आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • देशभर डेंगुबाट संक्रमित हुनेको संख्या १० हजार नाघ्यो
Breaking News

देशभर डेंगुबाट संक्रमित हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौँ । डेंगु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेंगु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ ।

महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगु सङ्क्रमण बढिरहेको बताए । उनले यसैगरी डेंगु सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने बताए । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो ।

सङ्क्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ । महाशाखाका अनुसार सुनसरीमा छ हजार ४१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्छ ।

यसपटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ । कोशी प्रदेशमा आठ हजार एक सय नौ जना, बागमती प्रदेशमा एक हजार चार सय ५३ जना, गण्डकी प्रदेशमा चार सय ७१ सुदूरपश्चिम प्रदेशमा तीन सय ९३ जना, लुम्बिनी प्रदेशमा दुई सय १५ जना, मधेस प्रदेशमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा सङ्क्रमण देखिएको छ । नयाँ देखिएका बिरामीमध्ये नौ हजार छ सय १२ (८९ दशमलव ६० प्रतिशत) बिरामी १० जिल्लाका रहेका छन् ।

सुनसरीपछि मोरङ एक हजार तीन सय ४४, धादिङ एक हजार २७ जना, कास्की दुई सय २५ जना, धनकुटा दुई सय २३, दार्चुला एक सय ९२ जना, झापा एक सय ८२, काठमाडौँ एक सय ५१ सङ्खुवासभा एक सय ४८ जना र तनहुँ ७९ जनामा डेंगुका बिरामी भेटिएका छन् । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार