असोजको दोस्रो सातातिर बोटमा स–साना दानाहरू देखिएपछि गाउँलेहरू स्याउ बगैचामा झुम्मिए । धेरैले वर्षमा दुई पटक फल्ने फल भन्दै खुसीयाली साँटे । केहीले भने ‘मर्ने बेला हरियो काँक्रो‘ भन्दै स्याउ सकिने बेला भएको टिप्पणी गरे ।
स्याउ हेर्दा हेर्दै दुई साता बित्यो । दुई सातामा स्याउ हलक्कै बढ्यो । फलमा आकार प्रकार देखियो । ‘दुई सातामै अस्वभाविक तरिकाले बढेको स्याउले सबैलाई अचम्मै बनायो,’ खप्तडछान्ना गाउँपालिका–५ का पिठातोलाका स्याउ कृषक हरिप्रसाद जोशीले भने, ‘त्यो स्याउमा कुनै स्वाद पनि छैन । बाहिरबाट हेर्दा आकार प्रकार देखिए पनि रससमेत छैन । बोक्रा चपाएजस्तै छ ।’
यस्तो बेमौसमी स्याउ आफ्नो जीवनकालमा कहिल्यै थाहा नभएको उनले बताए । जोशीले भने, ‘गएको चैत्रको महिनामा टुसाउन सुरू भएको स्याउ फूलेर, फलेर असारमै सकियो । त्यसपछिका तीन महिना बोटमा पात मात्रै रहे । तीन महिनापछि भने स्याउ सिधै लटरम्मै फलेको देखियो ।’
पाँच वर्षअघि कृषि ज्ञान केन्द्रबाट ल्याएर रोपेको स्याउ असारमा रूखमै कुहिएको उनले बताए । उनले भने, ‘यो वर्ष फलेको स्याउ असारमा कुहिएर बोटहरू नै मर्नेजस्ता भए । फल फुटेर खेर गयो । रोग लाग्यो कि भन्ने थियो ! तर, त्यो बेलामा कृषि विज्ञले घामपानी नमिलेर समस्या देखिएको बताएका थिए ।’
अहिले भने बेसिजनमा स्याउले लटरम्मै फल दिएको जोशीले बताए । बेसिजनमा स्याउको फल हुर्कदै गरेको देखेर स्थानीयहरू आश्चर्यचकित भएका छन् । लामो समय भारत बसेर दसैँ बिदामा घर आएका खप्तडछान्ना गाउँपालिका–५ का देवप्रसाद शर्मा भन्छन्, ‘कार्तिकमा नयाँ स्याउ फलेको, सुनेको, देखेको पहिलो पटक हो । मेरो ६६ वर्षको उमेरसम्म पनि सुनेको र देखेको थिइनँ ।’ लामो समय स्याउ बगैचामा काम गर्दासमेत यस्तो थाहा नभएको उनले बताए ।
उनले अहिले हुर्किरहेको स्याउ मौसम फेरबदलको कारणले हुन सक्ने बताए । उनले भने, ‘एकपटक भारतको उत्तर प्रदेशमा पनि मौसम फेरबदल भएको भन्दै मौसम अनुकुलका स्याउका बोट रोपेका थिए । यहाँ पनि त्यस्तै बोट रोप्नुपर्ने अवस्था आएको हो कि !’
उनले अब मौसम उपयुक्त नभएको हुँदा फलेको स्याउ बोटमै सुक्न सक्ने बताए ‘हाम्रो ठाउँको उचाई दुई हजार मिटरको हाराहारीमा छ,’ शर्माले भने, ‘यहाँ पाकेको स्याउ भदौको अन्तिमतिरै निकालिन्थ्यो । असोजसम्म त पातहरू झरेर बोट नै नाङ्गा हुन्थे । तर, अहिले पात झर्ने छाँटकाँट छैन । फल नै हुर्किरहेको छ ।’
अब चिसो बढ्ने हुँदा तुसारोले समेत स्याउको फल सुकाउन सक्ने उनले बताए । ‘अहिले फलको स्याउले बोट नै सुकाउँछ कि फल मात्रै सुकाउँछ भन्न सकिन्न । गर्मीमा फल्ने स्याउ चिसोमा बढ्न भने मुस्किल नै होला ।’ उनले भने ।
सोही ठाउँमा दीपक जोशीले पनि स्याउ एकै वर्षमा दुई पटक फल्नु अनौठो भएको बताए । उनले भने, ‘स्याउ एकै वर्षमा दुई पटक फलेको आँखै अगाडि देखियो । पहिलेको फल कुहिएर सकियो । अहिलेको फलको भविष्य पनि के होला र !’ उनले तापक्रम बढेर हुने समस्या आफ्नो ठाउँमा पनि भएको बताए । ‘अन्य ठाउँमा जलवायु परिवर्तनको असरबारे समाचार सुनिन्थे । यहाँ आँखै अगाडि देखियो । यो पनि पक्कै जलवायु परिवर्तनको समस्याले फलेको हुन सक्छ ।’ उनले भने ।
खप्तडछान्ना गाउँपालिकाका कृषि अधिकृत भूमिराज खत्रीले स्याउमा मात्रै नभई हरेक बालीनाली, फलफूल तथा तरकारीमा जलवायु परिवर्तनको असर देखा परेको बताए । उनले भने, ‘बेसिजनमा स्याउ फल्नु भनेको तापक्रम बृद्धि हुनु नै हो । पहिले पहिले यो समयसम्म निकै जाडो बढिसकेको हुन्थ्यो । तर, आजभोलि भने अझै गर्मी घटेको छैन ।’
गर्मी रहेकै कारण फेरि पालुवा पलाएर स्याउ फूलेको र फलेको हुनसक्ने उनले बताए । ‘पहिले छान्ना क्षेत्रमै मान्छे ढाक्ने हिउँ पर्दथ्यो । अहिले हिउँ देखिन्न । तापक्रम धेरै बढेको हुँदा हिमालसमेत नाङ्गा हुन थालेका छन् । यस्तै तापक्रम बृद्धिका कारण स्याउमा स्याउमा समस्या देखिएको हो ।’ उनले भने । उनले अहिले तापक्रम वृद्धिका कारण रोपेका फलफूल मात्रै होइन, अन्नबाली हुँदै वनस्पतिसमेत बेसिजनमा सिजनको जस्तै ‘लहलह झुलेको’ पाइएको बताए । ‘तापक्रम यस्तै बढेमा अब केही वर्षमा यो ठाउँमा तराईमा फल्ने चिजवस्तु राम्रोसँग फल्न सक्छ,’ उनले भने ।
यता कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले पनि मौसम फेरबदल हुँदा बेसिजनमा स्याउमा फल लागेको बताए । उनले भने, ‘जलवायु परिवर्तनले कृषिमा असर पारेको भन्ने सबैको चिन्ता छ । त्यसमा पनि स्याउले आराम गर्ने समयमा फल दिनु भनेको निकै संकटको अवस्था हो ।’
उनले असोज कार्तिकको समय फल दिइसकेपछि पात झरेर स्याउ, नास्पाती, ओखर, आरु, मेल, पाँकरजस्ता बोट विरूवाहरूले आराम गर्ने बेला भएको बताए । यो समयमा स्याउ फल दिन थालेपछि अनुसन्धान नै गर्नुपर्ने उनले बताए । ‘गहिरो अनुसन्धान गर्दा जलवायु परिवर्तनसहित अन्य कारणहरू पनि देखिन सक्छन् । अहिले भने यो समस्या तापक्रम बृद्धि भएकै कारणले स्याउ फलेको अनुमान गर्न सकिन्छ ।‘ उनले भने ।
फेसबुक प्रतिक्रियाहरु