शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • व्यापारीले बेच्छन् साल्ट ट्रेडिङ्गको नुन
Breaking News

व्यापारीले बेच्छन् साल्ट ट्रेडिङ्गको नुन

बझाङ । बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिड्दै गरेका भेटिए । उनको हातमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन थियो । बजारमा कार्कीलाई चिनजानका सर्वसाधारणले बिहानै नुन कता पाइयो भनेर प्रश्नसमेत गरिरहेका थिए । कार्कीको जवाफ थियो, ‘पसल खुला हुनुपर्छ, जता पनि पाइन्छ ।’

कार्कीलाई सदरमुकाम चैनपुर बस्न थालेको पाँच वर्ष भइसक्यो । एअरपोर्टमा बस्दाबाहेक बीच बजारमा सरेपछि उनी हरेक पटक नुन विभिन्न पसलहरूबाट किन्दै आएका छन् । पसलबाट किनिएको नुन भने कताबाट आएको हो भन्ने उनलाई जानकारी छैन । ‘नुन सकिएपछि जुन पसल खुला हुन्छ, त्यो पसलमा जान्छु । नुन मागेपछि पाइहाल्छु ।’ उनी भन्छन् ।

सुर्माकी रमा बोहरालाई पनि चैनपुरमा नुन किन्न कहिल्यै समस्या परेन । बजारमा जाने वित्तिकै नुन पाइरहेको उनले सुनाइन् । ‘म आएको डेढ वर्ष हुन लागिसक्यो,’ उनले भनिन्, ‘सबै मान्छे नुनै पाइदैन भन्छन् । मलाई भने अहिलेसम्म कहिल्यै समस्या परेन । पैसा भए सुनसमेत पाउने ठाउँमा नुन पाइँदैन भन्नु अचम्मको कुरा हो ।’

बजारमा आफूले चाहेमा जति पनि नुन किन्न सक्ने उनले बताइन् । ‘मैले गत साता मात्रै एउटा पसलबाट १५ पाकेट नुन किनेर गाउँ पठाएकी थिएँ ।’ गाउँमा पशुलाई समेत पाकेटकै नुन खुवाउने गरेको उनले सुनाइन् ।

राजेश र रमा जस्तै पसलेका ग्राहक हुन् दुर्गाथली गाउँपालिका जुजीका हेमराज जोशी । जोशीलाई पनि बझाङमा नुन संकट भएको भन्ने अचम्म लाग्छ । ‘हिजो मात्रै मैले मन्दिर नजिकैको पसलबाट एक पाकेट नुन ल्याएको हुँ । कसरी संकट भयो ?’ धेरै किन्नु नपर्ने तर, कहिलेकाँही एक/दुई पाकेट जता पनि पाइने हुँदा समस्या नपरेको उनले बताए । जोशीले भने भने, ‘पैसा भए सुन त सजिलै पाउँछ भने नुन किन नपाउनु !’

बझाङमा नुन विक्रीका लागि आधिकारिक विक्रेता भनेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड हो । साल्ट ट्रेडिङको डिपोबाहेक कसैले पनि नुन बेच्न पाउँदैन । तर, राजेश, रमा, हेमराज जस्तै सयौँ ग्राहकहरू भने साल्ट ट्रेडिङ्गको नुन बेच्ने पसलेबाटै कारोबार गरिरहेका छन् । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको डिपोबाट प्रति पाकेट ९ रूपैयाँमा किनेर व्यापारीले १५ देखि २० रूपैयाँमा बेच्दै आएका छन् ।

व्यापारीले साल्ट ट्रेडिङ्गकै नुन विक्री गरिरहेको जानकारी पाएपछि राससको टिम ग्राहक बनेर जाँदा एक पसलले १५ रूपैयाँमा एक पाकेट ‘भानु’ नुन थमाए । साल्ट ट्रेडिङ्गको नुन किन बेचेको भन्ने प्रश्नमा भने उनी नाजवाफ भए । उनले आत्तिदै भने, ‘ग्राहक नुनका लागि आउनुहुन्छ । उहाँहरूलाई समस्या नहोस् भनेर आफूलाई खानका लागि ल्याएको केही पाकेट नुन पसलमा राखेको हुँ ।’ उनले आफूले मात्रै नभई बजारमा धेरैले विक्री गर्ने गरेको बताए ।

चैनपुरका केही पसलहरूमा निर्धक्कसँग साल्ट ट्रेडिङ्गको नुन विक्री भइरहेको छ । डिपोबाट कट्टाका हिसाबले नुन ल्याउने र महँगोमा व्यापारीले विक्री गर्ने गरेको खप्तडछान्ना–६ का महेश थापा बताउँछन् । ‘व्यापारीले वर्खा नलाग्दै क्विन्टलका हिसावले डिपोबाट नुन उठाए । अहिले डिपोमा नुन घट्यो, किन्नेको चाप बढ्यो । यता व्यापारीहरू लुकिछुपी बेच्न थाले ।’ यसरी अवैधानिक रूपमा किनबेच गर्नेलाई सरोकारवालाले अनुगमन गरेर कारबाही गर्नुपर्ने उनले बताए ।

डिपोमा पाँच केजी पाउन घण्टौँ लाइन

मष्टा गाउँपालिका–१ की सरूदेवी विक आइतबार नुन किन्न डिपोको लाइनमा थिइन् । बिहानैदेखि लाइनमा बसेकी विकले ३ घण्टापछि पाँच पाकेट नुन पाइन् । ‘सहुलियतको नुन लिनका बिहानै देउरानी, जेठानी चैनपुर आयौँ,’ उनले भनिन्, ‘यता पाँच केजी नुन मात्रै पाइयो । अब यो कतिसम्म चल्छ होला र !’ पाँच पाकेट नुनकै लागि धेरै खर्च गर्नुपरेको उनले बताइन् ।

गाउँमा वर्षायामका बेला नुनको संकट नहोस् भनेर डिपोमा आएको मष्टाकै सुमी विकले बताइन् । ‘एक दुई पोका नुन त थियो । तर, नुनको संकट भएको भनेर सुन्यौँ । वर्खामा चैनपुर आइरहन सकिँदैन । त्यसैले मौसम पनि ठीकै, आइतबार पनि परेको हुँदा नुन लिन आएकी हुँ । यता एक ज्यानको पाँच पोका मात्रै पाइँदो रहेछ ।’ उनले भनिन् ।

नुन वितरणमा दुरूपयोग हुने गरेको गुनासो आएपछि गत महिनायता चैनपुर डिपोले आइतबार मात्रै बिक्री वितरण गर्दै आएको छ । डिपोले जनसंख्याको तुलना गरेर औसतमा एक परिवारलाई पाँच केजी नुन वितरण गर्दै आएको हो । ‘नुन लिन आउने सबैलाई पु¥याउनका लागि एक जनालाई पाँच केजी दिएका हौँ,’ साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड डिपो कार्यालय प्रमुख नरबहादुर भाटले भने, ‘ग्राहकले मागेअनुसारको नुन दिएमा अरूलाई नपुग्ने देखियो । त्यसैले प्रत्येकलाई पाँच केजी दिने निर्णय गरेका हौँ ।’ अब यो संकट यसै साताबाट टर्ने उनले बताए । भाटका अनुसार नुन थपका लागि माग गरिएको र नयाँ लडको नुन पनि आउने बेला भएको हुँदा दोस्रो साताबाटै नुन वितरण सहज हुने उनले बताए ।

चैनपुर डिपोमा सरकारले गएको आर्थिक वर्षमा ३५ सय क्विन्टल नुन उपलब्ध गराएको थियो । यसपटक थलारा र बुंगलसहितका डिपो थपिएपछि चालू आर्थिक वर्षका लागि जिल्लाभर १४ हजार दुई सय क्विन्टल नुनका लागि सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । ‘चैतको अन्तिमतिरै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय धनगढीमा आयोडिनयुक्त नुनको माग गरिसकेका छौँ ।’ उनले भने ।

सीडीओ पाण्डेयका अनुसार चालू आवका लागि चैनपुर डिपोमा ७ हजार, बागथला ५ हजार, तलकोट १५ सय र साइपाल बिक्री केन्द्रका लागि ७ सय क्विन्टल आवश्यक पर्ने प्रारम्भिक अनुमानअनुसार माग गरिएको हो । ‘अहिले पनि नुनको संकट भने होइन,’ उनले भने, ‘आवश्यकताअनुसार नुन वितरण भइरहेकै छ । संकट भएको हल्ला मात्रै हो ।’ केही कम हुन सक्छ कि भनेर प्रतिव्यक्ति पाँच पाकेट वितरण गरिरहेको उनले बताए । ‘अब नयाँ सिजन पनि सुरू भइसक्यो । सायद अर्को साता नै प्रतिव्यक्ति १० पाकेट वितरण गर्ने तयारी गरेका छौँ ।’ उनले भने ।

बजारमा नुन विक्री भइरहेको विषयमा भने अब लगत्तै बजार अनुगमन गरिने उनले बताए । ‘यो गुनासो सुनिरहेका छौँ,’ उनले भने, ‘बजारमा कसैले नुन बेचेको खबर हामीलाई गरे तत्काल कारबाही हुन्थ्यो । धेरैलाई खबर गर्न आग्रह पनि गरेका छौँ । आधिकारिक जानकारी कसैले दिएको छैन । अब कसैलाई ग्राहक बनाएर पठाउने र गडबड भए कडा कारबाही गरिनेछ ।’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै