शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • काठमाडाैंमा नापतौलमा ठगी गर्ने ११ हजार व्यापारीलाई कारबाही
स्टक

काठमाडाैंमा नापतौलमा ठगी गर्ने ११ हजार व्यापारीलाई कारबाही

काठमाडाैं । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने ११ हजार ४९१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा अनियमित रूपमा नाप्ने/तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो ।

कार्यालयले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो । पछिल्लो समय नापतौल यन्त्रमार्फत् उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको कार्यालय प्रमुख राकेशकुमार झाले जानकारी दिए । ‘अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ,’ उनले भने । कार्यालयले आव २०७९/८० मा तीन हजार चार सय ४० व्यापारीलाई नापतौल तथा नाप्ने/तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ ।

प्रमुख झाका अनुसार सीमित स्रोतसाधनका बीच पनि कार्यालयले नापतौलसम्बन्धी ७७ पटक एकल र ६३ पटक संयुक्त रुपमा बजार अनुगमन गरेको थियो । आव २०७९/८० मा आठ हजार आठ सय ५८ व्यापारीले नापतौल तथा नाप्ने/तौलने यन्त्र जाँच तथा नवीकरण गरेका छन् । सोही अवधिमा ६ हजार आठ सय ३७ ट्याक्सीको मिटर जाँच गरेको छ ।

कार्यालयले आव २०७८/७९ मा अनियमित नापतौल तथा नाप्नेतौलने यन्त्र प्रयोग गरी ठगी गर्ने आठ हजार आठ सय ५१ व्यापारीलाई कारबाही गरेको थियो । एक हजार पाँच सय नौ व्यापारीलाई नापतौल तथा नाप्ने/तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरण गरेको थियो ।

आव २०७८/७९ मा ६ हजार छ सय २६ ट्यक्सीको मिटर जाँच गरेको कार्यालयका सूचना अधिकारी नीराजन पुडासैनीले जानकारी दिए । कार्यालयले एक करोड ८५ लाख ५४ हजार राजस्व सङ्कलन गरेको थियो । जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाहीलाई प्राथमिकता दिएका छौँ, उनले भने, ‘नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउँछौँ ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार