काठमाडौँ । ‘मन्दिर र स्तुपाहरूमा त भगवानका मूर्तिहरू हुन्छन्, मस्जिद र गिरजाघरमा चाहिँ के हुन्छन् दाइ ?’, मेरो भाइ कमलले उत्सुक भई सोध्यो । खै भाइ अब यो शुक्रबार हाफ स्कूल छ, दिउँसो जाउँ न त एकचोटी काठमाडौंको घण्टाघर छेउको जामा मस्जिद अनि आइतबार गिर्जाघर पनि जाउँ । हामी ब्राम्हणका सन्तति र विज्ञानका विद्यार्थी हुनाले स्वभावले आस्तिक र उत्सुक थियौँ ।
त्यो शुक्रबार हामी दुई भाइ त्रि–चन्द्र क्याम्पस को पारिपट्टीको गल्ली हुँदै जामा मस्जिदतर्फ लाग्यौँ । गल्लीमा दुबैतर्फ काहीँ हलाल गरी झुन्ड्याइएका बाख्रा थिए त काहीँ पेडा आदि मिठाईहरू ।
कुन–कुनै पसलमा उर्दू र अरबीका साइनबोर्ड थिए र सबैतिर मिठो इत्रको सुवास फैलिएको थियो । एउटा अर्कै सांस्कृतिक विविधता देखियो । तर त्यो गल्ली शान्त र झन्डै सुनसान थियो । हामी वरिपरि हेर्दै मस्जिदको मुख्य द्वार सामु चप्पल फुकाई भित्र प्रवेश गर्यौँ ।
प्रवेश द्वार र मस्जिद परिसरमा हामीलाई रोक्ने कोही थिएन र द्वार खुलै भएको हुनाले हामी भित्र प्रवेश गर्यौँ । मस्जिद प्राय खाली थियो (न मूर्ति थिए, न फूल या अबीर । एक कुनामा एक इमाम किब्ला (मक्का अवस्थित दिशा) तर्फ फर्की कुरानका सुराहहरु अरबीमा उच्चारण गर्दै इबादत गर्दै थिए ।
४०/५० जना एउटै पंक्तिमा उठबस गर्दै ईमाम ले गरेझैँ नमाज गर्दै थिए । म र मेरो भाइ पनि एक पंक्तिको अन्त्यमा लागी उनीहरूलाई हेर्दै उठबस गर्दै प्रार्थना गर्न थाल्यौँ । अरबी भाषाका सुराह भने सही उच्चारण गर्न सकेनौँ ।
हामीले उनीहरूको जस्तो सेतो कपडा र टुप्पी ढाक्ने बाटुलो सेतो टोपी लगाएका थिएनौँ, न हाम्रा लामा दाह्री नै थिए । हामीलाई अलि फरक देखि एउटा प्रार्थना गरिरहेको युवकले आफ्नो इबादत रोकी हामीलाई इसाराले बाहिर बोलायो ।
बाहिर आउना साथ उसले सोध्यो, ‘के तिमीहरू मुस्लिम हौं ? ‘हामीले हैनौँ भनेपछि ऊ आक्रोशित भई भन्यो, ‘तिमीहरू मोमिन (अल्लाह का भक्त) हैनौं, नुहाई सेतो कुर्ता र टोपी लगाई इत्र पनि छड्केका छैनौं भने नमाज चलिरहेका बेला कसरी मस्जिद प्रवेश ग¥यौं ? अफगानिस्तानमा भएको भए आज तिम्रो टाउको काटिन्थ्यो !’
ऊ उत्तेजित भएको देखेर मैँले शान्त भएर मेरो पक्ष पनि सुन भनेँ । मैले कुरानको अंग्रेजी अनुवाद पढेको छु । हरेक पाठ ‘बिस्मिल्लाह हीर रहमन निर रहीम’ अर्थात् परम दयालु कृपालु अल्लाहको नाममा भन्ने सुराहबाट सुरु हुन्छन्, त्यस्ता दयावान् अल्लाहको घरमा कसरी प्रार्थना हुन्छ भन्ने हेर्न आएका हौँ हामी ।
मस्जिदमा सब इबादत गरिरहेका थिए, हामीले पनि त्यसै गरेका हौँ । तिमी अल्लाह भन्छौ म ईश्वर भन्छु तर सबका मालिक एक हुनझैँ लाग्छ मलाई त । सामुहिक प्रार्थनामा सामेल भएकासँग तिमी किन उत्तेजित हुन्छौ ?
मेरो कुरा सुनी ऊ अलि शान्त भयो तर मस्जिदमा नमाज पढ्ने भए धर्म परिवर्तन गरी आऊ भन्यो । मैले भनेँ, ‘तिम्रो कुरानमा नै अल्लाह सर्वव्यापी भनिएको छ त्यसरी नै इशोपनिषद्मा पनि ईश्वर सबैमा विद्यमान छन् भनिएको छ ।
कोही भक्तलाई तिमी प्रार्थना गृहमा प्रवेश गर्नबाट कसरी रोक लगाउन सक्छौं ? प्रार्थना गर्न धर्म परिवर्तन गर्नुपर्छ नभन । नेपालीहरूको धार्मिक सहिष्णुता हेर बहुसंख्यक हिन्दु भएको काठमाडौंको मध्यमा तिमी शान्तिसँग नमाज पाठ गर्न स्वतन्त्र छौं । जसरी तिमीलाई मुस्लिम हुनुमा गर्व छ त्यसरी नै मलाई हिन्दु हुनुमा गर्व छ ।’
म कड्किएको देखेर ऊ हच्कियो ।
अनि हामीले नमस्ते भनी बिदा माग्दा उसले खुदा हाफिज भनी आफ्नै नमाज गर्न फर्कियो । हामीले निस्किँदा पेडा किन्यौँ । पेडा खाँदै मेरो भाइले भन्यो, ‘यो पेडा हिन्दु या मुसलमान जसले बनाए पनि गुलियो नै हुन्छ , मिठाई अनेक होलान् तर मिठास एउटै हुन्छ हैन र दाइ? धार्मिक कट्टरपन्थीभन्दा अनेकतामा एकता देख्ने आध्यामिक र मानविय गुण त मेरो भाइमा पो देखियो !
मैले थपेँ, ‘हो भाइ हो वेदमा ईश्वरलाई रसो वै सहः अर्थात् प्रभु नै सबै माधुर्यका मूल हुन् भनिएको छ तर अज्ञानवश हामी यो अनेकता मा एकता देख्दैनौँ र जाति, वर्ण र आस्थाका आधारमा विभाजित भई एक आपसमा लडाई गर्छौँ ।’ आज मस्जिद हेरी आयौँ भोलि गिर्जाघर जाऊँ है, एक बारको जुनीमा मरी के छ लानु ?
हामी गिर्जाघरको प्रांगणमा प्रवेश गर्दा केही चिटिक्क परेका टाई–सुट लगाएका मान्छेहरू बाइबल अध्ययन गरिरहेका थिए । मैले आफ्नो परिचयपछि थपेँ, ‘मैले पनि बाइबल अध्ययन गरेको छु । मलाई प्रभु येसुको परमेश्वरको पितृत्व र सम्पूर्ण मानव जातिको भातृत्वको उपदेश हिन्दु महोपनिषद्को अध्याय ४ को बसुधैव कुटुम्बकम् झैँ लाग्छ ।’
प्रभु येसुको जीवन क्षमा र करुणाको ज्वलन्त उदाहरण हो भनेर भन्दा एक महाशयले ‘त्यसो भए त तपाईँलाई थाहै होला बाइबल परमेश्वरको एकमात्र सत्य वचन हो र प्रभु येसु परमेश्वरका एक मात्र पुत्र हुन्’, भने । मैले मत्तिको सु–समाचारको पाँचौँ अध्यायको नवौँ आयातमा त प्रभु येसुले स्वयंले, ‘धन्य ती हुन् जसले शान्ति कायम गर्छन्, किनकि तिनीहरू परमेश्वरका छोराहरू भनिने छन्’ भन्नु भएको छ ।
सबै धर्मका शास्त्र ईश्वरकै वचन हैनन् र अनि हामी सबै ईश्वर का सन्तान हैनौ र ? भनेर प्रतिप्रश्न गर्दा त्यहाँ उपस्थित सबै मतिर हेर्न थाले । ती महाशयले थपे, ‘तर तिम्रा धर्मग्रन्थ मूर्ति पूजा गर भन्छन्, मूर्ति पूजा पाप हो ।’
हामीलाई मूर्ति पूजकको लाञ्छना लगाउँदै गर्दा ती महाशयको घाँटीमा क्रसमा टाँगिएको येशुको मूर्तिको लकेट झुलिरहेको थियो !
मैले म सनातन धर्ममा विश्वास गर्छु र छान्दोग्योपनिषदमा सर्व खल्विदं ब्रह्मं (अर्थात् परमेश्वर सम्पूर्ण सृष्टिमा व्याप्त हुनुहुन्छ) भनिएको छ । सर्वव्यापी ईश्वर मूर्तिमा पनि छन् भन्दा ती महोदय मसँग शास्त्रार्थ गर्न नसकी अर्को कोठामा गए । उनी गएपछि त्यहाँ उपस्थित २, ४ जना मेरो नजिकै आई, ‘ठीक भन्नुभयो भाइ तिनीहरू आफ्नो धर्ममात्रै सही ठान्छन्’ भने ।
उनीहरूको कुरा सुन्दा मलाई उनीहरू त्यहाँ धार्मिक आस्थाले ओतप्रोत हुनुभन्दा पनि आर्थिक लाभ या विदेश भ्रमण गर्न पाइने आशाले त्यो गिर्जाघरमा आएझैँ भान भयो । हाम्रो समाजको विकृत जाति प्रथाले पनि धर्म परिवर्तनमा ठूलो भूमिका खेलको छ । अरू धर्महरूमा आस्थाको आधारमा भेदभाव भए पनि हाम्रो हिन्दु झैँ ठूलो सानो जातीय भेदभाव छैन ।
कर्मको आधारमा भएको वर्गीकरण विकृत भएर कालान्तरमा संकीर्ण जातिवाद भो । भेदभाव गर्ने के बाहुन ? ब्रह्म जानातीति ब्राह्मणः, ब्रह्म जानेकोले त सबैमा ईश्वर देख्छ फेरि केको जात–पात ? त्यसरी नै सामाजिक न्याय भुली विभेदको पक्ष पोषण गर्ने कसरी रक्षक क्षेत्रीय हुन सक्छन् ?
गिर्जाघरबाट घर फर्कँदै गर्दा हामी पशुपतिनाथ दर्शन गर्न गयौँ । चन्दन टिका थापी बागमती पारि गयौँ । आर्यघामा जलिरहेका चिताहरू देख्दा हामीलाई बिरक्ती लागेर आयो । हाम्रो मौनको सन्नाटा तोड्दै कमलले भन्यो, ‘याद छ दाइ ५८ साल ज्येष्ठ मा राजा बीरेन्द्रको अन्तिम संस्कार हुँदै गर्दा यहाँ आर्यघाटमा पाइला टेक्ने ठाउँ थिएन ।’ राजा होस या रङ्क आखिर मर्नु त सबले एक दिन छँदै छ , खाली राम्रो काम र नाम मात्रै याद रहने रहेछ ।
हाम्रा नेताहरूलाई चाहिँ सत्ताको किन यति धेरै मोह होला ? एक दिन मर्नु त छँदैछ देशको लागि केही राम्रो गरी मर्नु नि ! काल पनि हाम्रा नेतादेखि डरÞाएको छ । ३०÷४० वर्ष भइसक्यो सत्ता केन्द्रमा तिनै अनुहार छन् । ७० वर्षका बूढा आफैँलाई युवा नेता भन्छन् ।
एक घण्टा जति पशुपति क्षेत्रमा बिताई हामी गुह्येश्वरीतर्फबाट बागमतीतिर झर्दै आफ्नो कोठा जोरपाटीतर्फ लाग्यौँ । बागमती किनाराबाट बौद्धनाथको स्तुपा र प्यागोडा शैलीमा बनाइएको तरागाउँको पाँच तारे होटेल ह्यात रिजेन्सीको गजुर देखिइरहेको थियो ।
कमलले हायतको ‘गजुर’ तिर हेर्दै आफ्ना गाउँका बाजेको काठमाडौं भ्रमण स्मरण ग¥यो । ‘दाइ जगत बाजेसँग जोरपाटी आउँदा हायात होटेललाई मन्दिर ठानी ढोग्दिरा के सुया ले त! त्यस्तो प्रणाम पनि भगवान् कहाँ पुग्ला र दाइ ?’
पुग्ला नि ! सर्वदेवं नमस्कारं केशवं प्रति गच्छति भन्छन् । अब अतिथि देवो भव पनि भन्छन् । ती अतिथि देव पशुपतिनाथ दर्शन टाढाबाट गर्छन्, हाम्रा बाजे पाँच तारे होटेल दर्शन टाढाबाटै गर्छन् । शिव भक्त भए पशुपति प्रसाद पाइन्छ लक्ष्मीभक्त भए हायातको रिसेप्सन !
कुरै कुरामा बौद्धनाथ पुगेछौं । बौद्धमा पुग्दा बुद्धका आँखामुनि पुगेझैँ लाग्यो । त्यहाँ शान्ति र सहिष्णुता थियो । ओम माने पेमे हूं मंत्र गुंजिरहँदा देश–विदेशका पर्यटक बौद्ध स्तुपाको परिक्रमा गरिरहेका थिए । अनेकतामा एकता थियो । त्यहाँ कसैले कसैको धर्म या जाति सोधेको देखिन मैले । बुद्धको शरणमा संघको पनि भाव छ, वास्तविक संघीयता ।
बुद्धले पाप धर्म, स्वर्ग नर्कको लम्बा(चौड़ा बखानभन्दा पनि मानव जातिलाई शान्ति र अहिंसाको पाठ पढाए । संसारमा दुःख छ र त्यो दुःखमाथि विजय पाउन संयमको आवश्यकता छ । संयमित भई बोल, हरेक कार्य शान्त भई सजगताका साथ होस पूर्वक गर । बुद्ध शान्ति, भाइचारा र सहिष्णुताका प्रतीक हुन् । आनन्द हुन् या अंगुलिमाला सबलाई बुद्धको शरण मिल्छ !
कुनै धर्मशास्त्रमा पनि भेदभाव गर्नु या एक–आपसमा लड्नु भनिएको छैन । एउटा साँचो आस्तिक जुनसुकै धर्मावलम्बी भए पनि कहिल्यै हिंसा या विध्वंसको बाटो चुन्दैन । अहिंसा परमो धर्म । तर धर्म, जाति र क्षेत्रीयताको नाममा राजनीति गर्नेहरूको इतिहास लामो छ ।
धर्मको नाममा विभाजित भारत पाकिस्तान होस या धर्मको नाममा लडिरहने इजरायल प्यालेस्टाइनजस्ता क्षेत्रहरूमा शान्ति स्थापित गर्न मुस्किल छ र धर्म र साम्प्रदायिकता भड्काई केही समूहहरू सधैँ राजनीतिक फाइदा उठाइरहन्छन् ।
नेपालको वर्तमान संविधानमा समेटिएको धर्मनिरपेक्षता र संघीय प्रणालीविरुद्ध आवाज उठ्नु र हिन्दु राजा हुँदा हिन्दु राष्ट्रबाट चोरिएका हिन्दु देवी देवताका मूर्ति अमेरिकामा फेला पर्नु गज्जबको संयोग हो । पञ्चायत कालमा नेपालबाट जति मूर्तिहरू हराए, तिनलाई विदेश पु¥याउनेमा राजदरबारका सदस्यहरू नै संलग्न थिए । तर तिनीहरू माथि कहिल्यै कानुन लागेन ।
त्यतिखेर सत्ताको संरक्षण नपाएका आम साधारणले न मूर्ति चोर्ने हिम्मत गर्थे न विदेश पठाउन नै सक्थे । शाह वंशीय अन्तिम राजाहरूको शासनमा हिन्दु देवी देवताका मूर्ति बन्नुभन्दा पनि बढी बेचिए । धर्मको रक्षक राजतन्त्र ल्याउने भए मल्लकाल फर्काऔँ जसको शासनमा मन्दिर मूर्ति बने न कि बेचिए ।
कुनै पनि धार्मिक सत्ता वा एकल राज्य प्रणालीको वैचारिक–दार्शनिक आधार हुँदैन । स्मरण रहोस् लोकतन्त्रमा भोलि तपाईँका छोरा–छोरी पनि राष्ट्रप्रमुख बन्न सक्छन् । लोकतन्त्रको विकल्प कुनै जहानियाँ निरंकुशतन्त्र हैन अझैँ उन्नत लोकतन्त्र हो । २४० वर्षे राजतन्त्र र १०४ वर्षे राणा शासनले नेपालमा नातावाद, कृपावाद, विभेद, असमानता र वर्गको पक्षपोषण नै गरी रह्यो । इतिहास हेरौँ, शक्तिशाली विष्णुको अवतार राजा, हिन्दु राष्ट्र र एकल पञ्चायती प्रणालीले नेपाललाई संसारकै गरिब, विकास पूर्वाधारविहीन र अशिक्षित राज्य बनाइ राख्यो । जब जनतामा चेतना आउँदै गयो यी संकीर्ण जहानियाँ शासनको अन्त्य भयो ।
हजारौँ जनताको बलिदानले आएको उपलब्धिलाई आज गणतन्त्रमा एक–आध पात्रको भ्रष्टता र असक्षमतालाई हेरी व्यवस्था ठीक भएन भन्ने बेला आइसकेको छैन । समस्या पात्रको हो प्रणालीको हैन । धर्मनिरपेक्षतालाई थप प्रस्ट्याउने कानुनहरू नबनाउने अनि कहिले ‘होली वाइन’ चाख्ने त कहिले ‘गंगाजल’ ! नेपालमा हिन्दु राष्ट्रको राजनीतिमा अग्रसर हुने उच्च नेतृत्वको जीवनशैलीमा हिन्दु संस्कार छैन ।
सत्ता र शक्ति स्वार्थ मात्रै छ । जबसम्म जनता चेतना शून्य ‘लास’ बनिरहन्छन् हिन्दु राजा आए जलाउने छन्, होली वाइन खाने शासकले गाड्ने छन् । हिन्दु राष्ट्रको आडम्बर राजनीतिक कवचका रूपमा प्रयोग हुनु हुन्न । एक्काइसौँ शताब्दी धर्मको आडमा राजनीति गर्ने युग होइन र राजतन्त्र कुनै विचारमा आधारित शासकीय प्रणाली होइन ।
हामी अनेक वादका नाउँमा धेरै जलाइयौँ, गाड्यौँ, झुन्ड्याइयौँ, गोली ठोक्यौँ । भयो पुग्यो अब बलीका बोका नबनौँ ! जागौँ ! स्मरण रहोस् आफ्नो सत्ता हासिल गर्न या आफ्नो नाता कृपावादी दलाल पुँजीवादी शासन चलाइराख्न खोक्रो राष्ट्रवादी भेडाको छालाभित्र लुकेका उग्र वामपन्थी र उग्र दक्षिणपन्थी ब्वाँसाहरूको समयमै पहिचान गरौं ।
नेपालीहरूको स्वाभिमान, मन र आत्मा सधैँ स्वतन्त्र रही आएको छ । यो कहिल्यै टुटेन या बदलिएन । अनेकतामा एकता र आ–आफ्नै स्वतन्त्र बालिग मताधिकार प्रयोग गर्नु नै गणतन्त्र नेपालका जनताको स्व–धर्म हो । लामो संघर्षपछि उपलब्ध भएको लोकतन्त्रको रक्षा हामीले गर्न सके मात्रै लोकतन्त्रले पनि हाम्रो स्वतन्त्रताको रक्षा गर्न सक्छ ।
धर्मो रक्षति रक्षितः अर्थात् धर्मले तिनको रक्षा गर्छ जसले धर्मको रक्षा गर्छन् ।
नेपालका सबै राजनीतिक दलका नेताले आफ्नो कुर्सी टिकाइराख्न अहिले दिल्ली दरबारमा धर्म नीतिमा आएको परिवर्तनलाई रिझाउने प्रयास गरिरहेका छन् । साँचो राष्ट्रवाद देश प्रेम हो, स्वावलम्बन हो र जनतामा निहित सार्वभौम सत्ता हो । देश प्रेम र दक्षिणपन्थी, पश्चगमन, जाति र धर्मको कुरूप राजनीतिमा आकाश–पातालको अन्तर छ ।
धर्मनिरपेक्षताको तात्विक अर्थ राज्यले कुनै एक धर्मको रक्षा र प्रवद्र्धन नगरी सबै धर्मलाई समान संरक्षण गर्नु हो । अनि एउटा धर्मले प्रलोभन, भय र बाध्यतामा पारेर अरूलाई धर्म परिवर्तन गराउन नपाउने पनि हो । जुन अधिकार वर्तमान संविधानले सुनिश्चित गरेको छ ।
अवसरवादीहरूको मतियार नबनौँ । आफूलाई पुनरुत्थानवादी र राजावादी ठान्नेहरूलाई स्मरण रहोस् लोकतन्त्रको विकल्प अझै उन्नत लोकतन्त्र हो कसैले स्थापित गरिदिने पश्चगामी व्यवस्था हैन ।
यदि हामी केही अवसरवादी समूहको सत्ताको लागि राष्ट्रिय अखण्डता, जनतामा निहित सार्वभौमसत्ता र धार्मिक सहिष्णुतामा आँच आउने कदमको समर्थन गर्छौ भने त्यो वास्तविक आत्म सम्मान बेची परधर्म अँगाल्नु हुनेछ ।
राष्ट्रिय अखण्डता, सहिष्णुता र स्वाभिमान नै अहिले सबै नेपालीहरूको स्वधर्म हो । गीतामा भनिएझैँ यसको जगेर्ना गर्नु नै श्रेयस्कर छ । स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः अरूको कठपुतली भएर बाँच्नुभन्दा स्वतन्त्र मर्नु नै श्रेयस्कर हो ।
फेसबुक प्रतिक्रियाहरु