शनिबार, बैशाख १, २०८१
  • होमपेज
  • जवरजस्ती बनाएको जातीय घटना
Breaking News

जवरजस्ती बनाएको जातीय घटना

बझाङ । वित्थडचिर गाउँपालिका–७ स्यालढुंगामा निर्माणाधीन घर भत्काइएको घटना सतहमा आएको छ । सार्वजनिक स्थानमा बन्दै गरेको एक परिवारको घर स्यालढुंगाबासीले मिलेर भत्काएको घटनालाई जातीय रङ दिएपछि उत्कर्षमा पुगेको हो ।

बुधबार भएको घटना ‘दलित समुदायमाथि दमन’ भन्दै सामाजिक सञ्जालमा डढेलोझैँ फैलियो । निर्माणाधीन घर भत्काउँदै गरेको भिडियो युट्युबरले सामाजिक सञ्जालमा राखेपछि ‘एक कान, दुई कान, मैदान” जस्तै भयो । त्यसपछि पीडित पक्ष भनिएका सोही ठाउँका पुड्के ओखेडाले जिल्ला प्रहरी कार्यालय बझाङमा जाहेरी दिए । उनको जाहेरीमा तीन जनाको अगुवाईमा दर्जनबढी गाउँलेको नामसमेत उल्लेख छ । उनको जाहेरीपछि प्रहरीले भवानी जोशी, कृष्णदत्त जोशी र नन्दलाल जोशीलाई प्रकाउ ग¥यो र अनुसन्धान गरिरहेको छ ।

‘ब्राह्मणको घरनजिकै दलितले घर बनाएको भन्दै भत्काइयो’ भन्ने युट्युबरको शीर्षककै आधारमा घटना सामाजिक सञ्जालमा तरङ्गित भयो । तर, गाउँलेले सार्वजनिक जमिन भन्दै वस्तुभाउ चरिचराउन गर्दै आएको जमिनमा एक व्यक्तिले घर बनाएको, बारी बनाएको भन्दै दलित समुदायकै सहभागितामा घर भत्काइएको थियो ।

आरोपी कृष्णदत्त जोशी भन्छन्, ‘हाम्रो गाउँमा ब्राह्मण, क्षेत्री, दलित समुदाय छन् । त्यस्तो जातीय विभेद पनि छैन । म आफैँ ब्राह्मण हुँ, तर उहाँहरूसँग बसेर कैयौँपटक खाजा नास्ता सँगै बसेर खाएको छु । जातीय विभेद गर्नेको समेत विरोधी हुँ ।’ तर, घटनालाई यथार्थभन्दा बाहिर गएर अतिरञ्जित गरेपछि मिलेको समुदायलाई धेरै असर परेको उनले बताए ।

जोशीलाई अहिले निर्माणाधीन घर भत्काएकोमा भने आत्मग्लानी भइरहेको छ । ‘प्रहरी, जनप्रतिनिधिलाई समेत सम्पर्क नगरी आवेगमा आएर भत्काइयो । अहिले पछुतो भइरहेको छ ।’ कानुन नै हातमा लिएर घर भत्काउनु गलत भएको उनी स्वीकार गर्छन् । घर भत्काउन भने ब्राह्मण समुदाय मात्रै नभएको उनले बताए । जोशीले भने, ‘सार्वजनिक ठाउँमा बनाएको घर भत्काउने भन्ने गाउँलेकै निर्णय थियो । त्यसै निर्णयअनुसार जोशी, अधिकारी, धामी, विक समुदायका सबै मिलेर भत्काएका हौँ ।’ उनका अनुसार निर्माणाधीन घर भत्काउन दलित समुदायका धामी दाई थिए । ‘प्यारू विकको छोरा पनि थियो । हामी सबै टोलका थियौँ । तर, जातीय घटना देखाएर ब्राह्मणलाई मात्रै दोषी देखाइयो ।’ उनले भने ।

‘सोही ऐलानी जमिनमा पुड्केका भतिजाले पनि मकै लगाएका थिए,’ उनले भने, ‘मंगलबारकै छलफलपछि उनले आफैँले मकै काटेर वस्तुलाई खुवाए । पुड्केले पनि मंगलबार घर बनाउने डकर्मीलाई फिर्ता गरे । तर, बुधबार बिहानै निर्माणको काम निरन्तर गर्न थालेपछि स्थानीय आवेगमा आएर भत्काएका हुन् ।’ उनले भने ।

यता ओखेडा भने आफ्नो जमिन नम्बरी नै भएको दाबी गर्छन् । उनी भन्छन्, ‘मेरो नाममा लालपूर्जा छ । त्यसैले घर बनाउन खोजेको हुँ । अरूको नम्बरी, ऐलानी के हो थाहा भएन । मेरो नम्बरी नै हो ।’ उनले आफूले लगानी गरेर निर्माण गरिरहेको घर गाउँलेले भत्काउँदै जातीय गाली गरेको हुँदा प्रहरीमा उजुरी दिएको बताए । गाउँमा आफू कमजोर भएको हुँदा अन्य समुदायले दुःख दिने गरेको उनका छोरा करन ओखेडाले बताए । ‘नम्बरी र ऐलानी जमिन पनि नचिनेरै हाम्रो घर भत्काउनुभयो,’ करनले दाबी गर्दै भने, ‘हामी अर्काको जमिनमा किन घर बनाउँछौँ । आफ्नै जमिनमा पनि घर बनाउन नपाउने !’

गाउँमै मिल्ने घटनालाई केही व्यक्तिको उक्साहटमा जातीय रङ भरेर देशव्यापी फैलाउँदा समाजलाई प्रत्यक्ष असर परेको वडाध्यक्ष दिनेश अधिकारी पनि बताउँछन् । उनी भन्छन्, ‘निर्माणाधीन घर गाउँलेहरूले नै भत्काएका हुन् । तर, जातीय विभेदका कारण भने हुँदै होइन । त्यो ठाउँमा जुन समुदायका मान्छेले घर बनाउँदा पनि विवाद भने आइरहन्छ । पहिले पनि भत्काएका थिए ।’ अधिकारीका अनुसार जमिनको विषयमा गाउँलेहरूबीच स्यालढुंगामा पहिलेदेखि नै विवाद भइरहन्थ्यो । तर, स्थानीयले नै निर्माणाधीन घर भत्काउनु कानुन विपरित काम भएको उनले बताए ।

यता दलित समुदायको हकहितका लागि काम गर्ने विभिन्न संघ संस्थाले भने ब्राह्मणले दलितको घर भत्काएको भन्दै कारबाहीको माग गरेका छन् । ओखेडाले भने जिल्ला प्रहरी कार्यालयमा दुव्र्यवहारको उजुरी दर्ता गराएको छन् । ‘उहाँको जाहेरी आएको थियो । त्यो जाहेरी दर्ता गरेका छौँ । बाहिर जातीय विभेद भने पनि दुव्र्यवहारको छ । अहिले अनुसन्धान भइरहेको छ ।’ प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले भने ।

के थियो घटना ?

स्यालढुंगा गाउँमा चार वटा टोल छन् । धामीगाउँ, चाखापाडा, चौडीखोला र स्यालढुंगा गरी करिब ४० परिवार बस्छन् । स्यालढुंगामै बस्छन् ओखेडा परिवार । स्यालढुंगा नजिकै छ ऐलानी जमिन । अरू तीन टोल विवादित ऐलानी जमिनभन्दा झण्डै एक किलोमिटर टाढा छन् । त्यस ठाउँमा पुग्न अरू टोलबासीले दुई वटा स–साना खोला तर्नुपर्छ । दुई वडा डाँडा काट्नुपर्छ ।

विवादित ऐलानी जमिनमा स्यालढुंगाबासीले पुस्तौँदेखि वस्तुभाउ चरिचराउन, वर्खे सिजनमा घाँस काट्ने काम गर्दै आएका छन् । त्यो जमिन नजिकै पुड्के ओखेडाको परिवारले २५ वर्ष अगाडि जमिन किनेका थिए । जोशी समुदायबाट ओखेडाले किनेको जमिन नम्बरी हो । ओखेडाको जमिनकै छेउबाट सुरु हुन्छ, ऐलानी जमिन । अर्थात् स्यालढुंगाबासीले चरिचराउन गर्ने सार्वजनिक जमिन ।

आफ्नो जमिनको नजिकैको ऐलानी जमिनमा ८ वर्ष पहिले कृष्णदत्त जोशीले घर बनाउन थाले । उनले घरको जगसमेत हालिसकेका थिए । त्यसबेला सार्वजनिक जग्गा हडपेको भन्दै दलित, गैरदलित सबै मिलेर भत्काइदिए । सोही ठाउँमा अम्बादत्तले दोस्रो वर्ष घर बनाउने तयारी गरे । अम्बादत्तले गोठतलो (पहिलो तला) नै हालिसकेका थिए । त्यसलाई पनि गाउँलेले भत्काइदिए । जोशीको बन्दै गरेको घर भत्किएको ७ वर्षसम्म त्यो ठाउँ सार्वजनिक जमिनकै रुपमा रह्यो ।

ऐलानी जमिन प्रयोग गर्न नपाइने भन्दै विरोध हुने ठाउँमा गत मंसिरमा पुड्के ओखेडाले प्रवेश गरे । सात÷आठ वर्षपहिले आफ्नै सहभागितामा घर भत्काएको ठाउँमा पुड्केले घर बनाउन खोजेपछि गाउँलेहरू आक्रोशित भए ।

मंसिरको महिना पुड्केले घरको जग मात्रै हालेका थिए । गाउँलेहरूले घर बनाउन अवरोध गरेपछि घटना वडा कार्यालयसम्म पुग्यो । वडामा पुड्केले आफूले घर बनाउन लागेको जमिन नम्बरी भएको दाबी गरे । त्यो बेलामा विवाद हुँदा अमिनको नापपछि मात्रै अघि बढ्ने सहमति भयो । तर, फेरि अमिनबिनै घर बनाउन लागेपछि गाउँलेहरू बसेर त्यो ऐलानी नै भएको र घर बनाउन नपाउने भन्दै रोके ।

बैठकमा जोशी, धामी, अधिकारी, विक, ओखेडा सबै समुदायका ३२ जना बसेर घर नबनाउने सहमति भयो । त्यसमा पुड्के र उनका भतिजाले नबनाउने भन्दै हस्ताक्षरसहित औँठा छाप लगाए । बीचमा निर्माणको काम केही भएन ।

गएको मंगलबार फेरि पुड्केले घर बनाउन लाएको थाहा पाएपछि फेरि गाउँमा बैठक बस्यो । बैठकले अब अघि नबढ्ने कुरा निष्कर्षमा पुर्‍यायो । पुड्केका भतिजाले पनि मकै रोपेका थिए । उनको मंगलबारको बैठकपछि मकै नै काटेर वस्तुलाई खुवाए । पुड्केले भने, मंगलबार फिर्ता गरेका डकर्मीलाई फेरि बुधबार बिहानै घर बोलाएर घर बनाउन लागेपछि गाउँलेको भीडले निर्माणाधीन घर भत्काएको वित्थडचिर गाउँपालिका–७ का वडासदस्य मुकुन्दराज जोशीले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै