शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • ‘बैंक हामीलाई प्यारो हो, ब्याज तिर्न गाह्रो भो’
स्टक

‘बैंक हामीलाई प्यारो हो, ब्याज तिर्न गाह्रो भो’

बझाङ । शुक्रबार दिउँसो जिल्ला सदरमुकाम चैनपुर बजारभर यो नारा घन्किरह्यो । खुलामञ्च, चौराहा, अदालत लाइन, रिङरोड हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुग्दासमेत चर्को आवाजमा यही नारा धेरैले सुने । उद्योग वाणिज्य संघले गरेको शान्तिपूर्ण र्‍यालीमा साना व्यवसायीदेखि बैंकको चर्को ब्याज तिर्नेहरू मिसिए ।

उद्योग वाणिज्य संघको कार्यालयबाट सुरू भएको जुलुस प्रशासनसम्म पुग्दा सडक नै भरिभराउ भयो । बैंकका ऋणीहरू सबैले ऐक्यवद्धता जनाएपछि बैंकविरूद्धका नारा थपिए । प्रिमियमदर वृद्धिमा नियन्त्रणदेखि ब्याजदर एकल बिन्दुमा पुर्‍याउनसम्मका नाराहरू बजारभर छरिए ।

बैंकबिरूद्ध व्यवसायीहरू खनिन थालेको दुई महिना नाघिसक्यो । गत पुस ६ गते विराटनगरका उद्योगी व्यवसायीले चर्कोे बैंक ब्याजदर र प्रतिकुल बैंकिङ नीतिहरू विरूद्ध आन्दोलनको घोषणा गरेपछि व्यवसायीको आन्दोलन देशव्यापी फैलिएको हो । विराटनगरमा ५० भन्दा बढी उद्योगी व्यवसायिक संस्थाले बैंकको ब्याजदरविरूद्ध बजार बन्द गर्नेदेखि नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय बिराटनगरमा धर्ना दिनेसम्मको कार्यक्रम गरे । आन्दोलनमा मुख्य ठूला संगठन मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ र सीएनआई प्रदेश १ ले साथ दिएपछि व्यवसायीहरूको आन्दोलनले देशभर चर्चा पायो ।

विराटनगरबाट सुरू भएको आन्दोलन केही समय शान्त देखियो । त्यसपछि काठमाडौँमा गएको माघ २९ गते ३८ संगठनहरूले बैंकहरूको ज्यादतीविरूद्ध संयुक्त आन्दोलन घोषणा गरे । नेपाल राष्ट्रिय व्यवसायी, यातायात व्यवसायी, व्यापार संघलगायत संगठनहरूले बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीतिका कारण अर्थतन्त्रको मुख्य मेरूदण्डको रूपमा रहेका व्यवसायीहरू पलायन हुने अवस्था आएको भन्दै आन्दोलन चर्काए ।

त्यसैलाई ऐक्यवद्धता जनाउन शुक्रबार बझाङ उद्योग वाणिज्य संघले शान्तिपूर्ण र्‍याली गर्‍यो । भूकम्प, कोरोना महामारी लगायतका प्राकृतिक विपत्तिका कारण देशको अर्थतन्त्र धरासायी बनेको बेला त्यसको प्रत्यक्ष मारमा साना व्यवसायी परेको बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए । उनले बैंक तथा वित्तीय संस्थाको गलत नीतिका कारण व्यवसायीहरूले आत्महत्याको बाटो अवलम्बन गर्ने अवस्थासम्म आएको बताए ।

पछिल्लो अवस्थामा बैकहरू फाइदामा र लगानीकर्ताहरू घाटामा गएको भन्दै कोभिडदेखि बैंकहरूले झनै मनपरी गरेको उनले सुनाए । ‘सुरूवातमा बैक तथा वित्तीय संस्थाबाट तोकिएको ब्याजदरमा ऋणीसँग सहमति भए पनि अहिले ऋणीलाई नसोधी बैंक तथा वित्तीय संस्थाले १८ प्रतिशतदेखि २२ प्रतिशतसम्म पु¥याएका छन् । यो भनेको त व्यवसायीलाई उठ्नै नदिने बैंकको कदम हो ।’ अध्यक्ष सुर्मेलीले भने ।

राष्ट्र बैंकलाई ज्ञापन पत्र

करिब एक घण्टाको र्‍यालीपछि बझाङ उद्योग वाणिज्य संघ प्रमुख जिल्ला अधिकारीमार्फत् गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न मागहरू राख्दै सीडीओ नारायण पाण्डेयलाई संघका अध्यक्ष सुर्मेलीले पत्र बुझाएका हुन् ।

कर्जामा एक अंकले व्याजदर कायम हुनुपर्ने, बैंकहरूले विभिन्न शीर्षकमार्फत् लिने सेवा शुल्कलगायतका शुल्क कटौती गर्नुपर्ने, पुरानो चालू पुँजी कर्जा निर्देशिकालाई यथावत राखी नयाँ निर्देशिका लागू हुनुपर्ने, कर्जाको ब्याजदर पुनः संरचना गर्न दिनुपर्ने, बैंकहरूले अगाडि बढाएका लिलामी प्रक्रियारू तत्काल स्थथित गर्नुपर्ने, विगतका मौद्रिक नीतिमार्फत् दिइएको छुटहरू कार्यान्वयन गर्नुपर्ने मागसहित गभर्नर अधिकारीलाई ज्ञापन पठाएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार