बुधबार, असार ५, २०८१
  • होमपेज
  • मर्यादित पत्रकारिता कि पत्रकार ?
Breaking News

मर्यादित पत्रकारिता कि पत्रकार ?

रामहरी ओझा

दिपायल । केही समयअघि कैलाली जिल्लाबाट प्रकाशन हुँदै आएको एक पत्रिकाको वार्षिकोत्सवमा सहभागी हुने अवसर मिल्यो । कार्यक्रममा समय सान्दर्भिक विषय थियो सञ्चारकर्मीहरूबीच अन्तरक्रिया । ‘मर्यादित पत्रकारिता, आजको आवश्यकता’ । यद्यपी अन्तरक्रिया भने पनि कार्यक्रम अन्तरक्रियात्मक नभई प्रवचनात्मक शैलीमा गयो, तर विषय चाँही दमदार थियो र यसमा व्यापक रुपमा छलफल गर्नु पर्ने थियो ।

मन्तव्य राख्ने सञ्चारकर्मी ज्यूहरूले ‘पत्रकारिता’ मर्यादित हुनुपर्ने कुरामा विशेष जोड दिनुभयो । पत्रकारिता क्षेत्र बद्नामित भइरहेको, अमर्यादित भइरहेको, पाठक तथा स्रोताहरूले बिश्वास गर्न छोडेको जस्ता थुप्रै विषयहरूमा वक्ताहरूको एक मत देखियो । पत्रकारितामा सुधार ल्याउने विषयमा पनि उनीहरूको चिन्ता थियो ।

स्वभाविक रूपमा अहिले बजारमा ‘पत्रकार हुँ’ भन्न पनि लाज लाग्ने अवस्था छ । पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोगले पत्रकारितालाई थप बद्नामित बनाई दिएको छ, ओज छैन । सायद पत्रकारिता पेशामा लागेकाहरू अन्य पेशा व्यवसायीहरूभन्दा फुर्सदिला हुन्छन्, त्यसैले दिउँसोभरि सामाजिक सञ्जालमा व्यस्त हुन्छन् र स्टाटस, टिप्पणीका नाममा अनावश्यक कुराहरू लेखिरहेका हुन्छन् । यसले आलोचित हुँदै गएको नेपाली पत्रकारिता जगतलाई झन् ओरालोतिर धकेलिरहेको छ ।

त्यसैले अब बहस हुनु जरुरी छ, मर्यादित ‘पत्रकारिता’ कि मर्यादित ‘पत्रकार’ । जबसम्म पत्रकार मर्यादित हुन सक्दैन तबसम्म पत्रकारिता मर्यादित हुनै सक्दैन् । मुल पेशा अर्कै हुने, वर्षभरिमा एक पटक एक मात्र समाचार लेख्ने ‘पटके’ पत्रकारहरुले के साँच्चै मर्यादित पत्रकारिता गर्न सक्छन् ? २४ सै घण्टा सामाजिक सञ्जालमा आफ्ना नेता र पार्टीको भजन गाइरहने र फरक पार्टी र फरक नेताको सत्तो सराप गरिरहने फेसबुके पत्रकारहरूबाट पत्रकारिताको ओज बढ्न सक्छ ? विज्ञापन मात्रै छाप्नका लागि नयाँ वर्ष, दसैँ, तिहारमा मात्रै प्रकाशन हुने ‘पर्वे’ पत्रिकाका पत्रकारहरूबाट मर्यादित पत्रकारिता हुन्छ ? वा फेरी बन्द भएका पत्रिकाहरू एकमुष्ट छापेर विज्ञापनको पैसा उठाउने उद्देश्यका साथ सम्बन्धित कार्यालयमा लगेर पत्रिका बुझाउने र विज्ञापनमा नियमित प्रकाशन भइरहेका पत्रिकाहरू सरहनै हिस्सा हुनुपर्ने भनी धम्की दिने पत्रकारहरूबाट मर्यादित पत्रकारिता हुन्छ ?

अब मर्यादित ‘पत्रकारिता’ होइन, मर्यादित ‘पत्रकार’ को खोजी गरौँ । यदि पत्रकार मर्यादित भयो भने पत्रकारिता आफैँ मर्यादित हुन्छ । पत्रकारिता क्षेत्रको अवस्था कति दयनीय भएको छ भन्ने विषयमा सोच्नु जरूरी छ । कुनै निकायले आयोजना गरेको कार्यक्रममा मलाई बोलाइएन भनेर फोनबाट धम्की दिने हामी पत्रकार, राजनीतिक रुपमा विचार नमिलेका व्यक्तिहरूको चरित्र हत्या गर्ने गरी समाचार सम्प्रेषण गर्ने र सामाजिक सञ्जालमा अनावश्यक खोइरो खन्ने हामी पत्रकार, विज्ञापन फलानो सञ्चारमाध्यमलाई किन दिएको भन्दै बिरोध गर्ने हामी पत्रकार, समाचारको विषयलाई लिएर सम्बन्धित पक्षसँग मोलमोलाई गर्ने हामी पत्रकार, हाकिम साहेवले खाएको कमिसनबाट भागवण्डा खोज्ने हामी पत्रकार । अनि ‘पत्रकारिता’ मर्यादित हुन्छ त ?

भनिन्छ, चालक राम्रो भएन भने यात्रा जोखिमपूर्ण हुन्छ । पत्रकारिताका हामी चालकहरू यति राम्रा भइदिए मर्यादित पत्रकारिताको के आश गर्नु त ?

हामीले उपभोग गरिरहेको नेपाली कानुनअनुसार स्वास्थ्यकर्मी हुनलाई सम्बन्धित विषय पढ्नुपर्छ र मेडिकल काउन्सिलले तोकेको मापदण्डको परीक्षा उत्तीर्ण गरी इजाजत पत्र लिनुपर्छ, अनि मात्र कसैलाई खोप लगाउन योग्य हुन्छ । सवारी चालक पहिले सवारी हाँक्न सिक्छ, अनि लिखित, मौखिक र टूायल उत्तीर्ण गर्नुपर्छ र मात्र उसले चालक अनुमति पत्र प्राप्त गर्दछ । एक शिक्षक हुनका लागि उसले सम्बन्धित विषयमा तोकिएको तहको औपचारिक शिक्षा लिइसकेपछि शिक्षक सेवा आयोगले तोकेको अध्यापन अनुमति पत्र लिने परीक्षा उत्तीर्ण गरी हजारौँसँग प्रतिष्पर्धा गरेर आफूलाई योग्य देखाउन सक्नु पर्छ र उ शिक्षक हुन्छ । वकिल बन्नका लागि कानुन पढ्नुपर्छ र बार काउन्सिलबाट तोकिएको मापदण्डको परीक्षा पूरा गरी अनुमति पत्र लिनुपर्छ अनि मात्र वकालत गर्ने अनुमति पाउँछ । यदि यि पेशाकर्मीहरूले अनुमति पत्र नलिई पेशा गर्छन् भने अपराध गरेको मानिन्छ ।

भनाईको अर्थ हरेक पेशामा लाग्नका लागि कुनै न कुनै शर्तहरू पूरा गरेको हुनुपर्छ । यति हुँदाहुँदै पनि ति पेशाकर्मीहरूको आलोचना हुँदैछ । चिकित्सकको योग्यता छैन त्यसैले बिरामी उपचारकै क्रममा मर्छन भनिन्छ । चालक गतिलो नभएका कारण सवारी दुर्घटना बढी भए भनिन्छ । शिक्षक योग्य नभएका कारण गुणस्तरीय शिक्षा भएन भन्ने गरिन्छ, वकिलहरु तार्किक वहस गर्न सक्दैनन् त्यसलै न्याय क्षेत्रमा घुसखोरी मौलाएको छ भनिन्छ ।

तर, पत्रकार हुनका लागि के हो मापदण्ड ? कुनै सञ्चार गृहले फोटो टाँसेर दिएको कार्ड घाँटीमा भिर्ने बित्तिकै पत्रकार भइहाल्ने, पत्रकार हुने बित्तिकै उसले आफूलाई छुट्टै ग्रहबाट आएको मान्नुपर्ने, अरूको मान सम्मान राख्नु जरूरी नहुने । उसको औपचारिक योग्यता कति हो भन्ने खोजी गर्नुपर्दैन, उसले पत्रकारितासम्बन्धि अनुशिक्षण लिएको छ कि छैन, पत्रकारिता पेशामा अटाउने आचरण छ कि छैन भन्ने कुराको अध्ययन कसले गर्ने ? आफू बिरुद्ध कुनै समाचार सम्प्रेषण भयो भने कुनै व्यापारीले अर्काको शैक्षिक योग्यताको प्रमाणपत्र मागेर पत्रिका दर्ता गराउँछ, सम्पादक हुनका लागि स्नातक उत्तीर्ण गरेको हुनुपर्ने जो व्यवस्था छ । अनि समाचार लेख्ने पत्रकारलाई अप्ठेरोमा पार्नका लागि आफ्ना हनुमानहरूलाई ‘पत्रकार’ को परिचय पत्र उपलब्ध गराउँछ । ति ‘पत्रकार’ को योग्यता क्षमता केही हेरिदैन । अनि त्यस्ता व्यक्तिले गरेको पत्रकारिता के ‘मर्यादित हुन सक्ला र ?’

सामाजिक सञ्जालमा कुनै व्यक्ति, समुदाय विशेषलाई होच्याएर, कसैको चरित्र हत्या गरेर ‘बहादुरी ग¥यौँ’ भनी ठान्नेहरूले सम्प्रेषण गरेको समाचारमा स्वभाविक रुपमा पाठक/दर्शक/स्रोताले टिप्पणी गर्छन् र गर्नु जरूरी पनि छ । सामाजिक सञ्जालमा जातीय विभेद हुने शब्द प्रयोग गरेर एक जना पत्रकार मित्रले स्टाटस लेख्नु भयो रे ! त्यो समुदायले ति पत्रकारको बिरुद्धमा आपत्ति जनाउने कि नजनाउने ? सामाजिक सञ्जालबाट एक जना पत्रकार मित्रले कसैको ज्यान मार्ने धम्की दिनु भयो रे ! धम्की पाउने मान्छेले के हातमा दही जमाएर बस्ने त ?

समाचारमा सन्तुलन कायम गर्नु पत्रकारको नैतिकता हो, पेशागत धर्म हो । पत्रकार आचारसंहितामा पनि यो कुरा प्रष्टै लेखिएको छ । एकलौटी समाचार सम्प्रेषण गर्ने अनि समाचारमा मुछिएका पक्षहरूले बुझ्न खोज्दा ‘समाचार लेखेकै कारण धम्की दियो’ भन्ने हावादारी हल्ला फैलाएर राष्टिूय मुद्धा बनाउने हामी पत्रकारहरूबाट कसरी मर्यादित पत्रकारिता हुन्छ ?

हुँदा हुँदा पछिल्लो समयमा राजनीतिले पत्रकारितालाई पुरै निलेको छ । आफ्नो पार्टीभन्दा फरक विचार राख्ने मान्छेसँग हिड्नै नहुने, बोल्नै नहुने, चिया खानै नहुने अवस्था आएको छ । पत्रकारहरूकै बीचमा पनि । ति मित्रहरु जो पत्रकार स्वतन्त्र हुनुपर्छ भनेर थाक्दैनन् तिनीहरूनै आफ्नै साथीलाई पार्टी परित्याग गरेको, अर्काे पार्टीमा प्रवेश गरेको ब्लेम लगाउँछन् । यस्तो अवस्थामा मर्यादित हुन्छ त पत्रकारिता ? के पत्रकार भएपछि फरक विचार राख्नेसँग हिड्नै नहुने हो र ?
निश्चित रुपमा कुनै पनि सामाजिक प्राणी राजनीतिक आस्थाभन्दा बाहिर हुन सक्दैन । मानवअधिकारको विश्वव्यापी घोषणा पत्र, नागरिक राजनीतिक अधिकारसम्बन्धि अन्तर्राष्ट्रिय प्रतिज्ञा पत्र र नेपालको संविधानअनुसार पनि कुनै राजनीतिक विचारको समर्थन गर्न पाउने, बिरोध गर्न पाउने, राजनीतिक दलको सदस्यता लिन पाउने, नयाँ पार्टी खोल्न पाउने स्वतन्त्रता प्रत्येक नागरिकलाई छ तर त्यो राजनीतिक विचार आफ्नो पेशामा झल्कनु भएन । चिकित्सकले राजनीतिक आस्था राख्न पाउँछ तर म फलानो पार्टीकोलाई मात्र सुई लगाउँछु भन्न पाउँदैन । यस्तै कुरा सञ्चारकर्मीहरूको हो, राजनीतिक संलग्नता हुनुपर्छ त्यसमा आपत्ति छैन तर राजनीतिक संलग्नताका आधारमा यदि समाचार सम्प्रेषण हुन्छ भने त्यो मर्यादित पत्रकारिता हुन सक्दैन । ‘सत्य लेख्न डराउन्नौँ, झुटो लेख्न मन पराउन्नौँ’ भन्ने आँट हामीमा हुनुपर्छ ।

नयाँ मेडिकल कलेज अबको १० वर्षसम्म काठमाडौँमा खोल्न पाइदैन भनेर गरिएको आन्दोलनमा अग्रज सञ्चारकर्मीहरूले लिखित ऐक्यवद्धता जनाउनु भयो । नेपालको संविधानको धारा १७ को उपधारा २ (च) मा ‘नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता’ हुने व्यवस्था हुँदाहुँदै पनि काठमाडौँ उपत्यकामा पेशा व्यवसाय गर्न रोक लगाउनु पर्ने गरी भएको आन्दोलनमा हाम्रो ऐक्यवद्धता थियो । काठमाडौँमा धेरै कलेज खुले तर गुणस्तरीय भएनन् भन्ने तर्क थियो आन्दोलनकारीहरूको । त्यो आन्दोलनलाई समर्थन जनाइरहँदा हामीले एक जिल्लामा वा एक क्षेत्रमा कतिसम्म सञ्चार गृहहरू सञ्चालन गर्न पाउने भन्ने कुनै मापदण्ड बनाउन मिल्दैन ? पत्रकारिता क्षेत्रमा प्रवेश गर्नका लागि मापदण्ड तयार गरेर कानुन ल्याउन सरकारलाई दबाब दिन सकिदैन ? सञ्चार गृह खोल्नका लागि सम्पादक स्नातक पास गरेको भए पुग्ने वर्तमान व्यवस्थामा सुधार गर्ने कानुन बनाउन दबाब दिन सकिँदैन ?

यस्ता थुप्रै कुराहरू छन्, जसले पत्रकारिता मर्यादित हुन सकेको छैन । जबसम्म पत्रकारहरू मर्यादित हुँदैनन् तबसम्म मर्यादित पत्रकारिता हुँदैन । पत्रकार मर्यादित भए भने पत्रकारिता आफैँ मर्यादित हुनेछ । त्यसका लागि सबैभन्दा पहिले पत्रकारहरूको छाता संगठन पत्रकार महासंघमा शुद्धिकरण हुनु जरूरी छ । हिम्मत राख्छ यदि महासंघको नेतृत्व भने र अग्रज पत्रकारहरुले महासंघको नेतृत्वलाई दवाव दिने नैतिक साहस राख्नु हुन्छ भने महासंघका सदस्यहरूको शुद्धिकरण गरौं । मेरो पार्टीका भए सांसद भइसकेका, मन्त्री भइसकेकाहरू पनि व्यावसायिक हुने, तेरो पार्टीका हुँदा क्रियाशिल पत्रकारहरू समेत सदस्य नहुने परिपाटी त हामीभित्रै छ । अनि हामी किन दुनियाँलाई दोष लाउदै हिड्ने ? किन हामी मर्यादित पत्रकारिता सडकमा गएर खोज्ने ?

आफ्नो पक्षको भए जाँड खाएर झगडा गरेको भए पनि ‘समाचार लेखेकै कारण पत्रकार माथि धम्की आयो’ भनेर विज्ञप्ति निकाल्ने तर अर्को पक्षको भए समाचार लेखेकै कारण धम्की आएको भए पनि कुनै सुनुवाई नगर्ने पत्रकार महासंघले हिम्मत गर्छ त पत्रकारिता क्षेत्रमा ‘गोरू बेचे जत्तिको’ पनि साइनो नभएका आफ्ना माननीय सदस्यहरूलाई स–सम्मान बिदाई गर्न ? त्यसपछि सुरू हुन्छ मर्यादित पत्रकारिताको बहस ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार