आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सेतीमा ठिङ्ग उभिरहेछ दुई पिल्लरे पुल
Breaking News

सेतीमा ठिङ्ग उभिरहेछ दुई पिल्लरे पुल

बझाङ । सदरमुकाम चैनपुरबाट तमैल झर्दा माल्लापणको मोडबाटै देखिन्छ, दुई पिल्लरे छत । त्यो पनि सेती नदीको बीच भागमा । तमैलको झोलुंगे पुल तर्दा पश्चिमतर्फ करिब सय मिटर अगाडि त आँखै अगाडि झल्किन्छ ।

‘दुई पिल्लरे छत’भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, त्यसको नाम सेती तर्ने यात्रीहरूले नै राखिदिएका हुन् । वर्षौंदेखि सेतीको बीचमा दुई पिल्लरसहितको संरचना मात्रै भएको हुँदा तमैल–छान्ना ओहोरदोहोर गर्ने यात्रीहरूले नामै राखिदिए, दुई पिल्लरे छत ।

दुई पिल्लरसहित माथिल्लो भाग फिनिसिङ गरेको छतजस्तै देखिने संरचना हो, तमैल बजार नजिकै निर्माण भइरहेको मोटरे पुल । खप्तडछान्ना हुँदै बाजुरा, अछाम जोड्ने पुल निर्माण सुरू भएको लामो समय बित्दा पनि नदीको मध्येभागमा दुई पिल्लरसहित ठिङ्ग उभिएको हुँदा पटक–पटक निर्माण कम्पनीको आलोचना भइरहन्छ ।

सेतीमा पानीको बहाब घटेपछि हिउँदेयाममा स्थानीयले सामान ओसारपसार तथा आवतजावत गर्न कहिले काठेपुल बनाउने त कहिले होम पाइपको सहारामा अस्थायी पुल बनाएर आवतजावत गर्छन् । तर, २ वर्षमै सम्पन्न गर्नुपर्ने पुल भने ६ वर्ष बित्दा पनि निर्माण अधुरै रहेको रहेको प्रष्टै देखिन्छ । पहिलो चरणको सम्झौताअनुसार म्याद सकिएपछि मन्त्रिपरिषदकै निर्णयबाट पुल निर्माणको म्याद ४ वर्ष थपिएको हो । दोस्रो पटक दोब्बर समय दिएर म्याद थपिएको समय सकिन पाँच महिना मात्रै बाँकी रहँदा पनि नदीमा भने २ पिल्लरे छत यथावत नै छ ।

चैनपुर–ताक्लाकोट सडक योजनाका योजना प्रमुख सुरेन्द्रबहादुर सिंहका अनुसार ६ वर्षअघि केएस कन्ट्रक्सनले पुल निर्माण गर्ने भनेर जिम्मा लिएको थियो । ‘बीचमा बिभिन्न कारण देखाउँदै दुई वर्षमा निर्माण सम्पन्न हुने पुलको निर्माण कार्य लम्बिएको हो,’ सिंहले भने, ‘सार्वजनिक नियमावली १२ औं संसोधन र कोरोनाका कारण पुल निर्माणमा ढिलाई भएको निर्माण कम्पनीले बताइरहेको छ ।’

दुई वर्षमा पुल निर्माण सम्पन्न गर्ने भन्दै सडक विभागबाट २०७३ असार २९ गते केएस कन्ट्रक्सनले पुलको जिम्मा लिएको थियो । २०७५ पुस ३० गते निर्माण सम्पन्न गरेर परियोजना हस्तान्तरण गर्ने भन्दै गरिएको सम्झौता तोकिएको अवधीभर एक चौथाई पनि काम भएको थिएन ।

‘कानुन संसोधनले निर्माण ढिलाई भएको देखिन्छ,’ चैनपुर–ताक्लाकोट सडक योजनाका सब इन्जिनियर विष्णुराज खातीले भने, ‘सार्वजनिक नियमावली ११ औं र १२ औं संसोधन भएपछि पनि नयाँ कानुनअनुसार निर्माण कम्पनीले काम गर्न ढिलाई गरेको देखिन्छ ।’ अहिले पुलको म्याद थपेर २०७९ पुस ३० गतेसम्म पुर्‍याइएको छ । ‘थपिएको म्यादभित्रै पुल निर्माण सम्पन्न हुने विश्वास गरेका छौं ।’ उनले भने ।

खातीका अनुसार तमैल पुलको कुल बजेट १३ करोड हो । ‘निर्माण मिति थपिए पनि बजेट थपघट हुँदैन । कम्पनीले सम्झौता– अनुसार सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्छ ।’ उनले भने ।
यदि तोकिएको मितिमा निर्माण सम्पन्न नभएमा निर्माण कम्पनीलाई कारणसहित स्पष्टिकरण माग्ने, त्यो चित्तबुझ्दो जवाफ नआएपछि कालोसूचीमा राख्ने, ठेक्का रद्द गर्ने प्राब्धानअनुसार नै कारबाही हुने उनले बताए ।

८५ प्रतिशत काम सम्पन्न

तमैल पुलको निर्माण कार्य ८५ प्रतिशत सकिएको निर्माण कम्पनीले दाबी गरेको छ । निर्माण कम्पनी केएस कन्ट्रक्सनका इन्चार्ज तथा ओभरसियर नविन विष्टका अनुसार पुल निर्माणका लागि अधिकांश काम सम्पन्न भइसकेको छ । अब केही समयमै पुलमा गाडी गुडाउने गरी काम हुने उनले बताए ।

‘पुल निर्माणका लागि आवश्यक पर्ने अधिकांश काम काम भइसकेको छ,’ विष्टले भने, ‘धेरै समय लाग्ने काम हामीले गरिसकेका छौं ।’ बढी समय लाग्ने पाइल क्यापमा भएको र त्यसको काम सकेको उनले बताए । ‘बढी समय लाग्ने पाइल क्यापका लागि हो,’ उनले भने, ‘पाइप क्यापमा १४/१४ मिटरका क्यापहरू तयार गरिसकेका छौं ।’ अब पिल्लरबाहेक स्टिलको काम, छेउछाउमा ग्याबिनको काम मात्रै बाँकी रहेको उनले बताए ।

अबको ३ महिनामै पुलमा सवारी कुदाउने योजना

तमैलमा निर्माणाधीन पुल अबको ३ महिनामै सम्पन्न हुने केएस कन्ट्रक्सनले जनाएको छ । भदौमा आएर काम सुरु गर्ने र कार्तिक/मंसिरभित्रै काम सम्पन्न गर्ने योजना रहेको इन्चार्ज विष्टले बताए । ‘गत वर्ष बाढीले बगाएको केही सामाग्रीहरू खरिद गर्दा ढिलाई भएको हो,’ उनले भने, ‘अहिले केही तत्काल चाहिने होम पाइपहरू, ग्याबिन, प्लाई, केही अन्य औजारलगायतका सामाग्रीहरू खरिद गर्दैछौं । त्यो सामाग्रीसहित भदौ पहिलो हप्ता आएर काम सुरू गर्छौं ।’

भदौमा पानीको बहाव नघटे पनि स्टिलको काम गर्ने र पछिल्लो महिना पिल्लर उठाउनेदेखि अन्य काम गर्ने उनले बताए । उनका अनुसार अबको ३/४ महिनामै तमैल पुलमा गाडी गुड्नेछन् ।

बाढीले ६ करोडको क्षति

गत वर्ष आएको बाढीले निर्माणाधीन पुलको धेरै सामाग्री बगाएको थियो । निर्माण भइरहेको पुलमा एक्कासी आएको बाढीले निर्माण कम्पनीको ग्याबिन, ३ गाडी स्टिल पर्निया, एक गाडी प्लाईलगायतका सम्पूर्ण सामानहरू बगाएको थियो । ‘गत वर्षको हाम्रो ६ करोड बराबरको क्षति भएको थियो,’ इन्चार्ज विष्टले भने, ‘पुल निर्माण भइरहेको बेलामा एक्कासी आएको बाढीले सम्पूर्ण सामाग्री बगाएर बीचका पिल्लर मात्रै बाँकी राख्यो ।’

गत वर्ष बाढी आउनुभन्दा अगाडि ६१ प्रतिशतसम्मको काम भएको उनले बताए । ‘एक छेउबाट गाडीसमेत पुलमा चढ्ने भइसकेको थियो,’ विष्टले भने, ‘हामीले त्यसै पुलबाट गाडीमार्फत् सामान पारिपट्टी लिने गर्दथ्यौं । केही सामान पुलमै, केही तमैलतिर त केही पारिपट्टी थियो त्यो सबै एकै पटकको बाढीले बगायो ।’ त्यस बेलामा प्रशासन, नगरपालिकासहित जिल्लास्थित सम्पूर्ण सरोबारबाला निकायको उपस्थितिमा मुचुल्कासमेत उठाएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार