नेपालका थप जलविद्युत् आयोजनाको बिजुली केही दिनभित्रै भारतमा बिक्री हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा जारी भएको ऊर्जा सहकार्यसम्बन्धी ६ बुँदे संयुक्त घोषणाअनुसार नेपालका थप जल विद्युत् आयोजनाले आफ्नो उत्पादन भारत निर्यातको अनुमति पाउने भएका हुन् ।
भारतले नेपालका आयोजनाहरुलाई आफ्नो प्रतिस्पर्धी बजारमा विद्युत् बेच्न अनुमति दिन ढिलाइ गरेपछि नेपालले पटक–पटक ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री देउवाको भारत भ्रमणमा पनि यो एजेन्डाले महत्व पाएपछि भारतले थप आयोजनाको बिजुली आफ्नो प्रतिस्पर्धी बजारमा बेच्न अनुमति दिने हमति जनाएको हो ।
नेपाल विद्युत प्राधिकरणले थप ८०० मेगावाटभन्दा बढी क्षमताको आयोजनाहरुबाट उत्पादन हुने बिजुली बेच्न भारतसँग प्रस्ताव गरेको छ । नदीमा पानी बढ्ने र पूर्ण क्षमतामा आयोजनाहरु चल्ने भएकाले वर्षाको मौसममा भारतमा बिजुली बेच्न सम्भव हुन्छ ।
फेसबुक प्रतिक्रियाहरु