बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • विद्यार्थीका रोलमोडल शिक्षक
Breaking News

विद्यार्थीका रोलमोडल शिक्षक

काठमाडौँ । पहिले हामी कक्षा १–५ सम्म पढ्दा ‘मेरो नेपाली’ किताब हुने गथ्र्यो । त्यसपछि ६–१० सम्म ‘हाम्रो नेपाली’ किताब थियो र ११–१२ मा ‘सबैको नेपाली’ किताब पढ्यौँ । किताबको नाम नै ‘मेरो’ ‘हाम्रो’ ‘सबैको’ राख्नुमै पनि ठूलो मनोविज्ञान लुकेको छ । कक्षा १–५ सम्म बाल मनोविज्ञानअनुसार सबै कुरालाई बालकले आफ्नो सोच्छ, जस्तै मेरो बुवा, मेरो आमा, मेरो गुरु, मेरो किताब आदि । यो उमेरमा बालकमा मेरो भन्ने भावना हुन्छ । त्यही मनोविज्ञान अनुसार ‘मेरो नेपाली’ नाम अति उपयुक्त हुन्छ । जब अलि बुझ्ने हुन्छ, उसको बुवालाई आमालाई उसको भाइले पनि बुवा आमा भनेको देख्छ । यी त मेरा मात्रै न रहेछन् ।

भाइका पनि रहेछन्, यी त हाम्रा रहेछन् भन्ने भावना उत्पन्न हुन्छ । उसको मनोवैज्ञानिक भावना अनुरूप ‘हाम्रो नेपाली’ नाम उपयुक्त हुन गयो । अब १६–१७ को उमेरमा अझै उसको मनोविज्ञान बदलिन्छ, उसको बुवा आमा त उसका मात्र न रहेछन्, उसका बुवाआमा त कसैको दाई र दिदी पनि रहेछन् । कसैको छोरा/छोरी पनि रहेछन्, कसैका काका र काकी पनि रहेछन्, यी त हाम्रा मात्रै न भै सबैका रहेछन् भन्ने कुरा बुज्छ । यसरी ‘सबैको नेपाली’ नाम उपयुक्त रह्यो ।

नयाँ कक्षामा भर्ना भइ किताब लिएर घर आउँदाको खुसी नै बेग्लै हुन्थ्यो । अरु किताबभन्दा पनि नेपाली किताबमा रहेका सबै कथा र कविताहरू गुरुले पढाउनु अघि नै पढेर सकेका हुन्थ्यौं । साह्रैै मजा मानेर कथा र कविता आवाज निकाली निकाली पढ्थ्यौ । हामी कक्षा ४ मा पढ्दा ‘मेरो नेपाली’ किताबमा कवि पारसमणि प्रधानको ‘लक्ष्य’ कविता पढ्दाको पल अझै याद आउँछ :

लक्ष्य भएको मानिस साँच्चै
अर्जुन जस्तै हुन्छ ।
लक्ष्य बिनाको मानिस जगमा
काम न लाग्ने हुन्छ ।
लक्ष्य बिनाको मानिस हुन्न,
लक्ष्य भएको हुन्छ ।
लक्ष्य विनाको मानिस साँच्चै,
बानर जस्तै हुन्छ ।

यो कविता पढाइ सकेपछि, गुरुले सबैलाई एक एक गरी प्रश्न गर्नु भो, तिम्रो लक्ष्य के हो ? सबैलाई के भन्ने के भन्ने भयो । यो प्रश्न सायदै सबैको लागि नौलो थियो । धेरैलाई त लक्ष्य शब्दको अर्थ नै थाहा थिएन । गुरुले सजिलो हुने गरी भन्नुभयो, तिमी जीवनमा के बन्न चाहन्छौं, तिम्रो जीवनको उद्देश्य के हो ?

खासमा भन्दा कसैलाई आफ्नो लक्ष्य थाहा थिएन, तर माथि भर्खरै लक्ष्य बिनाको मानिस बानर जस्तै हुन्छ भनिसकेपछि केही न केही त भन्न प¥यो भनेर सबैले आफूले रटेका र थाहा भएका पेसाहरूको नाम भन्दै गए । कसैले डाक्टर, इन्जिनियर, पाइलट भने त कसैले आर्मी, पुलिस, शिक्षक, नर्स भने । धेरै जसो आफ्नो साथीले जे बन्छु भन्यो त्यही भन्दै गए । त्यो बेला त सबैले सजिलै सँग डाक्टर बन्छु, पाइलट बन्छु भन्यौ, तर केही महिनापछि अन्तिम परीक्षामा ‘मेरो जीवनको लक्ष्य’ शीर्षकमा निबन्ध लेख भनेर आउँदा त्यो दिन कक्षामा भनेको लक्ष्य याद नै रहेनन् । जुन सजिलो लाग्यो । जुन पेसाबारे धेरै जानकारी थियो । त्यही लेख्यौँ ।

यो त कक्षा ४ को कुरा भयो, त्यो बेला बच्चै थियौ । तर, यही प्रश्न दोहोरिदै आजसम्म आउँदा पनि यो प्रश्नको जवाफ मसँग छैन । सायद मेरो आफ्नै कमजोरी हो, मैले आफ्नो लक्ष्य थाहा पाउन सकिन । अथवा यो हाम्रो शैक्षिक प्रणालीको कमजोरीको नतिजा हो । म मा कुनैं पनि विषयप्रति रुचि नै जाग्न सकेन ।

धेरै साथीहरुको लहै लहै, परिवार र आफन्तका कुरा र थोरै आफ्नो रुचि पनि भनौं, एसएलसी परीक्षा दिई सकेपछि विज्ञान पढ्ने निधो भयो । विज्ञान विषय पढ्न इन्ट्रान्सको तयारी गर्न कञ्चनपुरको रेडियन्ट कलेजमा भर्ना भइयो ।

नयाँ ठाउँ पहिलो दिन पहिलो कक्षामै फतक्कै पुष्प फुलेझै मुस्कुराउने मुहार, र हिमालझैँ सेता कपाल भएका शिक्षक हातमा मार्कर र डस्टर, हल्का खुचिङ खुचिङ तरिकाले हिन्दै कक्षामा प्रवेश गर्नुभयो ।

वरपरका बसेका त्यहीका स्थानीय साथीहरु चूडामणि सर, चूडामणि सर भन्दै खुसखुसाउन थाले । त्यहीँबाट मैले उहाँको नाम थाहा पाए प्रा. डा. चूडामणि जोशी । कक्षामा प्रवेश गर्न साथ उहाँले बोर्डमा एउटा सजिलो इक्विएसन हल गर्न दिनुभयो । उत्तर त सही लेखेका थिए सबैले । तर सबैको कपी एक एक गरी जाचिसके पछि, कसैको सही न भएको भन्नुभयो । सबै अचम्मित भए । उहाँले सही उत्तर बोर्डमा लेख्नु थाल्नुभयो, हामीले पनि त्यस्तै लेखेका थियौ, उत्तर एउटै थियो तर हाम्रो ‘x’ लेख्ने तरिका न मिलेको रहेछ । पहिलो कक्षामा यसरी उहाँले x को महिमाको वर्णन गर्नुभयो । उहाँले कक्षा सकेर निस्कने बेलामा फेरि बोर्डमा 2×2=4 लेख्नुभयो ।

म ध्यान दिएर बोर्डमा हेरिरहेको थिएँ । संयोगवस उहाँले ओ हजुर ! भनेर मलाई नै उठाउनुभयो र अगाडि बोलाउनुभयो । म अगाडि पुगिसकेपछि मार्कर मेरो हातमा दिँदा घाँटी माथि गरेर मलाई हेर्दै के खाएर यति लामो भएको भन्दै, आफूले बोर्डमा जे लेख्यो त्यहीँ लेख्न र तर तपाईं जे उच्चारण गर्नुहुन्छ त्यो लेख्नुहोस् भन्नुभयो । म हेरेको हेरै भए, उच्चारण त ‘टु टूजा फो’ भनेर गरिन्थ्यो तर एस्को इस्पेलिङ अङ्ग्रेजीमा लेख्न मलाई आएन । लम्बाई मात्र हैन अब ज्ञान पनि बढाउनुस् भन्दै मलाई बस्न भन्नुभयो । धेरैलाई उठाएर यसको उच्चारण गर्ने इस्पेलिङ सोध्नुभयो तर कसैबाट पनि जवाफ पाउनुभएन र यसको जवाफ भोलि खोजेर आउनु भन्दै कक्षाबाट बाहिरिनुभयो ।

पहिलो पटक कुनै विषयप्रति रुचि जागे जस्तो अनुभव भयो । विद्यालय जान अल्छी लाग्नेहरू, अब उत्साहित भएर कक्षामा छलफल गर्न थाले । सबै यसको उत्तर खोज्नतिर लागे ।

चूडामणि सरबाट सिकेको जीवनको सबैभन्दा ठूलो पाठ नै जानी जानी कहिले गलत न हुने हो । आफ्नो होस् या अरुको । गलत उहाँलाई कुनै पनि अवस्थामा सह्य हुन्थेन । आफ्नो गल्ती छ भने उहाँ सजाय भोग्न पनि तयार रहने उहाँको सिद्धान्त थियो । मैले सुनेको कुरा, उहाँले साइकलमा यात्रा गर्दा गल्तिबस गलत ठाउँबाट साइकलले रोड क्रस गर्नुभएछ । नजिकै रहेका एकजना टूाफिकले ‘बाजे साइकल चलाउन आउन्न’ भनी हालेछन् ।

साइकल छेउमा रोक्दै सरले भन्नुभएछ ‘ओ हजुर मेरो के गल्ती भयो मैले थाहा पाएन, भन्दिनु पड्यो’ । ‘गलत साइडबाट बाटो काट्दा याक्सडेन्ट भए के हुन्थ्यो’ ट्राफिकले जवाफ दिएछन् । ओहो गल्ती भएछ भन्दै ‘अब मैले यसको सजाय के भोग्नु पड्यो ।’ त्यस्तो सजाय नै दिनपर्ने गल्ती न भएको पनि टूाफिकलाई प्रष्टै थाहा थियो तर मसंग जिस्किँदै पो छन् कि सोचेर मुखमा आएको फ्याट्टै भन्दिए छन् ।

‘यहि साइकल प्रहरी पोस्टसम्म काधमा बोकेर लग्नुस्’ । नभन्दै उहाँले त्यसै गर्न थाल्नु भो ! सबको हेराहेर, केही बेरमै धेरै मान्छेको भिड नै जम्मा भयो तर उहाँ सकि नसकि साइकल काँधमा राख्दै अगाडी बढिरहेका ! बारम्बार सबैले त्यसो नगर्न अनुरोध गरेको आवाजले उहाँलाई केहि फरक पारेन । किनकी उहाँको मान्यता नै गल्तिको सजाय हुनुपर्छ थियो । उहाँ मलाई मात्रै हैन हरेक विद्यार्थीलाई मनपर्ने गुरु हुनुहुन्थ्यो । त्यसपछि +2 NAST कलेजमा पढ्दा अझै उत्कृष्ट शिक्षकहरूसँग भेट भयो । बायोलोजी पढाउनु हुने आदरणीय शिक्षक सधैं मेरो सम्झनामा आइरहनुहुन्छ । उहाँको पढाउने शैली र व्यक्तिको कारण उहाँ सबैको प्यारो हुनुहुन्थ्यो । उहाँलाई उहाँले पढाउनु हुने हरेक विद्यार्थीको नाम याद हुन्थ्यो र हरेक विद्यार्थीसँग उहाँको व्यक्तिगत सम्बन्ध रहेको आभास दिलाउनुहुन्थ्यो जुन असल शिक्षकको महत्वपूर्ण गुण हो ।

यस्तै नेपाली शिक्षक पनि हुनुहुन्थ्यो । उहाँ पाठहरुलाई यति रोचक तरिकाले पढाउनु हुन्थ्यो कि मानौं त्यो कहानी आफ्नै आँखा अगाडि घटिरहेको छ । पाठको अन्त्यमा जुन नैतिक सार उहाँले आफ्नो ढंगबाट दिनु हुन्थ्यो, त्यो मलाई सार्है मन पथ्र्यो । माथि सुरुमा लेखिएको मनविज्ञानको कुरा पनि उहाँले नै कक्षामा सुनाउनु भएको थियो । त्यस्तै स्नातक र स्नातकोतर पढ्दासम्म धेरै शिक्षकहरुले पढाउनुभयो, धेरै शिक्षकहरूमा आफ्ना आफ्नै विशेषता र गुणहरू थिए ।

शिक्षक र बुवाआमा विद्यार्थीका पहिला रोलमोडेल हुन् । शिक्षकले के गर्छन्, कसरी बोल्छन् सबै क्रियाकलाप महत्वपूर्ण हुन्छन् । विद्यार्थी शिक्षकजस्तो बन्न चाहन्छन् । म मेरो जीवनमा ती शिक्षकहरुलाई सम्झन्छु जसले मलाई प्रोत्साहित गरे । मेरो ख्याल राखे । कक्षामा मनोरञ्जन गराए ।

पढाउनु अघि कथा र जोक सुनाएर हँसाए । यस्ता शिक्षकले बिद्यार्थीको जीवनमा ठूलो प्रभावपार्दछ्न । सायद त्यही प्रभावकै कारण, ती शिक्षकले पढाउने विषयप्रति मेरो रुचि बढी थियो । कोही शिक्षकलाई विद्यार्थीले बुझे न बुझेको र सिके र सिकेको भन्दा पनि पाठ्यक्रमको बढी चिन्ता हुन्थ्यो । त्यस्ता शिक्षकले हाम्रो जीवनमा खासै प्रभाव पार्दैनन् । शिक्षकका केही विशेष गुणहरूको कारण नै कुनै शिक्षक विद्यार्थीको रोलमोडल र प्रभावकारी शिक्षक बन्न सक्छ । त्यस्ता शिक्षकका केही गुणहरू यस प्रकार हुन्छन् ः

विषयप्रति प्रेम (Love for Subject)

हरेक शिक्षकको आफ्नो विषयप्रति घनिष्ट प्रेम हुन पर्दछ । आफ्ना विषयका सामान्यदेखि लिएर कठिन कुराको जानकारी हरेक शिक्षकसँग हुनुपर्दछ । जसरी आफ्नो प्रेमिकाले के गर्दै छे, कहाँ छे जस्ता कुराको हरेक जानकारी राख्न खोज्नुहुन्छ त्यस्तै आफ्नो विषयमा भइरहेका नयाँ खोज अनुसन्धानको बारे खोज तलास गर्ने, पढ्ने बानी हुनु विषयप्रति प्रेम देखाउँछ । यसरी नयाँ कुरा खोज्ने पढ्ने बानीले शिक्षकलाई अपडेट गराइरहन्छ र विषयको गहिरो ज्ञान गराउँछ । शिक्षक, कि त अपडेट हुन्छ कि त डिग्रेड । शिक्षक यथास्थितिमा रहन सक्दैन । अपडेट न हुने शिक्षक खस्कँदै जान्छ । विषयको गहिरो ज्ञानले, सामान्य कुरालाई नयाँ ढंगबाट, रोचक तरिकाले सिकाउने उपाय मिल्दछ ।

पेशाप्रति प्रेम (Love for Profession)

प्रत्येक व्यक्तिले आफूले प्रेम गर्ने पेशा अपनाउनुपर्छ अथवा आफ्नो पेशालाई प्रेम गर्नपर्छ । शिक्षकहरू पनि दुई प्रकारका हुन्छन् । Teacher by chance र Teacher by choice, आजका सन्दर्भमा स्वयं इच्छाले शिक्षक बन्ने क्रम घट्दो छ । म शिक्षकनै बन्छु भनेर पढ्नेको संख्या निकै निम्न देखिन्छ ।

Teacher by choice अर्थात् स्वयं इच्छाले शिक्षक बनेको व्यक्ति अथवा पढाउन निकै मजा मान्ने, शिक्षणप्रति लगाव र जुनुन भएको व्यक्तिको ऊर्जा नै बेग्लै हुन्छ । यस्ता शिक्षक जसरी पनि विद्यार्थीलाई सिकाउनको निम्ति उचित शिक्षण सामग्रीको प्रयोग गर्न अल्छी गर्दैनन् । जहाँ त्यहीँबाट बुझ्न सजिलो गराउने शिक्षण सामग्रीको तलास गर्दछन् र कक्षामा प्रदर्शन गर्दछन् । यस्ता शिक्षकको कक्षा विद्यार्थीले औंधी मन पराउँछन् ।

केही महिना अगाडि मेरा साथीहरू मुस्ताङ गएका थिए । उनीहरू गाडी रिजर्भ गर्न भनी जाँदा म पनि सँगै गएको थिए । एक जना चालकसँग कुरा गर्दा एक जना साथीले सोधें, गुरु ! बाटो कस्तो छ त, कति दिनमा पुगिन्छ ? चालकले जवाफ दियो, बाटो त डेन्जर छ सर तर भर्खरै किनेको नयाँ गाडी हो मेरो । बिग्रिने समस्या हुँदैन, मैले त विदेश जाने सोचेको थिए, भिसा लागेन अनि ४–५ महिना अगाडि नै साउको गाडी चलाउन थालेको । के गर्ने पेट पाल्नै पयो । साथीले फेरि सोधें, अनि कस्तो लाग्छ त गाडी चलाउन ? रमाइलो लाग्छ होला नी !

चालकले भन्यो, के रमाइलो हुनु सर, विदेशतिर जाने भनेको । भाग्य नै छैन रैछ, मलाई त गाडी चलाउन मनै पर्दैनन् । स्टेरिङ समात्यो कि निद्रा लाग्न थाल्छ । सबै साथीहरु एक अर्काको मुखमा हेर्दै, त्यो गाडीमा जाने कि न जाने अक्क न बक्क भए ।

एउटा खराब ट्याक्सी चालकले ४ जनाको जिन्दगी जोखिममा पार्न सक्छ, एउटा खराब बस चालकले ५० जनाको जिन्दगी जोखिममा पार्न सक्छ । एउटा खराब पाइलटले २०० जनाको जिन्दगी जोखिममा पार्न सक्छ, त्यस्तै एउटा पेशाप्रति प्रेम नभएको शिक्षकले हजारौं विद्यार्थीको जिन्दगी जोखिममा पार्न सक्छ । तसर्थ शिक्षकलाई आफ्नो पेशाप्रति प्रेम हुन अति आवश्यक छ ।

विद्यार्थीप्रति लगाव (Affection for students)

केही त्यस्ता शिक्षक पनि मैले देखेको छु, जो विद्यार्थीलाई नै मन पराउँदैनन् । कुनै योजना बिना कक्षामा पढाउँछन्, विद्यार्थीसँग चिढिन्छन् । यस्ता मान्छे शिक्षणमा आएको देख्दा पनि अचम्म लाग्छ ।
शिक्षक प्रेमले भरिपूर्ण हुनपर्छ । विद्यार्थीहरू प्रति लगाव राख्ने शिक्षक विद्यार्थीको प्यारो हुन्छ । कुनै विद्यार्थी कक्षामा अनुपस्थित हुँदा केही शिक्षकलाई त विद्यार्थी आए न आएको थाहा पनि हुँदैन, तर एउटा शिक्षकलाई हरेक विद्यार्थीको नाम थाहा हुनपर्छ ।

कक्षामा केही प्रश्न गर्दा होस् या केही काम पर्दा होस्, शिक्षकले विद्यार्थीलाई उसको नाम लिएर नै बोलाउन पर्दछ । नाम लिएर बोलाउँदा विद्यार्थीमा सर मलाई राम्रोसँग चिन्नुहुन्छ, मैले सरको अगाडि राम्रो बन्नपर्छ भन्ने भावना उत्पन्न हुन्छ । शिक्षकले हरेक विद्यार्थीसँग राम्रो व्यक्तिगत सम्बन्ध रहेको आभास प्रत्येक विद्यार्थीलाई दिलाउन सक्नुपर्छ । विद्यार्थीप्रति प्रेम र लगावले शिक्षकको सिर्जनशीलता पनि बढाउँछ । प्रेमले शिक्षकमा धैर्य गर्न सक्ने क्षमता पनि बढाउँछ ।

कलात्मक शिक्षण

शिक्षण विज्ञान मात्र होइन, कला पनि हो । ज्ञान हुनुमात्र शिक्षणका निम्ति आवश्यक पर्ने गुण होइन । शिक्षकमा पढाउने कला पनि हुन जरुरी छ । ज्ञान अनि कला दुवै हुनु उत्कृष्ट शिक्षकको परिचय हो । धेरै जसो शिक्षक कक्षामा गएर एकोहोरो पढाउन सुरू गर्छन्, दोहोरो संवाद गर्दैनन् । तर, समाधान संवाद अनि प्रश्नमै हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । जसरी एउटा गायक, नाटककार, चित्रकारको कालबाट हामी प्रभावित हुन्छौं, त्यसै शिक्षकको पढाउने कलाले विद्यार्थी प्रभावित हुनुपर्छ ।

शिक्षकले प्रत्येक कक्षा लिनुपूर्व तयारी गर्न जरुरी हुन्छ । पूर्व तयारीका साथ कक्षामा जाने शिक्षकले मात्रै प्रभावकारी शिक्षण गर्न सक्छ । जसरी एउटा नाटककारले गजबको नाटक रचना गर्दछ, त्यसै शिक्षकले पनि पाठ वा हिसावहरुलाई विद्यार्थीले बुझ्ने किसिमको कथानक शैली वा निमोनिकहरुको रचना गरी पढाउनु पर्दछ ।

मलाई मेरो शिक्षकले गणितमा शून्यान्तको पाठ पढाउँदा कथानक शैलीबाट पढाएको आजसम्म पनि ताजा छ । उहाँले एउटा घरबाट विद्यालय जान लागेको पात्र हरी बनाउनुभयो । हरी घरबाट निस्कने बित्तिकै, अचानक पानी प¥यो । तर हरीसँग छाता छैन भने ‘अब ऊ के गर्छ होला ?’ कसले भन्न सक्छ होला भनेर प्रश्न सोध्ने बित्तिकै बालबालिकाहरू ‘म भन्ने म भन्ने भन्न थाले’ । सबै विद्यार्थीको उत्तर पालैपालो सुने पछि । अन्त्यमा, घर नजिकै भएको हुँदा अथवा हरी भएको ठाउँबाट विद्यालय टाढा भएकोले ऊ घर नै जान्छ भनेर उहाँले प्रष्ट पार्नुभयो ।

यही कथालाई अर्काे ढंगबाट पनि प्रस्तुत गर्नुभयो । हरी विद्यालय नजिक पुग्दा पानी परेछ भने उसले के गर्छ होला भनेर सोध्नुभयो । विद्यार्थीले विद्यालय नजिकै छ, तसर्थ ऊ विद्यालय नै जान्छ भनेर उत्तर दिन केही बेर लगाएनन् । अर्थात् विद्यार्थीहरुमा टाढा र नजिकको धारणा बसिसकेको थियो ।

अब हरी घर र विद्यालयको बीच बाटोमा पुग्दा पानी प¥यो भने के गर्छ भनेर प्रश्न सोध्नुभयो । यसरी प्रश्न गर्दा घर जाने समय र विद्यालय जाने समय बराबर लाग्छ । यस्तो अवस्थामा विद्यार्थीले दुवै खाले उत्तर दिने सम्भावना रहन्छ । त्यसबेला, हरी एक असल विद्यार्थी हो, ऊ पढ्नको लागि विद्यालय जान हिंडेकोले ऊ विद्यालयतिर नै जान्छ भनेर प्रष्ट पार्नुभयो । अर्थात् कुनै पनि संख्या बीचमा छ, त्यसलाई शून्यान्त गर्दा अगाडिको अङ्कतिर शून्यान्त गरिन्छ, पछाडि फर्किइँदैन भन्ने धारणा दिनुभयो ।

उहाँले उक्त कथालाई घर, राम र विद्यालयको स्थानमा संख्या रेखा बनाएर पनि शून्यान्त गर्न सिकाउनु भयो । जस्तैः ३१, ३२, ३३, ३४, ३५, ३६, ३७, ३८, ३९ आदि संख्यामा रामलाई राखेर शून्यान्त गर्न सकिन्छ । संख्या ३५ मा रामलाई राख्दा घर र विद्यालय जान बराबर दूरी हुने हुँदा असल विद्यार्थी विद्यालय जान्छ अर्थात् अगाडि बढ्छ भनेर ३५ लाई नजिकको दशमा शून्यान्त गर्दा ४० हुन्छ भनेर ज्ञान दिनुभयो । यसरी कलात्मक ढंगबाटगरेको शिक्षणर यस्ता शिक्षक विद्यार्थीलाई सधैं याद रही रहन्छ ।

आकर्षक र हस्यको भावना (Attractive and Good Sense of Humor)

शिक्षकको रूप, लाउने, हिन्ने तवर र तरिकाले पनि विद्यार्थीको मनोविज्ञानलाई असर परेको हुन्छ । जसरी डाक्टर भन्ने बित्तिकै सेतो अप्रोन लगाएको तस्बिर मनमा आउँछ, वकील भन्ने बितिकै कालो कोट लगाएको तस्बिर मनमा झल्किन्छ त्यसै गरी शिक्षकले पनि विद्यार्थी सामु सधैं सफा चिटिक्क लुगा, टाई,जुत्ता लगाएर उपस्थित हुनपर्छ । म सम्झन्छु मेरा शिक्षकहरू जो कक्षामा सफा र चिटिक्क लुगा लगाएर आउने गर्थे र मलाई पनि पछि गएर उहाँ जस्तै शिक्षक भएर चिटिक्क लुगा लगाउन चाहना जाग्दथ्यो ।

शिक्षकले धेरै स्टाइलिस, फेसन युक्त, भड्किलो र अति चम्किलो लुगा पनि लगाउनु हुँदैन, अन्यथा पढाइभन्दा पनि शिक्षकको लुगामा विद्यार्थीको ध्यान जान सक्छ । सकेसम्म शिक्षकले आँखालाई शीतल दिने रंग जस्तै हरियो रंगको सर्ट लगाउँदा उत्तम हुन्छ । हरियो रंग भिजीवल रंगहरुको बीचमा पर्दछ जुन न त धेरै चम्किलो हुन्छ न त धेरै फिका ।

शल्यक्रिया कक्षमा चिकित्सकले आफूले पनि हरियो वा नीलो रंगको अप्रोन प्रयोग गर्छन् र शल्यक्रिया गर्नुपर्ने व्यक्तिलाई पनि हरियो लुगा लगाउन दिइन्छ, लामो शल्यक्रिया गर्ने क्रममा रातो रगत (रातो रंग सार्है चम्किलो हुन्छ) हेरी राख्दा आँखामा असर परी शल्यक्रियामा गल्ती हुन सक्छ तसर्थ छिन छिनमा हरियो रंग हेर्दै आँखालाई आराम दिइन्छ । तसर्थ शिक्षकले पनि सकेसम्म कक्षामा नीलो वा हरियो रंग प्रयोग गर्नुपर्छ ।

आकर्षकको साथ साथै शिक्षकमा हाँस्यको भावना पनि हुन जरुरी छ । आज मेरो सम्झनामा सधैं कक्षामा पढाउने मात्रै, कडा व्यवहार देखाउने शिक्षकभन्दा पनि रमाउँदै र हँसाउँदै पढाउनु हुने शिक्षक आउनुहुन्छ । शिक्षकले पढाएको कुरा भन्दा पनि मलाई कक्षामा सुनाइएका ती विनोदका कुरा, ती कथाहरू याद आउँछन्, जुन मेरो मनमा जीवनभरको सम्झना बनेका छन् ।

जसरी हरेक शिक्षकको आफ्नै पढाउने शैली हुन्छ, त्यस्तै हरेक विद्यार्थीको पनि बुझ्ने आफ्नै शैली हुन्छ । शिक्षकको पढाउने शैलीले हरेक विद्यार्थीले न बुझेको पनि हुन सक्छ । त्यो विद्यार्थीलाई छुट्टै शैलीबाट पढाउन पर्ने हुन सक्छ । तसर्थ एउटा कलात्मक र सिर्जनात्मक शिक्षक त्यो हो जसले हरेक विद्यार्थीको बुझ्ने शैली थाहा पाएको हुन्छ र व्यक्तिगत भिन्नताको आधारमा शिक्षण गर्दछ । धेरै विद्यार्थी शिक्षकले पढाएको न बुझेको कारण कक्षा कोठालाई जेल बराबर ठान्दछन् । कति बेला छुटी होला र घर जान पाइएला सोच्दछन् ।

अंग्रेजीमा एउटा भनाइ छ, Children walk to school and run back to home, lets reverse this trend. वर्तमान अवस्थामा विद्यार्थी उच्च शिक्षाको लागि विदेश पलायन हुने चलन बढेको छ, यसको जिम्मेवार शिक्षा प्रणाली त जिम्मेवार छ नै कहीँ न कहीँ हात हाम्रो शिक्षण शैलीको पनि छ । अहिलेको स्मार्ट समयमा त्यही पुरानो शिक्षणशैली प्रभावकारी न हुन सक्छ ।

शिक्षण शैलीलाई पनि समय सान्दर्भिक बनाउन जरुरी छ । शिक्षा क्षेत्रमा युवा शिक्षकलाई आकर्षित गर्ने पहल गर्न जरुरी छ । नेपालमा शिक्षण पेसाप्रतिको नकारात्मक धारणा बढ्दो अवस्थामा छ । भविष्यमा म शिक्षण गर्छु, शिक्षक बन्छु भन्न पनि लाज मान्नुपर्ने अवस्था छ । जहिलेसम्म नयाँ पुस्ताले ‘मेरो रोजाइ शिक्षक हुनु हो’ भन्ने अवस्था आउँदैन त्यति बेलासम्म शिक्षण पेसाप्रतिको सम्मान र आकर्षण बढ्न सक्दैन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै