प्यारा भाइ बहिनीहरू,
सर्वप्रथम त एसईई परीक्षा उत्तीर्ण हुनुभएका सबै भाइबहिनीहरूलाई बधाई तथा शुभकामना । स्वभाविक रूपमा अब तपाईंहरूलाई लागिरहेको होला कि एसईईपछि के गर्ने ?
एसईईपछि के गर्ने ? भन्ने उत्तर सबैका लागि एउटै नहोला यो त आफ्ना रूचि लक्ष्य र क्षमताहरूमा भरपर्ने कुरा हो । रूचि र लक्ष्यहरू पनि समयअनुसार परिवर्तन हुँदै जान्छन् र क्षमता पनि कुनै विशेष क्षेत्रमा आफ्नो रूचिअनुसार प्रशिक्षण लिएर नयाँ क्षमता हासिल पनि गर्न सकिन्छ । त्यसैले आज तपाईंलाई जेमा रूचि छ या जे कुरामा दक्ष हुनुहुन्छ भोलि पनि त्यही नै रहन्छ भन्न सकिन्न । मान्छेका रूचि लगाव पनि बदलिँदै जान्छन् । यसबाहेक भोलि जीवनमा आउने परिस्थितिअनुसार हामीले आफैँलाई ढाल्नु पनि पर्ने हुन्छ ।
तसर्थः
१) राम्रै ग्रेड आएको भए पनि अभिभावकको दबाबमा आएर डाक्टर, इन्जिनियर र चार्टर अकाउन्टेन्ट बन्छु मात्रै नसोची कृषक, वैज्ञानिक, ग्राफिक्स डिजाइनर, युट्यूबर, मिडिया इनफ्लुएन्सर, कन्टेन्ट क्रिएटर, खेलाडी, राजनैतिक रणनीतिकार, पत्रकार, वातावरण संरक्षणकर्मी, मानव अधिकारकर्मी, लेखक, पेन्टर, वाइल्ड लाइफ फोटोग्राफर, टुरिस्ट गाइड, नृत्य, योग र ध्यान प्रशिक्षक, मोटिभेटर, मनोवैज्ञानिक इत्यादि, इत्यादिजस्ता आफ्नो रूचि अनुसारका वैकल्पिक पेसाबारे पनि सोच्नुपर्छ ।
२) राम्रो ग्रेड नआए या नन ग्रेड आए पुनः प्रयास गर्ने ।
सँगसँगै सीप अभिवृद्धि गर्नतर्फ लाग्ने । दैनिकी निर्वाह गर्नुसँगै व्यवहार चलाउन र व्यवसाय बढाउन सीपमूलक तालिम जरूरी छ । विश्वव्यापी रूपमा निरन्तर वृद्धि भइरहेको विज्ञान, प्रविधि र उद्यम बजारले व्यावहारिक सीपयुक्त तालिम नभए एआई र रोबोटले भविष्यमा जागिर खोस्ने चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । काम र सीप ठूलो सानो हुन्न । त्यसैले सीपमूलक यी कुरामा पनि ध्यान दिऔँ ।
इलेक्ट्रिसियन, प्लम्बिङ, व्युटिसियन, सिकर्मी, डकर्मी, ड्राईभिङ्ग, अटो रिपेअर, मोबाइल, कम्प्युटर रिपेअरिङ्ग, फार्मिङ, गार्डेनिङ आदि । पर्यटनसम्बन्धी काम पर्यटक गाइड, ¥याप्टिङ, बन्जी जम्पिङ, माउन्टेनेरिङ, रक क्लाम्बिङ, होटल एण्ड हस्पिटालिटी मेनेजमेन्ट, होमेस्टे मेनेजमेन्ट, मूर्तिकला, थांगाजस्ता चित्रकला आदि इत्यादि ।
आफ्ना अग्रज बुवा–आमा दाइ–दिदीहरूले सम्हाल्दै आएका जीविकोपार्जनका काम सिक्नुहोस् ।
३) विदेश कहिले जाने ?
स्मरण रहोस् अन्तर्राष्ट्रिय मापदण्डअनुसार तपाईंहरूको स्कुल जीवन सकिएको छैन । १२ कक्षासम्म अझै स्कुल नै मानिन्छ । अझ कलेज त झन् चार वर्षे अन्डरग्रजुएट पूरा गरेपछि मात्र सकिन्छ । कम्तिमा स्नातक नगरी विदेश जानेबारे नसोचौँ । मास्टर्स या एजम् या अन्य कुनै विशेष सर्टिफिकेसनको लागि जाँदा राम्रो तर प्रविणता तह या अन्डरग्रजुएटमा विदेश आएका भाइ बहिनीहरूले धेरै दुःख पाएका छन् ।
विदेशमा पढ्दै कमाउन त्यति सजिलो छैन । विशेषगरी मास्टर्स डिग्रीभन्दा कमको पढाईको लागि ।
विदेश आउनु अघि यी सीप सिकेर आउनुस् :
सुरूमा सीप नभए विदेशमा यस्तै काम गर्ने हो । त्यसैले जीवनोपयोगी सीप सिक्नमा पनि समयमै जोड दिँदा सहज हुन्छ ।
फेसबुक प्रतिक्रियाहरु