विपक्षीसँगको बलियो उम्मेदवारको रुपमा हेरिएका जोशीले २०३२ सालबाटै राजनीतिमा प्रवेश गरेका थिए । नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिएका जोशीले पार्टीमा झण्डै ४८ वर्ष काम गरिसकेका छन् ।

को हुन् जगतप्रसाद ?

२०३२ सालतिरको घटना । नेपालमा नेविसंघको विद्रोहकै बेला पाकिस्तान पिपल्स पार्टी (पीपीपी) पाकिस्तानका संस्थापक नेता, त्यहाँका नवौं प्रधानमन्त्री तथा चौथो राष्ट्रपति जुल्फिकर अली भुट्टोलाई फाँसी दिइएको विश्व चर्चित घटनाको बेला नेपालमा पनि व्यापक आन्दोलन भएको थियो । पाकिस्तानका सेनापति जिया उल हकले सैनिक विद्रोह गरी पदबाट हटाउँदै अदालतमा विवादास्पद मुद्दा चलाएर मृत्युदण्ड दिन लगाएको भन्दै त्यो घटनाको संसारले नै निन्दा गरेको थियो ।

जुल्फिकरको मृत्युदण्डलाई लिएर नेपालमा नेविसंघले विश्वश्वरप्रसाद कोइराला (बीपी) को पक्षमा आन्दोलन गरेको थियो । बीपीलाई तत्कालिन सरकार पक्षले फाँसीको माग भइरहेको बेला जगतप्रसाद जोशी सत्यवादी माविमा पढ्दै थिए । त्यो बेलामा आफ्नो सर्कलका विद्यार्थीलाई समेटर विद्यालयमै नेविसंघलाई समर्थन जनाउँदै आन्दोलन सुरु गरेका थिए । केही दिन विद्यालय नै बन्द भयो ।

बीपीको समाजवादी अवधारणाबारे जोशीको बालमष्तिकमै छाप बसिसकेको थियो । त्यसपछि जोशी पढ्दै राजनीतिमा निरन्तर खटे । २०४६ सालमा विज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण गरेपछि जोशीले पूर्ण जीवन नै पार्टी होमे ।

२०२० साल फागुनमा जन्मेका जगतप्रसाद खप्तडछान्ना–५ (पिठातोला)का स्थायीवासी हुन् । हुनेखाने परिवारमा जन्मेका जोशीको बाल्यकाल गाउँघरमै बित्यो । उनले खेती किसानीको कामसँगै स्कुले जीवन गाउँघरमै व्यतीत गरे ।

स्थानीय पाटादेवल प्राविमा ५ कक्षा पढेर खप्तड प्रावि हुँदै जिल्ला सदरमुकाम चैनपुरस्थित सत्यवादी माविमा ८ कक्षा भर्ना भए । सत्यवादीबाटै मेट्रिक पास गरे । सिद्धनाथ साइन्स क्याम्पस हुँदै काठमाडौंमा एमएस्सी उत्तीर्ण गरेका जोशीले बेला बखतमा अध्ययनकै क्रममा छोटो समय विभिन्न विद्यालयमा अध्यापन पनि गरे ।

जोशीले जिल्लामा साथी सर्कललाई वीपीको पक्षमा आन्दोलन गरेको बेला नेविसंघको केन्द्रीय नेतृत्वमा थिए, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कार्यबाहक सभापति बलबहादुर केसी । नेविसंघको लामो आन्दोलनपछि २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा भयो ।

जनमतको घोषणासँगै नेपाली कांग्रेसले विभिन्न भ्रातृ संगठन गठन र्गयो र बहुदलको प्रचारप्रसारमा जुट्यो । बझाङमा नेविसंघ गठन हुँदा जोशी जिल्ला उपसभापति भएर काम गरे । किशोरावस्थामै पार्टीका लागि महत्वपूर्ण काम गरेका जोशी पार्टीको विश्वास जित्दै गए र राजनीतिमै पूर्णकालीन कार्यकर्ता बन्ने अठोट गरे ।

२०४२ मा बहुदलका लागि नेपाली कांग्रेसले देशव्यापी रुपमा सत्याग्रह सुरु गर्दा जोशी खप्तड माविमा पढाउँथे । सत्याग्रहको खबर पाउनासाथ सहभागी जनाउन जिल्ला सदरमुकामका लागि हिँडेका उनी नपुग्दै सत्याग्रह स्थगित भयो । पूर्वघोषित अहिंसात्मक आन्दोलन सत्याग्रह बसेकै बेला जनवादी मोर्चाले बम काण्ड गरेपछि सत्याग्रह स्थगित भएको थियो ।

२०४६ सालको जनआन्दोलनमा सात विद्यार्थी संगठनले गरेको आन्दोलनमा जोशीको भूमिका पनि केन्द्र भागमै थियो । तत्कालीन नेविसंघका उपसभापति एनपी (नारायणप्रकाश सावद)सँगै गएर विज्ञप्ति लेख्नेदेखि दैनिकी योजना बनाउने काम जोशीको थियो । माघ–फागुनमा चलेको आन्दोलनमा उनले फागुन महिनाभर आन्दोलन सफल पार्न सघाए र चैतमा पक्राउ परे ।

राजनीतिमा आवद्ध भएदेखि आजसम्म जोशी लामो, छोटो समय गरी करिब २० पटकभन्दा बढी पक्राउ परिसकेका छन् । सरकारलाई खबरदारी गर्दा होस् वा सही सुझाव दिँदा पनि पटक–पटक पक्राउ परिरहे । २०४६ सालमा बहुदल आयो । बहुदलपछि मुलुकमा आदर्शको राजनीति होला भनेर जनताले अपेक्षा गरे । राजालाई समेत घुँडा टेकाएर ल्याएको शासकीय व्यवस्थामा जनतालाई रिझाउन भए पनि केही वर्ष नेताहरूले निष्ठाको राजनीतिको अभ्यास गरे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार