शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • कांग्रेसमा अब गुट उपगुट रहँदैन : डा. रावल
समाचार

कांग्रेसमा अब गुट उपगुट रहँदैन : डा. रावल

तरूणा जोशी

बझाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. रणबहादुर रावलले कांग्रेसले गुट उपगुट पूर्णरूपमा अन्त्य गर्ने बताएका छन् । मंगलबार नेपाल प्रेस युनियन बझाङले गरेको पत्रकार सम्मेलनमा डा. रावलले अब कांग्रेसभित्र गुट नरहने बताएका हुन् ।

नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि सुरू गरेको ‘आन्तरिक विशेष अभियान’ अन्तर्गत बझाङ पुगेका रावलले कांग्रेसलाई सशक्त बनाउन पार्टी पंती एक ढिक्का हुनुपर्ने बताए । उनले भने, ‘हरेक ठाउँमा गुटै गुट भएर कांग्रेस कमजोर भएको हो कि भन्ने धेरैको बुझाई छ । यसलाई चिर्न पनि गुटहरू सबै अन्त्य गर्न जरूरी छ ।’

रावलले पार्टीमा योगदान, क्रियाशिल, क्षमतावान्ले नै हरेक संगठनमा जिम्मेवारी पाउने बताए । उनले भने, ‘बझाङमा धेरै साथीहरू एक अर्कातिर फर्किएको देखेँ । यसले संगठनलाई निकै कमजोर बनाउँछ । अहिले कांग्रेस कतै पनि कमजोर छैन । त्यसैले एकढिक्का भएर समुदायमा जाने हो भने हरेक ठाउँमा कांग्रेसको बहुमत आउनेछ ।’

रावलले यस आन्तरिक अभियानले कांग्रेसले थप उचाई हासिल गर्ने बताए । केही ठूला दलदेखि स–साना दलले समाजमा भ्रम छरे पनि कांग्रेस एक पल्ट समुदायमा जाँदा छुट्टै प्रभाव पर्ने बताए । उनले भने, ‘केही पुराना र केही नयाँ पार्टीले ठूलो पार्टीलाई गाली गरेर आफू लोकप्रिय बन्ने आश गरेका छन् । यसमा कांग्रेसलाई समुदायमा जान ढिलाई भएकोले हो । अब समुदायमा गएपछि जनताको मनको कसिंगर सबै पखालिने वातावरण बन्नेछ ।’

रावलले बझाङ विकासको सवालमा कांग्रेसले बढी भूमिका खेलेको हुँदा जनता अबको निर्वाचनका लागि मत हाल्न पर्खिएको बताए । उनले भने, ‘बझाङमा व्यक्तिगत रूपमासमेत मेरो पुरानो साइनो छ । राष्ट्रिय विकास परिषद् सदस्य हुँखा बझाङका कुना कन्दरासम्म विकासका सम्भावनाको खोजी गरेको थिएँ । मन्त्री भएको बेलामा पनि बझाङको विकासका लागि सक्दो सहयोग गरेको थिएँ ।’

बझाङमा कांग्रेसको ‘आन्तरिक विशेष अभियान’ सुरू

नेपाली कांग्रेसको केन्द्रीय सर्कुलरअनुसार बझाङमा पनि ‘आन्तरिक विशेष अभियान’ सुरू गरिएको छ । साउन २० गतेदेखि ३० गतेसम्म चल्ने अभियानका लागि बझाङमा डा. रणबहादुर रावलले अभियानको सुरूवात गरेका हुन् । अभियानसँगै नेपाली कांग्रेसले पालिकाहरूमा समेत प्रतिनिधि खटाएको छ । जनतासँगै कांग्रेस भएको सन्देश दिनका लागि सबै स्थानीय तहमा पार्टीले प्रतिनिधि खटाएकोले आफू पनि बझाङमा पुगेको रावलले बताए । उनका अनुसार अभियान सकिए लगत्तै १० गतेदेखि २४ गतेसम्म समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन हुने भएको छ ।

नेपाली कांग्रेस बझाङले संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरू गरेको हो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जगतप्रसाद जोशीले भने, ‘जनतालाई कांग्रेसले आफूले गरेका काम सुनाउनका लागि भए पनि समाजमा जानुपर्छ । यहाँ विभिन्न राजनीतिक दलले कांग्रेसले गरेको कामको समेत जस लिइरहेका छन् । कांग्रेसले भने आफ्नै काम पनि सुनाउन पाएको छैन ।’ अब कांग्रेसले जनतालाई महशुस गर्ने गरी टोल टोलमा कांग्रेसले गरेका योगदानका कामहरू देखाउने उनले बताए ।

कांग्रेस केन्द्रीय सदस्य डा. रावलले बझाङको विकासका लागि उरै भन्ज्याङ हुँदै चीन नाकासम्म जोड्न सके धेरै राहत पुग्ने र विकासमा थप फड्को बताए । उनले भने, ‘उरै भन्ज्याङ हुँदै ताक्लाकोट नाका खोल्न मैले सक्दो सहयोग गर्नेछु ।’ साइपालमा सडक पुगाउन सकेमात्रै धेरै विकास हुने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार