काठमाडौं । केही दिन यता बझाङका विभिन्न स्थानमा दलका कार्यकर्ताहरू माझ झडप र स्थानीय निर्वाचनमा विजयी उम्मेद्वारहरु माथि सांघातिक हमला हुनु विकृत राजनीतिको कुरूप नमुना हो । यस्ता निन्दनीय घटनाहरूको जति आलोचना गरे पनि कमै हुन्छ ।
तर, आउनुहोस् यी घटना घट्नु पछाडिका मूल कारण तर्फ ध्यान दिऔँ । हुन त यो बझाङसहित विभिन्न ठाउँमा विकृत राजनीतिक संस्कारको स्कूलिंङ स्कुलबाटै सुरु हुन्छ । विद्यालयमै गएर भातृ संगठनका सदस्यता बाँडेर, विद्यार्थीलाई जुलुसमा सामेल गराएर, विद्यालयमा राजनीति र व्यवस्थापन समितिमा हत्या सम्मका जघन्य अपराधका घटना विगतमा पनि घटेका नै हुन् ।
प्रजातन्त्र हुँदै लोकतन्त्र आयो तर बझाङमा जीवनशैली, शैक्षिक, आर्थिक अवस्था परिवर्तन आएन । राजनैतिक चेतना र लोकतान्त्रिक चरित्र विकसित भएको पनि देखिएन । आफ्नो सत्ता साँध्ने महत्त्वाकाँक्षा पूरा गर्न गाउँघरका युवालाई किताब फाल्न लगाई आफ्ना दलगत झोला भिडाउन सुदूरपश्चिममा सबै दल सफल भएका छन् किनकि युवा बेरोजगार छन्, मिडिया र प्रहरी लाचार छन् ।
देशमै रोजगारी गरी जीवन बिताउन गाह्रो भएपछि, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सुविधामा पनि उपलब्ध नभएपछि अन्य केही सीप नलागि धेरै विदेसिन बाध्य भएका छन् । केही दशकअघि ‘बुर्जुवा शिक्षा’ छाड भनेर समाजवादी खोक्रा झोला बोकेर पछि शिक्षा र रोजगारीबाट वञ्चित भएको इतिहासबाट आजका युवाले विभिन्न वाद र दलहरूका दलदलमा नपरी स्वतन्त्र उद्यम नगरी समृद्धि आउँदैन भन्ने बुझ्न जरुरी छ ।
बझाङका विद्यालयमा राजनीतिक हस्तक्षेप
बझाङका विद्यालयमै गएर कलिला विद्यार्थीलाई आफ्ना भातृ संगठनका पर्चा बाँडेर सामाजिक सञ्जालमा तस्बिर रंग्याउने मित्रहरूलाई मेरो प्रश्न यो होकि जुन संगठनका पर्चा तपाई बाँड्नु हुन्छ या जसको छाता मुनि अबोध बाल बालिकालाई जुलुस–विरोधमा उतारी रहनुभएको छ । तिनै दलका नेताका छोरा नाति या विदेशमा छन् या काठमान्डुका महँगा निजी विद्यालयमा विदेश जान चाहिने अंग्रेजी पढ्दैछन् । फेरि यी क्रियाकलापको सबैभन्दा बढी असर जनताका चेलाचेली माथि नै हो पर्ने ।
बझाङ केदारस्युँ-८ का केशवराज जोशी भन्छन्, ‘गाउँमा राजनीति, वन जंगलमा राजनीति, पानी पँधेरोमा राजनीति, घट्टमा राजनीति, स्कुलमा राजनीति, हुँदा–हुँदा देवताका मन्दिरमा पनि राजनीति ।’ उनका अनुसार स्वतन्त्र समाजको परिकल्पना गर्न गाह्रो छ ।
घर पिँडालु,
वन पिँडालु
सौरास गयो
हात लामा पिँडालु
यो विकृत राजनीतिबाट विद्या मन्दिर पनि प्रभावित भएका छन् । विकृत राजनीतिले हामीलाई पशुतुल्य बनाइ दिएको छ ।
*****
२०५१/५२ सालको मध्यावधि चुनाव ताकाको कुरा हो । हाम्रो घरमा एउटा राते कुकुर थियो । राते कांग्रेसदेखि सहँदैन थियो । ‘जय नेपाल’ सुन्यो कि भुक्न थाली हाल्थ्यो । काँग्रेसका नेता घर–दैलोमा आएकी टोक्नै जाई लाग्थ्यो । अनि ‘लाल सलाम’ कमरेड राते भनेपछि मात्रै शान्त हुन्थ्यो । यस्तो तनहुनु पर्ने । यो किन भयो भनी बुझ्दै जाँदा यसका कारण झोले कार्यकर्ता रहेछन् ।
हाम्रो गाउँका कांग्रेसका कार्यकर्ता अघि/पछि हाम्रो घरको बाटो हुँदै जाँदा रातेलाई कम्युनिष्टको पाल्तु कुत्ता भनेर ढुंगाले हान्दा रहेछन् । अब रातेले आफूलाई ढुंगाले हान्ने काला कांग्रेसका कार्यकर्तालाई कहाँ बिर्सिन्थ्यो ? अनि त्यसैगरी कम्युनिष्टका कार्यकर्ता चुनावी प्रचारमा ढालेको खसीको मासु आफैँ खाए पनि यो कमरेड कुकुर हो भनी ‘लाल सलाम’ कमरेड राते भनेर हड्डी फाल्दा रहेछन् । रातेलाई कांग्रेस र कम्युनिष्टको भेद नभए पनि लट्ठी रहड्डीको भेद त याद हुने नै भयो । अनि घर दैलोमा कांग्रेसी नेता आउँदा अघि/पछि तिनका रातेलाई ढुंगा हान्ने झोलेहरू पनि आउने नै भए । त्यसैले कांग्रेसलाई टोक्न जाइलाग्ने राते कमरेड भएको रहेछ ।
कहिले आसमा त कहिले त्रासमा । कयौँ कम्युनिष्टका कुकूर कुटिए । कांग्रेसका कुखुरा चोरिए र माओवादीका खसीबोका ढालिए । मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह जन्मेको स्थानमा केही त मानवको जस्तो चेतना देखाई हाल पन साईबौ । आफ्नो श्रीपेच धरौटी राखेर जनता पढाउने राजाबाट के शिक्षा पायौँ हामीले ?
जब अलि अलि पढेलेखेकाले नै झोलामा किताब नबोकी पार्टीका पर्चा बोक्छन् । अनि कलम समाउने हातले झण्डा उठाउँछन्, अनि कसरी उद्यममुखी बनोस् त शिक्षा ? आज स्कुलको शैक्षिक नीति निर्माण र तिनको कार्य सम्पादन, निरीक्षण गर्ने उच्च पदहरूदेखि गाउँ गाउँका विद्यालय व्यवस्थापन समिति विभिन्न दलका कार्यकर्ता भर्ती केन्द्र भएका छन् । अब फेरि गाउँघरमा समाजवाद नामको राजनैतिक हँसियाले यी दुर्गम गाउँघरका आँगनमा फक्रिँदै गरेका कलिला कोपिला नकाटौं । प्रजातान्त्रिक धारको रुखको ओझेलमा यी कलिला फूललाई ओइलाउन नदिऊँ ।
प्यारा युवा मित्र एउटा अर्ति सुनाऊँ
कसैका खेताला लागि विरोधमा जनझाऊ
मेहनती माहुरी बनी धेकाउ दुई दिने चोलामा
हात नहाल खोक्रा अरिंगालका गोलामा
न बगाऊ सुनौलो भविष्य सेती खोलामा
पार्टीका पर्चा हैन किताब बोक झोलामा
झण्डा त बेली क्रान्तिका लागि बन्दुकै उठाएका
तिमीलाई सिकाइएका भन्दा चर्का नारा लगाएका
काम धानु छाडी जुलुसका पछि धाएका
भेटिन्छन् आज भारत अतीत सम्झी पछुताएका
सबै युवा कार्यकर्तालाई अबको सवाल
मेहनती माहुरी बन्ने कि अराजक अरिंगाल ?
‘दिनभरि हँट्टो, सौरास पुग्दैन’ भने जस्तै यो विकृत राजनीतिको गोल्चक्करको कोल कति रिटाउँदा साइबौ ? तेल जति नेता खान्न तमि पिनाका लागि मारामार हर अब । चुनाव अघि भाँगोको तेल अमेरिका बेच्छु भनी फास मार्न्या नेताखी भन अब, ‘अँ दद्द मार्दा हौ । स्याल बाने भया बगड बाँझा रहँदा हुन् कि ?’ नेता खाइ बौलिँदा तमि भोकाई क्यान बौलिँदा कप्पाल फुटाई पाउन ?
फेसबुक प्रतिक्रियाहरु