विष्णु जोशी
काठमाडौं । ‘आज कक्षा ८ को मेरो विज्ञानको कक्षा तँ पढाई दे न बाबु !’
छुट्टीमा गाउँ गएको बेला आमाले भन्नुभएको थियो । आमा सुदूरको दुर्गम जिल्ला बाजुरामा विज्ञानकी शिक्षिका हुनुहुन्थ्यो । ‘तँजस्तो विज्ञानमा स्नातकोत्तर गरेको युवाले केही क्लास पढायो भने मेरा विद्यार्थी उच्च शिक्षामा विज्ञान पढ्न आकर्षित हुने छन्,’ आमाले थप्नुभएको थियो ।
मैले नी गाउँ-घरका भाइ बहिनीहरूलाई आफूले जानेको कुरा पढाउन सहमति जनाए । त्यो दिनको पाठ ‘मेरुदण्ड नभएका जीवहरूको वर्गीकरण’ रहेछ ।
भूपरिवेष्ठित देशका दुर्गम गाउँका विद्यार्थीलाई समुन्द्रको पिँधमा पाइने ‘स्टार फिस’ र ‘सी-अर्चिन’ जस्ता ‘एकीनोडरमाटा’ प्रजातिका जीवहरूका गुण-विशेषताहरूको वर्णन गर्न निकै कठिन भयो । यसो फोटो, भिडियो देखाऊ भने न इन्टरनेट छ न कम्प्युटर नै ।
कालो पाटीमा स्टार फिसको चित्र कोर्दा यो तारा जस्तै चम्किन्छ र सर ? विद्यार्थी प्रश्न गर्छन् । पाँच कुना यसका खुट्टा हुन् कि हातका औँला सर ? प्रश्न थप्छन् । केही बेर मैले धैर्यताका साथ सबै बखान गरेँ । तर, कसैले खासै बुझे जस्तो लागेन । बुझुन् पनि कसरी ? कहिल्यै नदेखेको, नसुनेको कुरो ।
त्यो दिन मलाई महसुस भयो कि हाम्रो पाठ्यक्रम कति असान्दर्भिक र अमौलिक छ ! त्यो पाठ्यक्रम पक्कै भारतको माध्यमिक शिक्षाका किताबहरूबाट साभार गरिएको हुनुपर्छ । कमसेकम पाठ्यक्रम विकास गर्नेले आवश्यक उपयुक्त शैक्षिक सामग्री त राख्दिनुपर्ने । नत्र त विद्यार्थीहरूलाई विज्ञान कक्षा ‘गरुड पुराण’ सुनाएझैँ लाग्दो हो ।
हाम्रो पाठ्यक्रम समयानुसार परिमार्जित पनि छैनन् । जीव विज्ञानमा विश्वमा आज नवीनतम क्रिस्पर क्यास जस्ता वंशाणुगत गुण निर्धारक सम्पादन प्रविधि (जिन एडिटिंग टुल) र आरएनए अनुक्रमण (सिक़ुएन्सिंग)को प्रयोगात्मक पठन-पाठन हुँदै गर्दा हामी गँड्यौला चिर्न र भ्यागुतो र खरायोका हड्डी गन्नै व्यस्त छौं । कम्प्युटर शिक्षामा आर र पाइथन प्रोग्रामिंङ सिकाई रहेको बेलामा हामी आफ्ना विद्यार्थीहरूलाई चार्लस् ब्याबेजको जीवनी घोकाई रहेका छौं । हाम्रा स्कुल, कलेजमा विज्ञान हैन विज्ञानको इतिहास पढाइन्छ । अनि कसरी हुन्छ शिक्षा व्यावहारिक र परिमार्जित ?
माटो सुहाउँदो शैक्षिक सुधारका प्रयासका चर्चा गर्दा टिच फर नेपाल (TFN) ले विभिन्न विधामा दक्षता राख्ने युवाहरूलाई प्रशिक्षण र शैक्षिक सामग्री वितरण गर्नुका साथै सरकारी र सामुदायिक विद्यालयहरूमा केही हदसम्म अंग्रेजी, गणित र विज्ञान शिक्षाको गुणस्तर उकास्न सफल भएको छ । नेपालको माटो सुहाउँदो गुणस्तरीय शिक्षा प्रणाली लागू गर्न के-के आवश्यक छ त ? पहिलो कुरा हामीले हाम्रा उच्च शिक्षा संयन्त्र किन उद्यमशीलता हुन सकेन भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्यो ।
दोस्रो शिक्षा प्रणालीलाई गुणस्तरीय र उद्यमशीलता बनाउन पूर्वाधार, सञ्जाल र संरचना निर्माणमा युवा पुस्ताले जुट्नु पर्यो । देशमा गुणस्तरीय शिक्षा प्रणालीको विकास, उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना गर्न व्यक्तिगत, सामूहिक प्रयासका साथै सक्षम नेतृत्वको पनि आवश्यकता पर्दछ ।
उच्च शिक्षा संयन्त्र किन उद्यमशीलता हुन सकेनन् ?
मैले बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, काठमाडौं, भारत हुँदै अमेरिकासम्म प्राथमिक तहदेखि स्नातकोत्तर गरिरहेका विद्यार्थीहरूलाई अंग्रेजी, गणित र विज्ञान पढाएको छु । रोजगारी सिर्जना र उद्यमशीलतासम्बन्धी गोष्ठी, सम्मेलनहरूमा सहभागी हुनुका साथै ग्रामीण उद्यमशीलता प्रवर्द्धन समूहहरूमा प्रत्यक्ष रूपमा सहभागी भई केही कृषि तथा ग्रामीण साना उद्योग-धन्दा स्थापित गर्न प्रयासरत छु । मेरो शिक्षा, रोजगारी सिर्जना र उद्यमशीलताको प्रवर्द्धन क्षेत्रको लामो समयको व्यक्तिगत अनुभवको आधारमा नेपाल र विकसित देशको शिक्षा प्रणालीमा के तात्त्विक भिन्नता छ ? हाम्रो शिक्षा संयन्त्र किन गुणस्तरीय र उद्यमशीलता हुन सकेन त ? भन्ने विषयमा समीक्षा गर्न चाहेँ ।
विकसित देशहरूमा खास गरी युरोप र अमेरिकामा स्वतन्त्रता, स्व-अध्ययन र प्रयोगात्मक शिक्षणलाई प्रवर्द्धन गरिन्छ । क्रियाकलाप, स्थलगत भ्रमण र समस्या समाधान जस्ता पठन-पाठनका विधिमा जोड दिइन्छ । विद्यार्थीहरूलाई कुनै जवाफ उत्तरलाई सही-गलतको श्याम या श्वेत द्वैत उत्तर खोज्ने संकीर्ण मानसिकताबाट मुक्त गरिन्छ । मौलिक, स्वच्छन्द र आफ्नै शब्दमा उत्तर लेख्न प्रेरित गरिन्छ ।
अमेरिकामा कुनै विद्यार्थीको उत्तर ३० प्रतिशत हुबहु भए वा अन्य कुनै प्रकाशित लेखहरूसँग मिल्न गए त्यसलाई बदर गरिन्छ । शिक्षा र सीप आर्जनको यात्रामा लक्ष्य एउटै भए पनि बाटाहरू फरक हुन सक्छन् ।
त्यसैले ‘तिमी आफ्नै बाटो चुनेर लक्ष्य प्राप्ति गर ।’ यस्तो प्रवृत्तिले रचनात्मक, सिर्जनशीलता र मौलिकताको प्रवर्द्धन गर्छ । यसको विपरित नेपालमा धेरै शिक्षक, प्राध्यापक आफ्ना १० वर्ष अघिको टिपोट (नोट) बाट कालो-सेतो पाटीमा उत्तर लेख्छन् र हुबहु सार्ने र त्यही उत्तर लेख्नेलाई अब्बल नम्बर दिइन्छ । यस्तो अर्काको बनी बनाऊ उत्तरलाई घोकेर हुबहु उत्तर पुस्तिकामा उतार्ने प्रवृत्तिले मौलिकतालाई निरुत्साहित गर्छ । यसको दूरगामी असर उद्यमशीलतामा पर्छ । यसले पराश्रित हुने प्रवृत्तिको प्रवर्द्धन गर्छ ।
यसले आफैं उद्यमशीलतामा (अवसरको पहिचान र सदुपयोग) गर्नुको साटो कसैले दिएको नोकरी (जागिर) खोज्ने प्रवृत्ति प्रतिस्थापित हुन्छ । आफैं गर्न सक्छु भन्ने आत्मविश्वासमा ह्रास आउँछ । यसको फलस्वरूप आज वैदेशिक रोजगारको लागि जानेलाई जसले पनि ऋण दिने तर, आफ्नै गाउँ-ठाउँमा केही उद्यम (फर्म) खोल्छु भन्नेलाई लगानीकर्ता भेट्न गाह्रो पर्छ । त्यस्तै विदेश जाने युवालाई धेरै आफ्नो छोरी-बहिनी दिन तैयार हुन्छन् तर, आफ्नै गाउँघरमा गरी खान्छु भन्ने ऊर्जावान् युवा हाँसोको पात्र बन्छ ।
त्यसैले त आज नेपालको लाखौंको संख्यामा दक्ष जनशक्ति विदेशमा छ । हुन पनि किन नहोस् त नेपालमा अनुसन्धान गर्ने न प्रयोगशाला छन् न त्यस्ता अनुसन्धानका निष्कर्षलाई प्रविधि बनाई प्रयोगमा ल्याउनका लागि कम्पनी नै छन् । त्यसैले अहिले पहाडका मान्छे तराई झर्न चाहन्छन् । तराईका काठमाडौं चढ्न चाहन्छन् भने काठमाडौंका विदेश उड्न चाहन्छन् । यो दक्ष जनशक्ति पलायन रोक्न केही दिगो योजनाहरू बनाई तिनको कार्यान्वयन गर्नु आवश्यक छ ।
देशको झन्डै एक तिहाइ जनसंख्या र दक्ष युवा शक्ति आज विदेशमा छ । यदि हाम्रो एक तिहाइ अर्थतन्त्र विदेशबाट विप्रेषित पुँजीबाट चल्छ भने अब हामीले यी युवाबाट शिक्षा र उद्यमशीलता प्रवर्द्धनमा लगानी र सहकार्य गर्ने सञ्जाल निर्माण गर्नैपर्छ ।
प्रयोगशाला तथा उद्यमशीलता केन्द्र स्थापित गर्न चुनौती
नेपालमा प्रयोगशाला, उद्यमशीलता केन्द्र र कम्पनीहरू स्थापित गर्न केही चुनौतीहरू छन् । पहिलो कुरा त भौतिक संरचनाहरू पर्याप्त नहुनु हो । दोस्रो दक्ष जनशक्तिको अभाव । हामी दृढ-संकल्पित र सम्बन्धित क्षेत्रका विज्ञहरूसँग सम्पर्कमा छौं भने त्यस्तो कम्पनी बनाउन चाहिने संरचना र प्राविधिक हाम्रै छिमेकमा छन् ।
चीन सरकारले १९९० र २००० का दशकमा ‘ब्रेन सर्कुलेशन’ कार्यक्रमअन्तर्गत प्रवासी चाइनीज मूलका विज्ञहरूलाई चीनको आधुनिकीकरण गर्न प्रोत्साहन गर्ने प्याकेजहरू ल्यायो । हालै भारतको विज्ञान और प्रौद्योगिकी विभाग (DST) ले विदेशका प्रतिष्ठित प्रयोगशालाबाट भारत फर्की त्यस्तै अनुसन्धान अघि बढाए महिनाको $१०,००० सम्मको सहयोग गर्ने घोषणा गरेको छ ।
छिमेकमा सबै विकासका कामहरू भइसकेको अवस्थामा नेपालमा पनि स्थानीय, प्रादेशिक र संघीय सरकारको सहयोगको खाँचो छ । अब शिक्षा प्रणालीलाई गुणस्तरीय र उद्यमशीलता बनाउन पूर्वाधार, सञ्जाल र संरचना निर्माणमा देश विदेशमा छरिएर बसेका सबै नेपाली जुट्नु पर्यो । हरेक प्रदेशमा कम्तीमा एउटा वैज्ञानिक अनुसन्धान तथा प्रविधि प्रवर्द्धन केन्द्र खोल्न संघीय र प्रादेशिक सरकारहरूले गुरुयोजना बनाउनुपर्छ । त्यसपछि त्यस्ता स्थानीय वैज्ञानिक अनुसन्धान तथा प्रविधि प्रवर्द्धन केन्द्रहरू सञ्चालन गर्न आवश्यकपर्ने नेपाली मूलका दक्ष जनशक्ति लाई क्षमताका आधारमा खुल्ला प्रतिस्पर्धाबाट चयन गर्नुपर्छ । यसो भए मात्रै सन्तुलित र विकेन्द्रित विकास सम्भव छ । युरोपमा भएका केही अनुसन्धानहरूले वैज्ञानिकहरू आ-आफ्नै जन्मभूमिमा गई प्रयोगहरू गरे । झनै मौलिक, व्यवहारिक र समाजसेवामुखी विज्ञान तथा प्राविधिक विकास हुने तथ्य उजागर गरेका छन् ।
शिक्षा प्रणाली गुणस्तरीय बनाउन पूर्वाधार र सञ्जाल
हामीले पनि स्थानीय क्षेत्रको आम जन-जीवनमा प्रत्यक्ष असर गर्ने खालको विज्ञान र प्रविधिको त्यही क्षेत्रमा विकास गर्नु आवश्यक छ । उदाहरणको लागि जुम्लामा त्यहीको स्याउ खेती, भण्डारण र जुस प्रशोधनसम्बन्धी अनुसन्धान र प्राविधिक विकासमा जोड दिनुपर्यो भने इलाममा चियासम्बन्धी या कर्णाली, खप्तडमा जडीबुटीसम्बन्धी । यसो गरेदेखि अरू देशका शैक्षिक संस्था र अनुसन्धान केन्द्रहरूसँग सहकार्यका बाटा खुल्छन् । पर्यटनको प्रवर्द्धन हुन्छ ।
मुस्ताङमा वायु-ऊर्जाको सम्भावना तथा हिमाल पारीबाट बादलले नछेक्ने हुँदा ठूला दूर-दर्शक यन्त्रहरू जडान भई खगोल र अन्तरिक्षको अध्ययन गर्ने केन्द्रहरू स्थापित हुन सक्छन् । बिस्तारै यस्ता विज्ञान अनुसन्धान केन्द्र वरिपरि नवीन साना उद्योग खुल्छन् र स्थानीय विकास र अर्थतन्त्र दिगो र नवीकरणीय हुँदै जान्छ ।
अब हाम्रो गाउँघरमा जे परिवर्तन हेर्न चाहन्छौं, हामीले आफैं त्यो परिवर्तनको उदाहरण भएर देखाउने बेला आयो । यहाँनेर गाउँ ठाउँमा स्थानीय युवालाई सीप र प्रविधि प्रवर्द्धन गर्न प्रयासरत देश विदेशमा छरिएर बसेका नेपालीहरूको चर्चा गर्दा अमेरिकाको मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक र स्टार स्कलरस् नेटवर्कका निर्देशक उत्तम गाउँलेका प्रयासहरूको चर्चा गर्न चाहेँ ।
उत्तम गाउँले भन्नुहुन्छ, ‘स्टार स्कलरस् नेपालजस्ता विकासोन्मुख देशका युवालाई प्राविधिक र व्यावसायिक प्रशिक्षण प्रदान गरी उद्यमशीलता प्रवर्द्धन गर्छ । यसबाहेक अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गरी हाम्रो सञ्जालले विकासोन्मुख देशहरूका उच्च शिक्षाका संस्थानहरूसँग सहकार्य गर्छ । हामी सरकार र दातृ संस्थाहरूसँग ग्रामीण युवाहरूलाई दक्ष बनाउन र नवीन उद्योग व्यवसाय सुरु गर्ने वातावरण निर्माण गर्न आग्रह गर्दर्छौं ।’
शिक्षाको गुणस्तर सुधारको खाका
गाउँमा गाउँमा उद्यममुखी शिक्षा, नै अब समृद्ध नेपालको पहिलो परीक्षा हो । स्कुल शिक्षामा ठोस सुधारका कुरा गर्दा ग्रामीण भेगका विद्यालयहरूमा पुस्तक, पाठ्यसामग्री, सेतोपाटीका साथै प्रोजेक्ट र कम्प्युटरजस्ता आधुनिक उपकरणहरूका साथै इन्टरनेट पुर्याउनु एउटा मुख्य आधारभूत र व्यवहारिक कदम हो ।
क्यालिफोर्नियास्थित गैर-लाभकारी संगठन लुमाद्वारा सञ्चालित एउटा परियोजनामा बिना इन्टरनेट र बिजुली (सोलारबाट) खुला स्रोत सफ्टवेयर र प्रोजेक्टरको माध्यमले अन्तरक्रियात्मक तरिकाले पाठ्यक्रम र शिक्षण सामग्री प्रदान गर्ने प्रविधि विकसित हुँदैछ । यूनिभर्सिटी अफ क्यालिफोर्नियाको शल्यक्रिया विभागका प्राध्यापक तथा गैर-आवासीय नेपाली संघ अमेरिकाअन्तर्गत साइ-टेक इनोभेसन एन्ड नलेज ट्रान्स्फर कमिटीका अदक्ष डा. तारा सिग्देलजी गण्डकी प्रदेशसँग सहकार्य गरी यस्ता उपकरण गाउँका विद्यालयहरूमा स्थापित गर्न पहल गर्नका साथै सम्बन्धित निकायलाई यसमा पहल गर्न आग्रह गर्नुहुन्छ । डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र (नेशनल इनोभेसन सेन्टर-NIC) ले पनि यस्ता उपकरणहरूको थोक उत्पादन गर्ने सोच बनाई परीक्षण निर्माण (प्रोटोटाइप) बनाएको छ ।
स्कुल शिक्षाको गुणस्तर सुधारको कुरा गर्दा टिच फर नेपाल (TFN) र राष्ट्रिय आविष्कार केन्द्र (NIC) जस्ता संस्थाहरूको स्थानीय, प्रदेश र संघीय सरकारसँग सहकार्य हुन सके स्कुल शिक्षाको गुणस्तर सुधारको खाका कोरिन मद्दत मिल्ने थियो । प्राविधिक शिक्षा र दक्ष जनशक्तिलाई सँगै ल्याउने प्रसंगमा क्यालिफोर्निया विश्वविद्यालयका शल्यक्रिया विभागका प्राध्यापक तथा डा. तारा सिग्देलले आफूलाई नेपालबाट सल्लाह र प्राविधिक सहयोगका लागि धेरै अनुरोध आएको र यसलाई अझैँ प्रभावकारी बनाउन नेपाली मूलका वैज्ञानिक हरूको सञ्जालको आवश्यकता भएको औँल्याउँछन् ।
डा. सिग्देल भन्छन्, ‘मूलतः हामीले विदेशबाट आर्जन गरेको सीप र ज्ञान आफ्नो जन्मेको भूमिलाई सहयोग गर्ने भनेको पश्चिममा उपलब्ध ज्ञान र सीप नेपालका केन्द्रीय तथा प्रादेशिक सरकारहरू सँगको सहकार्यमा नेपालका विद्यालय तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीसम्म पुर्याउनु हो ।’ यस्तै विचार राख्ने नेपाल फर्किन चाहने र फर्किसकेका साथीहरू मिलेर नेपालमा के-के गर्न सकिन्छ भन्ने विषयमा विचार-विमर्ष र सहकार्य गर्न केही वर्ष अघि नेपाल फर्कौं महाअभियान सुरु भएको थियो ।
नेपाल फर्कौं महाअभियानले नियमित भेटघाट र छलफल गरी देश विदेशमा बस्ने नेपालीको अध्ययन र व्यवसायबाट आर्जित विज्ञता, प्राविधिक ज्ञान र अन्तर्राष्ट्रिय अनुभवलाई नेपालकै लागि सदुपयोग गरी नेपालका युवालाई उच्च-शिक्षा र सीप प्रदान गर्न, साधन-स्रोत जुटाउन र प्रशिक्षण दिन निरी (Nexus Institute for Research and Innovation, NIRI) नामक संस्थाको स्थापना गरेको छ । निरी अनुसन्धानका विभिन्न विधामा अघि बढ्दै छ ।
निरीका संस्थापक सदस्यहरू अनुसन्धानका विभिन्न विधामा विश्वका शीर्ष विश्वविद्यालयबाट योग्यता हासिल गर्नुका साथै कृषि, स्वास्थ्य, औषधि विज्ञान, सूचना-प्रविधि, सामाजिक विज्ञान, तथ्यांक-शास्त्र र उद्यमशीलता जस्ता विभिन्न क्षेत्रहरूमा अनुसन्धान, नवप्रवर्द्धन र पेसागत सीप र अनुभव प्राप्त गरेका छन् ।
निरीका अध्यक्ष तथा नेपाल फर्कौं महाअभियानका प्रमुख अभियन्ता डा. राजेन्द्र पंगेनी भन्छन्, ‘हामीले हाम्रो पेसा, व्यवसाय र विज्ञताबाट आर्जन गरेको सिप र अन्तर्राष्ट्रिय अनुभवलाई नेपालकै लागि सदुपयोग गर्न केही संस्थागत काम सुरु गर्नुपर्छ ।’ बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा श्वासप्रश्वास महामारी विज्ञानको अनुभव सँगालेर हाल बेलायतकै कोभेन्ट्री विश्व विद्यालयको स्वास्थ्य सेवामा कार्यरत डा. ओम कुर्मीले आफूसँग अनुसन्धान गर्न प्राप्त केही अनुदान र योजना रहेको र अरू समान विचार भएका साथीहरू जुटे विभिन्न दात्री निकायहरूमा प्रस्तावहरू लेख्न सकिने बताउँछन् ।
पूर्वाधार र जनशक्तिको प्रशंग चल्दै गर्दा सुदूरपश्चिम घर भई हाल वासिंटनडीसी बस्दै आएका डा. हेमराज ढकाल सुदूरपश्चिम नेपालका युवा रोजगारी खोज्दै भारत पस्ने क्रम नरोकिएको देख्दा आफूलाई साधन, स्रोत र दक्ष जनशक्तिलाई सँगै ल्याई उद्यमशीलता केन्द्र बनाउने ठूलो धोको रहेको बताउँछन् ।
नेपाल फर्कौं अभियान र निरीजस्ता संस्थाले खोलेको सम्भावना
बिनिशा श्रेष्ठ, हेमराज ढकाल र राजेन्द्रप्रसाद पंगेनीजस्ता युवा नेपाल फर्कौं महाअभियानमा सक्रिय छन् । उनीहरू अभियानको वेबसाइट तयार गरेर फर्कन चाहनेहरूको योग्यतालाई लक्षित गरी टिम निर्माण, सम्पर्क विस्तार, सामूहिक लगानी तथा परामर्शमार्फत् नेपाल फर्किन चाहने र फर्की सकेकाको लागि उत्प्रेरणाको काम गर्दै आएका छन् । म नेपाल फर्कौं अभियानको विस्तृत सम्भावना देख्छु ।
अमेरिकाको झण्डै दश बर्से बसाई बिट मारेर नेपाल फर्केकी बिनिशा श्रेष्ठ भन्छिन्, ‘विदेश पठाउने सयौं संघ संस्था छन् । तर, नेपाल फर्की आफ्नै देशमा केही गरौं भन्ने चाहना भएका नेपालीलाई फेरि नेपालमै स्थापित हुन सहयोग गर्ने, उनीहरूका अधिकार सुरक्षित गर्ने, उद्योग-व्यवसाय दर्ताको प्रक्रिया सहज बनाउन मद्दत गर्ने संस्थाको रूपमा नेपाल फर्कौँ महाअभियानलाई विकसित गर्दै लैजाने हाम्रो लक्ष्य हो ।
अर्का अभियन्ता राजेन्द्र पंगेनी भन्छन्, ‘हामीले विदेशमा रहेको भौतिक र व्यक्तिगत केही सुविधा त्यागेर आफ्नै देश फर्केर सामूहिक योगदान दिन सकेनौं भने विदेशमै जन्मे हुर्केका हाम्रा सन्ततिको पुस्ताले हाम्रो देश बनाउने कुरा झनै अकल्पनीय हो । आफ्नो गाउँ-ठाउँ र देशका लागि हामीले यति योगदान नगर्दासम्म मुलुक बन्न मुस्किल नै हुन्छ । यसको लागि आफ्ना गाउँबाट विदेसिएका व्यक्तिहरूले सामाजिक सञ्जालको सदुपयोग गरेर एउटा सञ्जाल निर्माण गरौं । गाउँमै गएर केही गर्ने वातावरण निर्माण गरौं ।’
देश-विदेशको सहकार्य, नेपालमा अब अनिवार्य
कतिलाई लाग्ला हाम्रो जीवन चलेकै छ । हामी किन टाउको दुखाउने ? तर, के हाम्रो आफ्नो देशप्रति दायित्व छैन ? विदेशको बसाई दुई चार पैसा कमाई महँगा गाडी र फोनहरू किनी, देश विदेश घुमेका सेल्फी र लाइभ भिडियोहरू सामाजिक सञ्जालमा हाली, आफ्नै बखान गरी, लाइक र कमेन्ट गन्दै बस्नका लागि मात्रै हो ? नेपालीहरू जहाँ भए पनि मन नेपाली नै हुन्छ ।
भौतिक रूपमा सबै जना नेपाल फर्किन नसके/नचाहे पनि आज विदेशमा रहेका लाखौं नेपाली मनहरू आफ्नो क्षमता र दक्षतालाई प्रयोग गरी नेपालमै केही तालिम केन्द्र, उद्योग-व्यवसाय खोल्ने इच्छा व्यक्त गर्छन् । उनीहरूसँग विज्ञता, साधन, स्रोत छ । तर, आफ्नै गाउँ-ठाउँमा त्यो विज्ञता परिचालन गर्न स्थान र सञ्जाल छैन । अर्कोतिर गाउँ-घरमै केही गर्न चाहने युवा मित्रहरू छन् । जोसँग समय र जोस-जाँगर त छ । तर, अवसर अनि साधन-स्रोत छैन ।
यदि आफ्नो गाउँ ठाउँ आफ्नै पुस्तामा समृद्ध बनाउने साझा सपना बोकेका सबै युवाहरू हातेमालो गरी अघि बढ्ने चौतारी र सञ्जाल बनाउन पाए हाम्रो स्थानीय शैक्षिक, आर्थिक र सीपमूलक विकास दिगो हुन सक्छ । अब परदेशिएका युवा साथीले विदेशमा कमाएको पुँजीलाई आ-आफ्नै गाउँ ठाउँमा विप्रेषण मात्र नगरी गाउँमै भएका युवालाई रोजगारीसमेत सिर्जना गरी लगानी गर्ने वातावरण आवश्यक छ ।
सबै युवा मिलेर नेपालमा विज्ञान तथा प्रविधिको आधारभूत शिक्षा प्रदान गर्न ढिलो भइसकेको छ । अहिले प्रवासका नेपाली मूलका सबै वैज्ञानिकहरू एकजुट हुने बेला हो । द्रुत विकासका लागि आर्थिक नीतिहरू समय सापेक्ष र युवामुखी हुनुपर्दछ । दृढ-संकल्पित र सम्बन्धित क्षेत्रका विज्ञहरूसहित प्राविधिक जनशक्तिसँग सहकार्य गरे यस्ता संरचना, संस्थान बनाएर दिगो योजना बनाउन सजिलो हुने देखिन्छ ।
निरीका संस्थापक सदस्यहरूको बुझाइ पनि सबै युवाहरूले हातेमालो गरी सञ्जाल बनाएर देशमा शैक्षिक, आर्थिक र सीपमूलक विकास दिगो हुन सक्छ भन्ने नै छ ।
दातृ संस्थाहरूमाझ प्रस्तावहरू लेखौं, दक्ष जनशक्तिसँगै पुँजी र प्रविधि भित्र्याऔं । आउनुहोस् प्रवासका नेपाली मूलका सबै वैज्ञानिकहरू एकजुट होऔं । सामूहिक प्रयासबाट आज हामीले गरेको योगदानले विज्ञान प्रविधि विकास र नवीनतम उद्योगहरूको स्थापना भई स्थानीय अर्थतन्त्र बलियो, दिगो र नवीकरणीय बनाउन मद्दत गर्यो भने भोलि हाम्रा भाइबहिनी, छोरा नातिले आफ्नो गाउँ ठाउँ छोडी विदेसिनुपर्ने बाध्यता कम हुनेछ । अब त्यो सम्भावनाको ढोका नेपाल फर्कौं महाअभियान र निरीले खोलेको छ ।
आऊ नेपाली आऊ, एकजुट भएर नेपाल बनाउन आऊ
खुकुरी, बन्दुक धेरै भिर्यौं अब कलम औजार समाऊ !
यो लेख निरीका सदस्यहरूसँग, भएका साक्षात्कार र छलफलहरूका आधारमा तयार पारिएको हो । अहिले निरीले हरेक महिना विभिन्न विधामा रहेका अनुसन्धानकर्ता, लेखक तथा ख्याति कमाएका व्यक्तित्वहरूलाई ‘गेस्ट स्पिकर’ को रूपमा बोलाएर वेबिनार गरिरहेको छ ।
यो सबै निरीको आफ्नै फेसबुक पेजबाट पनि हेर्न सकिन्छ । विस्तृत विवरणहरूको लागि [email protected] को रूपमा सम्पर्क गर्न वा वेबसाइट www.nirinepal.org मा जान सक्नुहुन्छ। त्यस्तै, नेपाल फर्कौँ महाअभियान बारे बुझ्न https://www.nepalfarkaun.org मा हेर्न सकिन्छ।
(लेखक जोशी तेस्रो ध्रुव डटकमका कार्यकारी निर्देशक हुन् । उनी अहिले अमेरिकाको युनिभर्सिटी अफ म्यासाचुसेट्समा रसायन शास्त्रमा विद्यावारिधि गर्दैछन् । उनी नेपाल फर्कौं महाअभियानका अभियन्ता र निरीका संस्थापक सदस्य पनि हुन्।)
Twitter: @BishnuJoshi999
फेसबुक प्रतिक्रियाहरु