झन्डै एक दशक अघि नेपालमा युवाहरूलाई राजनीतिमा आकर्षित गर्न वैकल्पिक राजनीतिको जग बसाएका थिए स्व. उज्ज्वल थापाले । सामाजिक अभियन्ता र उद्यमीसमेत रहेका थापा विवेकशील नेपाली दलमार्फत् देशभरका सबै युवाहरूलाई विवेकी बनाउन चाहन्थे । उनी रहँदासम्म भ्रष्ट्राचार र विकृत राजनीतिको थापाले सधैँ रचनात्मक विरोध र खबरदारी गरिरहे । उज्ज्वल थापाद्वारा प्रशिक्षित युवा आज विभिन्न स्वतन्त्र र वैकल्पिक दल/अभियानहरूमा सक्रिय छन् ।
स्व. उज्ज्वल थापाका युवालाई दलको विकृत राजनीति त्यागी विवेकशील समाज र शिक्षा सुधारका एजेन्डाहरूको झल्को दिने गरी अहिले त्रिवि केन्द्रीय विश्वविद्यालयको विद्यार्थी राजनीतिमा होमिएका छन् बझाङका उज्ज्वल खड्का । सुदूरपश्चिमको बझाङ जिल्लामा जन्मिएका खड्का हाल राजनीतिशास्त्र केन्द्रीय विभागका विद्यार्थी हुन् । उनी त्रिवि केन्द्रीय क्याम्पसको आसन्न निर्वाचनमा स्वतन्त्र तर्फका अध्यक्षका उम्मेद्वार छन् ।
बझाङीमा एउटा उखान छ, ‘एक पैसाको उपती नाइँ, दश पैसाको खती !’ अहिले बझाङलगायत देशभरि नै विश्वविद्यालयका विभिन्न क्याम्पसहरूमा तरुण दल, युवा संघ आदि नाममा भातृ संगठनहरूको नाममा हुने विकृत राजनीति यस्तै छ । समाजवादउन्मुख संविधान भएको देशमा शिक्षामा हुनुपर्ने लगानी त छैन नै, भएको लगानी पनि खराब व्यवस्थापनले सोचेजस्तो परिणाम दिन सकेको छैन । दुर्गम गाउँका जनताका छोराछोरीको बलिदानले व्यवस्था त बदलियो । प्रजातन्त्र लोकतन्त्रमा परिमार्जित भयो, समाजवादउन्मुख संविधान पनि बन्यो । तर, जसको नाममा त्यो सङ्घर्ष गरिएको थियो त्यो वर्गको जीवनशैली शैक्षिक, आर्थिक अवस्था परिवर्तन आएन । देशमै रोजगारी गरी जीवन बिताउन गाह्रो भएपछि, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सुविधामा पनि दलाल पुँजीवाद हाबी भएपछि अन्य केही सीप नलागी विदेशिन बाध्य भएका छन् ।
क्याम्पसहरूमा राजनैतिक हस्तक्षेप
मैले बझाङ, बाजुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर, काठमाडौँ, भारत हुँदै अमेरिकासम्म प्राथमिक तहदेखि स्नातकोत्तर र विद्यावारिधि गरिरहेका विद्यार्थीहरूलाई अङ्ग्रेजी, गणित र विज्ञान पढाएको छु। विदेशमा विद्यार्थीहरूको हक हितमा काम गर्ने स्वतन्त्र विद्यार्थी युनियन/असोसियसन त हुन्छन् तर युवा विद्यार्थीहरू नेपालबाहेक कतै दलका भातृ सङ्गठनका पर्चा बोकी हिँड्दैनन् । विश्वविद्यालयका विभिन्न क्याम्पसहरूमा गएर युवालाई आफ्ना भातृ सङ्गठनका पर्चा बाँडेर सामाजिक सञ्जालमा तस्बिर रंग्याउने मित्रहरूलाई मेरो प्रश्न यो हो कि जुन सङ्गठनका पर्चा तपाई बाँड्नु हुन्छ या जसको छाता मुनि युवालाई जुलुस-विरोधमा उतारी रहनुभएको छ, तिनै दलका नेताका छोरा नाति या विदेशमा छन् या काठमान्डुका महँगा निजी क्याम्पसमा विदेश जान चाहिने अङ्ग्रेजी पढ्दै छन् ! फेरि यी क्रियाकलापको सबैभन्दा बढी असर दुर्गम जनताका चेला-चेली माथि नै हो पर्ने !
शिक्षा मन्त्रालय शैक्षिक नीति निर्माण र तिनको कार्यसम्पादन, निरीक्षण गर्ने उच्च पदहरूदेखि विभागीय प्रमुखसम्मको चयन दलको सदस्यता र संलग्नता हेरेर हुँदै आएको छ। दलभित्रका गुट–उपगुटहरूका स्वार्थ समूहहरू धर्ना-हड्तालदेखि महिनौँसम्म तालाबन्दी गर्नेजस्ता गैर प्राज्ञिक र अमर्यादित गतिविधिमा तल्लीन छन् । नारा फरक भए पनि समान प्रवृत्ति भएका दलका प्रत्यक्ष/परोक्ष कार्यकर्ताहरू विश्वविद्यालयका समस्याका स्रोत रहँदै आएका छन् । दलीय विद्यार्थी संगठटनहरू तोडफोड गर्ने, टायर बाल्नेदेखि अरू स्वतन्त्र या अन्य दल या गुटका सदस्यहरू माथि साङ्घातिक आक्रमण नै गर्ने जस्ता अराजनैतिक र अराजक गतिविधिहरूले दिनानुदिन दिन अप्रासङ्गिक हुँदै गएका छन् ।
यो निराशा र विकृत दलीय राजनीतिको चक्र तोड्ने सङ्कल्पका साथ “त्रिविलाई राजनैतिक हस्तक्षेप मुक्त गरौँ ” भन्ने मूल नाराका साथ स्वतन्त्र तर्फका अध्यक्षका उम्मेद्वार उज्जवल खड्का अन्य पदहरूमा स्वतन्त्र उम्मेद्वारी दिएका अन्य युवाहरू सँग प्यानल बनाएरै मैदानमा छन् ।
उज्जवल खड्काका स्वतन्त्र उम्मेद्वारी दिएका प्यानलका केही फरक एजेन्डाहरूले अहिले नेपालको क्याम्पसहरूमा विद्यार्थीहरूका हक हितका मुद्दा उठान गरेका छन्। सँगै प्रधानमन्त्रीले विश्वविद्यालयहरूको कुलपति बन्नुको साटो ‘बोर्ड अफ ट्रस्टी’ मार्फत मार्फत विश्वविद्यालयहरू सञ्चालन गर्नुपर्छ भन्ने लगायत बृहत् पूर्व विद्यार्थी सञ्जाल निर्माण, पूर्ण आवासीय केन्द्रीय क्याम्पसजस्ता केही सशक्त एजेन्डा छन् । यससँगै यो स्वतन्त्र प्यानलका करियर-वृत्ति विकास, अनुशासन र वकालत, विद्यार्थी कल्याणका लागि पूर्वाधार निर्माणको पहल, विद्यार्थी प्रतिनिधित्व, समावेशिता र सङ्लनताका सङ्कल्पहरू छन् ।
परिवर्तनको चाहनाले गर्दा युवा नेता खड्काका इमानदार प्रयासहरूका ‘होस्टेमा हैँसे’ मिलाउँदै देश विदेशमा भएका विज्ञहरूले राजनैतिक हस्तक्षेप मुक्त स्ववियुको “उज्जवल” भविष्यको कामना गरिरहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु