शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह
बजार

११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह

काठमाडाैं । चालू आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत् ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत् ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत् २७ खर्ब २७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधा २० खर्ब २१ अर्ब ८७ करोड रूपैयाँ गरी कुल ५२ खर्ब ५३ अर्ब १६ करोड रूपैयाँ तरलता प्रवाह गरिएको हो ।

यो कारोबारमा आधारित तरलता प्रवाहको तथ्यांक हो । गत आर्थिक वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत राष्ट्र बैंकले ८५ खर्ब २२ अर्ब १० करोड तरलता प्रवाह गरेको थियो । गत जेठ मसान्तसम्ममा रिभर्स रिपोमार्फत् पाँच अर्ब तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकबाट ६ खर्ब ८७ अर्ब ४२ करोड रूपैयाँ तरलता प्रवाह गरेको छ ।

यो अवधिसम्ममा अमेरिकी डलर ४ अर्ब ३० करोड बिक्री गरी ५ खर्ब ६२ अर्ब १९ करोड रूपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको जनाइएको छ । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जाबाट गत जेठ मसान्तसम्ममा १ अर्ब ९६ करोड लगानी गरेको छ । जेठ मसान्तमा १ लाख ४७ हजार ५ सय १० ऋणीलाई प्रवाह भएको २ खर्ब ३ अर्ब १० करोड रूपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ६१ हजार २ सय ३५ ऋणीलाई प्रवाह भएको १ खर्ब ३९ अर्ब ६८ करोड रूपैयाँ कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८३ हजार ४ सय ५५ महिला उद्यमीलाई प्रवाह भएको ६० अर्ब ४६ करोड रूपैयाँ कर्जा बक्यौता छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार