शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • टीयूका उपप्राध्यापक चलाउने आक्रमणको मुद्दा छिटो टुंग्याउन सर्वोच्चको आदेश
Breaking News

टीयूका उपप्राध्यापक चलाउने आक्रमणको मुद्दा छिटो टुंग्याउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा यथाशीघ्र टुंगो लगाउन काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको छ ।

न्यायाधीशहरु सुष्मालता माथेमा र हरि फुयालको इजलासले चलाउनेमाथि आक्रमणको घटनाका आरोपितविरुद्धको मुद्दा अंग पुगिसकेको भन्दै छिटो टुंगो लगाउन आदेश दिएको हो । ‘…प्रस्तुत मुद्दाको सबै अंग पुगिसकेको, मुद्दा पुरानो भइसकेको हुँदा यथाशीघ्र मुद्दाको टुंगो लगाउनू’ आदेशमा भनिएको छ ।

त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि तीन वर्षअघि विश्वविद्यालय हाताभित्र नेविसंघका नेताहरुले आक्रमण गरेका थिए । उक्त घटनामा नेविसंघ त्रिवि इकाइ समितिका तत्कालिन सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावल, दीपकराज ओझा, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर लगायतमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

उच्च अदालतको आदेशमा आरोपितहरु धरौटीमा छुटेपछि सरकारी वकिल कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । सर्वोच्चले सोही मुद्दामा सुनुवाइ गरेको हो ।सर्वोच्चले आक्रमणबाट पीडित चलाउनेलाई एक लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति दिलाउन पनि आदेश दिएको छ । आरोपितहरुमध्ये सयुज श्रेष्ठ र रविन कुमार लामाले क्षतिपूर्तिको रकम नदिएको भन्दै सर्वोच्च अदालतले उनीहरुलाई पक्राउ गर्न वा सम्पत्ति रोक्का राख्न आदेश दिएको छ ।

सर्वोच्चले आरोपितविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ८७ बमोजिमको अवस्था आकर्षित हुने वा नहुनेबारे यकिन गर्न आदेश दिएको हो । दफा ८७ मा भनिएको छ, ‘कुनै अभियुक्त पहिले तोकिएको तारिखमा अनुपस्थित रहेछ र निजलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन पर्ने अदालतलाई लागेमा पक्राउ पूर्जी जारी गरी त्यस्तो अभियुक्तलाई पक्राउ गर्न र त्यस्तो अभियुक्तको सम्पत्ति रोक्का गर्न समेत अदालतले आदेश दिन सक्नेछ ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार