मङ्लबार, कार्तिक २७, २०८१
Breaking News

मुलुकको जेठो पत्रकारिता

बझाङ । नेपालमा पत्रकारिताको इतिहास हेर्दा वि.सं १९४३ सालमा फर्कनुपर्छ । युवाकवि मोतीराम भट्टले काशी (बनारस) पढ्न गएको बेलामा नेपाली भाषाको पत्रिका ‘गोरखा–भारत जीवन’ प्रकाशन गरेका थिए । त्यो पत्रिका २ वर्षसम्म चल्यो । उनी नेपाल फर्किएपछि ‘मोतीमण्डली’ टिम बनाएर पत्रिकाको तयारी गरे । २०५३ सालमा भट्टको निधन भयो । त्यसपछि २०५५ सालमा मोतीमण्डलीले ‘सुधासागर’ पत्रिका प्रकाशनमा ल्यायो । तर, त्यसलाई तत्कालिन सरकारले मान्यता दिएन ।

१९५८ साल तत्कालिन बझाङी राजा जयपृथ्वीबहादुर सिंह २४ वर्षका थिए । त्यो समयमा सरकारलाई चेतना जगाउन जो कोहीले सक्दैनथे । आफ्ना नातेदार तथा भारद्वाजबाहेक राणाको नजरमा बिरलै मान्छेको मात्रै नजर पथ्र्यो । जयपृथ्वीबहादुर सिंह त्यस बेलाका अध्येता तथा लेखक राजाको नामले चिनिन्थे । नातेदार भएकै कारण राणा प्रधानमन्त्री देवशमशेरले सिंहलाई सल्लाहकारको रुपमा राखेका थिए । जयपृथ्वीले धेरै प्रयास गरेर प्रधानमन्त्री राणालाई पत्रपत्रिकाको महत्व बुझाए । राणा पत्रिका प्रकाशन गर्न राजी भएपछि १९५८ साल बैशाख २४ गते सोमबारका दिन गोरखापत्र साप्ताहिकको रुपमा प्रकाशनमा आयो ।

प्रधानमन्त्री देवशमशेरले प्रकाशन समयमा गोरखापत्रको सम्पूर्ण जिम्मेवारी जयपृथ्वीलाई नै दिए । तर, जयपृथ्वीले व्यवस्थापकीय जिम्मेवारी पण्डित नरदेव पाण्डेलाई दिन सुझाव दिए । पाण्डेले नै २ वर्ष गोरखापत्र साप्ताहिकको व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरे । वि.सं १९६० सालमा फेरि गोरखापत्रको दोस्रो व्यवस्थापकको रुपमा जयपृथ्वीबहादुरलाई नै जिम्मेवारी दिइयो । सिंहको पालामा गोरखापत्रको सम्पादकको रुपमा चिरञ्जीवी शर्मा पौड्याल थिए । १२ वर्षसम्म जयपृथ्वीले गोरखापत्र प्रकाशनलाई निरन्तरता दिए ।

गोरखापत्रमा रहँदा उनले राष्ट्रियता र जनजागरणका मुद्दा उठाइरहेपछि उनकै ससुरा अर्थात् प्रधानमन्त्री चन्द्रशमशेरले हटात् रूपमा गोरखापत्र नै बन्द गराए । जयपृथ्वी भागेर भारत गए । गोरखापत्रकाल अर्थात् प्रजातन्त्रभन्दा अगाडि दर्जनभन्दा बढी पत्रिकाहरु सञ्चालन भएका थिए । गोरखापत्र पूर्व, गोरखापत्रकाल, प्रजातन्त्रकाल , पञ्चायतकाल, बहुदलीय व्यवस्थापछिको गणतान्त्रिक व्यवस्थामा पुग्दा नेपाली पत्रकारितमा धेरै परिवर्तन भइसकेको छ । ‘नेपाली पत्रकारिताको जग जयपृथ्वीबहादुरले नै हालेका हुन्,’ इतिहासविद् तथा डोटी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन देउवाले भने, ‘सिंहले राणाहरुलाई धेरै फकाएर गोरखापत्र सञ्चालनमा ल्याएका हुन् । उनकै प्रेरणाले नेपाली पत्रकारिता आजको अवस्थामा पुगेको हो ।’

जनताको आवाज प्रकाशन हुन थालेपछि त्यस बेला गोरखापत्र नै बन्द भएको इतिहासविद् देउवा बताउँछन् । पत्रिका बन्द भएपछि जयपृथ्वी चन्द्रशमशेरका डरले भारत गए । त्यहाँबाट पनि बेलायत पुगे । कसैका आँखामा नपर्नका लागि उनले ब्रमेली पोसाक लगाएर भागेको देउवा बताउँछन् ।

यता चन्द्रशमशेरले जयपृथ्वी दाखिल गराउनेलाई पाँच हजार रूपैयाँ इनामको सार्वजनिक घोषणा गरे । तर, उनी राणाको सम्पर्कमा नआएपछि उनको तलबभत्ता बन्द गराइयो । ‘राणाले जयपृथ्वीबाट आफ्नी छोरीलाई पनि छुटाए,’ देउवाले भने, ‘राजा भइसकेपछि पनि उनको लवाईखवाई देखेर राणाहरुले खिसिटिउरी गर्थे । तर,उनी विद्धान भएको हुँदा राणाको कुराले छुँदैनथ्यो । उनी मानव जातिकै वकालतमा लागे ।’

आफ्नी छोरी छुटाएपछि चन्द्रशमशेरले कम्पनीको ८ हजार रुपैयाँ वार्षिक भत्ता तोके । त्यसपछि राणाले जयपृथ्वीको जात च्युत गरी पानी काडे । जयपृथ्वी चन्द्रशमशेरको निधनपछि मात्रै नेपाल आए ।

जयपृथ्वीले भारतको बेंग्लोर चेट्टीरोडस्थित जया भवनमा सन् १९२८ (वि.सं १९८५) मा ‘ह्युमानिस्ट क्लब’ खोले । क्लबमार्फत् सिंहले विश्वका सम्पूर्ण प्राणी र बोटबिरुवालाई माया र संरक्षण प्रदान गर्न विभिन्न चेतनामूलक कार्य गरे । क्लबको मुखपत्रका रूपमा ‘द ह्युमानिस्ट’ नामक पत्रिकासमेत प्रकाशित गरे । जसमा मानवतावादसम्बन्धी विविध विषय प्रकाशित हुन्थे । पछि सिंहले मानवतावादी क्लब खोलेर ‘ह्युमानिस्ट’ नामक अंग्रेजी पत्रिका नियमित प्रकाशन गरेका थिए ।

को हुन् जयपृथ्वीबहादुर सिंह ?

बझाङ राज्य स्थापना भए यता बझाङमा २४ जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा राजकाज चलाए । त्यसैमध्ये १८औं नम्बरका राजा हुन् जयपृथ्वीबहादुर सिंह । शक्ति सिंहले १५०३ मा स्थापना गरेको बझाङ राज्य अघोषित रुपमा ५६२ वर्षसम्म चल्यो । औपचारिक रुपमा (एकल शासन) वि.सं १८४८ सालमा राजा समुन्द्र सिंहको पालामा सकियो । अघोषित रुपमा भने २०६५ साल जेठ १५ गतेसम्म नै चल्यो ।

बझाङ राज्यका १७औं राजा विक्रमबहादुर सिंहका १४ सन्तानमध्ये पहिलो सन्तान हुन् जयपृथ्वीबहादुर । विक्रमबहादुरकी ४ रानीमध्ये जेठी रानी रुद्रकुमारीको जेठो सन्तान थिए । उनलाई प्रधानमन्त्री वीरशमशेर राणाले १६ वर्षको उमेरमा वि.सं १९४४ सालमा बझाङको राजा घोषित गरेका हुन् । १७ वर्षको उमेरमा श्री ३ चन्द्रशमशेरकी १४ वर्षीया छोरी खगेश्वरीदेवीसँग विहे भयो ।

सिंह जंगबहादुर राणाकै (छोरी) नाति भएका कारण ८ वर्षको उमेरमै काठमाडौंको दरबार हाइस्कुलमा अध्ययन गर्ने मौका पाए । राजा भएको बेलामा जयपृथ्वीले ८ जना विद्यार्थी काठमाडौंमा पढ्न पठाए । काठमाडौंको नक्सालको आफ्नै घरमा सत्यवादी पाठशाला पनि खोले । पछि सत्यवादी प्राथमिक पाठशाला बझाङमा सारे । उनले विभिन्न पाठ्यपुस्तक पनि लेखे । त्यसबेला जयपृथ्वीले नै लेखेको नेपाली भाषाको ‘अक्षरांक शिक्षा’ पठनपाठन गरिन्थ्यो । उनले ‘अक्षरमाला’, ‘पदार्थ तत्व विवेक’, ‘बालबोध भाग १’, ‘जापानको इतिहास’, ‘शारीरिक शिक्षा दर्पण’, र ‘श्रेस्ता दर्पण भाग १ र २’, ‘बालबोध’, ‘प्राकृत व्याकरण’, ‘भूगोलविद्या’, ‘मानवतावाद सम्बन्धी ३ भोल्युम’, ‘द फ्ल्याग अफ पिस’ जस्ता १८ वटा दार्शनिक पुस्तक लेखेका थिए । उनले कोलकाता गएर म्याट्रिक पास गरे । प्रयागमा आइए पढे तर, पूरा गरेनन् ।

बझाङमा जयपृथ्वीले भूमि सुधारको व्यवस्थापन गरे । उनैले नापीको व्यवस्था पनि गरे । औषधालय उनैले खोले । बझाङमा खग औषधालय र जयपृथ्वी धर्म औषधालय उनले नै स्थापना गरेका हुन् । उनले कोलकत्ताबाट समेत बझाङमा चिकित्सक ल्याएका थिए । चन्द्रशमशेरले २५ वर्षीय जयपृथ्वीलाई कोलकात्तामा वकील बनाएर समेत पठाएको इतिहासकारहरु बताउँछन् । विसं १९६५ सालमा प्रधानमन्त्री चन्द्रशमशेरसँगै उनी बेलायत पनि गए । बेलायतमा उनलाई कर्नेलको दर्जा दिइयो । साथै उनी अमेरिका र रुस भ्रमण गर्ने पहिलो नेपाली थिए । विभिन्न पुस्तकमा उल्लेखभएअनुसार उनले नक्कली भिसा लिएर जापान पुग्दा उनी पक्राउसमेत परेका थिए ।

इतिहासविद् देउवाका अनुसार जयपृथ्वी विश्वमा जति मुलुक पुगे त्यो देशमा शान्ति, मानवता र भातृत्वकै अभिवृद्धिको सन्देश मात्र दिन्थे । जयपृथ्वीले मानवतावादी संस्था खोल्ने अभियान चलाए । उनैको संरक्षकत्व एसियाका विभिन्न राष्ट्रमा मानवतावादी संघहरू पनि खुले । वि.सं १९९७ साल असोज १ गते भारतको बेंग्लोरमा जयपृथ्वी ६४ वर्षको उमेरमा स्वर्गीय भए । उनी स्वर्गीय भएपछि विदेशीहरूले दोस्रो गौतम बुद्धको नामले सम्मान नै ग¥यो । भारतबाट प्रकाशित हुने ‘अमृतबजार पत्र’ नामक पत्रिकाले ‘नेपालका दोस्रो गौतम बुद्धको निधन’ भनेर समाचार प्रकाशित गरेको उनी बताउँछन् ।

को-को थिए बझाङ राज्यका राजाहरु ?

बझाङ राज्य स्थापना भएको ५६२ वर्षमा बझाङमा २४ जनाले राजकाज चलाएका थिए । राजा शक्ति सिंहको पालामा स्थापना भएको बझाङ राज्यको राजधानी ब्यासी दरबारकोट थियो । त्यो दरबार १५०२/१५०३ मा बनेको थियो । १८४८ मा पुग्दा बझाङ राज्य बिलय भएको थियो । बझाङ राज्यको दोस्रो राजा थिए सुजान सिंह, तेस्रो भाउ सिंह, चौथो भीम सिंह, पाँचौ पृथ्वी सिंह, छैठौं जितारी सिंह, सातौं इन्द्र सिंह, आठौं दिलीप सिंह, नवौं महेन्द्र सिंह, दशौं रतनी सिंह, एघारौं कल्याण सिंह, बाह्रौं अमर सिंह र तेह्रौं राजा समुद्र सिंह भएका थिए । उनकै पालामा राज्य विलय भएको थियो । पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानसँगै बाइसे र चौबिसे राज्य नेपाल राज्यमा गाभिए । बाइसे राज्यमध्येको बझाङ पनि त्यसैमा गाभेको थियो । ‘तीमध्ये केही राज्यका राजालाई तत्कालीन श्री ५ को सरकारले रजौटाका रूपमा मान्यता दिएको थियो,’ बझाङको इतिहासका जानकार जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल भन्छन्, ‘रजौटाको मान्यता पाएका राजाको भूमिका भने केही हुन्थेन । तर, मानार्थ रजौटा राजाका रूपमा सम्मानित हुन्थे ।’

बझाङमा रजौटाको मान्यता पाएका पहिलो राजा हुन् रघुनाथ सिंह । उनी बझाङी राजाको सूचीमा १४औं राजा हुन् । १५औं गजराज सिंह, १६औं भूपेन्द्र सिंह, १७औं विक्रमबहादुर सिंह, १८औं जयपृथ्वीबहादुर सिंह, १९औं देवीजङ्गबहादुर सिंह, २०औं रामजङ्गबहादुर सिंह, २१औं ओमजङ्गबहादुर सिंह थिए । त्यसपछि २२औं नम्बरमा तत्कालिन सरकारले न्यायाधीश ईश्वरीजङ्गबहादुर सिंहलाई मानार्थ राजा बनायो । २०३० वैशाख २५ गते दीपकजङ्गबहादुर सिंहलाई २३औं राजा र पूर्वराजा ज्ञानेन्द्र शाहका भाञ्जा विनोदविक्रम सिंहलाई २४औं नम्बरमा मानार्थ राजा बनायो । उनी काठमाडौंमै बस्थे । विनोदविक्रम सिंह २०६५ जेठ १५ सम्म राजा भए । त्यसपछि पूर्णरुपमा राजसंस्थाकै अन्त्य भयो ।

नेपालमा एक जना मात्र राजा रहने संवैधानिक व्यवस्था भए पनि कानुनले ज्ञानेन्द्रसहित अन्य ६ जना राजाको अस्तित्व जोगाइराख्यो । बजालका अनुसार श्री ५ हुनलाई अन्य मानार्थ ४ जनालाई राजा राख्नुपर्ने प्राब्धान ल्याएपछि भाग्मानी सल्यानी, बझाङी, जाजरकोटे र मुस्ताङी राजाहरु अन्तिमसम्म टिके । अन्य राज्यहरु २०१७ सालमा विघटित भए पनि ज्ञानेन्द्रका भान्जा बझाङी अन्तिम राजा विनोदविक्रम सिंह र मुस्ताङी राजा झिग्मी परबल विष्ट, सल्यानी राजा गोपेन्द्रबहादुर शाह र जाजरकोटी राजा प्रकाशविक्रम शाहले मानार्थ राजाको हैसियत पाएका थिए । ०६२/६३ को जनआन्दोलनका कारण राजतन्त्रको अन्त्यसँगै मानार्थ राजाको हैसियत पाएका राजाको अन्त भएपछि नेपालमा राजतन्त्रको अवशेष समाप्त भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार