शनिबार, बैशाख १, २०८१
  • होमपेज
  • एउटा विद्यालय : जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्
Breaking News

एउटा विद्यालय : जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्

बझाङ । जिल्ला सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ । खौलाबजारबाट भक्तपुर डेढ किलोमिटर पर छ । त्यसै गाउँमा अवस्थित छ बाँठपाला आधारभूत विद्यालय ।

बाँठपाला विद्यालय सुरू भएको ३५ वर्षअघि हो । स्थापना कालमा कखरा सिक्ने १० जनामध्ये २ जनाले मात्रै एसएलसी पास गरे । बाँकी ३÷४÷५ कक्षा हुँदै छात्रा विहेबारी तिर लागे भने छात्र मजदुरीका लागि भारततर्फ गए । परिवारको आर्थिक स्थिति कमजोरकै कारण उनीहरूले विदेशिनु परेको थियो । घरमै बसेर जोहोतोहो गर्दै पढेका दुई जना हुन् वीरबहादुर सार्की र उनकै सहपाठी मोती सार्की ।

बाँठपालाका पहिलो विद्यार्थी सार्कीद्वय अहिले सरकारी सेवामा आवद्ध छन् । वीरबहादुर तलकोट गाउँपालिकाका कृषि प्राविधिकको रूपमा कार्यरत छन् भने मोती प्रावि तहमा स्थायी शिक्षक भएर ताप्लेजुङमा पढाइरहेका छन् ।
करिब डेढ सय परिवार रहेको भक्तपुर र ललितपुरबाट आफ्ना बालबालिका पढ्ने त्यस विद्यालयमा सुरूवाती शिक्षकलाई तलब स्वरूप घरायसी अन्न दिइन्थ्यो । संस्थापक शिक्षक भिकुले सार्की थिए । पाँच कक्षासम्म अध्ययन गरेका भिकुलेकै कारण विद्यालय स्थापना भएको थियो ।

पहिलो वर्ष १० जनालाई अध्ययन गराएका भिकुलेले ३ वर्ष लगातार पढाए । पछि गाउँमा केही विवाद आएपछि विद्यालय नै २ वर्ष सञ्चालन भएन । त्यस दुई वर्षमा दुर्गाभवानी मावि खौला पढ्न पढाएका बालबालिका निकै हेपिन÷कुटिन थालेपछि भिकुलेकै नेतृत्वमा बाँठपाला फेरि सञ्चालनमा आयो ।

२० वर्षसम्म ३ कक्षासम्मै चलेको विद्यालय २०६४ सालपछि २ कक्षा थपिएर ५ कक्षासम्म भयो । भिकुले सार्की ती व्यक्ति हुन् जसलाई कम्युनिष्ट विचारधारा बोक्ने सुदूरपश्चिम प्रदेशका पूर्वसभामुख अर्जुन थापाले अध्यापन गराएका थिए ।
६० वर्ष पुग्नै लागेका भिकुले दुर्गा भवानीमै अध्ययन गरेका हुन् । दलित समुदायको शून्य उपस्थिति हुने विद्यालयमा भिकुले गएसँगै गाउँबाट अन्य विद्यार्थी पढ्न गएका थिए । बाल्यकालमा पढ्न अब्बल उनी शिक्षकको प्रिय बन्दै गए । बाहिरबाट आएका शिक्षकबाट पढाईको महत्व बुझेका उनले २०४४ सालमा गाउँमै विद्यालय स्थापना गरे र एसएलसी पास गरेर उनी सोही विद्यालयको एकल शिक्षक बने । बाँठपाला विद्यालय २०६४ सालबाट कक्षा ५ सम्म पढाई भयो । स्थापना कालदेखि २६ वर्षसम्म शून्य गैरदलित भएको बाँठपालामा २०७० सालयता भने गैरदलित समुदायका बालबालिका पनि विद्यालय जान थाले ।३ बाट ५ कक्षा भएपछि विद्यालयले कार्यालय सहयोगी राख्यो । २०६५ सालमा ठकुरी समुदायका कार्यालय सहयोगीले काम गर्न थाले । अहिलेका प्रधानाध्यापक बोटी कामी पनि २०६२ सालबाट त्यस विद्यालयमा शिक्षक भएका हुन् । २०७० बाट उनी प्रधानाध्यापक भएका हुन् ।

भिकुलेपछि भुवन सार्की, अम्बे सार्की र अहिले बोटी कामी प्रधानाध्यापकको रूपमा काम गरिरहेका छन् । विकको सक्रियतापछि भने विद्यालयले अझै मुहार फेरेको छ । उनी प्रअ भएदेखि नै २÷३ जना गैरदलित बालबालिका पढ्न आए । त्यसयता नियमित रूपमा गैरदलित समुदायका बालबालिका विद्यालयमा थपिदै गएको छ ।

विभेद घटाउन गाउँको नाम परिवर्तन

दलित समुदायको थरलाई जोडेर अहिले पनि फलानो टोल भन्ने चलन मेटिएको छैन । हरेक ठाउँका गैरदलित समुदायले दलित समुदायलाई चिनाउनका लागि अपहेलित नाम राखेको पुस्तौँ बितिसकेको छ । त्यसै मध्येका दुई गाउँ हुन् भक्तपुर र ललितपुर ।

गैरदलित समुदायले सहनै नसक्ने गरी विभेद गर्न थालेपछि गाउँको नामै फेर्नुपरेको प्रअ कामी बताउँछन् । उनका अनुसार भक्तपुरका स्थानीय अगुवाहरूले भुलवाडा (टोल) लाई ‘भक्तपुर’ र लुहारवाडाको नाम ‘ललितपुर’ नाम राखे । नजिकै सार्की समुदायको टोल सार्कीवाडा पनि भक्तपुरमै गाभियो । ‘बाटोमा हिड्दादेखि मान्छेहरूले अनेर तरिकाले हेला गर्न थालेपछि ७÷८ वर्षअगाडि नै बस्तीको नाम फेरेका हौँ ।’ उनले भने ।

बोटीका अनुसार सामाजिक रूपमा बाध्य भएर विभेद कम गरे पनि मानसिक रूपमा भने गैरदलित समुदायको अहंकार नटुटेको उनले बताए । ‘यहाँका कतिपय गैरदलितलाई अहिले पनि अपहेलित शब्द सामान्य नै लाग्छ,’ उनी भन्छन्, ‘दलित समुदायका कसैको नाम पनि बंग्याएर बोलाउनेहरू धेरै छन् । त्यस्तो सुन्दा आफूलाई लाज लाग्छ तर, भन्नेहरूलाई केही लाग्दैन ।’

यता विद्यालयले भने निकै फड्को मारेको छ । प्रअ कामीले भने, ‘हाम्रो विद्यालयमा विभेद भन्ने न शिक्षकलाई थाहा छ, न विद्यार्थीलाई । यहाँ पढ्ने सबै बालबालिका, कार्यालय सहयोगी, शिक्षकहरू सबै सँगै बसेर खान्छौँ । हामीलाई केही हुँदैन ।’ उनले यो शिक्षा सबैको कान–कानमा फुक्नुपर्ने बताए ।

कम्युनिष्ट शिक्षक हुँदा पढ्न सहज

दुर्गा भवानी माविमा २०४३ सालमा प्रधानाध्यापकको जिम्मेवारीमा आएका थिए, सुदूरपश्चिम प्रदेशका पूर्वसभामुख अर्जुन थापा । उनी त्यस विद्यालयमा आउँदा दलित समूदायको उपस्थिति शून्य जस्तै थियो । ‘नजिकैको गाउँ धेरै ठूलो तर, विद्यार्थी छँदै छैन,’ थापाले भने, ‘त्यस गाउँमा धेरै पटक धायौँ । सामुदायिक विद्यालयमा सबैले पढ्नुपर्छ । घर नजिकको स्कुल, मौकाको फाइदा उठाउनुस् भन्ने अभियान नै चलायौँ । त्यसपछि विद्यार्थीहरू आउन थाले ।’
थापा सुरूदेखि नै कम्युनिष्ट विचारधारा बोक्ने शिक्षक हुन् । त्यसैले उनी शिक्षा सबैका लागि हुनुपर्छ भन्ने सोच राख्थे । ‘मैले सकिने जति बालबालिका घरमा नरोकिउन् भन्दै विद्यालय पढाउन अभिभावकलाई आग्रह गरेँ, उहाँहरूले पनि स्वीकार्नु भयो र विद्यार्थीको संख्या बढ्दै गयो ।’ उनका अनुसार थापाकै सल्लाहअनुसार भक्तपुरमा विद्यालय स्थापना भएको हो । ‘त्यस बेलामा पढाइलाई महत्व कसैले दिँदैनथे, हामीले हाम्रै विद्यार्थी भिकुलेलाई शिक्षक बनाउन र गाउँमा विद्यालय खोल्न सल्लाह दियौँ । शिक्षाको महत्व बुझाउँदै गयौँ । पछि विद्यालय फस्टाउँदै गएको हो ।’ उनले भने ।

पालिकाकै नमुना विद्यालय

अहिले बाँठपाला ५ कक्षासम्म सञ्चालन भइरहेको छ । सानो ठाउँमा स्थापना भएको विद्यालयमा खुला चौरको भने अभाव छ । पालिका, संघसंस्था, स्थानीयको प्रत्यक्ष सहयोग भइरहेको हुँदा शैक्षिक गुणस्तरको गति भने निकै नै आकर्षक छ । शिक्षक भरतबहादुर सार्कीले भने, ‘पालिकाभरि हाजिरीजवाफलगायतका कार्यक्रममा सहभागी भए हरेक पटक राम्रो नतिजा ल्याउँदै आएको छ ।’

विद्यालयमा सबै निकायले मिहेनत गरे पनि शिक्षकको अभाव भएको उनले बताए । ‘बालकक्षादेखि ५ सम्म छ पिरियड हुन्छन् । पाँच जना शिक्षकले सबै पिरियड मुस्किलले पढाउनु परेको छ ।’ उनले भने ।

विद्यालयको भौतिक संरचनाका लागि पनि प्रदेश, स्थानीय तहको सहयोगमा भवन निर्माण गरिएको हो । ‘विद्यालयको घेरबारप्रदेश सरकारबाट परेको थियो,’ प्रधानाध्यापक बोटीले भने, ‘घेरबारको कार्यक्रम १५ लाख आउने भनेकोमा ५ लाख मात्रै आएको हुँदा विद्यालय घाटामा गएको हो ।’ उनले आफूले भौतिक संरचनाभन्दा पनि विद्यालयको शैक्षिक गुणस्तर कसरी अझै माथि उठाउन सक्छौँ भन्ने सल्लाह गरिरहेको उनले बताए ।

‘बाँठपालालाई दलित मात्रै पढ्ने भनेर बुझ्ने गरिन्थ्यो,’ उनले भने, ‘तलकोट गापाबाट, विश्व खाद्य, संघसंस्थाहरूबाट सहयोग भएपछि अहिले खौलाबाट पनि विद्यार्थी आइरहेका छन् । बाँठपालामा ९२÷९५ जना दलित समुदायका छन् भने १४÷१५ जना गैरदलित समुदायका बालबालिका अध्ययन गरिरहरेका छन् । छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै