शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • नेपालले विश्व कप क्रिकेट लिग–२ को च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जित
Breaking News

नेपालले विश्व कप क्रिकेट लिग–२ को च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौँ विकेटका लागि अविजित ७५ रनको साझेदारी गरेपछि नेपालले विश्व कप क्रिकेट लिग–२ को च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको छ ।कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा मङ्गलवार सम्पन्न त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य ३५ बलअघि नै भेटाएको हो । सातौँ ओभरमा नेपालले १९ रन बनाउँदा २ विकेट गुमाएको अवस्थामा ब्याटिङ गर्न आएका रोहितले अविजित ९५ रन बनाएका हुन् ।
यस्तै नेपालले १ सय ३८ रन जोड्ने क्रममा ८ विकेट गुमाएको अवस्थामा रोहितलाई करण केसीले साथ दिएका थिए । त्यस क्रममा रोहित र करणले नवौँ विकेटका लागि ७५ रनको साझेदारी गरेपछि नेपालको जित निश्चित भएको थियो । रोहितले १ सय १ बलको सामना गर्दा ७ चौका र ४ छक्का प्रहार गर्दा करणले ३७ बलमा ३१ रन बनाउँदा २ चौका र १ छक्का प्रहार गरे । स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो भएन । ओपनर कुशल भुर्तेल १ रनमै र अर्का ओपनर आसिफ शेख १२ रन बनाउँदै आउट भए ।
यस्तै ज्ञानेन्द्र मल्लले २१ रन जोड्दा कुशल मल्लले २८ बलको सामना गर्दै २७ रन बनाए । सन्दीप जोरा १, दीपेन्द्रसिंह ऐरी ७, सोमपाल कामी २ र सन्दीप लामिछाने ९ रनमा आउट भएका थिए । नेपालको इनिङ्सलाई कठिन बनाउने क्रममा कसिलो बलिङ गरेको स्कटल्यान्डका लागि स्पिनर मार्क वाटले ३ र क्रिस ग्रेभिसले २ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्ड ४६ ओभर १ बलमा २ सय १२ रन बनाउँदा अलआउट भयो । नेपालका सन्दीप लामिछानेले ४, करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १र१ विकेट लिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार