शनिबार, बैशाख १, २०८१
  • होमपेज
  • ‘वन-वन्यजन्तु हाम्रा गहना हुन्’
Breaking News

‘वन-वन्यजन्तु हाम्रा गहना हुन्’

नेपालगञ्ज । दोहोरो सार्वजनिक बिदा (शनिवार र प्रजातन्त्र दिवस) एकै दिन परेको थियो । सोही दिनको बिदालाई मौका पारेर राप्तीपीडित सामुदायिक वन उपभोक्ता समितिले दाउराका लागि वन खुला गरेको थियो । बिहानै पाका उमेरका धनबहादुर चलाउनेसहित स्थानीयहरू दाउरा ल्याउन जंगल गए ।

बाटोमा बाघबाट सर्तक रहन धनबहादुर सबैलाई सल्लाह दिँदै थिए । वन पुगेपछि सबै जना वरपर आ-आफ्नो दाउरा भारी बनाउन लागे । अरूलाई सतर्क रहन सल्लाह दिने धनबहादुरलाई खोल्सामा लुकेको बाघले झम्टियो । गाउँलेहरू चिच्याउँदै रित्तै घर फर्किए । यो घटना करिब दुई वर्षअघि राप्तीसोनारी गाउँपालिका-६ डाँडाटेपरी बाँकेको हो । वन-वन्यजन्तुबारे अनुभवी धनबहादुरसँग जंगल जाँदा डर नहुने भन्दै सँगै गएका महिलाहरूले फर्किएर प्रहरीलाई खबर गरे ।

सुरक्षाकर्मीसहित स्थानीयले जंगलमा खोजतलास गर्दा दुई घण्टापछि धनबहादुरको आधा शव फेला पर्‍यो । ‘धेरै पटक वन एक्लै पनि जानुहुन्थ्यो,’ राप्तीपीडित सामुदायिक वन उपभोक्ता समितिकी उपाध्यक्षसमेत रहेकी छिमेकी गंगाकुमारी चन्दले भनिन्, ‘वन जाँदा हामी सबैले उहाँकै भरोसा गथ्र्यौँ । गत वर्ष भाग्यमै त्यस्तै लेखिएको रहेछ । दुःखद घटना भयो ।’

शनिवार समितिले दाउराका लागि खुला गरे पनि साताअघि नै बाघको पाइला देखेकोले कसैलाई जंगल नजानु भनेको वनरक्षक अजोध्याप्रसाद थारू सम्झन्छन् । ‘त्यो दिन बिहानै वनमा बाघको पाइला देखेको थिएँ । कसैलाई नजानु भनेर अर्कोतिर गए । उता गाउलेहरू सबै जंगल पसेछन् । पछि त्यस्तो घटना सुनियो ।’ थारूले भने ।

घरमुली नै बाघको सिकार भएपछि धनबहादुरको परिवार टुहुरो बन्यो । ‘परिवारमा अहिले पनि धेरै छौँ । तर ससुरा बुवा नहुँदा टुहुरा जस्तै भएका छौँ,’ बुहारी सोभा चलाउनेले भनिन्, ‘घरमुली भनेको घरको एउटा महत्वपूर्ण पिल्लर जस्तै हुने रहेछ । त्यही पिल्लर भाँचिएको घरको अवस्था जस्तै भएको छ ।’

सोभाका अनुुसार धनबहादुरको जेठो छोरा तिलकरामलाई सशस्त्र जनयुद्धमा मारेपछि लामो समय परिवार विक्षिप्त बनेको थियो । ‘बुवा (ससुरा) ले दाइ (जेठाजू) को हत्या भएपछि परिवारमा कहिल्यै सुख मिलेन । तिमीहरूको विहेपछि अलि खुसी मिलेको छ भन्नुहुन्थ्यो । त्यो खुसी उहाँले धेरै साट्न पाउनुभएन ।’ उनी आँसु झार्छिन् ।

राप्तीसोनारीमा धनबहादुरको मात्रै होइन । त्यो समयको आसपास एउटै नरभक्षी बाघले पाँच जनाको सिकार गर्‍यो । घाँस, दाउरा काट्न वन गएकी राप्तीसोनारी-४ की लीला विष्ट, वडा नम्बर ६ कै चाँदनी थारू, वडा नम्बर ७ झगडियाका वकिल गद्दीसहित एक भारतीय नागरिकको ज्यान लिएको थियो ।

शनिवारकै दिन वन खुलाउने हुँदा चौकीदारले सतर्क रहन सबै समुदायमा माइकिङ गर्दा पनि घटना दोहोरिएको स्थानीय कृष्णबहादुर चौधरी बताउँछन् । चौधरीका अनुसार २९ वर्षीया चाँदनी थारुको पनि शनिबारकै दिन सदाबहार सामुदायिक वनभित्र दाउरा काट्दा बाघले आक्रमण गरेको थियो । जलहन सामुदायिक वनको ‘तीनपाने’ भन्ने ठाउँमा लीला बिष्टले बाघको सिकार हुनुपरेको उनले सुनाए । करिव ५ किलोमिटर टाढा पर्ने सामुदायिक वनहरूबाट बाघ आएर डाँडाँटेपरीमा पशु चौपायाको समेत सिकार गर्ने गरेको चौधरीले बताए ।

नरभक्षी बाघ नियन्त्रणमा लिन वन कार्यालयलाई भने दुई साता नै लागेको थियो । राप्ती सव-डिभिजन वन कार्यालय मेहनामपुरका वनरक्षक खडकपाली धितालले भने, ‘बाघ नियन्त्रणका लागि चितवनबाट टिम आएको थियो । जिल्ला वनको टिम, सुरक्षाकर्मीसहित स्थानीयहरू मिलेर खोज्दा कतै भेटिएन ।’

स्व. धनबहादुरकी बुहारी सोभा चलाउने

घटना भएको ठाउँमा बाघको आहारा राख्दा पनि नभेटिएपछि पाडो (भैंसीको बच्चा) जंगलमा बाँधेको उनी सम्झिन्छन् । दुई सातापछि हात्तीमा चढेर जंगल जाँदा भेटिएको र बेहोस बनाउने सुईसहितको गोली हानेपछि नियन्त्रणमा लिएको धितालले बताए ।

अहिले उक्त नरभक्षी बाघ चितवन राष्ट्रिय निकुञ्जको इनक्लोजर (कठघरा) मा राखिएको छ । ‘मेरो जागिरे उमेरको २५ वर्षसम्म पनि नजिकबाट बाघ देखेको थिएन । त्यो बेलामा भने राम्ररी देख्न पाइयो ।’ उनी भन्छन् ।

बाघले मान्छेको सिकार खोज्नुको कारण भने बाघहरू बीचकै द्वन्द्व भएको रेन्जर जयानन्द आचार्यले बताए । उनले भने, ‘भाले बाघहरूबीच द्वन्द्व हुँदा जित्ने बाघले पोथीसँग गएर आफ्नो इलाका बनाउने र हार्नेले नयाँ इलाकाको खोजी गर्दा बस्ती नजिकसमेत पुग्ने गर्छन् । त्यहाँ पुगेपछि बाघले आहाराका लागि मान्छेलाई समेत आक्रमण गर्ने गर्छ ।’

रेञ्जर आचार्यका अनुसार मारेको सिकार एकपटक खाएर घुम्ने र फेरि खानका लागि त्यहीँ ठाउँमा आउने बाघको विशेषता हो । दोस्रो पटक आउँदा बाघले आफ्नो सिकार नपाएपछि नयाँ सिकारको खोजी गर्ने उनले बताए । ‘अन्य प्राणीको र मान्छेको मासु धेरै फरक हुन्छ,‘ आचार्यले भने, ‘बाघले मान्छेको मासु खान सुरू गरेपछि उसको बानी परिसकेको हुन्छ । त्यसपछि उसले मान्छेकै सिकार खोज्छ ।’

यो नरभक्षी बाघलाई नियन्त्रणमा लिएपछि भने राप्तीसोनारी शान्त छ । राप्तीपीडित वन उपभोक्ता समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेलले भने, ‘राप्तीसोनारीमा लगातार घटना भएपछि बाघलाई नियन्त्रणमा लिइएको हो । अहिले मान्छेहरू पनि सचेत भएका छन् । वन जाँदा समूहमा जान्छन् । त्यसपछि घटना भएको छैन ।’

बाघको आक्रमणको घटनापछि सरकारले पीडित परिवारलाई रू. १० लाखका दरले राहत दियो । वन उपभोक्ता समिति र वडा कार्यालयले पनि एक लाख रूपैयाँ सहयोग गरेको सोभा चलाउने बताइन् । ‘सरकारले दिएको राहत रकमले अहिले बालबालिका पढाउने, घर खर्च चलाउने गरेका छौँ ।’ उनले भने ।

जंगल जाने काम भने बुवाको मृत्युपछि अन्तिमजस्तै भएको उनले सुनाइन् । उनले भनिन्, ‘बुवाको घटनापछि जंगल गएका छैनौँ । फेरि दोहोरिन सक्छ भन्ने डर लाग्छ । छिमेकीहरू जान्छन्, हाम्रो घरबाट पनि आजसम्म जंगल गएका छैनौँ ।’ जैविक विविधता संरक्षणमा भने आफ्नो तर्फबाट भरपुर सहयोग गरिरहेको उनले बताइन् । ‘घटना घट्दैमा वनको माया मार्नु पनि भएन ! वनजंगल र वन्यजन्तु त हाम्रा गहना हुन् नी । जंगलै सकियो, वन्यजन्तु नै सकियो भने त हाम्रो अस्तित्व पनि सकिन्छ ।’ उनले भनिन् ।

पछिल्लो दुई वर्ष यता भने स्थानीयहरू जंगल जाँदा समूहमा जाने र समूहमै फर्किने गरेको वनरक्षक शंंकरप्रसाद जैसीले बताए । ‘पहिले स्थानीयहरू जति बेला पनि घाँस दाउराका लागि वन जान्थे,’ उनले भने, ‘त्यसै क्रममा नरभक्षी बाघको फेला परेर लगातार घटना घटे । अहिले वन खुलेको बेलामा पनि समूहमै जान्छन्, ठूलो स्वरले कराउँछन् र भारी बनाएर सुरक्षित घर फर्किन्छन् ।’

वनरक्षक जैसीका अनुसार स्थानीयहरू आफू सुरक्षित रहने र वन जंगलको पनि सुरक्षा गर्ने सोचका साथ अघि बढेका छन् । जैसीले भने, ‘अहिले स्थानीयले वन्यजन्तु र मानवको सह-अस्तित्वको बारेमा पनि बुझिसक्नुभएको छ । त्यसैले जंगल आफ्नो गहना भन्दै संरक्षणमा जुट्नुभएको छ ।’

डाँडाटेपरीबासी बाघको आक्रमणबाट मात्रै होइन, अन्य जंगली जनावरबाट पनि पीडित छन् । कृषकको बालीनाली क्षतिको राहत नपाएको उनीहरूको गुनासो छ । स्थानीय छवि बुढाथोकीले भने, ‘लगाएको खेतीबाट सुक्को पनि नपाउने अवस्था भइसक्यो । निलगाईले रातभर खेती नोक्सान गरेर बारीमा जानै मन लाग्दैन ।’

बुढाथोकीका अनुसार खेताला लगाएर हुर्काएको खेती हेर्न जाँदा रून मन लाग्छ । ‘दिनभर जोगाएको बाली राति पुरै नष्ट गरिदिएको हुन्छ ।’ बँदेलले पनि उत्तिकै दुःख दिने गरेको उनले बताए । सरकारले वनको छेउमा घेरबाट गरिदिए आफ्नो बाली बच्ने उनी बताउँछन् । ‘सरकारले बाली नोक्सान गरेका पीडितलाई राहत दिने भनेको छ । तर, कहिले हो थाहा छैन,’ बुढाथोकीले भने, ‘राहत पनि लालपुर्जा भएकालाई दिने र ऐलानी जमिनमा खेती गरेकालाई नदिने भनेको छ । यहाँ धेरैले ऐलानीमै खेती गरेर जिविकोपार्जन गर्दै आएका छन् । सरकारले बुझिदिए हुन्थ्यो !’

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोजकुमार साह

यता राप्तीसोनारी गाउँपालिका–६ का अध्यक्ष नवराज खरेल जंगली जनावरबाट पीडित किसानलाई ढिलाई भए पनि राहत उपलब्ध गराउने बताउँछन् । उनी भन्छन्, ‘पीडित कृषकलाई वन कार्यालयसँगको सहकार्यमा राहत उपलब्ध गराउँनेछौँ ।’ ऐलानी जमिनमा भने मापदण्ड नै नभएको हुँदा राहत दिन नसकिने उनले बताए ।

कृषकको राहतका लागि अन्य पालिकाले पशु तथा कृषि बिमा गरेजस्तै राप्तीसोनारीले पनि बिमाको योजना ल्याउने तयारी गरेको उनले बताए । वडाध्यक्ष खरेलका अनुसार वडाले बाघ पीडित परिवारका एक जना विद्यार्थीलाई थप राहत दिने भएको छ । राहत स्वरूप वार्षिक पाँच हजार रूपैयाँका दरले शैक्षिक सामाग्री किन्न छात्रवृत्ति दिने निर्णय गरेको उनले सुनाए ।

राप्तीसोनारी गाउँपालिकासँगै जोडिएको छ, ५५० वर्ग किलोमिटरमा फैलिएको बाँके राष्ट्रिय निकुञ्ज । राष्ट्रिय निकुञ्जको नजरमा वन मास्दाको परिणाम वन्यजन्तु र मानवबीच द्वन्द्व बढेको हो ।

मांसाहारी जनावरलाई प्रर्याप्त सिकार नहुनु, डढेलो लगाउनु, जताततै डोजर लगाउँदा पानीका मुहान सुक्नु, अन्य जनावरलाई पनि प्रर्याप्त घाँस नहुनुजस्ता कारणले वन्यजन्तु बस्ती नजिक जाने गरेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोजकुमार साहले बताए । उनले भने, ‘बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रफलअनुुुसार अहिले रहेका सबै जनावरका लागि जंगल प्रर्याप्त छ । तर, आहाराका लागि नपुगेर जनावरहरू बस्ती पुग्दा घरपालुवा चौपाया खाने, मान्छेमाथि आक्रमण गर्ने, खेतीबाली नष्ट गर्ने गरेका छन् ।’ यसमा सबै निकायले वन वन्यजन्तु जोगाउनेप्रति लागेमा यस्ता घटना न्यूनीकरण हुने उनले बताए ।

साहका अनुसार बाँके राष्ट्रिय निकुञ्ज र भारतको सुहेलवा सेन्चुरीलाई जोडेका कारण कम्दी जैविकमार्ग मानिएको छ । ‘बस्ती नजिकै जैविकमार्ग र सामुदायिक वन भएको हुँदा बाघ र मान्छेको जम्काभेट हुने सम्भावना हुन्छ । त्यो बेलामा आफू सुरक्षित हुन बाघले आक्रमण गर्ने गरेको देखिन्छ ।’ उनले भने ।

सामान्यतया बाघले मान्छेमाथि त्यत्तिकै आक्रमण गर्दैन । घाइते, अशक्त, आहारा खोज्न नसक्ने अवस्थाको बाघले मान्छेमाथि आक्रमण गर्न सक्छ । आफ्नो बच्चासँग भए, अचानक जम्काभेट भएमा असुरक्षित महसुस गरेर बाघले आक्रमण गर्न सक्ने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै