शनिबार, बैशाख २२, २०८१
Breaking News

सूर्य नमस्कार !

योग भनेकै गठबन्धन हो । विभिन्न शक्तिहरू माझ सन्तुलन । आसन र प्राणायाम माझ साझेदारी गरेर सूर्य (रवि) आदि भगवानको आशिर्वाद प्राप्ति गर्ने एक विधि हो सूर्य नमस्कार । मौसम बदली रहन्छ, कहिले बादल लाग्छ त कहिले बादलले पनि वर्षाको मान पनि राख्छन् । वर्षा भए रुख वृक्ष मजबुत हुन्छन् । सूर्यले पोले रुखको छाया पनि आवश्यक हुन्छ । हातमा खड्ग या हँसिया छ भन्दैमा सधैँ ओत र छाया दिने रुख ढाल्न उद्धत हुनुहुन्न । भक्तहरूको भलाई पिपलको रुखमा जल चढाउनु या सूर्यलाई अर्घ दिनुमै छ । अल्लि श्रद्धा, अल्लि भक्ति अनि समर्पण भए नै हो भगवान्हरूको सत्ताको कृपा बर्सिने ।

हिजो अस्ताए आज फेरि सूर्य (रवि) उदाउँछन् । मौसम फेरबदल भई रहन्छ तर हर मौसममा सक्रिय रहन झुक्ने कार्य कर्ताले गरी रहनुपर्छ । बदलिँदो मौसम माझ काम, माम र प्रणाममा सन्तुलन गर्न सक्ने भक्तहरू माथि सूर्य (रवि) आदि भगवानको कृपा दृष्टि रही रहन्छ । त्यसैले आउनुहोस्, शिर झुकाएर, मेरुदण्ड कुप्राएर सूर्य नमस्कार गर्ने विधि सिकौँ ।

 सूर्य नमस्कार विधि:

नमस्कारका १२ मन्त्रहरूमा श्री सूर्यनारायणलाई क्रमशः मित्र, रवि, सूर्य र भानु आदि भनेर सम्बोधन गरिन्छ…

१. प्रणामासन:

दुवै हात जोडेर नमस्कार मुद्रामा गहिरो श्वास लिनुहोस् सूर्य दर्शन गर्दै श्वासलाई बिस्तारै लामो गहिरोसँग छोड्नुहोस् र जप्नुहोस् ॐ मित्राय नमः

अर्थात् सूर्य सबैका मित्र र सहायक हुन् । एन्जियोको काम होस् या शिक्षा-स्वास्थ्यको व्यवसाय होस् या जग्गा दलालीको काम होस् या नाग पोषण (सर्प पालन) नै किन नहोस् सबैमा सूर्यको कृपा समान बर्सिन्छ । बाका सबै छोरा सामान ।

२. हस्तोत्तानासन: 

नमस्कारको मुद्राबाट हात माथि उठाइ समानान्तर राखी टाउकाले माथि हेर्दै कम्मर मोडेर जिउलाई पछाडि लैजानु होस्। पाखुराले कान छुँदै आत्म समर्पणको भावले आँखा चिम्लेर जप्नुहोस् ॐ रबये नमः

रवि अर्थात् स्वयं जाज्वल्यमान, सबका भगमान! उहाँको कृपाले गृहमा सबै राम्रो हुन्छ । रवि भगमानलाई प्रश्न या शङ्का नगर्नु, बरु आँखा चिम्लेर घण्टी बजाई आरती गर्नु ।

३. पादहस्तासन:  

अगाडितिर कम्मर झुकाउँदै दुवै हातलाई खुट्टाको छेउमा दायाँबायाँ हत्केला टेकाउनुहोस् घुँडा नखुम्च्याई जप्नुहोस् ॐ सूर्याय नमः

अर्थात् सत्ताको घोडा चढी (सात घोडाको रथमा) सवार सूर्यले कहिले दुई तिहाइ त कहिले आधीभन्दा कम आकाश गमन गर्छन् । सात घोडा सप्त किरणका प्रतीक हुन् । निलो, पहेँलो, रातो सब रङ्गको गठबन्धन सूर्य किरणको छायामा समेटिन्छन् ।  त्यसैले उदाउँदो सूर्यको सत्ता सबको मित्र हो ।

४. अश्वसञ्चालनासन: 

हात खुट्टामी टेकाई लादामी  उत्तानो पडी कपाल्लले मुथी हेर्नु  वांछी जप्नु ॐ भानव नमः

अर्थात् अहिले भानु भने पनि सूर्यकै प्रतिरूप हुन्, गुरु का प्रतीक हुन्, स्वयम् प्रदीप्त हुने । सम्पूर्ण सङ्घीय मामिला तथा सामान्य प्रशासन सम्म भानुका प्रकाश ज्वालाले प्रदीप्त गर्छन् ।

त्यसपछि पर्वतासनमा ॐ खगाय नमः, अष्टाङ्ग नमस्कारासनमा ॐ पुष्णे नमः, भुजङ्गासनमा ॐ हिरण्यगर्भाय नमः, पर्वतासन मा ॐ मरिचयेनमः, अश्वसञ्चालनासनमा ॐ आदित्याये नमः, पादहस्तासनमा ॐ सवित्रे नमः, हस्तोतानासनमा ॐ अकार्यनमः जप्दै अन्त्यमा प्रणामासनमै फिर्ता आउँदै ॐ भाष्कराय नमः जप्नुहोस् ।

समग्रमा भगमानलाई आँखा चिम्लेर प्रणाम गरेर सुरु भएको सूर्य नमस्कार शिर झुकाएर, मेरुदण्ड कुप्राएर फेरी प्रणाम गरेरै पूरा हुन्छ । यसरी सूर्यलाई प्रणाम गर्नाले तेत्तिस कोटी देवताको कृपाले तेत्तिस किलो सुनको अण्डा (हिरण्य गर्भ, ॐ हिरण्यगर्भाय नमः) आकाश (वायु) मार्गबाट सहज भित्र्याउन सकिन्छ । कर जोड्न जाने कर तिर्नु पर्दैन । आम मनुष्यलाई समृद्धि मृगतृष्णा भए पनि मन्त्र (नारामा) मृग मरीचिका (ॐ मरीचये नमः) प्राप्ति नभए पनि शिर झुकाएर, मेरुदण्ड कुप्राएर आँखा चिम्लेर सूर्य, रवी आदी देवतालाई प्रणाम गर्ने विधि जाने भक्तहरूको जीवनमा भगवान्हरूको सत्ताको कृपा वर्षी रहन्छ ।

यसरी झुकेर सूर्यको अगाडी नतमस्तक हुँदा सूर्यको प्रचण्ड प्रकासले परिवारकै भविष्य उज्यालो बनाउँछ । सबै आफन्तले राजकीय पद प्राप्त गर्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै