शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बस्ती बाहिरको स्वास्थ्य चौकी : १० जना स्वास्थ्यकर्मी, महिनामा १५ दिन शून्य बिरामी
Breaking News

बस्ती बाहिरको स्वास्थ्य चौकी : १० जना स्वास्थ्यकर्मी, महिनामा १५ दिन शून्य बिरामी

बझाङ । चारैतिरबाट हरियाली । सिरसिर बतास लाग्ने अग्लो डाँडा । वरपर मनोरम दृश्य । चराचुरुङ्गीको चिरविर आवाजले गुञ्जयमान भइरहन्छ । त्यो डाँडाको बीच भागमा देखिन्छ, एउटा पक्की भवन ।

झट्ट हेर्दा लाग्छ कि त्यो भवन कुनै आध्यात्मिक व्यक्तिले साधनाका लागि बनाएको हुन सक्छ भनेर । बस्तीभन्दा टाढा जंगलको बीचमा भएको दृश्यले आध्यात्मिक झल्को नै दिन्छ । तर, त्यो हो दुर्गाथली गाउँपालिकाको सैनपसेला स्वास्थ्य चौकी । स्वास्थ्य चौकी वरिपरिका बस्ती हुन् चुवाबन, बाइकाट्या र सैन । बस्ती बाहिरको स्वास्थ्य चौकी हुनाले मान्छेको आवतजावत भने कमै हुन्छ ।

गत वर्ष विदेशी पर्यटकको एक टोली सदरमुकाम चैनपुरबाट दुर्गाथलीतर्फ लम्कियो । दुर्गाथली वडा नम्बर-५ सैनमा पुगेपछि त्यो टोली उकालो चुवाबनतर्फ लाग्यो । बीच बाटोमै टोलीका एक सदस्यलाई स्वास्थ्यमा समस्या भएपछि टोली सैनतिरै फर्कियो । नजिकैको स्वास्थ्य इकाइमा उपचार ग¥यो र दोस्रो दिन उकालो चढ्यो । लेकाली भेगको हरियालीसँगै रमाइलो गरेर टोली स्वास्थ्य चौकी पुग्यो ।

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरू बिरामीको पर्खाइमा थिए । स्वास्थ्य चौकीमा कार्यरत अहेव विकास रोकाया सम्झन्छन्, ‘टाढैबाट देखिएको हुँदा आज त बिरामीहरू आए भन्दै तयारी अवस्थामा बसेका थियौं । उनीहरू पर्यटक रहेछन् ।’ चुवाबनतर्फ हिडेको पर्यटकको टोलीले केही बेर स्वास्थ्य चौकीमै बस्यो । ‘वाउ, भेरी ब्युटिफूल प्लेस ! भन्दै तस्बिर खिच्न थाल्यो,’ उनले भने, ‘केही बेर हामी गफियौं । उनीहरूले चारैतिरबाट अग्लो तथा उज्यालो ठाउँमा स्वास्थ्य चौकी भएको हुँदा उनीहरूले त्यसलाई पर्यटनको कार्यालय राख्न सुझाव दिए ।’

विकास आफैं पनि स्वास्थ्यकर्मी हुन् । उनको घर सैन हो । सरूवा भएर स्वास्थ्य चौकीमा आएको बेला गाउँघरका बिरामीको औषधी गर्न पाइने भयो भन्दै निकै उत्साहित थिए । तर, उनको उत्साह लामो समय टिकेन । ‘सुरूमा पासआउट हुने बेलामा पूर्वतिर थिए,’ उनी भन्छन्, ‘यता स्वास्थ्य चौकीमा दरबन्दी खाली भएपछि गाउँमै आएको । यता त बिरामी शून्य रहेछन् ।’

स्वास्थ्य चौकी गाउँभन्दा टाढा भएपछि बिरामीको संख्या अति कम भएको उनको बुझाई छ । ‘हाम्रो गाउँबाट स्वास्थ्य चौकी जान उकालो १ घण्टा हिड्नुपर्छ,’ उनी भन्छन्, ‘आज त कोही बिरामी आउन सक्छन् भनेर अलि छिटै गयो, उता बिरामी न सिरामी । अनि हाजिर लगायो, अफिस कुर्यो, फर्कियो । यस्तै छ दैनिकी ।’

सैनपसेला स्वास्थ्य चौकीमा विकास जस्तै १० जना स्वास्थ्यकर्मी छन् । दरबन्दी पनि एचए, एएनएम, अहेव र कार्यालय सहयोगीसहित १० जनाकै छ । स्वास्थ्यकर्मीहरु पनि दैनिक रूपमा स्वास्थ्य चौकीमै हुन्छन् । तर, बिरामीको नाममा भने कहिलेकाँही गोठाला जानेहरूको कतै हात खुट्टामा चोट लागेपछि आउनेबाहेक अन्य बिरामीको संख्या अत्यन्तै कम भएको स्वास्थ्य निरीक्षक मनोज जप्रेल बताउँछन् ।

‘म यहाँ काम गर्न थालेको ५ वर्ष भयो,’ निरीक्षक जप्रेलले भने, ‘सुरूसुरूमा बिरामीको चाप नै हुन्थ्यो । त्यसपछि स्वास्थ्यकर्मी पनि थपिए । तर, पछिल्लो समयमा भने महिनामा १५ दिन बराबर शून्य बिरामी हुन्छन् । बाँकी १५ दिन जति दैनिक रूपमा एक÷दुई जनाभन्दा बढी बिरामी हुँदैनन् ।’ सैनपसेलाका स्वास्थ्यकर्मीहरू बिरामीको सेवा गर्न चाहन्छन् । तर, बिरामीबिहीनको स्वास्थ्य चौकी भएपछि दिनभर घाम तापेरै बस्नुपरेको छ । ‘हामी स्वास्थ्यकर्मी हौं,’ जप्रेलले भने, ‘बस्ती बाहिरको स्वास्थ्य संस्थामा बिरामी नै आउँदैनन् ।

हामीले बिरामीलाई फोन गरेर बोलाउन सकिन्न । हामीले के गर्नु ?’ बस्ती नजिक स्वास्थ्य चौकी सार्नका लागि ताकेता गर्दा पनि सम्बन्धित निकायले नसुनेको उनी बताउँछन् । उनका अनुसार स्वास्थ्य चौकीबाट नजिकको गाउँ हो सैन । सैनबाट १ घण्टा, चुवाबनबाट २ घण्टा र बाइकाट्याबाट स्वास्थ्य चौकी पुग्न ३ घण्टा समय लाग्छ । तर, बस्ती नजिक सार्न कुनै निकायले चासो नदिएको उनी बताउँछन् ।

सैनपसेला स्वास्थ्य चौकी मातहत अहिले गाउँ गाउँमा स्वास्थ्य इकाई तथा वर्थिङ सेन्टरहरु छन् । स्वास्थ्य इकाईमा २ जना र वर्थिङ सेन्टरमा १ जना कर्मचारीले गाउँ गाउँमा सानो तिनो सेवा दिएपछि बिरामीहरु स्वास्थ्य चौकीमा घटेको उनी बताउँछन् । ‘स्वास्थ्य चौकी टाढा हुँदा इमरजेन्सीका बिरामी पनि अन्यत्रै जाने गर्छन्,’ उनले भने, ‘स्वास्थ्य चौकी सबै गाउँबाट टाढा छ । उकालो पनि छ । इमरजेन्सी बिरामी सैनपसेलाभन्दा अर्को पालिकामा जान छिटो र सजिलो मान्छन् । त्यसैले यहाँ खासै बिरामी आउँदैनन् ।’

यता दुर्गाथली गाउँपालिकाका उपाध्यक्ष जनकबहादुर दौल्याल भने स्वास्थ्य चौकी बस्तीभन्दा धेरै टाढा नभएको बताउँछन् । उपाध्यक्ष दौल्यालले भने, ‘सैनबाट टाढा भए पनि उतातिरका गाउँबाट नजिकै पर्छ । पल्लो गाउँबाट बिरामीहरू पनि आउँछन् । तर, गाउँघरका बिरामीहरू जति आउनुपर्ने त्यति भने आएका छैनन् ।’ उनका अनुसार अब स्वास्थ्य चौकीको हेरफेरका लागि स्थानीयले कुरा उठाएपछि हामी पालिकाको बैठकमा कुरा राख्छौं । त्यसपछि आवश्यक निर्णय गर्ने उनले बताए ।

अर्को समाचार

आजको कार्टुन
आजको कार्टुन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै