शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बारीमै कुहिन थाल्यो मेहेनतको फल
Breaking News

बारीमै कुहिन थाल्यो मेहेनतको फल

बझाङ । खप्तडछान्ना गाउँपालिका–६ तिउनेका शमशेर थापाले गत वर्ष दगाडमा आलुका लागि निकै पसिना चुहाए । वर्षौंदेखि बाँझो रहेको जमिनमा ट्याक्टर जोतेर करिब डेढ क्विन्टल रातो आलु लगाए । त्यसको उत्पादन पनि सोचेभन्दा राम्रो भयो । एउटै बोटबाट २/३ किलोको हाराहारीमा आलु फल्यो । कुनै बोटमा त पौने केजी बराबरको दाना नै थियो । आलुको उत्पादन सोचेभन्दा बढी भएपछि एक महिनाअघि नै बजारको खाजीमा लागे शमशेर । पाटादेवल, कोसेडीखेत, भालुवाङलगायतका स्थानीय बजारमा आलु बिक्री नभएपछि अहिले कुहिने हुन् कि भन्ने चिन्तामा छन् थापा ।

गत वर्षको बाढीले स्थानीय बजारसम्म जाने बाटो पनि अवरुद्ध गरेपछि बारीबाट घरमा ल्याएको आलु कुहिने चिन्ता लागेको बताए । ‘बारीबाट घरसम्म त पुर्‍यायौं, अब बजार कसरी पुर्‍याउने भन्ने चिन्ता लागेको छ । आलुले बजार नपाए यसलाई जोगाउनै मुस्किल पर्छ । बारीको बारीमै कुहिन्छ, घरमा ल्याएको पनि त्यत्तिकै सड्न हो कि भन्ने पीर परेको छ ।’

वर्षौंदेखि बाँझो जमिनमा पनि राम्रै उत्पादन हुँदा तरकारी खेती नै गर्ने सोच बनाएको तर, बजार नपाउँदा निरास हुनुपरेको उनी बताउँछन् । ‘मामाले १ क्विन्टल ३० केजी रातो आलुको बीउ दिनुभयो,’ थापाले भने, ‘दगाउँमा ३/४ दिन लगाएर लगाएको आलु १५ क्विन्टल जति भएको छ । आधा निकाल्नै बाँकी छ ।’

१२ कक्षामा पढ्दै गरेका थापा पछिल्लो समय व्यवसायिक खेतीतर्फ आकर्षित भएका छन् । ‘टर्नेलभित्र तरकारी फलाउँदा हरेक सिजनमा पनि ताजा तरकारी खान पाइन्छ,’ थापा भन्छन्, ‘गत वर्षदेखि थोरै लगानीमा तरकारी खेती सुरू गरेको हुँ । अहिले आफूलाई प्रर्याप्त भएर छिमेकीहरूलाई सानोतिनो बेच्ने गरेका थियौं । त्यसले घर खर्च राम्रै चलेको थियो । यसपटक मात्रै आलु बेच्न पाएको छैन ।’

तिउनेमा शमशेर मात्रै एक्ला होइनन्, वीरजंग थापा, वीरेन्द्र थापाको बारीमा पनि यसपटक आलु राम्रै उत्पादन भएको छ । उनीहरूले पनि बजार नपाउँदा वर्षायामको आलु कुहिने चिन्ता थपिएको बताउँछन् । ‘पहिले नजिकैको बजारमा तरकारी पुर्‍याए पनि बेचिन्थ्यो,’ थापा भन्छन्, ‘अहिले त स्थानीय बजार पनि सडक अवरूद्ध हुँदा सुकिसकेका छन् ।’

खप्तडछान्ना गाउँपालिका–९ का हिक्मत रोकायाले पनि आलुखेती गर्न थालेको लामो समय भयो । हरेक वर्ष आलुबाट डेढ दुई लाख रुपैयाँ आम्दानी गर्ने रोकाया यस वर्ष भने सडक नै नभएको भन्दै बारीबाट आलु निकालेका समेत छैनन् ।

छान्नामा आलुको भण्डार भनिने बामया लेकमा लगाएको आलुले यसपटक बजार नपाउँदा आलु बारीमै कुहिने चिन्ता थपिएको उनी बताउँछन् । ‘अहिले बारीबाट आलु निकालेको पनि छैन,’ उनले भने, ‘आलु ल्याएर घरमा कुहिनुभन्दा बारीबाट नै निकालेका छैनौं । नजिकका बजार तथा सदरमुकामसम्म पुर्‍याउनका लागि बोकेर साध्यै हुँदैन । गाडी गुड्नलाई बाढीले सडक बगाइसक्यो ।’

रोकायाको बारीमा यो वर्ष ५० क्विन्टलको हाराहारीमा आलु फलेको छ । ‘एउटै बोटमा पनि राम्रै फल लागेको छ, त्यसमा पनि ठूला ठूला दाना,’ रोकायाले भने, ‘पुरै गणाको आलु निकाल्दा त ५० क्विन्टलभन्दा बढी हुन्छ, कम हुँदैन ।’ गडरायमा हिक्मत जस्तै ७/८ जना कृषकको बारीमा सयौं क्विन्टल आलु छ । तर, सडक अवरुद्ध भएकै कारण आलु नोक्सान हुने भन्दै पीर परेको उनी बताउँछन् ।

थापा र रोकाया जस्तै बझाङमा सयौं कृषक छन् । वर्षायाम भएको हुँदा उत्पादन गरेको तरकारी बजारीकरण गर्न निकै समस्या हुँदा सयौं क्विन्टल आलु गाउँगाउँमै थन्किएको कृषि ज्ञान केन्द्रका कृषि विकास अधिकृत टेकबहादुर विष्ट बताउँछन् । विष्टका अनुसार जिल्लाका विभिन्न पालिका जोड्ने सडक अवरुद्ध हुँदा कृषकको उत्पादनले बजार नपाएको उनले बताए । ‘स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउनका लागि पालिकासँग समन्वय भइरहेको छ । अब छिट्टै कृषकको उत्पादनले बजार पाउने छ ।’ उनले भने ।

टेकबहादुर विष्ट
कृषि विकास अधिकृत
कृषि ज्ञान केन्द्र, बझाङ
बझाङ जिल्लामा वर्षायामको आलु अहिले सयौं क्विन्टल बराबर उत्पादन भइरहेको छ । तर, बिडम्बना गत वर्ष आएको बेमौसमी बाढीले बगाएको अस्थायी सडक यसपटक पनि अवरुद्ध हुँदा कृषकले बजार पाउन सकेका छैनन् । कृषि ज्ञान केन्द्र बझाङले किसानको उत्पादनलाई बजारीकरण गर्नलाई सक्दो पहल गरिरहेको छ । हामीले पालिकासँग पनि समन्वय गरिरहेका छौं । आफ्ना पालिकाभित्र भएका सबै कृषकको आलु संकलन गरेर हाइवे सडकसम्म पुर्‍याउनका लागि हामीले आग्रह गरेका छौं । पालिकाले पनि सहमति जनाएको छ ।

हामी कृषकको आलु खरिद गरेर बेच्दैनौं । कृषकले भनेअनुसारको मूल्य पनि नपाउन पनि सक्छन् । त्यसैले हामीले सहकार्य मात्रै गरिदिने हो, कृषकले आफ्नो उत्पादन आफैैं बिक्री गर्छन् । हामीले बजारसम्म पुर्‍याउन मात्रै मद्दत गर्ने हो । पालिकाले अवरुद्ध सडक खोल्ने बित्तिकै कृषकको आलु बिक्री हुन्छ । कतै जिल्ला सदरमुकाम त कतै धनगढी हुँदै काठमाडौंसमेत पठाउन सकिन्छ । यसै सिजनमा २ ट्रक बझाङी आलु त कैलालीमा पठाइसकेको छ ।

धनगढीमा डिपो बनाउने र त्यतैबाट बेच्न सकिने भन्दै त्यसको तयारी पनि भइरहेको छ । सडक अवरुद्ध भएकै कारण गुडखोरीमा ६/७ सय क्विन्टल आलु छ । मुख्यमन्त्री कार्यक्रम अन्तर्गतको दहबगरमा पनि ४/५ हजार क्विन्टल छ । यसका लागि पालिकाले सडक खुलाई दिएपछि कृषकको सबै उत्पादन बिक्री हुन्छ । सुर्मा गाउँपालिकाले त गाउँपालिकाभरि उत्पादन भएको आलु बजार पठाउनका लागि सार्वजनिक सूचना नै जारी गरेको छ । अरु पालिकासँग पनि हामीले अनुरोध गरेका छौं ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार