बझाङ । सुदूरपश्चिम प्रदेशको सभामुखमा बझाङ प्रदेशसभा–२ मा माओवादी केन्द्रबाट निर्वाचित भएका भीम भण्डारी चयन भएका छन् । पुस २८ गते भएको निर्वाचनमा एक मत बदर भएर बहुमत नपुगेपछि माघ ३ गतेको बैठकबाट भण्डारी बहुमतसहित सभामुख चुनिएका हुन् ।
यसअघि पुस २९ गते बैठक बस्ने भनिए पनि दलहरूबीच सहमति नहुँदा स्थगित भएको थियो । त्यसपछि पुस ३० गतेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका ७ जना सासंद तटस्थ बस्दा सभामुखका उम्मेदवार बनेका भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलमध्ये कुनै एक जनाले पनि बहुमत पाउन सकेनन् । त्यस दिन दुवै उम्मेदवारले पक्ष र विपक्षमा २२/२२ मत पाएका थिए ।
माघ २ गते पुनः प्रदेश सभाको बैठक बोलाइएको थियो । पोखरामा भएको हवाइजवाज दुर्घटनाबारे राष्ट्रिय शोक परेका कारण सर्वदलीय बैठकले उक्त बैठकले स्थगित गरेर ३ गते मंगलबार बसेको बैठकले माओवादीका भण्डारीको पक्षमा २९ र कांग्रेसका रावलको पक्षमा २३ मत परेको थियो । भण्डारीलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र राप्रपाले समर्थन गरेको थियो । योसँगै बझाङ जिल्लाले लगातार दोस्रो पटक सुदूरपश्चिम प्रदेशको सभामुख पाएको छ ।
२०७४ सालमा एमाले–माओवादीको बाम गठबन्धन हुँदा एमालेबाट निर्वाचित अर्जुन थापा सभामुख भएका थिए । अहिले प्रदेश सभाको दोस्रो कार्यकालमा यसअघिका निर्णय कार्यान्वयन गर्नुपर्ने पहिलो जिम्मेवारी आएको छ ।
को हुन् भीमबहादुर भण्डारी ?
२०५३ सालमा विद्यार्थी राजनीतिबाट आएका भण्डारी अनेरास्ववियू हुँदै माओवादी केन्द्रमा लागेका हुन् । अनेरास्ववियुको गड्जेपानी माविको प्रारम्भिक कमिटीको अध्यक्ष बनेर राजनीतिक यात्रा सुरू गरेका भण्डारीले ०५४ सालमा एसएलसी पास गरेका हुन् ।
उच्च शिक्षाका लागि नेपालगञ्ज जाँदा महेन्द्र क्याम्पसको तत्कालीन एकाइ कमिटीको अध्यक्ष हुँदै बाँके जिल्लाको अनेरास्ववियूको सदस्य, त्यसपछि सचिव भएर बझाङ फर्किएका हुन् । बझाङ फर्किएपछि २०५८ सालमा नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धले गति लिइरहेको थियो । तत्कालीन माओवादीका बझाङ जिल्ला इन्चार्ज प्रशान्त र अनेरास्ववियूका तत्कालीन केन्द्रीय कमिटी सदस्य रमेश मल्लको नेतृत्वमा बझाङमा आएको टोलीले भण्डारीलाई अनेरास्ववियू क्रान्तिकारीको विद्यार्थी संगठनमा आवद्ध गराए ।
अनेरास्ववियू क्रान्तिकारीको पहिलो जिल्ला सम्मेलन नौविसको विसौनामा भएको थियो । त्यस कार्यक्रमबाट संविधान सभा सदस्य जनक बुढाको अध्यक्षतामा भण्डारी सचिव भएर काम गरे । पार्टीमा काम गर्दै गर्दा उनलाई जिल्ला कमिटी सदस्य, पार्टीको आयोजना महाधिवेसन कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, कार्यालय सचिवको जिम्मेवारी प्राप्त गरेका थिए । माओवादी पार्टी विभाजन भएपछि कतिपय कार्यकर्ता बाबुराम, मोहन बैद्य त कोही प्रचण्डसँगै रहे । भण्डारी पनि प्रचण्डसँगै थिए । अहिले उनी सुदूरपश्चिम प्रदेश कमिटी सदस्यको रूपमा काम गरिरहेका छन् । भण्डारीले पार्टीमा बुद्धिजिवी संगठनको संयोजक भएर पनि काम गरे । जनमुक्ति सेनाको मोर्चा भएर पनि काम गरे ।
जनयुद्धकालमा भण्डारी अर्घाखाँची, पाल्पालगायतका जिल्लामा पार्टीका काम गरे । कुन बेलामा ज्यान गुमाउनुपर्ने हो भन्ने यकिन नभएका बेला शान्ति सम्झौतासम्मै उनी भूमिगत अवस्थामा विभिन्न जिल्लामा घुमिरहे । जनयुद्धकालमा चिनियाँ सेनाद्वारा पक्राउ परेपछि भने भण्डारीलाई बाँच्ने आसै थिएन । कम्युनिष्ट देश चीनमा पक्राउ परेपछि कोही पनि फिर्ता नै नआएको हुँदा उनलाई पनि अब बाँच्ने दिन सकिएको लागेको थियो ।
‘ताक्लाकोट नाका नजिकै नेपाली भूमिमै लुकेका थियौँ,’ उनले भने, ‘सुराकीको आधारमा दर्जनभन्दा बढी चिनियाँ टोली आएर हामीलाई समाते । भाषा पनि नबुझ्ने, केही बोल्न थालेमा सिधै गोली हान्ने डर थियो । घिसार्दै लग्यो । नाका पुगेपछि अब अन्तिम पटक भए पनि नेपालतिर नजर लगायौँ । त्यसपछि चिनियाँ सेनाको क्याम्पको थुनुवा कक्षमा राखियो ।’ भाग्यवस नसोचेकै भयो । बाच्ने आशा मारेर गएका भीम भण्डारीसहितको टोलीलाई त्यसै दिन धुलीका स्व. कर्मा तामाङ र बुडरको छिमेल लामाको सहयोगमा उनीहरू त्यसै साँझ छुटे । त्यस बेलामा माओवादीले तल्कोट माथिल्लो क्षेत्र, काँडा र धमेना गाविसको एउटै क्षेत्र बनाएको थियो । त्यसको इन्चार्ज पनि भण्डारी नै थिए । भूमिगत अवस्थामै उनीसहितको टोली ताक्लाकोट जाँदा सुराकीको आधारमा चिनियाँ सेनाले पक्राउ ग¥यो । दिनभर चिनियाँ सेनाको हिरासतमा बसेका भण्डारीलाई साँझ तामाङ र लामाले छुटाए ।
भण्डारी पहिलो पटक नै चुनाव लडेर बझाङका पुराना नेता लालबहादुर रावललाई पराजित गरे । कम्युनिष्टकै पुराना नेता रावललाई फराकिलो मतान्तरले पराजित गर्दै प्रदेश साँसद भएलगत्तै प्रदेश सभाको बागडोर पनि उनले नै सम्हाल्ने अवसर पाएका छन् ।
प्रदेश सभामुखमा निर्वाचित भएपछि उनले भने, ‘प्रदेशका नागरिकको चाहना, विकास र सोहीअनुसारको नीति निर्माणको दायित्व प्रदेश सभामाथि आएको छ । त्यसैले नयाँ गठन भएको प्रदेश सरकारलाई जनअपेक्षाअनुसार काम गराउन निर्देशकको भूमिका खेल्नुपर्नेछ । त्यसमा म कहीँ, कतै पछि हट्ने छैन ।’
बझाङको विकासको बारेमा के छ सभामुखको धारणा ?
जिल्लाको विकासका लागि पनि आफू निरन्तर खटिरहने उनले बताए । ‘हाम्रो जिल्ला बिकटमै पर्दछ । यहाँ सम्भावना हुँदा हुँदै पनि राज्यको नजरमा नपरेको क्षेत्र हुँदा कमसेकम पनि जिल्लालाई राज्यको भित्र पर्छ है भन्ने पहल गर्नु अति आवश्यक हो । सँगै प्रदेश सरकार होस् या संघीय सरकार होस् पिछडिएको क्षेत्रमा अहिले सम्मकै साँवा ब्याजसहित अली बढी लगानी हुनुपर्छ भन्ने ढंगले मेरो पहल रहन्छ ।’
उनले मुख्यगरी बझाङमा सम्भावनाको खानी हुँदा हुँदै राज्यले ध्यान नदिएका क्षेत्र भएको बताए । ‘यहाँ पूर्वाधारका क्षेत्र उस्तै छन् । सडक यातायातको अवस्था जरजर नै छ । शिक्षा, स्वास्थ्य, पर्यटनलगायतमा राज्यको लगानी पुगेको छैन । साथै सडक सञ्जालको ठेक्का भएको ठाउँमा पनि राजनीतिक दलका व्यक्तिहरू, ठेकेदारहरूले कमिसन खाएर अहिले नबोलीकन बेपत्ता भएका छन् र कर्मचारीहरूले पनि अहिलेसम्म ताकेता नगरेको अवस्था छ ।’
भण्डारीले अब कर्मचारी प्रशासनलाई पनि चुस्त–दुरूस्त बनाएर जनताको सेवा गर्ने रूपमा उहाँहरूलाई पनि चिनाउन जरूरी भएको बताए । ‘म नसक्ने काम बोल्दैन । चुनावको बेलामा पनि एक/दुई ठाउँमा विद्यालयको नराम्रो अवस्था देखेर बेलेको छु, खाने पानीको समस्या भएको ठाउँमा बोलेको छु । बाँकीको ठाउँमा विश्वासको मत मागेको हुँ । मैले कुनै पनि ठाउँमा राजनीतिक रूपले आश्वासन दिएको छैन । राजनीतिक रूपमा सहयोग आदानप्रदान भएको भए काम गर्न असजिलो हुन्छ । मैले जनतालाई बिश्वासको मत दिनुहोस् म सके जति तपाईँको समस्या समाधान गर्नतिर लाग्छु भनेको छु । सकेजति इमान्दार ढंगले काम पनि गर्नेछु । नसके सकिन भन्छु तर, बेइमानी गर्दैन भनेको छु । त्यसैले मलाई पक्ष विपक्ष हुनु पनि पर्दैन ।’
उनले विकासका काममा पार्टीमै आवद्ध भएका ठेकेदारसँग मिलेर गएको भए भोलि बदमासी गरेमा कडा कारबाही गरिने बताए । ‘म चुनावमा आर्थिक रूपले कसैमा निर्भर भइन । चुनावको बेला यदि कसैले ठेकेदारसँग पैसा मागेको प्रमाणित गर्छ भने म भोलि नै पदबाट राजीनामा दिनेछु । त्यसैले निर्माणका काम गर्ने जोसुकै निर्माण व्यवसायीले आयोजनाहरू अलपत्र पार्ने, सभामुख तथा सांसदलाई प्रभावमा पार्न खोज्ने चेष्टा नगर्दा हुन्छ । समयमा काम नगर्ने हरेक निर्माण कम्पनी तथा ठेकेदार कारबाहीमा पर्छन् । त्यसैले पनि यसको मतलब म स्वतन्त्र र निष्पक्ष रूपले काम गर्न सक्छु भन्ने कुरा पुष्टि गर्छु ।’ उनले भने ।
फेसबुक प्रतिक्रियाहरु