शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • सुदूरपश्चिम यातायातको बझाङ-काठमाडौँ एसी बस सेवा सुरु
फोटोफिचर

सुदूरपश्चिम यातायातको बझाङ-काठमाडौँ एसी बस सेवा सुरु

बझाङ । सुदूरपश्चिम यातायात प्रालिले आफ्नो सेवा विस्तार गरेको छ । बझाङबाट काठमाडौँमा जाने यात्रुको सहजताका लागि प्रालिले एसीसहितका ६ वटा बस सञ्चालनमा ल्याएको हो ।

बुधबार नयाँ बसपार्क चैनपुरमा बस सेवा उद्घाटन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णबहादुर विष्टले आर्थिक मन्दीका बेलामा पनि जनतालाई सेवा दिन बस सेवा सुचारू गरेकोमा खुसी व्यक्त गरे । ‘यस्तो संकटमा पनि लामो यात्राको बस सेवा सुरू गर्नु भनेको व्यवसायी जनताप्रति उत्तरदायी छन् भन्ने प्रष्ट हुन्छ ।’ उनले भने ।

प्रालिले बझाङसँगै बाजुरामा पनि ६ वटा नयाँ एसीबस सञ्चालनमा ल्याउने भएको छ । प्रालिका महासचिव पदमराज सापकोटाले भने, ‘जनताको सेवाका लागि हामीले कैलाली १२ र बझाङ ६ वटा एसी बसहरू सञ्चालनमा ल्याएका छौँ । बाजुरा–काठमाडौँ पनि छिट्टै सुरू हुनेछ ।’

सापकोटाका अनुसार अहिले सुदूरपश्चिम यातायात प्रालिका सुदूरपश्चिम र लामो रूटमा चल्ने ५५० वटा गाडी सञ्चालनमा छन् । आवश्यकताअनुसार अन्य जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्ने उनले बताए ।

सापकोटाले प्रालिले बसहरू थपे पनि सडकमा खाल्डाखुल्डी हुँदा गुडाउन समस्या भएको बताए । ‘गाडी गुडाउने काम व्यवसायीको हो । त्यसका लागि सडक त बनाइदिनुप¥यो नी ।’ बस सेवा उद्घाटन कार्यक्रममा जिल्ला स्थित सबै राजनीतिक दलका प्रतिनिधिलाई सडक सुधार्न उनले अनुरोध गरे ।

यता जयपृथ्वी नगरपालिकाका उप–प्रमुख रतनबहादुर सिंहले पनि सडकमा योजना पाएका ठेकेदारलाई सडकको काम पूरा गर्न ताकेता गरिरहेको बताए । बझाङको एक मात्रै जयपृथ्वी राजमार्ग स्तरोन्नति गर्न नगरपालिकाले सबैसँग समन्वय गरिरहेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा