बुधबार, भदौ १९, २०८१
Breaking News

मदिराले लैंगिक हिंसा !

बझाङ । गत साता जिल्ला प्रहरी कार्यालय चैनपुरमा एउटा महिला हिंसासम्बन्धि घटना दर्ता भयो । श्रीमानद्वारा श्रीमती निर्घात कुटिएपछि माइती पक्षले जिल्ला सदरमुकाम चैनपुरमा आएर उजुरी दिएका थिए ।

बुंगल नगरपालिकामा भएको त्यो घटनाको प्रहरीले अनुसन्धान गर्दा कुटपिटको कारण श्रीमानको मदिरा सेवन देखियो । नियमित मदिरा सेवन गरेर श्रीमतीलाई मरणासम्म कुटपिट गर्न थालेपछि माइतीको सहयोगमा न्यायिक समितिमा उनी पुगेकी थिइन् ।

गाउँमा मदिराले छिमेकीलाई समेत दुव्र्यवहार गर्न थालेपछि महिला समूहले समेत दुई पटक कारबाही गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

महिला समूहले गरेको मदिरा नियन्त्रण र जरिवानामा पटक–पटक कारबाहीमा परेर नसुध्रिएको भन्दै महिलाहरूले कानुनी उपचारमा जान सुझाव दिएका थिए । त्यसपछि माइतीको सहयोगमा घटना प्रहरी कार्यालयमा पुगेको थियो । गरिबी हुँदा बेरोजगारी भएको र सामान्य कतै आम्दानी भएपछि मदिराको लत बसेको हुँदा समाज नै अशान्त हुन थालेपछि उनका श्रीमानलाई प्रहरीले हिरासतको बाटो तय गर्‍यो ।

====

गत महिनामा खप्तडछान्ना गाउँपालिकाबाट पनि जिल्ला प्रहरी कार्यालयमा महिला हिंसाकै घटना दर्ता भएको थियो । श्रीमान् र ससुराले आमा छोरीलाई घरबाटै निकालेपछि बेसारा भएका आमाछोरी प्रहरीको ढोकामा पुगेका थिए । श्रीमानले दोस्रो विहे गरेपछि आमाछोरीलाई परिवारले नै विभिन्न आरोप लगाउँदै कुटपिट गरेर घरबाटै निकालेका थिए । माइतीघर टाढा भएको हुँदा महिला अधिकारकर्मीको सहयोगमा पहिलो पटक उजुरी दिन पुगेकी सविनामाथि दिनहुँ श्रीमान्ले मदिरा खाएर कुटपिट गर्ने गरेको प्रहरीले जनाएको छ ।

विहे गरेको समयमा राम्रो सम्बन्ध भएको र दोस्रो विहे गरेपछि परिवारले नै दुःख दिने गरेको उनले सुनाए । ‘सुरूमा मलाई विहे गरेर ल्याउँदा धेरै राम्रो सम्बन्ध थियो । केही वर्षपछि श्रीमानले अर्को विहे गर्नुभयो । त्यसपछि मेरा दुःखका दिन सुरू भए । घरमा हरेक कुराको आरोप आफूमाथि नै लाग्न थाले । श्रीमानको डिजाइनमा ससुराले पटक पटक मार्न खोजे । यसपटक भागेर सदरमुकाम आयौँ ।’ सविनाले भनिन् ।

सविनामाथि हिंसा भएको पहिलो पटक भने होइन । दुई पटक नै जिल्ला प्रहरी कार्यालयमा पुगेर पीडकलाई सामान्य कारबाही हुँदै अब मिल्ने र सम्पतिको भागवण्डा गर्ने सहमतिमा गाउँ फर्काइएको थियो । प्रहरीका अनुसार सविनाका श्रीमान कान्छी श्रीमती लिएर भारतमै बसेका छन् । यता बुवालाई उक्साएर जेठी श्रीमतीमाथि हिंसा गराइरहेको अनुसन्धानमा देखिएको छ ।

सामाजिक सञ्जाल पनि हिंसाको कारण

बझाङकै श्यामकुमारले पाँच वर्षअगाडि कैलालीबाट विहे गरे । विहेको तीन वर्षपछि उनी मजदुरी गर्न भारत गए । दुई सन्तानका बुवा उनी छोराछोरी पढाउने, परिवारलाई सुख दिने सपनाले भारतमा मजदुरी गरिरहेका थिए ।

गत महिना भने उनीमाथि बज्रपात नै पर्‍यो । डिउटी सकेर निवास फर्कने बेलामा म्यासेन्जरमा एउटा अस्लिल भिडियो आयो । जसमा आफ्नै श्रीमतीको परपूरूषसँग शारीरिक सम्बन्धको थियो । त्यो देखेर सहनै नसक्ने अवस्थामा पुगेपछि आपतकालीन बिदा लिएर उनी घर फर्किए ।

घरमा श्रीमतीमाथि हातपात गर्दै जिल्ला प्रहरी कार्यालयमा सम्बन्धविच्छेदका लागि निवेदन दिए । भिडियो बोकेरै आएपछि प्रहरी पनि नाजवाफ जस्तै भए । ‘सामान्य कुटपिटको घटना हुनसक्छ सोचेको त उहाँले तीन/चार वटा भिडियो नै ल्याएर आउनुभयो ।’ प्रहरी स्रोतले भने ।

दुई महिना अगाडि खाडी मुलुकबाट फर्किएका एक युवक आफ्नै श्रीमतीको त्यस्तै प्रकृतिको भिडियोसहित बोकेर सम्बन्धविच्छेदका लागि सदरमुकाम पुगे । सामाजिक सञ्जाल फेसबुकबाट चिनजानको परपूरूषसँग नाजायज सम्बन्ध राखेको भिडियो सार्वजनिक भएपछि श्रीमानका आफन्तले समेत कुटपिट गर्दैै इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

यसरी सामाजिक सञ्जालको गलत प्रयोग गर्दै हिंसा घटना बढ्न थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीका अनुसार अनैतिक क्रियाकलापछि सामाजिक सञ्जालमा फैलिएका घटनाले हिंसा बढ्दै गएको देखिन्छ ।

महिला हिंसा न्यूनीकरणसम्बन्धि कार्यक्रमका सहभागी

अन्य लैंगिक हिंसाका घटना भने घट्दो क्रममा रहेको उनले बताए । चौधरीका अनुसार आर्थिक वर्ष ०७७/७८ मा लैंगिक हिंसासन्बन्धि ३३५ घटना दर्ता भएका थिए भने ०७८/७९ मा २५० घटना दर्ता भएको उनले बताए । गत आर्थिक वर्ष ०७९/८० मा भने लैंगिक हिंसाका घटना घटेर १९८ मा झरेको उनले बताए ।

किशोरीको सक्रिए हुँदा बालविवाह घट्यो

गत महिना मात्रै वित्थडचिर गाउँपालिका–४ की पशुपति महतको टोलीले गाउँमा भइरहेको एउटा बालविवाह रोकिन् । १७ वर्षको उमेरमै विहे गर्न लागेको थाहा पाएपछि महतको टोलीले प्रहरीलाई खबर गरिदिने भन्दै रोकेका थिए । ‘तत्काल विहे हुने परिवार रिसाए पनि आजभोलि त्यो बेलामा विहे रोकेर ठीकै गरेको भन्न थालेका छन् ।’ महतले भनिन् ।

जयपृथ्वी नगरपालिका–१२ की कविता खड्काको चेतनशील किशोर–किशोरी समूहले पनि मदिराले हिंसा बढेको भन्दै गाउँमा नै मदिरा रोकिन् । एक ठाउँमा बालविवाह नै रोकिन् । ‘गाउँमा दर्जनौँपटक हिंसाविरूद्धको अभियान चलायौँ । अहिले धेरै कम भएको छ । बालविवाह त फिटिक्कै बन्द भइसक्यो हाम्रो गाउँमा ।’ उनले भने ।

यसरी जिल्लाभरि बालविवाहका घटना बढेपछि विभिन्न संघ संस्थाको सहयोगमा किशोरीहरूलाई जिम्मेवार र क्षमता विकास गर्न किशोरी क्लबहरू गठन गरेको पीसविनका जिल्ला संयोजक भुवन सिंहले बताए ।

उनका अनुसार पछिल्लो समय किशोरीहरूलाई आत्मबल बढाउन लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले सहयोग गरेको छ । युएनएफपीएको आर्थिक सहयोगमा भीएसओ र पीसविनद्वारा सञ्चालित परियोजनाले सबैभन्दा बढी बालविवाह तथा हिंसा हुने तलकोट, वित्थडचिर, मष्टा र जयपृथ्वी नगरपालिकाका किशोर किशोरीलाई तालिम दिइरहेको उनले बताए ।

परियोजनाले प्रगतिशील, चेतनशील, लालीगुराँस, भवानीलगायतका किशोर–किशोरी समूह बनाएर प्रशिक्षक प्रशिक्षार्थी (समूह अध्यक्ष) लाई तालिम दिँदै गाउँ–गाउँमा हिंसाविरुद्धको अभियान चलाइरहेको छ । विभिन्न प्याकेजमा प्रशिक्षक प्रशिक्षार्थी किशोर–किशोरीलाई तालिम दिएर विद्यालय तथा गाउँघरमा सचेतना फैलाउँदै आएको उनले बताए ।

संस्थाहरूको प्राथमिकतामा पनि हिंसा न्यूनीकरण

गत साता दलित सहयोग समाजको आयोजनामा यूनाइटेड मिसन टू नेपालको सहयोग र पत्रकार महांसघको सहकार्यमा सदरमुकाम चैनपुरमा लैंगिक हिंसा न्यूनीकरणसम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्‍यो ।

अन्तत्र्रिmयामा महिला महिला हिंसाको कारण गरिबी, अशिक्षा र मदिरा नै भएको सहभागीले देखाए । यसलाई रोक्नका लागि सबै संघ संस्थाहरू एकजुट हुनुपर्ने सहभागीको धारणा थियो । लैंगिक हिंसा न्यूनीकरणका लागि टोल टोलमा सचेतीकरण अभियान चलाएमा हिंसा कम हुनसक्ने दलित सेवा समाज (डीएचएस) का कार्यकारी निर्देशक सुनिल नेपालीले बताए ।

उनले डीएचएस र युएमएनको साझेदारीमा समान व्यवहार (ईभीई) परियोजनाले पनि बुंगल नगरपालिका ९, १० र ११ वडा कुरिती, कुसंस्कार, बिभेदलाई न्यूनीकरण गर्ने काम गरिरहेको बताए । उनका अनुसार परियोजना लागू भएको वडामा विभिन्न समूहहरू, बालक्लब, दाजुभाइ समूहलगायतका समूह गठन गरेर वडा, विद्यालय, स्वास्थ्य संस्थासँगको साझेदारीमा महिला–पूरूष बीचको खाडल पुर्ने काम भइरहेको छ ।

सञ्चारकर्मीसँग महिला हिंसा न्यूनीकरणसम्बन्धि अन्तरक्रियामा सहभागीहरू

यूएमएन बझाङका टिम लिडर मोहनचन्द्र भट्टराइले मान्छेको सोच र समाज परिवर्तन नभएसम्म परियोजनाले मात्र समाज परिवर्तन गर्न नसक्ने बताए । उनले लैंगिक हिंसाजस्ता कुसंस्कारलाई घटाउन स्थानीय सरकारले पाठ्यक्रममा नै समाबेश गरेर बालबालिकाबाटै पढाउन सुरू गरे हिंसा नियन्त्रण हुने बताए ।

महिलाको क्षमता विकास गर्न नगरले थप्यो बजेट

जयपृथ्वी नगरपालिकाले भने लैंगिक हिंसा न्यूनीकरण गर्न महिलाको क्षमता विकास गर्नुपर्ने भन्दै बजेट नै वृद्धि गरेको छ । गएको बिहीबार हिंसा नियन्त्रणसम्बन्धि गरिएको कार्यक्रममा नगरपालिकाले महिलाका लागि छुट्याएको बजेट सार्वजनिक गरेको हो ।

लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले गरेको अन्तक्र्रिया कार्यक्रममा नगरपालिकाले महिलाको क्षमता विकासका लागि गत वर्षको तुलनामा यस वर्ष २.०२५ प्रतिशत बजेट छुट्याएको देखाएको हो ।

महिला कर्मचारीहरूलाई पारिश्रमिक, कार्यालय व्यवस्थापन, महिला परिचालिकाको तलब, महिला सीप मूलक तालिम, महिला हिंसा छाउपडी प्रथा बालबिवाहसम्बन्धी कानुनी साक्षरता, लैंगिक हिंसा प्रभावितलाई सहयोग, महिला जनप्रतिनिधिलाई नेतृत्व र भूमिकासम्बन्धि तालिमका लागि बजेट विनियोजन भएको जयपृथ्वी नगरपालिका महिला तथा बालबालिका शाखाकी सहायक महिला विकास निरीक्षक शारदा जोशीले बताइन् ।

उनका अनुसार किशोरीलाई जीवन उपयोगी सीप विकास तालिमदेखि महिला सुरक्षित आवास गृह सञ्चालनसम्म विनियोजित बजेट खर्च हुनेछ । चालू आर्थिक वर्षका लागि मात्रै नगरपालिकामा ५९ करोड ९१ लाख ३२ हजार ८५८ रूपैयाँ कुल बजेट रहेकोमा महिलाका क्षेत्रमा खर्च गर्न एक करोड २१ लाख ९ हजार ८४० रूपैयाँ विनियोजन भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार